भर्खरै :

शासकहरू मातृभूमिप्रति सच्चा बफादार हुनु जरुरी

शासकहरू मातृभूमिप्रति सच्चा बफादार हुनु जरुरी

देशको मातृभूमिभन्दा राजनीतिक दल ठुलो हुँदैन । नेपाली जनताभन्दा विदेशी मालिक या दलाल ठुलो हुँदैन । देशलाई भुल्ने, विदेशी शक्ति राष्ट्र या विदेशी दलालको सेवा गर्ने, उनीहरूको पछि लाग्ने दल र दलका नेताहरू देशभक्त हुनसक्दैनन् । हरेक राजनीतिक दलको ध्येय देश जोगाउने र बनाउने हुनुपर्छ । सबै नागरिकहरूलाई देशभक्तिको भावनाबाट अभिप्रेरित गर्नुपर्छ । विदेशी शक्तिको भरमा देश चलाउने होइन† विदेशी शक्ति राष्ट्रहरूको सहयोगमा देश बन्दैन, देश आत्मनिर्भर हुँदैन । देशका शासक दल, अन्य राजनीतिक दल, नागरिक समाज र आम जनतामा देशभक्तिको भावना भए देशमा थिचोमिचो हुँदैन; थिचोमिचो गर्न दिँदैन । देशभक्त भएमा, देश र जनताप्रति समर्पित भएमा देशलाई आन्तरिक र बाह्य कुनै शक्ति या देशले क्षति पु¥याउन सक्दैन† अरु देशको धम्की र उठबसमा बस्नु पर्दैन । यसको लागि शासक दल र अन्य दलहरूले सही दिशाबोध गर्नुपर्छ† सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ । सरकारमा रहेका दलका नेताहरूले गरेका कमी कमजोरी औँल्याएर अघि बढ्नुपर्छ । हरेक राजनीतिक दलभित्र इमानदार, कर्तव्यनिष्ठ, देशभक्त तथा विदेशी शक्तिसामु नझुक्ने जुझारु नेता तथा कार्यकर्ता हुनुपर्छ । कुनै दलले देशघाती, जनघाती सन्धि सम्झौता गर्नुहुँदैन; गरेको छ भने तुरुन्तै गल्ती औँल्याएर सुधार्नुपर्छ । तर, शासकहरू आफूले गरेको गल्ती सच्याउनुभन्दा झन् गल्ती गर्छन्; गल्तीमाथि गल्ती गरेर आफूलाई सही सम्झन्छन् र गर्व गर्छन् ।
शासकहरू नै मातृभूमिप्रति सच्चा बफादार बन्दैनन्; विदेशी शक्ति राष्ट्रहरूको उठवसमा चल्छन् भने उनीहरूले व्यापक जनतालाई के नागरिक भावना सिकाउलान् ? देशभक्तको के पाठ सिकाउलान् ? पार्टीभित्र होस् या पार्टीबाहिर देशविरोधी कुरा गर्ने, पार्टी भड्काउने, नेता तथा कार्यकर्ताहरू बिथोलिने, पार्टीभित्र रहेका शत्रुहरूलाई उदाङ्ग्याउने काम गर्नुपर्छ । कम्युनिस्ट पार्टीहरू विदेशी थिचोमिचो, अतिक्रमण र हस्तक्षेप स्वीकार्दैनन् । आमूल परिवर्तनमा विश्वास गर्ने सच्चा कम्युनिस्ट पार्टीहरू सामन्तवाद, पुँजीवाद, प्रतिक्रियावाद, जालीफटाहा, घुस्याहा र भ्रष्टाचारीहरूको विरोध गर्छन् । देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र पुँजीवादी व्यवस्था हो । यो कुरा सबै कम्युनिस्ट पार्टीलाई थाहा छ । तर, सरकारमा पुगेका कम्युनिस्ट पार्टीका नेताहरू यहीँ पुँजीवादी व्यवस्थालाई अन्तिम व्यवस्था ठानेर अर्को सङ्घर्ष गर्न नपर्ने बताउँछन् । देशमा मनपरी गरेकै कारण सङ्घर्ष आवश्यक छ; सङ्घर्षले सरकार परिवर्तन गर्न सक्छ भन्ने कुरा जेन–जी आन्दोलनले देखायो । हुन त सरकारको नेतृत्व परिवर्तन मुख्य कुरा होइन; मुख्य कुरा व्यवस्था परिवर्तन हो । तर, देशकै सबभन्दा बढी शक्तिशाली सरकारलाई जेन–जी आन्दोलनको सङ्घर्षले ढाल्यो । यो नेका सम्मिलित एमालेको नेतृत्वमा बनेको सरकारलाई मुखभरिको जवाफ हो ।
क्रान्तिकारी विचारका प्रवर्तक माक्र्स र एङ्गेल्सले समाजवाद र साम्यवादको जग हाल्नुभयो । त्यही जगमा टेकेर समाज विकासको विस्तृत व्याख्या गर्ने र समाजलाई अग्रगामी दिशातर्फ लग्ने वैज्ञानिक बाटो खन्ने काम कम्युनिस्ट पार्टीहरूको हातमा छ । संसारका कम्युनिस्ट पार्टीले माक्र्स र एङ्गेल्सले थालेको आन्दोलनको अध्ययन गरी तत्कालीन समय परिस्थितिको व्याख्या गरेर आफ्नो देश, काल र परिस्थितिको आाधारमा देशको समस्या समाधान गर्न केन्द्रित हुनुपर्छ । कम्युनिस्ट पार्टीले पार्टी मातहतका नेता, कार्यकर्ता, शुभचिन्तक, समर्थक तथा आम जनतालाई कम्युनिस्ट पार्टीको वैचारिक दृष्टिकोण स्पष्टसँग राख्नुपर्छ । तर, विडम्बना ! आफूलाई कम्युनिस्ट पार्टी भन्ने दलले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार जनतासमक्ष बताउँदैन; बताउन चाहँदैन । माक्र्स र एङ्गेल्सको सिद्वान्त र विचारलाई आत्मसात गरी व्यापक जनतालाई परिचालन गरी सङ्गठित गर्नुभयो र पुरानो समाजलाई भत्काएर नयाँ समाजको निर्माण गर्नुभयो । ठुला र गौरवशाली पार्टी भनिने कम्युनिस्ट दलका नेताहरू नै माक्र्सवाद र लेनिनवादलाई गलत ढङ्गले व्याख्या गर्छन् । उनीहरू सिद्धान्त भनेको जीवन्त विचार हो भन्ने कुरा भुल्छन् । माक्र्सवादले मजदुरवर्गलाई दिशा निर्देश गर्छ । लेनिनले सिद्धान्तलाई व्यवहारसँग र क्रान्तिलाई समाजवादी निर्माणसँग नजोडेका भए लेनिनवाद भन्न आवश्यक हुँुदैनथ्यो । लेनिनले आफ्नो देशको समय र परिस्थितिअनुसार माक्र्सवादलाई व्यवहारमा लागु गर्नुभयो । नेपालमा पनि देश, काल र परिस्थितिअनुसार माक्र्सवादलाई लागु गर्न सकिन्छ; लागु गर्न देशका सबै कम्युनिस्ट पार्टीहरू लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *