भक्तपुर, ३ कार्तिक । नेपाल मजदुर किसान पार्टी ९ वडा एकाइ समितिको आयोजनामा दीपावली, नेपाल संवत् ११४६ (न्हू दँ) को अवसरमा आइतबार शुभकामना आदानप्रदान तथा प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगर प्रमुख सुनिल प्रजापतिले पार्टी कार्यकर्ताहरूले पार्टीको सिद्धान्त र विचारलाई व्यवहारमा लागु गर्नुपर्ने बताउनुभयो ।
उहाँले बेइमान गर्ने भ्रष्टाचारीहरूलाई सम्मान गरेसम्म देश र जनताले दुःख पाउने स्पष्ट पार्नुभयो । उहाँले सङ्गत राम्रो भएमात्र देश बनाउन सक्ने बताउनुभयो ।
जनतालाई शोषण र अत्याचार गरेकैले विध्वंस मच्चिएको उल्लेख गर्दै उहाँले तिनीहरू देशी विदेशी शक्तिबाट चल्न नहुने बताउनुभयो ।
उहाँले संविधानमा लेखेबमोजिम मात्र सरकारले काम गरे कोही पनि बेरोजगार बन्न नपर्ने औँल्याउनुभयो । उहाँले समसामयिक विषयमा प्रशिक्षण दिँदै अहिलेको युवा राम्रो बाटोमा गएमात्र देशको भविष्य बन्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले समाजवादी व्यवस्थासहितको राम्रो नेतृत्वले देश अघि बढ्ने बताउनुभयो । उहाँले पार्टीको सङ्गठन विस्तारको क्रममा भएको जनगुनासाको विश्लेषण गर्दै अहिलेको अन्तरिम सरकार विदेशी शक्ति राष्ट्रबाट सञ्चालित भएको बताउनुभयो ।
अनुसन्धानको क्षेत्रमा लाग्नुपर्ने जेन–जीहरू विध्वंसमा लाग्दा देशमा विदेशी चलखेल बढेको उल्लेख गर्दै उहाँले युवाहरू वैचारिक र सैद्धान्तिकरूपमा सचेत र सङ्गठित हुनुपर्ने औँल्याउनुभयो ।
जगनाथ प्रजापति, नातिभाइ ह्योम्बा र दिलभक्त कोजुले नयाँ वर्षको शुभकामना दिनुभएको उक्त कार्यक्रममा आयोजक समितिका अध्यक्ष कृष्णभक्त लवजू, काशिलाल प्रजापतिले पनि समसामयिक विषयमा बोल्नुभएको थियो ।
Leave a Reply