राजनीतिक पार्टी भीड होइन सिद्धान्त र विचारले दीक्षित सङ्गठित शक्ति हो
- कार्तिक २१, २०८२

लम्की, २२ कार्तिक । नेपाल मजदुर किसान पार्टी कैलालीले शुक्रबार १०८ औँ अक्टोबर क्रान्ति दिवसको अवसरमा प्रवचन कार्यक्रम सम्पन्न ग¥यो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर बासीले महान नेता लेनिनको नेतृत्वमा भएको अक्टोबर क्रान्तिको अध्ययनबाट समाज परिवर्तनको लागि मार्गदर्शन हुने बताउनुभयो ।
हुलदङ्गालाई क्रान्ति भन्न नमिल्ने चर्चा गर्दै केन्द्रीय सदस्य बासीले भदौ २३ र २४ गतेको घटना विद्रोह नभई विध्वंस भएको धारणा राख्नुभयो ।
निरन्तर अध्ययनले कार्यकर्ताहरूको स्तर वृद्धि हुने भएकोले अध्ययनलाई जोड दिनुपर्ने चर्चा गर्दै केन्द्रीय सदस्य बासीले प्रतिक्रियावादी साहित्यको प्रभावबाट जोगिन आलोचनात्मक दृष्टिकोणको विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले सामन्ती र पुँजीपतिवर्ग जनताका शत्रु हुन् भन्ने पुष्टि भएको दाबी गर्दै रूसमा अक्टोबर क्रान्तिबाट समाजवाद स्थापना भएको खबरबाट मजदुर किसानहरूले पनि राज्य जित्न सक्ने सन्देश फैलिएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय सहसचिव लक्ष्मी पुनले सुनको थालमा चाँदीको चम्चाले खाइरहेकी जेनी माक्र्सले चरम अभावमा पनि कार्ल माक्र्सलाई साथ दिएको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घ कैलालीका अध्यक्ष गुप्तबहादुर शाहीले व्यक्तिहत्याबाट समाज परिवर्तन नहुने पाठ सिकेर महान् नेता लेनिनले समाजवादी क्रान्ति गरेको बताउँदै वर्गीय दृष्टिकोणबाट सचेत मजदुर किसानहरू क्रान्तिको लागि उठ्छन् भन्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका सुजी ह्योङ्गजूले जेन–जी उपद्रोवलाई क्रान्ति भन्नु गलत भाष्य भएको दाबी गर्दै क्रान्तिले व्यक्तिमात्र होइन, व्यवस्था नै परिवर्तन गर्छ भन्नुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेश रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा ज्योति बडुवाल, सगुन धन्छा, प्रेम बडुवाललगायतले अक्टोबर क्रान्ति दिवसको शुभकामना दिनुभयो ।
Leave a Reply