पुँजीवादी विचारविरुद्ध सङ्घर्ष गर्नु आवश्यक
- कार्तिक २४, २०८२

बाँके, २३ कार्तिक । नेपाल मजदुर किसान पार्टी बाँकेको चौथो जिल्ला सम्मेलन आइतबार कोहलपुरमा सम्पन्न भयो ।
पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सम्मेलनको बन्द सत्रमा अनलाइन सम्बोधन गर्दै गत भदौ २३ र २४ गतेको अराजक गतिविधि अमेरिकी र भारतीय सरकारको उक्साहट भएको हुनसक्ने, नेपालको गुप्तचर विभागलाई त्यसबारे अग्रीम जानकारी हुनुपर्ने र सिंहदरबार, बालुवाटार, शीतलनिवासमा बस्ने शासक दल एवम् तिनका नेताहरू सो घटनाको जिम्मेवार हुने बताउनुभयो ।
विश्व बैङ्क, आईएमएफ, एडीबी, डब्लूटीओलगायत कतिपय अन्तर्राष्ट्रिय आर्थिक संस्थामा अमेरिकी सरकार र नाटो देशको लगानी रहेको छ । यी संस्थामार्फत हुने विदेशी लगानीले देशलाई नवउपनिवेश बनाउनेछ । शासक दलहरूले यी संस्थामार्फत ल्याइने लगानीमा कमिसन खाने र देशलाई ऋणमा डुबाउने काम भइरहेको छ, अध्यक्ष बिजुक्छेँ स्पष्ट पार्नुभयो ।
भारत सरकारले नेपालको नदीनालाका जलविद्युत् सस्तोमा लिने र नेपाललाई महँगोमा बेच्ने काम भइरहेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँेले सरकारमा पुग्दैमा दल र तिनका नेताहरू ठीक नहुने बताउनुभयो ।
“नेपाल विश्व व्यापार सङ्गठन
(डब्लुटीओ) मा सदस्य भएलगत्तै विदेशी सम्बन्धनका विद्यालय, कलेज, अस्पतालहरू किसानको खेतबारीमा साँढेजस्तै नेपालमा पसेका छन् । डब्लूटीओले पश्चिमा देशको स्वार्थमा काम गर्दै छ ।” अध्यक्ष बिजुक्छेँले थप्नुभयो ।
सरकारमा गएका पुँजीवादी दलहरूले शोषकवर्गको हितमा काम गरिरहेको उल्लेख गर्दै उहाँले नेमकिपाबाहेक सबै दलहरू सरकारमा गए पनि देश र जनताको हितमा काम नभएको स्पष्ट गर्नुभयो ।
अध्यक्ष बिजुक्छेँले स्पष्ट गर्नुभयो, “पार्टीको नाममा ‘कम्युनिस्ट’ राख्ने र सरकारमा गएर कम्युनिस्टको सिद्धान्तअनुसार काम नगर्नेहरू यथार्थमा कम्युनिस्ट होइनन् । तिनीहरूले नाममा कम्युनिस्ट जोडेर जनतालाई धोका दिइरहेका छन् । यसतर्फ नेपाली कामदार जनता सचेत हुनु आवश्यक छ ।”
सम्मेलनको बन्द सत्रमा सहभागी कार्यकर्ताहरूको जिज्ञासाबारे स्पष्ट पार्ने क्रममा अध्यक्ष बिजुक्छेँले कार्यकर्ताहरूमा देश र जनताप्रति समर्पित भएर निःस्वार्थरूपमा काम गर्ने भावना जरूरी भएको औँल्याउनुभयो ।
अध्यक्ष बिजुक्छेँले स्पष्ट गर्नुभयो, “चुनावलाई उपयोग गर्नुको अर्थ पुँजीवादी सरकारमा जाने होइन । नेमकिपाको पक्षमा धेरै मत आएमात्र आमूल परिवर्तनको ढोका खुल्नेछ । प्रधानमन्त्री र मन्त्री भएका सबै दलबाट जनतालाई ढोका भयो । यस्ता जनविरोधीहरूलाई उदाङ्ग्याउनु आवश्यक छ ।”
“नेपाली जनताले तिब्बत र थाइवानसहितको एक चीन नीतिलाई दृढ समर्थन गर्दै आएको छ । अन्तरिम सरकारका प्रम सुशीला कार्कीलाई तिब्बतबाट भागेर भारतीय सरकारको आश्रयमा बसेका दलाई लामाको बधाई सन्देशको औचित्य छैन ।” अध्यक्ष बिजुक्छेँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष बिजुक्छेँले उल्लेख गर्नुभयो, “नेमकिपाले जाति र क्षेत्रको वकालत गर्दैन । यो कामदारवर्गको पार्टी हो । शासक पार्टीहरूले नेपाली समाजलाई जातजाति र भाषाभाषीमा विभाजित गरेर मत लिने गर्दै छन् । निर्वाचनमा पैसा र सामान बाँड्ने, भोज खुवाउनेहरूको उम्मेदवारी खारेज हुने कानुनी व्यवस्था जरूरी छ ।”
“नेमकिपाले टायर बाल्ने, तोडफोड गर्ने, आगजनी गर्नेजस्ता काम गर्दैन । हाम्रो गतिविधिमा यस्ता काम गर्नेहरू घुसपैठ हुने सम्भावनातर्फ कार्यकर्ताहरू सचेत हुनु जरूरी छ । सन् १८८६ को शिकागो मजदुर आन्दोलनमा उत्तेजना फैलाउने सरकारी तत्वहरू घुसपैठ भएका थिए”, अध्यक्ष बिजुक्छेँले स्पष्ट पार्नुभयो ।
पार्टीका सचिव प्रेम सुवालले पार्टीका प्रकाशनहरूको अध्ययन र अन्तरक्रियामार्फत कार्यकर्ताहरूको राजनीतिक र सांस्कृतिक स्तर माथि उठाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेमकिपा चौथो बाँके जिल्ला सम्मेलन तयारी समितिका संयोजक बखतबहादुर थापाको अध्यक्षतामा सम्पन्न बन्द सत्रमा नेमकिपा लुम्बिनी प्रदेश संयोजक हरिसुन्दर बासीले पार्टी विधानको अध्ययन र पालनको महत्वबारे प्रकाश पार्नुभयो ।
सम्मेलनबाट शेरबहादुर बिकको अध्यक्षतामा १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरियो । सम्मेलनको बन्द सत्रमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका सुजी ह्योङ्गजूले ‘विश्वका क्रान्तिकारी महिलाहरू’ र सगुन धन्छाले ‘जनताको साहित्य र साहित्यकार’ पुस्तकबारे प्रशिक्षण दिनुभयो ।
Leave a Reply