भर्खरै :

बेमौसमको वर्षा धान बालीमा असर

बेमौसमको वर्षा धान बालीमा असर

देशको लागि आवश्यक खाद्यान्न, तरकारी, फलफूल, उखु आदि उत्पादन गर्ने कृषकहरू बेलाबखत मर्कामा परेका हुन्छन् । कहिले अतिवृष्टि भएर, अहिले अनावृष्टि भएर त कहिले अन्न भित्याउने बेलामा असिना परेर, भारी वर्षा भएर उनीहरू मर्कामा पर्छन् । कहिले समयमै रासायनिक मल नपाएर, प्राप्त मल गुणस्तरहीन भएर त कहिले बाढी पहिरोको कारण त कहिले नक्कली बीउ या म्याद नाघेको बीउ परेर बालीमा क्षति हुने गरेको पाइन्छ । अहिलेको समय धान भित्याउने बेला हो । कतिले धान काटिसकेका छन्; कतिले धान काट्दै छन् त कतिले धान काटेर खेतमै छोड्नुपर्ने स्थिति छ । धान काट्न बाँकी खेतमा हावाहुरी र असिना परेर धान झर्ने, धान काटिसकेको खेतमा पानी जमेर पाकेको धान भित्याउन नमिल्ने या पानीले भिजेर काम नलाग्ने स्थितिमा पुगेको देखिन्छ । केही दिनअघिको बैमौसमी वर्षा र हावाहुरीले भित्याउन ठिक्क पारेको धानबाली खेतमै अलपत्र परेको छ भने कति पानी जमेर धान सबै पानी भिजेर काम नलाग्ने स्थितिमा पुगेको छ । वर्षाबाट हिमाल, पहाड र तराईका जनताको जीवनमा मात्र होइन अन्नबालीमा पनि असर परेको छ ।
बाराको बारागढी गाउँपालिकामा धानबालीमा क्षति भएको छ । स्थानीय कृषकहरूका अनुसार काटेर भित्याउन ठिक्क पारेको धेरैजसो किसानको धान खेतमै अलपत्र परेको छ; काटेका र मुठा पारेका धान पनि कतिपयले भित्याउन पाएनन् । भारी वर्षा नभए पनि हुरीसहितको वर्षाले धेरै किसानको धान खेतमै अलपत्र परेको छ । पर्वतको पैँयु गाउँपालिकामा पनि धानबालीमा क्षति भयो । धान खेतमा जमेको पानीले भिजेर समस्या परेको छ । सुर्खेतको वीरेन्द्रनगरको एकतानगरमा झरीले काटेको धान भिजेको छ । पाकेको धान काट्ने बेला खेतमै भिजेपछि, पाकेको धान काट्न र थन्काउन नपाएपछि किसानहरू चिन्तित हुनु स्वाभाविक हो । अन्न भिजेर, झरेर काम लाग्दैन । धानबालीको निम्ति गरिएको खनजोत, कामदारको ज्याला र मलको निम्ति भएको खर्च सबै खेर गएको हुन्छ । कोशी प्रदेशका विभिन्न जिल्लामा पनि वर्षात्ले किसानको खेतमा पाकेको धानमा क्षति पुगेको छ । वर्षाले सुनसरी, मोरङ, झापा, उदयपुर, खोटाङ, भोजपुर, ओखलढुङ्गा, इलाम, पाँचथरलगायतका जिल्लामा किसानहरू मर्कामा परेका छन् । मुख्य बाली धान भित्याउने बेलामै परेको वर्षा र हुरीले क्षति पु¥यायो । यसले किसानको लगानी, मलखाद् र श्रमको प्रतिफल पाउनेछैन ।
संखुवासभामा पनि पाकेको धानबालीमा क्षति पुगेको छ । वर्षा र हुरीले खाँदबारी नगरपालिका वडा नं. ४ सेकाहा क्षेत्रमा पाक्न लागेको धान वर्षा र हुरीले धान ढलेर क्षति भएको छ । धानको बोट लडेपछि धान झर्छ, धान भिज्छ । पानीमा डुबेको पराल पनि काम लाग्दैन । यसरी नै भक्तपुरको विभिन्न स्थानमा वर्षाको कारण धान काट्न खँदिलो परेको छ । कति धान ढलेको छ । कति ठाउँमा खेतमा पानी जमेको छ । सुकाइराखेको धानमा पनि समस्या परेको छ । यसरी किसानहरू अनेक कारण मर्कामा पर्छन् र उनीहरूको लगानी, श्रम र समय खेर गएको हुन्छ । समयमा पानी नपर्ने, पानी बढी पर्ने, असिना र हुरी बतासले धान झर्ने, समयमा मल नपाउने आदि कारण किसानहरूको काँधमा समस्यामाथि समस्या थपिरहेको हुन्छ । यसै वर्षको भदौ असोजमा भएको लगातारको अधिक वर्षाले खोला छेउ, बगरमा बाली पुरेर, कहीँ बाढी पसेर ठुलो क्षति भएको थियो । यसरी वर्षैपिच्छे कुनै न कुनै कारण किसानहरू मर्कामा परिरहेका छन् ।
धान किसानहरूको महत्वपूर्ण बाली हो । धानकै भरमा किसानहरूको वर्षभरिको जोहो चल्छ । यतिबेला धान पाकिसकेको थियो । किसानहरू धान काट्ने तयारीमा थियो । तर, अहिले खेतमा पानी जमेको छ । धान देशको मुख्य बाली हो । धान बाली क्षति हुनु भनेको देशकै सम्पत्ति क्षति हुनु हो । यसले खाद्यान्नमा परनिर्भर हुन्छ । देशको निम्ति आवश्यक अन्य विदेशबाट ल्याउनुपर्ने हुन्छ । देशको पैसा बिदेसिन्छ । यसले विकास र जनताको जीवन शैलीमा प्रभाव पार्छ । किसानहरूको जीवनस्तर उठाउन, देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन खेतीपातीको निम्ति आवश्यक स्रोत र साधन सरकारले बन्दोबस्त गर्नु आवश्यक छ । समयमा मल र बीउबिजनको बन्दोबस्त गर्नुपर्छ । सिँचाइको सुविधा हुुनुपर्छ, कृषि औजारहरू सर्वसुलभ हुनुपर्छ । नयाँ नयाँ बाली लगाउन उत्प्रेरित गर्नुपर्छ । यी सबै बन्दोबस्त भएमा देशलाई खाद्यान्न, तरकारी, फलफूल, फूल, चिनी, गेडागुडी र अन्य उत्पादनमा आत्मनिर्भर बनाउन सकिन्छ । अनि मात्रै समृद्ध नेपाल र सुखी नेपालीको नारा व्यवहारमा लागु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *