भर्खरै :

विदेशीको तलब खानेहरूबाट देशलाई जोगाउन सकिन्न, नेपाली जनता सचेत हुनु जरुरी छ

विदेशीको तलब खानेहरूबाट देशलाई जोगाउन सकिन्न, नेपाली जनता सचेत हुनु जरुरी छ

२०८२ भदौ २३ गतेको गोली काण्डपछि सामाजिक सञ्जाल ‘डिस्कर्ड’ मा भएको संवादमा सोडियम, केमिकल, हतियार, मोलोटोभजस्ता शब्द पटक–पटक प्रयोग भएको समाचार आयो । सामाजिक सञ्जालको छलफलमा छद्म नाममा सहभागीहरूले हिंसात्मक गतिविधि गर्नुपर्ने कुरा बारम्बार उठाए । उनीहरूले राष्ट्रिय सम्पत्ति र व्यक्तिको घरमा आगजनी गर्नुपर्ने, नेताहरूको हत्या गर्नुपर्ने, मन्त्री क्वार्टरमा लुटपाट मच्चाउनुपर्ने, विमानस्थलभित्रको पेट्रोल पम्प पड्काउनुपर्ने अभिव्यक्ति दिएको बाहिरियो, यो तथ्य ओली सरकारले कसरी थाहा पाएन ?
सामाजिक सञ्जाल ‘डिस्कर्ड’ मा हतियार कसरी चलाउने, हतियार तस्करी र हिंसात्मक गतिविधि गर्न उत्पे्ररित गर्ने काम विगत लामो समयदेखि भइरहेको समाचार पहिले नै बाहिर आएको थियो । तर, सरकार लाचार भयो ।
भदौ २४ गते कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकाका दर्जनौँ भवनहरू जलाइए । नेपाली सेना, जनपथ प्रहरी, सशस्त्र प्रहरीको सुरक्षामा रहेको सिंहदरबार जलाइँदा राष्ट्रसेवक भनिनेहरू के गर्दैै छन् ? सिंहदरबारको माथिल्लो तलाका झ्याल सधैँ बन्द हुन्छ, तर भदौ २४ गते आगो फैलाउनकै लागि माथिल्लो तलाका झ्याल खुला राखिएको समाचार छ । यी काम सिंहदरबारभित्रका उच्च अधिकारीबाहेक अरूले गर्न सम्भव छ र ?
सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायतका भवनमा आगो लगाउन पेट्रोल बम प्रयोग गरिएको तस्वीर सार्वजनिक भयो । आगलागीमा संलग्न व्यक्तिहरूले तयारीका साथ पेट्रोल भरिएका सामान बोकेर हिँडेको सामाजिक सञ्जालमा आएकै हो । आगजनीमा रसायन प्रगोग भएकै कारण आगो चाँडो फैलिएको जानकारहरूको मत छ । प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाबाट अहिलेसम्म रिपोर्ट आएको छैन । अरू देशमा भएका आगजनीका भग्नावशेषको रिपोर्टअनुसार पनि रसायन प्रयोग भएको विज्ञहरूको मत छ ।
सर्वोच्च र जिल्ला अदालतका महत्वपूर्ण मिसिल जलाइएको, त्यसमा शासक दलका नेताहरू संलग्न भ्रष्टाचार मुद्दाका अधिकांश मिसिल जलाइएको समाचार छ । आगोबाट सुरक्षित हुने गरी अन्डरग्राउण्डमा राखिएका मिसिलसमेत खोजी खोजी जलाइएबाट अदालतभित्रकै कर्मचारीहरू संलग्न छैनन् भन्न सकिन्छ र ? आगजनीमा संलग्न हुनेलाई कुन दराजमा कुन मुद्दाको मिसिल छ भन्नेसमेत जानकारी रहेको समाचारले देशको महत्वपूर्ण दस्तावेज मेटाउन आगजनी गरिएकोस्पष्ट हुन्छ ।
आन्दोलनको नाममा देशको महत्वपूर्ण सम्पदा नष्ट गर्ने काम विदेशीले मात्र गर्न सक्छ । अझ रसायन प्रयोग गरेर गरिने आगजनीले देशै खरानी हुने अवस्था सृजना हुन सक्छ । यस्तो हुँदा समेत नेपाल सरकारले कुनै सूचना पाउन सकेन । विदेशीको तलब खानेहरूबाट देशलाई जोगाउन सकिन्न, नेपाली जनता सचेत हुनु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *