भर्खरै :

चे, फिडेलको संस्मरणमा – १२

चे, फिडेलको संस्मरणमा – १२

पाठ ६

६ महिना जायरमा बिताएपछि चे केही समयको लागि तान्जानिया बसेर आफूले पाएको अनुभवको मूल्याङ्कन गर्न थाले । त्यो अभियानमा पनि उनको व्यवहार सदाझैँ उदाहरणीय थियो । उनको अफ्रिका बसाइँ अस्थायी थियो र उनी दक्षिणी अमेरिकाको यात्रा गर्न अनुकूल परिस्थितिको पर्खाइमा थिए ।
यस सम्पूर्ण अवधि हाम्रो लागि धेरै अप्ठेरो स्थिति थियो किनभने चेले हामीसँग पहिल्यै बिदा मागिसकेका थिए । उनले जानुभन्दा पहिले पत्र लेखेका थिए, उनले चुपचाप क्युवा छाडे, गोप्य रूपमा हामीले पत्रलाई गोप्य राख्यौ तर त्यसले धेरै किसिमका हल्ला सुनियो । तीमध्ये केही झूटा थिए । कसैले चेलाई बेपत्ता पारिएको, चे मरेको वा मतभिन्नता भएको जस्ता धेरै प्रकारका कथाहरू जन्मिए । हामीले ती हल्ला र आरोपहरूलाई मौन रूपमा हे¥थौँ किनभने हामी चेले पूरा गर्न चाहेको अभियान र उनले आफ्नो अन्तिम लक्ष्य दक्षिण अमेरिकासम्म लान चाहेका जवानहरूलाई खतरामा पार्न चाहँदैनथे ।
जायरमा आफ्नो काम सकेपछि उनी तान्जानिया गए र त्यहाँ केही महिना बिताए । पछि उनी पूर्वी युरोपको एउटा समाजवादी देशमा गए । म यस विषयमा धेरै बोल्न चाहन्न किनभने मैले त्यो देशसँग यो विषयमा बताउनुहुन्छ वा हुन्न भनी सोध्न पाएको छैन । उनी त्यहाँ बसे । उनी क्युवा फर्कन चाहँदैनथे किनभने पत्रको प्रकाशनपछि क्युवा फर्कनु अलि अप्ठेरो हुनसक्थ्यो ।
यता पत्रको प्रकाशन पन्छाउन नसकिने अवस्थामा पुगेको थियो । बिना कुनै जवाफ, विश्व जनमतलाई कुनै स्पष्टीकरण नदिई आरोपहरूको अभियानलाई निरन्तरता दिनु धेरै हानिकारक हुँदैन थियो । एउटैमात्र विकल्प पत्र प्रकाशित गर्नु थियो । पत्रमा उनको अभियानको विषयमा केही विशेष कुरा उल्लेख गरिएको थिएन । उनले विश्वको अन्य भागमा लड्ने कुरामात्रै बोलेका थिए ।
एकपटक पत्र सार्वजनिक भएपछि यसलाई प्रकाशनबाट रोक्नु असम्भव थियो । आफ्नो विशेष गुणको कारण चे बिदा मागिसकेपछि क्युवा फर्कन अप्ठेरो मानिरहेका थिए । तर अन्त्यमा मैले क्युवा फर्कन उनलाई मनाएँ किनभने उनले चाहेका सबै व्यावहारिक कुराहरू उपलब्ध गराउनु नै सबभन्दा राम्रो थियो । तसर्थ, उनी गोप्य रूपमा क्युवा फर्के । उनी एउटा सुदूर पहाडी क्षेत्रमा प्रशिक्षण दिँदै धेरै महिना त्यहीँ बसे । उनको साथ जानेहरूलाई प्रशिक्षण दिनमा उनले धेरै महिना बिताए ।
उनले कामरेडहरूको एउटा समूह मागे । तीमध्ये केही अनुभवी छापामार योद्धाहरू थिए भने केही जायरमा उनीसँगै रहेका नयाँ मानिसहरू थिए । उनले तिनीहरूको सहयोग मागे । उनले समूह छाने र हरेकसँग कुरा गरे । हामीले उनको साथमा धेरै अनुभवी कामरेडहरूको समूह पठाउने निर्णय गर्यौँ किनभने उनले गर्न लागेको कामको लागि अनुभवी स्वयंसेवीहरूको समूह चाहिन्थ्यो । उनले तिनीहरूलाई धेरै महिनासम्म प्रशिक्षण दिए भने उनी र उनको समूहलाई बोलिभिया पठाउने भूमिगत कार्य पनि गरियो ।
चेले उपयुक्त क्षेत्रको छनोट गरे तथा सङ्घर्षको योजना बनाउन थाले । हामीले उनलाई त्यो योजना बनाउनमा समर्थन र सहयोग दियौँ तथापि हामी त्यो कार्यमा निहित खतराहरूप्रति सचेत थियौँ । हामी बढी विकसित भइसकेको आन्दोलनमा चे सामेल होस् भन्ने चाहन्थ्यौँ तर उनी सुरुवातदेखि नै त्यहाँ जान चाहन्थे । केही प्रारम्भिक तयारीहरू पूरा हुँदासम्मको लागि हामीले उनलाई रोक्न सफल भयौँ किनभने उनी सुरक्षापूर्वक त्यहाँ जान सकून् । प्रारम्भिक चरणहरू झन् कठिन थियो ।
वास्तवमा यी सबै कुरालाई सुनियोजित ढङ्गमा संयोजन गरिएको थियो । चे र उनका अन्य कामरेडहरूलाई तिनीहरूले छानेको एउटा शिविरमा पु¥याइयो । तिनीहरूले धेरै कठिनाइसँग पार पाउनुपथ्र्यो, खतरनाक ठाउँबाट हिँड्नुपथ्र्यो । यो काम सरल थिएन र अवलम्बन गरिएका उपायहरूको कारण काम पूरा भयो । सम्भवतः बोलिभियाका नान्काहुआजु (Nancahuazu) भन्ने ठाउँका कामरेडहरूको एउटा समूहसँग सम्पर्क राख्न तिनीहरूको बन्दोबस्त थियो ।
यतिसम्म एउटा सुनियोजित यात्राको योजना थियो अर्थात् तान्जानिया हुँदै अफ्रिका बसाइँ, पूर्वी जायरपछि फेरि तान्जानिया, युरोपको एउटा समाजवादी देश, फेरि क्युवा र अन्तमा बोलिभियामा उनले छानेको ठाउँसम्मको भ्रमण ।

गियानी मिना : जनता क्रान्तिको लागि तयार नभएको बेला बोलिभियालाई रोज्नु के गलत थियो ? रणनीतिक रूपमा सही नठहिरएको भौगोलिक क्षेत्रमा युद्ध गर्ने निर्णय के एउटा भावनात्मक गल्ती थियो ?
क्यास्ट्रो : म त्यसो भन्दिनँ । उनी अर्जेन्टिनाप्रति चासो राख्थे, अर्जेन्टिनामा क्रान्ति गर्ने विचारबाट उनी प्रेरित थिए । तर, त्यसबेला दक्षिण अमेरिकामा अरु कुनै पनि देशसँग हाम्रो सम्बन्ध थिएन । सबै सरकारहरू क्युवाविरुद्ध संरा अमेरिकाको साथमा थिए । प्रारम्भिक दिनहरूमा उनले अर्जेन्टिनीहरूको एउटा समूह बनाएका थिए । त्यसमा जोर्ज रिकार्डो मासेटी (Jorge Ricardo Massetti) थिए । जोर्जले हामीसँग एक पत्रकारको रूपमा सियरा मायस्ट्रामा काम गरेका थिए र पछि उनैले प्रेन्सा ल्याटिना (Prensa Latina) स्थापना गरे । अर्जेन्टिनामा सङ्घर्ष गर्ने चेको विचारमा उनले जोर्जलाई पनि सामेल गराएका थिए । चेसँग सहमत मासेटीले उत्तरी अर्जेन्टिनाको साल्टा (Salta) क्षेत्रमा एउटा मोर्चा स्थापना गर्ने प्रयास गरे । सोही अभियानमा मासेटीको मृत्यु भयो ।
चे धेरै संवेदनशील तथा आफ्ना कामरेडहरूप्रति कटिबद्ध थिए । उनले एउटा प्रयास, सङ्घर्ष सुरु गर्नु तथा त्यसमा केही कामरेडहरूले पहिले नै आफ्नो ज्यान गुमाएको तथ्य मात्रले पनि बिना कुनै शङ्का आफ्नो योजना अगाडि बढाउने उनको अधैर्यतालाई प्रमाणित गर्छ । उनले सो क्षेत्रको बारेमा पहिल्यै अध्ययन गरेका थिए । अर्जेन्टिनी सीमा नजिक भएकोले नै उनले सो क्षेत्र छानेका थिए ।
बोलिभियाली किसानहरू शान्त, एकान्तप्रेमी र अविश्वस्त भएको कुरा चेलाई थाहा थियो । तिनीहरू क्युवाली किसानभन्दा धेरै भिन्न भएको उनलाई थाहा थियो । चिकित्सा विद्यालयबाट स्नातक गरेपछि उनले मोटरसाइकलमा बसेर दक्षिण अमेरिकाको भ्रमण गरेका थिए । उनले अमेजन (Amazon) जस्तो टाढाको ठाउँलगायत धेरै स्थानहरूको भ्रमण गरे । त्यहाँका जनतासँग उनको धेरै व्यापक सम्पर्क थियो तथा आदिवासीहरूको त्रासदी, तिनीहरूको गुण उनलाई थाहा थियो । उनलाई यो कुरा राम्ररी थाहा थियो र गहिराइसम्म उनले अनुभव गरेका थिए । उनले यो विषयमा मलाई भनेका थिए । तिनीहरू कस्ता छन्, तिनीहरूसँग कसरी काम गर्नुपर्छ, यसको लागि कसरी धेरै समय लाग्छ र यो काम त्यति सरल छैन भन्ने कुरा उनले मलाई बताएका थिए । उनी आफ्नो काममा आउने कठिनाइहरूप्रति सचेत थिए ।
त्यसो भए के भयो ? उनले हाम्रो अनुभव, हाम्रो अविश्वसनीय अनुभव देखेका थिए । प्रारम्भिक पराजयपछि पनि एउटा सानो समूहलाई पुनः संयोजन भएको र धेरै कठिन परिस्थितिमा पनि सङ्घर्ष गरेको उनले देखेका थिए । यस्तो सङ्घर्ष र यसका सम्भावनाहरूप्रति उनको अन्धविश्वास थियो । यसबाहेक यस्तो सङ्घर्षमा उनको धेरै अनुभव थियो ।
तसर्थ, चेले एउटा ठाउँ छाने । मलाई लाग्छ, उनको छनोटमा कुनै गल्ती थिएन । कुनै गल्ती गरिएन । उनले सङ्गठित राजनीतिक शक्तिहरूको समर्थन पाउने प्रयास गरे । बोलिभियाली कम्युनिस्ट पार्टी र अन्य शक्तिको समर्थनमा भर पर्न सकिने उनको अनुमान थियो । वामपन्थी खेमाभित्र, कम्युनिस्ट आन्दोलनभित्र त्यो समयमा विभाजनहरू रहेको हुँदा अन्य शक्तिहरूले उनलाई साथ दिएनन् ।

गियानी मिना : यस सन्दर्भमा चेका पिताले सार्वजनिक रूपमा बोलिभियाली कम्युनिस्ट पार्टी चेको मृत्युको लागि जिम्मेवार भएको, तिनीहरूले चेलाई विश्वासघात नगरेको भए चे बाँच्ने । चेलाई मर्नको लागि छाडिएको आरोप लगाएका छन् । रेजिस डेब्रेले यदि युवा बोलिभियाली कम्युनिस्टहरूको टोली कोचाबाम्बा (Cocha Bamba) बाट खोजीमा गएको भए चेलाई बचाउन सकिने बताएका छन् । के यो साँचो हो ?
क्यास्ट्रो : मेरो यस्तो दृष्टिकोण छैन । यस्ता प्रश्नहरूमा धेरै सुसूचित छ जस्तो मलाई लाग्छ ।
कम्युनिस्ट पार्टीमा धेरै नेताहरू थिए । महासचिव मारियो मोन्जे (Mario Monje) को विषयमा पहिल्यै भनिएको छ र सम्झौता पनि भएको छ । तर, अन्य नेताहरू पनि त्यसमा सामेल थिए । यही कारणले मोन्जेसँग मतभेद भयो । यो इतिहासको कुरा भयो । मोन्जेको केही स्थितिहरूमा चे र मोन्जेबिच मतभेद भयो । सायद उनको चासो नेतृत्वको महत्वपूर्ण ठह¥याउने वा नेतृत्वको निहुँ हुनसक्थ्यो । चेले त्यस नेतृत्वको निहुँलाई स्वीकार गरेनन् ।
मोन्जेको विचारमा औपचारिक तत्वहरूको प्रभाव परेको मेरो विश्वास छ । आन्दोलन उनको देशमा सुरु हुन लागेको थियो । उनी पार्टीका महासचिव थिए । तर, यथार्थमा भन्नुपर्दा बोलिभियाका सीमाहरूभन्दा पर पुग्ने आन्दोलनको नेतृत्व गर्न चेभन्दा बढी तयार कुनै पनि कार्यकर्ता थिएनन् । यसले असमझदारीलाई बढावा दियो र तिनीहरू सम्झौतामा पुग्न सकेनन् । मोन्जेले आफ्नो समर्थन फिर्ता लिए ।
हामीले यो सूचना पायौँ तथा पार्टीका अन्य महत्वपूर्ण र सम्मानित नेताहरूसँग बैठकको व्यवस्था गयौँ । मैले तिनीहरूलाई क्युवा बोलाएँ । तिनीहरूसँग कुराकानी गरेँ र भनेँ– “सङ्कट आएको छ तथा यो धेरै संवेदनशील परिस्थिति छ ।” मैले तपाईँहरूलाई यहाँ भेट्न बोलाएको छु किनभने तपाईँले चेलाई मद्दत गर्नु अपरिहार्य छ ।
तिनीहरूले सहयोगको वाचा गरे । तिनीहरू सहयोग र सहकार्य गर्न तयार थिए । पार्टी सचिवसँग असहमति भए तापनि सम्भव भएसम्मका प्रयास तिनीहरूले गरे । तर घटनाक्रमहरू चाँडै विकसित भयो र तिनीहरूले मद्दत गर्ने अवसर पाएनन् । तर तिनीहरूको प्रवृत्ति निकै राम्रो थियो तथा मैले बैठकमा भनेका सबै कुरा बुझेँ । कोले पछि मोन्जेलाई विस्थापन गरेर पार्टी नेता बने । सिमोन रेजले पनि पार्टी नेतृत्वमा महत्वपूर्ण जिम्मेवारी पाए । तिनीहरू कम्युनिस्ट पार्टीमा भाग लिए र तिनीहरूले प्रतिबद्धता जनाए ।
जब हामीले यस्तो परिस्थितिको सूचना पायौँ, हामीले त्यसको समाधान खोज्यौँ । हामीले अन्य आन्दोलन र केही ल्याटिन अमेरिकीहरूको समर्थन पाउन सफल भयौँ । यही चरणमा आएर घटनाक्रम गम्भीर हुँदै गयो तथा तिनीहरूको उपस्थितिलाई फेला पारियो । एउटा वा अर्को कारणबाट, विभिन्न तत्वहरूको संयोजनबाट त्यो टोली संयोजनको चरणमा छँदै प्रकाशमा आयो । तिनीहरूलाई अलि बढी समय चाहिएको मेरो विश्वास थियो ।
मोन्जे केही हदसम्म उत्तरदायी छन् तर सम्पूर्ण कम्युनिस्ट पार्टीहरूलाई आरोप लगाउनु ऐतिहासिक रूपमा गलत हुनेछ । धेरै कम्युनिस्टहरूले चेलाई सहयोग गरे । तिनीहरूमा पेरेडो (Peredo) दाजुभाइ पनि थिए । ती व्यक्तिहरू धेरै राम्रा कार्यकर्ता साबित भए । तिनीहरूले चेको समर्थन गरेर उनलाई धेरै मद्दत गरे । पार्टी नेतृत्वका महत्वपूर्ण कार्यकर्ताहरू मोन्जेसँग असहमत थिए तथा चेलाई मद्दत गर्न चाहन्थे । तसर्थ, यदि जिम्मेवार ठह¥याइनु पर्यो भने मोन्जेलाई ठह¥याउनुपर्छ तर घटनाक्रमहरूको विकासको लागि सम्पूर्ण कम्युनिस्ट पार्टीलाई जिम्मेवार ठह¥याउन सकिंदैन ।

गियानी मिना : युरोपमा यसो पनि भनिन्छ…… ।
क्यास्ट्रो : डेब्रेको सन्दर्भमा भन्नुपर्दा मैले यसप्रति कुनै प्रतिउत्तर देखाइनँ किनभने यो सबै कल्पना थियो । हो, यो कल्पनामात्रै थियो किनभने चेलाई मद्दत गर्न सक्ने टोली संयोजन गर्ने न्यूनतम परिस्थिति पनि त्यहाँ थिएन । त्यहाँ हतियारहरू थिएन, प्रशिक्षित योद्धाहरू थिएनन् । प्रशिक्षार्थीहरू पनि थिएनन्, यो एउटा सिद्धान्त हो, यसलाई एउटा सिद्धान्तको रूपमा मात्र बोल्न सकिन्छ, यो कल्पनामात्रै हो । यो युद्ध नियमित युद्ध होइन भन्ने कुरा बुझ्नुपर्दछ । यो छापामार युद्ध हो, अनियमित युद्ध हो र यस्तो युद्धको आफ्नै नियमहरू हुन्छन् । यस्तो गर्नु उपयुक्त थिएन । यति सजिलै समस्याहरू समाधान गर्न सकिँंदैन ।

गियानी मिना : युरोपमा प्रकाशक फेल्ट्रीनेली (Feltrinelli) ले भालीग्रान्डी (Vallegrande) नजिकैको जङ्गलमा चेको सानो समूहको जानकारी सीआईएलाई दिएको भन्ने कुरा सुनिन्छ । के यसमा कुनै सत्यता छ ?
क्यास्ट्रो : मैले यो कुरा पहिलोपल्ट सुनेको छु, पहिलोपटक मैले यो हल्ला सुनँे । परिस्थितिलाई असर पार्ने कुनै कुरा फेल्ट्रीनीलीले गरेको कुराको अलिकति पनि सम्भावना छैन । आज सबै इतिहास प्रस्ट भएको छ । यस विषयमा धेरै पुस्तकहरू लेखिएका छन् । मैले तिनीहरूलाई पढेको छु । पहिलो त चेको डायरी छ, त्यसलाई मैले ध्यानपूर्वक पढेको छु । म चेलाई राम्ररी चिन्छु तथा डायरीमार्फत मैले उनको मनको हरेक स्थितिलाई बुझ्न सक्छु किनभने म उनलाई राम्ररी चिन्छु ।
बोलिभियाली सेनाले आफूलाई प्राप्त भएको सूचना, कहिले र कहाँ प्राप्त भयो, कसरी त्यसको विश्लेषण गरियो, तिनीहरूले के गरे भन्ने कुराको विषयमा धेरै दस्ताबेजहरू लेखेका छन् । यी सबै कथालाई लेखिएको छ, क्रान्तिकारीहरूले मात्र होइन । यसका अतिरिक्त त्यो सङ्घर्षमा बाँचेका कामरेडहरूको डायरी, अन्तिम समयसम्म पनि चेको साथ दिनेहरूको डायरी, बोलिभियाली सेनाको हातमा परेको डायरी पनि छ । हामीलाई सबै प्रमाणहरू थाहा छ । घटनाका हरेक चरणहरू थाहा छ । अनुशासनमा केही कमी थियो तथा कमजोर निर्णयको कारण शत्रुले केही सङ्केत पाए, केही भइरहेको छ भन्ने विषयमा । तथापि, तिनीहरूलाई कति हदसम्म भइरहेका छन् भन्ने कुरा थाहा थिएन । यसको फेल्ट्रीनीली वा अन्त्यसँग केही सम्बन्ध छैन । यी तथ्यहरू एक मिनेटमा नै थाहा पाउन सकिन्छ ।
यहाँ एउटा कुरा छ, तिनीहरूले पहिले नै शिविरहरू स्थापना गरेका थिएनन् । तिनीहरूले सबै परिस्थितिहरू सृजना गरे, यी तथ्यहरूको विषयमा पहिले नै भनिएको छ । सेनाले केही अनौठो भइरहेको कुरा निर्णय गर्न सफल भयो तर यो निर्णयसँगै अन्य परिस्थितिहरू पनि सिर्जना भए । त्यस क्षेत्रको वातावरण बुझ्न ठुलो टोलीका साथ चेले यात्रा सुरु गरे तथा सो क्षेत्रमा हिँड्डुल सुरु गरे । तिनीहरूले भर्खरैमात्र आएका व्यक्तिहरूलाई शिविरमै छाडे तर त्यो यात्रा धेरै हप्ता जारी रह्यो, त्यो यात्रा एउटा लामो यात्रा बन्यो । चेको डायरीमा कसरी तिनीहरूले ठुलठुला पर्वतहरूको कठोर भूमि, उर्लंदो नदीको सामना गरे भन्ने कुराको वर्णन छ । तिनीहरूले यात्राको क्रममा केहीलाई गुमाए, कोही डुबे, एक वा दुईको मृत्यु भयो ।
धेरै हप्ताको यात्रापछि टोली पहिलेकै ठाउँमा फक्र्यो । तर, तिनीहरू शिविरमा फर्केपछि चेको अनुपस्थितिमा केही समस्या आएको, अनुशासनमा कमी भएको र केही कठिनाइ आएको पत्ता लाग्यो । सबभन्दा नराम्रो कुरा टोली थाकिसकेको थियो, तिनीहरूसँग निको हुने समय थिएन । केही दिनभित्रै सेनाले केही खोजतलास गर्यो र पहिलो लडाइँ सुरु भयो । आफ्नो अनुभवको कारण चेका मानिसहरूले कुनै क्षति व्यहोर्नुपरेनन् । केही व्यक्तिहरूले मिलेर राखेको धरापबाट तिनीहरूले हतियार खोसे† शत्रुलाई कडा प्रहार गरे ।
तर, यी सबै समयअगावै भएको भन्ठान्छु । तिनीहरू फेरि शिविरमा एउटा सानो समूह छानी यात्रामा गए । यसले दुई समूहबिच विभाजन ल्यायो र तिनीहरूले कहिल्यै एक अर्कासँग सम्पर्क राख्ने मौका पाएनन् । यसबाहेक आफ्नो दमको लागि चेसँग पर्याप्त औषधि थिएन । ग्रान्मा (Granma) मा पनि यस्तै भएको थियो, त्यहाँ पनि औषधि थिएन । सियरा मायस्ट्रामा चेलाई कुनै पनि मूल्यमा औषधि उपलब्ध गराउन हामीले धेरै प्रयास गर्नुपर्यो किनभने दमको रोगले उनलाई सिकिस्त बनाएको थियो । उनलाई औषधिको धेरै आवश्यकता थियो तर सम्पूर्ण समयमा उनले विनाऔषधि काम चलाए ।
यी सबै कुरा चेको डायरीमा सावधानीपूर्वक ठीकठीकसित वर्णन गरिएको छ । हरेक घटनालाई प्रस्टसँग वर्णन गरिएको छ । यो एउटा साहसिक काम थियो किनभने तिनीहरूले महिनौँसम्म सेनासँग सङ्घर्ष गरे ।
चेको टोलीलाई समर्थन गर्ने विषयमा छलफल गर्ने समय यो होइन । तिनीहरू कहाँ थिए भन्ने कुरा कसैलाई थाहा थिएन । शत्रुले सबै सञ्चारमाध्यमहरूको सम्पर्क विच्छेद गरिदिएका थिए । सहरमा रहेका सम्पर्क सूत्रहरूमाथि निरन्तर निगरानी थियो ।
त्यो क्षणमा छापामार एकाइको भाग्य तिनीहरूको क्रियाकलापमा भर पथ्र्यो । एन्टी (Anti) र कोको (Coco) पेरेडोलाई चिन्ने, सामाजिक आधार भएको ठाउँमा आफ्नो शिविर पुनःस्थापना गर्न सके भने २० जना व्यक्तिहरू भएको आफ्नो छापामार एकाइ बच्न सक्ने चेको विश्वास थियो । अन्तिम चरणमा तिनीहरू त्यस ठाउँतर्फ अगाडि बढेका थिए । त्यो तिनीहरूको सबभन्दा राम्रो अवसर थियो भन्ने कुरा चेलाई थाहा थियो ।
घटेका हरेक घटनाको विवरण, उनको डायरीबाहेक बोलिभियाली सेनाको अभिलेखबाट प्रस्ट भएको वृत्तान्तबाट तिनीहरूले गरेको साहस प्रभावकारी भएको, शत्रुविरुद्ध लडिएका धेरै सङ्घर्षहरूमध्येको एक साहसिक सङ्घर्ष भएको प्रमाणित हुन्छ । तिनीहरूले प्राप्त गरेको उपलब्धि एउटा कठिन उपलब्धि थियो । यो कुरा सबैलाई थाहा थियो ।

स्रोत : चे फिडेल क्याष्ट्रोको संस्मरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *