-नीरज
तिनताक मुना बाल मासिक निकै लोकप्रिय थियो । अलि पछि सुनकेस्रा नामको अर्को बाल मासिक पनि बजारमा आयो । मुना श्यामश्वेत कलेवरमा छापिन्थ्यो भने सुनकेस्रा एकरङ्गे कलेवरमा छापिन्थ्यो । तर मलाई भने मुना मासिकप्रति विशेष लगाव थियो । स्कूलका केही साथीहरु सुनकेस्राको कुरा गर्थे भने म हरेक महिना मुनाको प्रतीक्षा गर्थें । घरमा मुना पत्रिका बुवाले ल्याउनुहुन्थ्यो । मुनासँगै बुवाले ल्याउने अर्को पत्रिका थियो–चम्पक ।
चम्पक भारतबाट प्रकाशित हुने बाल पत्रिका थियो । त्यो हिन्दी भाषाबाट पनि निस्कने कुरा धेरै पछि मात्र मलाई थाहा भयो । तर चम्पकको नियमित पाठक हुँदा मैले त्यसको अङ्गे्रजी संस्करण पढ्थें । सायद बुवालाई लागेको हुँदो हो– त्यो पत्रिका पढे छोराको अङ्गे्रजी राम्रो होला, नभए कम्तीमा दुई–चार नयाँ शब्द सिक्ला । त्यही भएर केही अङ्क उहाँले ल्याएर मेरो हातमा राखिदिनुभयो । तर पछि पछि त म आफै चम्पक पत्रिका खोज्ने भएँ ।

नीरज
चम्पक पत्रिका केटाकेटीलाई मनपर्ने कथाहरुले भरिएको हुन्थ्यो । त्यसका अधिकांश कथाका पात्र भने जनावर हुन्थे । स्याल, गोही, हात्ती, बाघ, जिराफ आदि आदि । पूरै पत्रिका रङ्गीन कलेवरमा छापिन्थ्यो । कक्षा ६–७ तिरको कुरा हो । चम्पकका सबै कथाका सबै शब्द र भावहरु मलाई बुझ्न गाह«ै लाग्थ्यो ।
घरमा एउटा पुरानो अङ्ग्रेजी–नेपाली शब्दकोष थियो–बुवाको । त्यसमा कपडाको गाताले मोडिएको थियो । शब्दकोषको अनुहारमा अङ्ग्रेजीमै लेखिएको थियो–युज मि । अर्थात् मलाई प्रयोग गर । बुवाकै काम हो वा कुन चाँही बुवाको साथीको काम होला त्यो । कुनै ठाउँमा डस्टविनमा पनि आजभोलि त्यही ‘युज मि’ लेखिएको देख्छु । डस्टविनमा देख्नुभन्दा अघि नै मैले मेरो घरको शब्दकोषमा ती शब्दहरुसँग परिचय गरेको थिएँ । चम्पकमा आइलाग्ने अबोधगम्य अङ्ग्रेजी शब्द बुझ्न बुवाले दिनु भएको हतियार त्यही शब्दकोष थियो । शुरु–शुरुमा त निकै जाँगरका साथ कुनै नबुझेको शब्द आउना साथ शब्दकोषभित्र डुबुल्की मार्थें । तर विचारा त्यत्तिबेला मेरो अङ्ग्रेजी शब्दज्ञान कति नै थियो होला र ? वाक्यैपिच्छे शब्दकोष पल्टाउनु पर्ने भए पछि अल्छी लाग्न थाल्थ्यो । त्यो अल्छीपनाले आज पनि सताइरहेको हुन्छ । शब्दकोष पल्टाउन मैले देखाएको अल्छीपना देखेर बुवाले मलाई शब्दकोषसँग बाँधिरहने नयाँ उपाय निकाल्नु भएछ । एक शनिबार बुवाले भन्नुभयो,‘आज दिनभरिमा चम्पकभित्रको तिमीलाई मनपर्ने एउटा कथा नेपालीमा अनुवाद गरेर साँझसम्ममा मलाई देखाउनुपर्छ ।’
शनिबारे बिदाको दिन छोरा यताउता खेल्न जान्छ कि भन्ने पीर निवारण गर्न बुवाले निकाल्नु भएको त्यो बढो खतरा आइडिया थियो । त्यो कुरा मलाई के थाहा ? म विचरा बुवाको आदेश खुरुखुरु मान्दै अङ्ग्रेजी भाषाको कथा नेपाली भाषामा अनुवाद गर्ने काममा जोत्तिएँ । अझ सकेसम्म बुवाले लगाएको काम सकेर बाहिरतिर खेल्न जाने मनभित्रको हुतहुती त छँदै थियो ।
अङ्ग्रेजीबाट नेपालीमा अनुवाद (सायद त्यत्तिबेला मलाई अनुवाद वा ट्रान्सलेसन भन्ने शब्दको ज्ञान पनि थिएन) गर्न शब्दकोषको सहारा नलिई त हुने कुरै भएन । अनि त्यही ‘युज मि’ पल्टाउँदै कथा अनुवाद गर्न थालें । मलाई लगभग दिनैभरि लागेको थियो त्यो काम फत्ते गर्न । त्यो अनुवादको कपी अहिले मसँग छैन । भएको भए पढेर त्यत्तिबेलाको मेरो काँचो अनुवादको मज्जा लिने थिएँ ।
कथा अनुवादवापत मैले र मसँगै भाइले पाउने ज्याला भनेको मःमः चा । मःमः त पछि ठूलो भएर भन्न सिकेको हो । शुरु शुरुमा त मःमः को नाम मःमःचा थियो । कहिले बुवाले घरमै प्लास्टिकमा पोका पारेर ल्याउनुहुन्थ्यो अनि कहिले मःमःचा पसलमै हाम्रो सवारी चल्थ्यो । त्यत्तिबेला तचपालको रामकृष्ण वैद्यको मःमःचा पसलबाट ल्याउनुहुने मःमःचाको झोल विशेष लाग्थ्यो । खासमा त्यो गोल्भेडाको अचार र पानीको झोल हो । तर मःमःचासँग त्यसको मिलन बडो बेजोड निस्कन्थ्यो ।
बुवाले कथा अनुवाद गर भनेपछि मेरो मुखमा त्यही मःमःचाको स्वाद सररर बहिसक्थ्यो । म थुक घुटुक्क निल्थें । अनि त्यही मःमःचाको लोभमा अनुवाद गर्थें । अनुवाद के होला र त्यो । जे होस् कापीमा केही केही लेख्थें ।
चम्पकसँगको मेरो मित्रता वर्षौं चल्यो । तर सायद पछि त्यो पत्रिका बुवाले किन्नुहुने गोल्मढीको फ्रेण्डसीप बुक्समा आएन । त्यसपछि हाम्रो मित्रता तोडियो । अलि ठूलो भए पछि म विद्यार्थी हित समितिमा लागें अनि सँगै मेरो रुची पनि फरक हुँदै गयो । मैले पनि त्यो पत्रिकाको खोजी गरिनँ । तर जब जब बाल्यकाल र कलिलो विद्यार्थी जीवनको सम्झना गर्छु, जनावरहरुका कथाले भरिएका चम्पकका विभिन्न आवरण मेरो मानसपटलमा आइरहने गर्दछ ।
मुना पत्रिकामा कोठाहरुमा शब्द भर्ने (क्रसवोर्ड) स्तम्भ पनि थियो । साँझपख बुवाको समय हुँदा हामी बुवा छोरा मिलेर त्यो क्रसवोर्ड भथ्र्यौं । साह«ै रमाइलो हुन्थ्यो । बुवा जान्ने कि म भन्ने प्रतिस्पर्धा जस्तो पनि चल्थ्यो । जान्न त म कहाँ बुवा जति जान्ने हुँला र ? तर मेरो मनोभावना त्यत्तिबेला त्यस्तो हुन्थ्यो ।
एक पटक मलाई सनक चढ्यो– आफूले भरेको क्रसवोर्ड मुनामा पठाउने र पुरस्कार जित्ने । क्रसवोर्ड ब्लेडले मिलाएर च्याटेर खाममा खामबन्दी गरेर मैले हुलाक कार्यालयमा गएर मुनाको पोस्टबक्स नं मा पठाएँ । क्रसवोर्डसँगै मैले एउटा कविता पनि पठाएँ मुनाको ठेगानामा । तर मैले न त क्रसवोर्ड जितेको कुनै सूचना प्रकाशित भयो न मेरो कविता नै मुनामा छापियो । तरै पनि मुनासँग मेरो धेरै पछिसम्म मायालु कायम नै रह्यो । उमेरसँगै रुची र छनौटको विषयमा अन्तर आउन थालेपछि मुनाबाट क्रमशः टाढिदै गएँ ।
त्यसताका अर्को एउटा पत्रिका पनि आउथ्यो बजार–विज्डम । विद्यार्थीलाई लक्षित गरेर नै त्यो पत्रिका निस्कने गथ्र्यो । तर त्यसको स्तर अलि माथिल्लो लाग्थ्यो । त्यो पत्रिका पनि भारतबाटै निस्कथ्यो । तर त्यसको अङ्ग्रेजी भाषा मलाई अलि जटिल नै लाग्थ्यो । मभन्दा अलि ट्यालेन्ट वा माथिल्लो कक्षाका विद्यार्थीले मात्र त्यो विज्डम पढेको देख्थें । त्यसकारण त्यो पत्रिका मेरोलागि निकालिएको होइन भन्ने लाग्थ्यो । फेरि मलाई त्यसको चित्र र सूचनामूलक सामग्रीहरु उति रोचक पनि लाग्दैथ्यो । मैले विज्डमको कुनै पनि सामग्री अनुवाद गर्ने धृष्टता भने कहिल्यै गरिनँ । तर त्यसका केही सूचना भने कक्षामा शिक्षकका सामू आफू ‘हिरो’ तोपल्न काम लागेका थिए ।
मुना, सुनकेस्रा, चम्पक र विज्डमको समय छिचोल्दै हामी क्रमशः नवयुवा र नौलो आयामको फराकिलो कालखण्डमा प्रवेश ग¥यौं । त्यो कालखण्डबारे कुनै दिन लेख्ने रहर छ । तर आफ्नो पाठ्यपुस्तकभन्दा बाहिरका अरु पत्रिका र पुस्तक पढ्ने बानी भने सानै उमेरदेखि बसेकै राम्रो हुने रहेछ । पछिसम्म पनि पुस्तक पढ्ने बानीलाई जीवनसँग जोड्न धेरै सजिलो हुने रहेछ ।
मैले धेरै किताब पढेको छैन । विश्वविद्यालय पढ्दाताका मलाई मेरा साथीहरु हेरी लाग्थ्यो–म कति कम किताब पढ्ने मान्छे, म कति बिस्तारै किताब पढिभ्याउने मान्छे । मेरा केही साथीहरुको तुलनामा म साह«ै कम मात्र पढ्ने मान्छे हुँ । तर ढिलै भए पनि एउटा किताब भने पढिरहने बानी छ । कुनै किताब पढ्दै जाँदा शुरुको प्रसङ्ग नै भुल्ने गरी असाध्यै धिमा गतिमा किताब पढिन्छ । त्यो राम्रो पक्कै होइन । तर पढ्दै नपढ्नुभन्दा त राम्रो हो । अनि अतिरिक्त अध्ययनलाई आफ्नो जीवनपद्धति बनाउने शिलशिला भने सानै उमेरबाट, स्कूले दिनहरुबाट नै हुनुपर्दछ । मेरो सन्दर्भमा मुना,चम्पक आदि बालसामग्रीबाट त्यसको आरम्भ भएको महसुस गर्छु । कसैका सन्दर्भमा बालपत्रिकामार्फत् नभई बालकिताबबाट त्यसको आरम्भ भएको हुनसक्दछ ।
कसैको सन्दर्भमा यसको शुरुवात विद्यालय, प्रेरणा शिक्षक–शिक्षिका हुनसक्छ । कसैको सन्दर्भमा परिवार, प्रेरणा घरकै परिवार–बुवा, आमा, दाई–दिदी, काका–काकी हुन सक्ला । मेरो सन्दर्भमा विद्यालयभन्दा पनि परिवार र बुवा नै यसको आरम्भबिन्दु बन्यो ।
Leave a Reply