भर्खरै :

फ्रान्सको राजनीतिक सङ्कटको जड शक्तिशाली राष्ट्रपति पद

फ्रान्सको राजनीतिक सङ्कटको जड शक्तिशाली राष्ट्रपति पद

गत साता आफ्नो पदबाट राजीनामा दिएका फ्रान्सेली प्रधानमन्त्री सेबास्टियन लेकोर्नु चार दिनपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँबाट पुनः सोही पदमा नियुक्त गरिए । लेकोर्नुले अहिले नयाँ मन्त्रिपरिषद् गठन गरेका छन् । तर, म्याक्रोँ अधीनस्थ यो सरकार आगामी संसदीय बैठकसम्म टिक्न सक्नेमा थोरैको मात्र विश्वास छ ।
अहिले फ्रान्सले जे भोगिरहेको छ, त्यो कुनै संसदीय सङ्कट होइन । यो त गम्भीर संवैधानिक सङ्कट हो । तत्कालीन राष्ट्रपति चाल्र्स डी गालले परिकल्पना गरेको कार्यकारी प्रधानता कार्यान्वयन गर्न फ्रान्सेली राष्ट्रपतिलाई झन्डै अर्ध–राजतन्त्रात्मक रूप दिइयो । सन् १९५८ देखि लागु पाँचौँ गणतन्त्र भनिने यस शासन प्रणालीले अब काम गर्न छाडेको छ । यसैले गर्दा त्रिशङ्कु संसद्, गम्भीर वित्तीय सङ्कट र अस्थिर अन्तर्राष्ट्रिय वातावरणमा अहिले फ्रान्सेली राज्य पक्षाघातग्रस्त बनेको छ ।
वर्तमान सङ्कटको केन्द्रमा देशको राष्ट्रपति कार्यालयको प्रकृति र वर्तमान सत्ताधारीको राजनीति नै रहेको छ । गत वर्ष जून महिनामा युरोपेली चुनावमा पराजित भएपछि, म्याक्रोँले संसद् विघटन गरे र तुरुन्तै चुनावको घोषणा गरे । त्यस गैरजिम्मेवार कदमले अभूतपूर्व लोकप्रिय स्थितिमा पुगेको अति दक्षिणपन्थीलाई झन्डै सत्तामा पु¥याएको थियो । तर, आन्तिम समयमा हतारहतारमा बनेको वामपन्थी गठबन्धन र रणनीतिक मतदान अभियानले मरिन ल पेनको नेसनल ¥यालीले आमअपेक्षाअनुरूपको मत पाउन सकेन ।
तर, अन्य कुनै पनि राजनीतिक समूहले बहुमत सीट प्राप्त गर्न सकेनन् । तथापि, सबैभन्दा ठुलो राजनीतिक समूहको रूपमा उदाएको मध्य वामपन्थी समूहको सरकार बनाउन पाउनुपर्ने मागलाई म्याक्रोँले अस्वीकार गरे । त्यस क्रममा उनले लोकतान्त्रिक अभ्यास र संसदीय अङ्कगणितलाई लत्याएका थिए । बरु, उनले एकपछि अर्को मध्यपन्थी र रुढिवादी नेतालाई अल्पसङ्ख्यक सरकारको नेतृत्व गर्न प्रधानमन्त्री नियुक्त गर्न थाले ।
पूर्वप्रधानमन्त्री मिसेर बार्नियर र फ्रान्वा बायरोले नसकेको बजेट पारित गर्ने काम अहिले म्याक्रोँका घनिष्ठ सहयोगी लेकोर्नुले सक्लान् भनेर कल्पना गर्न गा¥हो छ । यस्तोमा संसद्को नयाँ चुनाव अपरिहार्य देखिन्छ । यसबिच राष्ट्रपतिको राजीनामाको माग अब उग्र वामपन्थी र उग्र दक्षिणपन्थीमाझ मात्र सीमित रहेन । यहाँसम्म कि म्याक्रोँका दुई पूर्वप्रधानमन्त्री बार्नियर र बायरो नै सो भिडमा सामेल भए । यद्यपि, म्याक्रोँ २०२७ अघि पद त्याग्न बाध्य भने छैनन् ।
संसद्को अर्को चुनावबाट त्रिशङ्कु संसद् नै बन्न सक्छ । बाँकी युरोपमा गठबन्धन सरकारको अभ्यास छ । तर, फ्रान्सको शासन कहिल्यै पनि गठबन्धन शासनलाई ध्यानमा राखेर बनाइएको थिएन । गठबन्धनबाहिर विकल्प नदेखिने र वर्तमान व्यवस्थाले त्यसलाई नस्वीकार्ने अवस्थामा अहिलेको पाँचौँ गणतन्त्र आफ्नो अन्तिम चरणमा प्रवेश गरिसकेको हुनसक्छ । खासमा म्याक्रोँवादी राजनीतिक परियोजनाजस्तै पाँचौँ गणतन्त्रको विघटन यसको जग हाल्लिएकै समयमा सुरु भइसकेको थियो ।
पूर्ववर्ती होल्यान्डले शासन छाड्दा देशको मूल्य र उद्देश्यमाथि शङ्का देखिन्थ्यो । राजनीतिक रूपमा कमजोर बनेका होल्यान्ड दोस्रो कार्यकालमा उठेनन् । समाजवादीहरूले कमजोर उम्मेदवारलाई मैदानमा उतार्ने भनेपछि वामपन्थी विभाजित हुने अवस्था सिर्जना भयो । उता अर्को प्रमुख दलमा सार्कोजीका उत्तराधिकारीले यसबिच अर्को भ्रष्ट राजनीतिज्ञलाई आफ्ना नेता चुनेका थिए । छिट्टै तिनको चुनावी अभियान कमजोर बन्दै गयो ।
फ्रान्सेली राजनीतिक परिदृश्य सबै विचारमा लोकप्रियतावाद हाबी भएको समयलाई त्यतिबेला ३९ वर्षका म्याक्रोँले चलाखीपूर्वक आफ्नो फाइदामा उपयोग गरे । उनले असन्तुष्ट जनमतको ठुलो हिस्सालाई आफ्नो इच्छाहरू प्रक्षेपण गर्न मिल्ने खाली क्यानभास दिए । त्यसैले, अधिकांश मतदाताले परम्परागत वामपन्थी र दक्षिणपन्थी दललाई परित्याग गरेर म्याक्रोँलाई रोजे । दोस्रो चरणको चुनावमा म्याक्रोँको प्रतिस्पर्धी ल पेन भइन् । उनी म्याक्रोँको प्रतिभासामु कमजोर देखिन् । म्याक्रोँ विजयी भए । तर, सत्तामा आएपछि धेरै परिवर्तनकारी हुने आशा गरेका म्याक्रोँ उही पुरानो जमानाको विचार भएको अर्को युवा साबित भए ।
संविधानअनुरूप कुनै पनि ‘चेक एन्ड ब्यालेन्स’ को सामना गर्नुपर्र्ने पदमा बसेर म्याक्रोँले देशको राष्ट्रपतीय शासनलाई विभाजनकारी संस्था बनाइदिए । थोरै मात्र लोकतान्त्रिक प्रणाली फ्रान्सको राष्ट्रपति पद जसरी बनाइएको होला, जसले वैध राजनीतिक महत्वाकाङ्क्षालाई ‘नार्सिसिस्ट’ व्यक्तित्व विकारमा परिणत गरिदिन्छ । ‘एल्लो भेस्ट’ सङ्कटदेखि नै सार्वजनिक चिन्ता सम्बोधन गर्न असमर्थ म्याक्रोँले निरन्तर प्रतिनिधि संयन्त्र र नागरिक समाज सङ्गठनलाई बेवास्ता गर्दै आएका छन् । सन् २०२२ मा विभाजित विपक्षका कारण उनी पुनः दोस्रो चरणमा पुग्न सफल भए । त्यसमा फेरि ल पेन उनका प्रतिद्वन्द्वीका रूपमा आइन् । ल पेनको आगमनले लोकतन्त्रमाथि सङ्कट निम्त्याउने चिन्ताले फेरि मतदाताले उनलाई जिताउन सघाए । तर, म्याक्रोँले अहिले आफ्नो सरकार र असफल शासनलाई आफूसँगै ढल्ने अवस्थामा पु¥याएका छन् ।
(लेखक वारविक विश्वविद्यालयका फ्रान्सेली इतिहासकार हुन् ।)

– गार्जियनबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *