भर्खरै :

आफ्नै खुट्टामा उभिएर स्वास्थ्य सेवा क्षेत्रमा प्रगति गर्न सके दीर्घकालीन सेवा हुने

आफ्नै खुट्टामा उभिएर स्वास्थ्य सेवा क्षेत्रमा प्रगति गर्न सके दीर्घकालीन सेवा हुने

भक्तपुर, २९ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) सँग जर्मनीको लाउसिट्ज चिकित्सा विश्वविद्यालयका कुलपति प्रोफेसर इखार्ड नागेलको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले शनिबार भेटवार्ता ग¥यो ।
भेटमा प्रतिनिधिमण्डललाई स्वागत गर्दै अध्यक्ष बिजुक्छेँले भक्तपुरको विकास र सम्पदा पुनःनिर्माण कार्यमा एक समयमा जर्मनीका प्राविधिकहरूले गरेको सहयोग भक्तपुरका जनताले सम्झिरहेको बताउनुभयो । जर्मनीसँग चिकित्सा क्षेत्रको लामो अनुभव रहेको चर्चा गर्दै उहाँले उक्त अनुभवलाई नेपालका र ख्वप अस्पतालका नयाँ पुस्ताका चिकित्सकहरूबिच आदानप्रदान गर्न पाएमा धेरै नेपाली जनताको सेवा हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले जनताले आफ्नै खुट्टामा उभिएर स्वास्थ्य सेवा क्षेत्रमा प्रगति गर्न सके दीर्घकालीन सेवा हुने धारणा व्यक्त गर्नुभयो । अध्यक्ष बिजुक्छेँले जर्मन सरकार र जनतालाई नेपाली जनताको तर्फबाट सद्भावनाको सन्देश पु¥याउन आग्रह गर्नुभयो ।
लाउसिट्ज चिकित्सा विश्वविद्यालयका कुलपति इखार्ड नागेलले नेपाली जनताको न्यानो सत्कारबाट प्रभावित भएको उल्लेख गर्दै दुई देशबिचको सम्बन्ध सकारात्मक रूपमा अघि बढिरहेको बताउनुभयो । उहाँले जर्मनीका जनताले नेपाललाई संसारको छानाको रूपमा चिन्ने गरेको बताउनुभयो ।
केही समयअघि नेपालको संसद् भवन जलेको समाचार सुन्दा आफुलाई दुःख लागेको चर्चा गर्दै जर्मनीमा पनि सन् १९३३ मा संसद् भवन जलाइएको र त्यस षड्यन्त्रबाट धेरैजना देशभक्तहरूलाई यातना दिइएको अवगत गराउनुभयो ।
भेटवार्तामा जर्मनीका लागि नेपाली राजदूत डा. शाहिल रुपाखेतीले भक्तपुरका जनप्रतिनिधिहरूले निःस्वार्थ रूपमा जनताको सेवा गरिरहेको सुनेको चर्चा गर्दै ख्वप अस्पतालको अवलोकन भ्रमणले प्रत्यक्ष अनुभव गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *