भर्खरै :

समयमै सम्बन्धित निकायको ध्यान जाओस्

समयमै सम्बन्धित निकायको ध्यान जाओस्

अद्भूत कलात्मक सौन्दर्यले भरिपूर्ण र विश्वमै अब्बल स्तरको वास्तु विज्ञान र प्रविधि अपनाएर हाम्रो पुर्खाले बनाएको ङातापोल्हँ/सिद्धिलक्ष्मी मन्दिर आफैमा एक अद्वितीय सम्पदा हो । भक्तपुर नगरको मध्य भाग, टौमढीमा देशभरिमै पागोडा शैलीको सबभन्दा अग्लो (३३ मिटर उचाइ भएको) मन्दिरको रूपमा अवस्थित रहनु पनि यसको आकर्षणको आधार हो भन्न सकिन्छ । यो मन्दिर निर्माण गर्नको लागि यसै स्थानलाई रोज्नु र अवस्थिति सुहाउँदो संरचना निक्र्योल गर्नु अत्यन्त उच्च स्तरको प्राविधिक, बौद्धिक, व्यावहारिक, सांस्कृतिक चेत वा सुझबुझको परिणामको रूपमा अध्ययन गरिनु आवश्यक छ । मन्दिर निर्माणको लागि यस स्थानका केही बासिन्दालाई मुआब्जा दिएर अन्यत्र सारिएको भन्ने अभिलेखहरूमा उल्लेख छ । यसरी यो मन्दिर मात्र होइन यस मन्दिर परिसरको पनि आफ्नै विशेष महत्व छ । दक्षिणाभिमुख यो मन्दिरको अगाडिको खुला चोक र सँगै पूर्वी छेउमा उभिएको भैरवनाथको विशाल मन्दिर अनि वरिपरिको परम्परागत शैलीमा निर्माण गरिएका निजी तथा सार्वजनिक भवनले गर्दा ङातापोल्हँको शोभा यति विधि वर्णनीय भएको हो ।
तर, यो मन्दिरको उत्तरी परिसर भने हेर्न र देखाउन लायक छैन । मन्दिरको पछाडिको एउटा परम्परागत शैलीकै कलात्मक झिङ्गटी छाना भएको दुईतले भवनको अवस्था जीर्ण देखिन्छ । छाना भत्केको र त्रिपालले छोपेर राखेको दृश्यले ङातापोल्हँ मन्दिरको भव्यतालाई गिज्याइरहेको जस्तो भान हुन्छ । सो भवनमा जस्तापाताको प्रवेश द्वार पनि सा¥है अशोभनीय छ । स्थानीयका अनुसार सो भवनमा बिस्का जात्राको लागि बनाइने भैरवनाथ र भद्रकालीको रथका सामग्रीहरू भण्डारण गर्ने गरिन्छ । मर्मत सम्भारको अभावमा सम्पदा नष्ट हुँदै जाने छ । मर्मत सम्भार वा पुनःनिर्माणमा ढिलाइले थप क्षति हुनेछ । सो घर जसको स्वामित्वमा रहेकोे भए पनि सो निकायले तत्काल यसको मर्मत वा पुनःनिर्माणको निम्ति आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।
मन्दिरको अगाडिको परिसरमा कुनै पनि सवारी साधनको प्रवेश निषेध गरिएको छ । त्यस्तै मन्दिरको पछाडि पनि मोटरसाइकल पार्किङ्ग गरिनु सुहाउँदो नभएको सम्पदाप्रेमीहरूमाझ चर्चा चलेको छ । पछाडिको क्षेत्र पनि सम्पदाको दृश्यावलोकन गर्न चाहने आन्तरिक र बाह्य पर्यटकलाई कलात्मक र प्राविधिक विशिष्टताको अवलोकन गर्ने अवसर प्रदान गरियो भने सुनमा सुगन्ध हुनेछ । यस विषयमा पनि सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *