‘श्रमिक’ समाजवादको पक्षमा अविचलित
- बैशाख २८, २०८३
-नारायणमान विजुक्छें(रोहित)
विद्यार्थी कालमै ‘यो हो सोभियत रुस’, ‘आजको चीन’ र ‘चिनी जनसंघर्षको इतिहास’ पढ्ने अवसर पाएको थिएँ । त्यसबेला गोविन्दप्रसाद लोहनीज्यू, श्यामप्रसाद शर्मा र अन्य केही प्रगतिशील लेखकहरु सक्रिय हुनुहुन्थ्यो । व्यक्तिगत रुपले मैले वहाँहरुमध्ये कसैलाई चिनेको थिइन । ‘कामरेड जाने होइन ?’, ‘नेतृत्वको भोक’, ‘द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवाद’ जस्ता पुस्तकहरुको सम्झना आउँछ ।
पुस्तकालयहरुबाट प्राप्त ती पुस्तकहरु मार्फत् म र मेरा केही साथीहरु माक्र्सवाद र नेपाल कम्युनिष्ट पार्टीतिर आकर्षित हुँदै गयौं । मेरा साथीहरुमध्ये केही मभन्दा दुई चार वर्ष पहिले नै भूमिगत कम्युनिष्ट पार्टीको सम्पर्कमा थिए । जनअध्ययन मण्डल र बौद्धिक विकास मण्डलजस्ता अध्ययन गोष्ठी र पुस्तकालयमा हरेक शुक्रबार साहित्य गोष्ठी, वादविवाद र स्वतन्त्र भाषणका कार्यक्रमहरु हुन्थे र मेरा केही अग्रज साथीहरुले लेखकहरु र विभिन्न नामका नेता वा व्यक्तिहरुबाट सञ्चालन हुने कक्षाहरुमा समेत सामेल गराउँथे ।
यसरी म देश र विदेशको परिस्थितिसँग अवगत भएँ । तर ती साथीहरुमध्ये सबैजसो साथीहरु गोविन्दप्रसाद लोहनीज्यू र वहाँका कृतिहरुबाट परिचित थिए । औपचारिक र अनौपचारिक छलफल र कुराकानीमा लोहनीजी र वहाँका रचनाबारे चर्चा हुन्थ्यो ।
पञ्चायतकालभन्दा पहिले प्रगतिशील साहित्य र प्रतिक्रियावादी साहित्यबारे लोहनीजी र ईश्वर बराल बीचको सैद्धान्तिक छलफल साहित्यिक पत्रपत्रिकाहरुमा पढ्न पाइन्थ्यो । आलोचना, प्रत्यालोचना र प्रत्यालोचनाको आलोचना जस्ता शीर्षकहरुबाट पाठकहरु आकर्षित हुन्थे र उत्साहका साथ वहाँहरुको वाद प्रतिवाद अध्ययन गर्थे । प्रगति र धरती जस्ता पत्रपत्रिकाहरुमा वहाँहरुका छलफल पढ्न पाइन्थ्यो । मेरो विचारमा साहित्यबारे वहाँहरुका रचनाहरुको संकलन प्रकाशित भएमा तात्कालीन नेपाली साहित्यको स्थितिबाट नेपाली भाषा र साहित्यप्रति चासो राख्ने र अध्ययन गर्ने पाठकहरुको निम्ति मननयोग्य विषयवस्तु बन्नेछ ।
पञ्चायतकालको नेपालको भुमि व्यवस्था, भूमि सुधार सम्बन्धि वहाँका रचनाहरु पनि जानकारीमूलक र तिनले नेपाली अर्थतन्त्रको निम्ति एक आवश्यक सूचनाको काम गथ्र्यो । त्यसमध्ये केही सरकारी प्रकाशनमा थिए ।

नेपालको विभिन्न सरकारी र अनेक संस्थाहरुको तर्फबाट विदेशी गोष्ठी, सेमिनार र सम्मेलनहरुमा गोविन्दप्रसाद लोहनीजीले नेपालको प्रतिनिधित्व गर्नुहुन्थ्यो । देश फर्कनु भए पछि वहाँले त्यस बैठक र सम्बन्धित देशको बारेमा गोरखापत्र र अन्य पत्रपत्रिकामा २,४ पृष्ठको अनुभव लेख्नुहुन्थ्यो । यात्रा साहित्यको अभाव भएको नेपाली साहित्यमा वहाँका ती यात्रा वर्णनहरुलाई एउटै पुस्तकमा संगाल्न पाए हुन्थ्यो भनी प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनमा बेला बेलामा अधिकारीहरुसँग चर्चा चलाउँथें । तर थाहा पाएर हो वा थाहा नपाएर हो, त्यसबारे कहिल्यै व्यवहारमा कार्यान्वयन भएको जनताले थाहा पाएनन् ।
लोहनीजी पाकिस्तानको राजदुत बन्नुभयो र नेपालको हितमै वहाँले आफ्नो कर्तव्य पुरा गर्नुभयो । नेपाल र पाकिस्तानको बारेमा छिमेकी भारत सचेत हुनु पनि त्यत्तिकै स्वाभाविक थियो । तर सबै नेपालीले आ आफ्नो पदको मर्यादा अनुसार कर्तव्य पालना गरेमा देश र जनताको हित हुनु पनि त्यत्तिकै स्वाभाविक हो ।
एक पटक, लोहनीजीले राजनैतिक व्यक्तित्वहरुले आफूसँग सहमत नहुने पक्षसँग पनि वार्ता र छलफल गर्नु जरुरी हुन्छ भने बारे मलाई घच्घच्याउनु भयो । एक दिन बिहान १० बजे राजदरबारमा राजासँग भेटघाट गर्ने समय तोकियो । तर त्यसै दिन बिहान ८ बजे वहाँको फोन आयो, रोहितजी, आजको कार्यक्रम स्थगित भयो । म १० बजेतिर आएर त्यसबारे बताउँला ।
वहाँले बताउनुभयो, दरबारमा निर्णय भएको कार्यक्रम आजसम्म स्थगित भएको थिएन, यो पहिलो घटना हो । प्रहरी, गुप्तचर विभाग, सेना र दरबारीहरु सबै नारायणमान आतंकवादी खालको मानिस हो । दरबारमा भेट दिनु उपयुक्त नहुने सल्लाह राजालाई दिए ।
केही वर्ष वहाँले नेपालको वार्षिक बजेट निर्माणमा सरकारलाई सहयोग गर्नुभयो । २०४५ सालको भाद्र महिनामा सरकारले केन्द्रीय स्तरमै षड्यन्त्र मार्फत् भक्तपुर काण्ड मचाइयो । नेमकिपाका हामी ६७ जना ज्यान मुद्दामा फसाइयौं र सयौं कार्यकर्ता र साधारण जनता चरम प्रताडनाको शिकार भयौं । आखिर २० महिना पछि सरकार मुद्दा फिर्ता लिन बाध्य भयो ।
त्यसबेला गोविन्दप्रसाद लोहनी, बल्लभमणि दाहाल, आनन्ददेव भट्ट, लक्ष्मण राजवंशी, कमलराज रेग्मी आदिको सहयोगबाट स्थितिलाई सहज बनाएको मेरा साथीहरुले मलाई कारागारमा खबर पुर्याएका थिए ।
३०,४० वर्षको पुराना घटनाहरुको सम्झना गर्दा शासक दलहरु र सरकारविरोधी राजनीतिक दलहरुसँग कुटनैतिक कार्य गर्ने राजनैतिक नेता र कार्यकर्ताहरुको कमी भएको अनुभव गर्छु ।
प्रा.बल्लभमणि दाहालजी केही वर्ष अगाडि नै बित्नुभयो, कमलराज रेग्मी हालै बित्नु भएको दुःखद् घटना सुनें । गोविन्दप्रसाद लोहनी, आनन्ददेव भट्ट र लक्ष्मण राजवंशी जीउँदै हुनुहुन्छ । वहाँहरु तीनै जना नेपाली भाषा र साहित्यका योद्धाहरु हुनुहुन्छ र आ आफ्नो क्षेत्रमा वहाँहरुले आ आफ्नो कतव्य पालना गर्दै रहनुभयो । समय र उमेरले सबैलाई गाँज्नेबारे हामी सबै अवगत छौं । सबैले सधैं देश, जनता, समाज र साथीभाईको सहयोग र गुण गरी रहन सक्दैन । तर समाजले देश र जनतालाई गुण गर्ने व्यक्तित्वहरुलाई बिर्सनुहुन्न र वहाँहरुको गुणबाट सबैले सिक्ने काम गरौं भन्ने मनमा लिऔं भन्ने मेरो अनुरोध छ ।
गोविन्दप्रसाद लोहनीज्यू एक साहित्यकार, एक अर्थशास्त्री, एक कुटनीतिज्ञ र एक राजनैतिक चेत भएको देशभक्त हुनुहुन्छ । म वहाँको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दछु ।
(२०७५ बैशाख १ गते शनिबार राजधानीको भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा सम्पन्न वरिष्ठ कुटनीतिज्ञ, लेखक तथा अर्थविद् गोविन्दप्रसाद लोहनीका कान्छा छोरा कपील लोहनीको पुस्तक ‘विचार र अनुभूति’ विमोचन तथा नारायणमान विजुक्छें(रोहित) को सम्मान कार्यक्रममा व्यक्त विचारको सार–संक्षेप)
Leave a Reply