भर्खरै :

नयाँ पुस्ता सचेत नभए देश नरहने खतरा

नयाँ पुस्ता सचेत नभए देश नरहने खतरा

काठमाडौँ, ६ कार्तिक । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा देशको समसामयिक राजनीतिबारे कीर्तिपुर नगरमा कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले नयाँ पुस्ता सचेत नभए कुनै पनि समयमा देशको सार्वभौमिकता गुम्न सक्ने खतरा भएको बताउनुभयो ।
अमेरिकी साम्राज्यवादको सहयोगमा भारतीय विस्तारवाद र एकाधिकार पुँजीले राजनीतिक, सांस्कृतिक हस्तक्षेप गरेकै कारण ०७२ सालमा संविधान जारीको नाममा नाकाबन्दी गरेर दुःख दिन थालेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भारतीय नाकाबन्दीको विरोधमा नेपाल मजदुर किसान पार्टीले सडक र संसद्बाट तीव्र विरोध गरेपछि भारतीय सरकारले नाकाबन्दी फिर्ता लिन बाध्य भएको थियो । २०७२ सालको भारतीय योजना असफल भएपछि अब नयाँ पुस्ताको आन्दोलनको तावामा अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादले नयाँ ढङ्गको षड्यन्त्र गर्नेबारे सजग हुनुपर्छ ।”
आन्दोलन कुशासन र भ्रष्टाचारविरूद्ध भएको चर्चा गर्दै उहाँले यसको सम्पूर्ण दोष सरकारले लिनुपर्ने बताउनुभयो ।
अब नयाँ पुस्ता राजनीतिकरूपले सचेत र सही राजनीतिमा सङ्गठित हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपाका पूर्वकेन्द्रीय सदस्य श्रीकृष्ण महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक लोभमा देशलाई बर्बाद पारिन सक्नेबारे सचेत हुनुपर्ने बताउनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका सदस्य रमेश वैद्यले भदौ २३–२४ को आन्दोलनबारे जानकारी दिँदै युवाहरू राजनीतिक सुझबुझका साथ अगाडि बढ्नु जरूरी छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष मिनबहादुर बाटाले देशमा पुँजीवादी बन्दोबस्त रहेसम्म भ्रष्टाचार अन्त्य नहुने भएकोले अहिलेको सरकार पनि पुँजीवादी नै भएकोले कामदार जनताको सेवा गर्न नसक्ने बताउनुभयो । कार्यक्रममा कान्छाबाबु महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *