सोभियत हुकुमले गरेका कार्यहरू
- कार्तिक २१, २०८२

भक्तपुर, १३ कार्तिक । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कुनै पनि काम सानो र ठुलो नहुने हुँदा सबैले श्रमको सम्मान गर्नुपर्ने आवश्यकता औँल्याउँदै बताउँदै ज्येष्ठ नागरिकको हेरचाहमा बस्ने हरेक कर्मचारीले असल व्यवहार गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ज्येष्ठ नागरिक हेरचाहसम्बन्धी तालिमको समापन कार्यक्रममा बिहीबार बोल्दै प्रमुख प्रजापतिले आफ्ना सन्तानहरूलाई शिक्षाको साथै असल संस्कार सिकाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “हरेक व्यक्तिले सम्पत्ति वा सेवा दुईमध्ये एकको लागि काम गर्छन् । ज्येष्ठ नागरिकको हेरचाह एक सेवा क्षेत्र हो । यसलाई गौरवको रूपमा खुसीका साथ काम गर्नुपर्छ । हरेक घरमा सन्तानहरूले ज्येष्ठ नागरिकको सेवा गरेको खण्डमा पूरै परिवार खुसी हुन्छन् ।”
स्थानीय स्रोत र साधनहरूको अधिकत्तम उपयोग गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले कार्य गरिरहेको उल्लेख गर्दै उहाँले समाज परिवर्तन गर्न प्रत्येक व्यक्तिमा निःस्वार्थी रूपले सेवा गर्नुपर्ने भावनाको विकास हुनुपर्ने बताउनुभयो ।
उहाँले हरेक काम समाजको सेवा हुने भावनाले गर्नुपर्ने बताउँदै मान्छे कामको लागि दौडने भन्दा कामले आफूलाई खोज्ने वातावरण निर्माण गर्नुपर्छ भन्नुभयो ।
तालिम अघि र पछि ज्येष्ठ नागरिक हेरचाहमा आउने व्यवहारले तालिमको महत्व दर्शाउने हुँदा तालिमलाई व्यवहारमा उतार्ने प्रयत्न गर्ने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष रवीन्द्र ज्याख्वले स्थानीय सरकार अभिभावकको रूपमा रहने भएकोले नगरपालिकाले ज्येष्ठ नागरिकहरूको हेरचाह गर्ने उद्देश्यले आदर निकेतन सञ्चालनको तयारीस्वरूप तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले अहिलेको समयमा सामूहिक परिवारमा बस्ने संस्कार कम हँुदै आएकोले ज्येष्ठ नागरिकहरू अपहेलित बन्दै गइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं ६ का वडा अध्यक्ष हरिराम सुवालले नगरपालिकाले चुनावी घोषणापत्रअनुसार आदर निकेतन संचालन गर्ने उद्देश्यले आदर निकेतन सञ्चालन गर्न लागेको बताउनुभयो ।
समाजवादी व्यवस्थामा जन्मेदेखि नमरेसम्म जनताको सेवा राज्यले गर्ने भएकोले भक्तपुर नगरपालिकाले पनि सोही अवधारणाअनुसार काम गर्दै आइरहेको स्पष्ट पार्दै हाँले ज्येष्ठ नागरिकको जीवनशैली कष्टकर बन्दै आइरहेकोले उनीहरूको जीवन सरल बनाउन आदर निकेतन आवश्यक रहेको बताउनुभयो ।
कार्यपालिका सदस्य रोशनमैयाँ सुवालले प्रत्येक घरमा ज्येष्ठ नागरिकहरू हुने भएकोले ज्येष्ठ नागरिकलाई छोराछोरीले सम्मानजनक व्यवहार तथा स्याहार सुसार गर्नुपर्ने कुरामा जोड दिनुपर्ने बताउनुभयो ।
प्रशिक्षक सुन्दर सुवालले ज्येष्ठ नागरिक हेरचाह तालिममा प्रशिक्षार्थीहरूको उत्साहजनक सहभागिता रहेको बारेमा चर्चा गर्नुभयो ।
कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट किसु सुवालले तालिमको समयमा हासिल गरेको अनुभव र उपयोगिताबारे विचार राख्नुभएको थियो । वडा नं ६ का वडा सदस्य सिद्धिराम अवालले पनि बोल्नुभएको थियो ।
नगर प्रमुख प्रजापतिले तालिममा २७ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । भक्तपुर नगरपालिकाले निर्वाचन घोषणापत्रअनुसार भनपा वडा नं. ६ मा आदर निकेतन सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
Leave a Reply