भर्खरै :

सरकारको ऋण २७ खर्ब २४ अर्ब ६५ करोड पुग्यो, यो वर्ष कति थपियो ?

सरकारको ऋण २७ खर्ब २४ अर्ब ६५ करोड पुग्यो, यो वर्ष कति थपियो ?

काठमाडौँ, १३ कार्तिक । सरकारले तिर्नुपर्ने सार्वजनिक ऋण असोज मसान्तसम्म २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामै सरकारले १ खर्ब ८४ करोड रुपैयाँ बराबरको सार्वजनिक ऋण परिचालन गरिएको छ ।
असार मसान्तसम्म कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रुपैयाँ रहेको थियो ।
यसबिच भुक्तानी गरेको साँवा घटाउँदा तीन महिनामा खुद ऋण दायित्व ५० अर्ब ६० करोड थप भएको छ । अहिले नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४४.६१ प्रतिशत पुगेको छ ।
कार्यालयका अनुसार असोज मसान्तसम्म आन्तरिक ऋण १२ खर्ब ७८ अर्ब ७ करोड पुगेको छ । बाह्य ऋण १४ खर्ब ४६ अर्ब ५८ करोड पुगेको छ । यस अवधिमा विनिमय दरमा आएको उतारचढावका कारण नेपालको ऋण दायित्व ४० अर्ब २६ करोडले बढेको तथ्याङ्कले देखाएको छ ।
सरकारले यस वर्ष ५ खर्ब ९५ अर्ब रुपैयाँ बराबर सार्वजनिक ऋण लिने लक्ष्य राखेकोमा असोज मसान्तसम्म लक्ष्यको १६.९३ प्रतिशत अर्थात् १ खर्ब ८४ करोड रुपैयाँ ऋण उठाइएको छ ।
यस अवधिमा आन्तरिक ऋण ९० अर्ब रुपैयाँ उठाइएको छ भने बाह्य ऋण १० अर्ब ८४ करोड लिइएको छ, जसअनुसार लिएको ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८९.२४ प्रतिशत र बाह्य ऋणको हिस्सा १०.७६ प्रतिशत रहेको छ ।
असोज मसान्तसम्म सरकारले सार्वजनिक ऋणको साँवाब्याज भुक्तानीमा कुल १ खर्ब ९ अर्ब ८९ करोड रुपैयाँ खर्च गरेको छ ।
उक्त अवधिमा आन्तरिक ऋणको सावाँब्याज भुक्तानीमा ९६ अर्ब ४१ करोड र बाह्य ऋणको सावाँब्याज भुक्तानीमा १३ अर्ब ४७ करोड खर्च भएको कार्यालयले जनाएको छ ।
तथ्याङ्कअनुसार कुल सावाँ खर्च ९० अर्ब ५० करोड र ब्याज खर्च १९ अर्ब ३८ करोड भएको छ ।
सरकारले यस वर्ष सावाँ ब्याज भुक्तानीमा ४ खर्ब ११ अर्ब १ करोड विनियोजन गरेकोमा असोजसम्मको खर्च २६.७४ प्रतिशत भुक्तानी पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *