भर्खरै :

पर्खिरहेको छ गाजा

  • कार्तिक ९, २०८२
  • सूर्यप्रसाद लाकोजू, पनौती
  • साहित्य
पर्खिरहेको छ गाजा

माथि आकाशमा
कावा खाँदै उडिरहेको छ मृत्यु
कुन बेला, कसलाई
टपक्क टिप्ने हो
केही थाहा छैन
थाहा छैन
त्यहाँ
मरेर पनि बाँचिरहेका छन्
या
बाँचेर पनि बारबार
मृत्युवरण गर्दै छन्
हरेक पल, प्रत्येक क्षण
मृत्युको डर बोकेर
जिउन बाध्य छन् मानिस
यो प्राकृतिक डरलाई मार्ने
एउटा योद्धा
पर्खिरहेको छ गाजा ।

सिङ्गो मानवता मारेर
विजय उत्सव
मनाइरहेकाहरू
आफ्नो मनको
‘भगवान्’ पनि मार्दै छन्
सभ्यताको स्वाङ रच्नेहरू
असभ्यताको म्याराथनमा
सहभागी हुँदै छन् निरन्तर
बोल अब त बोल
बम, बारुद खाएर
सुकेनास लागेकाहरूको पक्षमा
ढिलो नगरिकन
एक शब्द त बोल
अत्याचारको विरुद्ध
बोल्न नसक्ने शक्तिशालीहरू
तिम्रो शक्ति केको लागि ?
मानवता प्रश्न तेस्र्याइरहनेछ
युगदेखि युगसम्म
आज
बोल्नसमेत नसक्नेहरूका बिच
क्रूरताको जञ्जिर तोड्ने
नयाँ युग पुरुष
पर्खिरहेको छ गाजा ।

आज, आफ्नै घरमा
चोर पसेको छ
मुटुमा चोटै चोटको
खाना बसेको छ
भोको पेटमा
गोलि खान बाध्य
बिचरा जनताको जीवन
अन्योलमा फसेको छ
आफ्नै घर परचक्रीले लुटेपछि
बेघर बनेकाहरूको छाती
छियाछिया भएको छ
हिंसाको यो रौद्ररूपमा
नयाँ जीवनको
उज्यालो किरण छर्ने
नयाँ क्रान्ति पुरुष
पर्खिरहेको छ गाजा ।

न खाना
न छाना
न नाना
न औषधि
न ऊर्जा
छन् केबल बारुदको गन्ध
गोलि अनि लन्चर
भविष्यका फूल
चुँडिएका छन् कोपिलामै
कोपिला स्याहारेर बस्ने माली
सिकार भएका छन् बमको
आफूमाथि भएको अत्याचारको घाउ
सक्दैनन् देखाउन
अनि
सक्दैनन् पनि देख्न
उनीहरूको गहिरो घाउ
त्यसैले
आफूमाथि परेको चोट देख्ने
उनीहरूको नयाँ भविष्य लेख्ने
नयाँ विधाता
पर्खिरहेको छ गाजा ।

क्रूरताको आँखाले
पानीका लागि लामबद्ध
बालबालिका देख्दैन
महिला, वृद्धहरू
खानाका लागि उभिएको
लाइन पनि देख्दैन
अन्धो क्रूरता
आफ्नो निर्ममता
बर्साएर जान्छ
तैपनि,
खाएर अघाउँदैन
मान्छेको प्राण
छाना खोसिएकाहरू
पानीमा, खानामा
जीवन खोजिरहन्छन्
अफसोच
जीवन नपाइकनै
जीवन गुमाउँछन्
यस्तो दुर्लभ अपराधलाई
दण्ड दिने
न्यायपुरुष
पर्खिरहेको छ गाजा ।

(पैँतालिसौँ नेपालभाषा साहित्य तःमुंज्या नःपुखुमा वाचन गरिएको)

Leave a Reply

Your email address will not be published. Required fields are marked *