भर्खरै :

जारशाही संसद्मा बोल्शेभिक सांसद – १४

जारशाही संसद्मा बोल्शेभिक सांसद – १४

हडताललाई सधैँझैँ प्रहरीले दमन ग¥यो । ठाउँ–ठाउँमा कारखाना मालिक पनि दमनमा उत्रिए । म्याक्सवेलका दुई कारखाना पेत्रोभ्स्काया र स्पासकायामा काम गर्ने ३ हजार मजदुरले हडतालको भोलिपल्ट डिसेम्बर १५ को दिन उद्योगको मूल गेट बन्द गरिएको पाए । सूचनापाटीमा यस्तो लेखिएको थियो, “बारम्बारको हडताल र मजदुरहरूलाई दिइएको चेतावनीलाई दृष्टिगत गर्दा कारखाना प्रशासन सम्पूर्ण मजदुरलाई तलब दिन बाध्य भएको छ । तलब दिने दिन पछि घोषणा गरिनेछ ।” कारखानाका वरिपरि प्रहरी अधिकारी र हवल्दारहरूको ठुलो टोली गस्ती बस्न थाल्यो । कारखाना केही दिन ढिलो खुलोस् भनेर मजदुरहरूले ज्याला लिन अस्वीकार गर्ने निधो गरे । ज्याला लिने बेला अनेक सर्तहरू पालन गर्नुपर्ने कुरा उनीहरूलाई थाहा थियो । फेरि एक दिन काम बन्द भए पनि मालिकहरूलाई ठुलो नोक्सानी हुन्थ्यो । मध्यान्नसम्ममा केही फोरमेनहरूलाई ज्याला दिइयो । यसकारण, उनीहरूलाई पुनः काममा लिइनेछ भन्ने प्रस्ट भयो । साँझको खानापछि मजदुरहरूको मनोबल अलि खस्कियो र कार्यालयअघि मान्छेको ताँती लाग्यो । त्यस अवधिमा कारखाना प्रशासनलाई प्रहरीले पहरा दिइरहेको थियो । उनीहरूले गोठालाले जस्तै मजदुरलाई कार्यालयसम्म पु¥याउँथे । भित्र कारखाना म्यानेजर आफैले कमान सम्हालेको थियो । उसको हातमा ‘विद्रोही तत्वहरू’ को सूची थियो । खजान्चीले मजदुरहरूलाई पैसा दिएपछि म्यानेजरले पुनः काममा फर्काइने मजदुरको तिरान–पुस्तिकामा छाप लगाउँथ्यो । ज्यालाबाट सञ्चय कोषमा पैसा हाल्नका लागि निश्चित रकम काट्ने अन्तरिम नियमले गर्दा अधिकांश मजदुरले पचास कोपेक (पैसा) देखि दुई रुबल (रूपैयाँ) सम्म पाउँथे । तर, अधिकांश मजदुरले केही पनि पाएनन् । ‘अविश्वासिलाहरू’ लाई सकेसम्म कष्ट दिन कारखाना प्रशासनले पति पत्नी, बाबु छोरी, भाइबहिनीलाई एकैपल्ट कामबाट बेदखल ग¥यो ।
मजदुरहरूलाई यसरी निकाला गरेर प्रशासनलाई उति फाइदा भने हुँदैनथ्यो । भोलिपल्ट केही घण्टाको काम गरेपछि काममा राखिएका सबै मजदुर हडतालमा सामेल हुन आए र बेदखल गरिएका सबै मजदुरलाई पुनः काममा लगाउन माग गरे । मजदुरहरूलाई कारखानाबाट बाहिर जान नदिने प्रहरीको प्रयास सफल भएन । यसपछि मजदुरहरू प्रहरीलाई जिस्क्याउँदै र धम्क्याउँदै अनेक दिशामा छरिए ।
लगातार पक्राउ र दमनको उपाय अपनाए पनि, कारखानाका कोठाहरूबाट मजदुरहरूलाई निकाला गरे पनि मजदुरहरूले हार मानेनन् । म्याक्सवेल कारखानाले मजदुरहरूलाई सताए पनि त्यसको विरोधमा सङ्घर्ष सुरु भयो । यो सङ्घर्षलाई सेन्ट पिटर्सबर्गका बाँकी सर्वहारा जनताले समर्थन गरे । सम्पूर्ण कारखाना र ज्यासलमा जम्मा गरिएको चन्दा तालाबन्दी र हडतालले पीडितहरूलाई राहत दिन खर्च गरियो ।
हाम्रो संसदीय समितिले चन्दा जम्मा गर्ने र बाँड्ने जिम्मा लियो । सेन्ट पिटर्सबर्गबाट मात्र होइन अन्य औद्योगिक नगरी (मस्को, वार्सा, लोज, रिगा आदि) का मजदुरहरूले पनि हामीलाई दैनिकजसो सङ्कलित रकम पठाउँथे । रकम सङ्कलन गरिएका उद्योगहरूको एउटा लामो सूची ‘प्राभ्दा’ मा प्रकाशित भयो । यसले के देखायो भने मजदुरहरूले म्याक्सवेल कारखानामा भइरहेको लडाइँलाई अलग्गै घटनाको रूपमा हेरेनन् । बरु, पुँजीपतिहरूविरुद्धको वर्गसङ्घर्षमा त्यो लडाइँलाई अर्को एक अध्यायको रूपमा हेरे ।
सामाजिक जनवादी समूहका सदस्यहरू, मजदुर सांसदहरू सघन सङ्घर्षमा हेलिएका थिए । हामी हडतालीहरूसँग नियमित सम्पर्कमा थियौँ† हामीले मजदुरहरूलाई आफ्नो माग तय गर्न सघायौँ† उनीहरूलाई सङ्कलित चन्दा हस्तान्तरण ग¥यौँ† विभिन्न सरकारी अधिकारीहरूसँग सम्झौता ग¥यौँ आदि ।
दुवै कारखानामा हडताल पन्ध्र दिनभन्दा बढी चल्यो । तिनताका त्यत्तिको हडताललाई लामै हडताल मानिन्थ्यो । मजदुरहरू एउटै कारणले टिक्न सके । सेन्ट पिटर्सबर्गका मजदुरहरूले दिएको नैतिक र भौतिक सहायताले गर्दा मजदुरहरू त्यो हडतालमा डट्न सकेका थिए ।
पाठ ६
क्राको सम्मेलन
६ बोल्शेभिक सांसद र बोल्शेभिक केन्द्रीय समिति । लेनिनको प्रश्नावली । केन्द्रीय समितिसँग कसरी सम्पर्क राखिन्थ्यो । क्राको सम्मेलन । सम्मेलनको सबैभन्दा महत्वपूर्ण निर्णय । लेनिनका सुझाव र निर्देशनहरू । सांसदहरूको प्रान्त भ्रमण । प्रान्तहरूमा मजदुरहरूको मनोदशा ।
चौथो संसदको सामाजिक जनवादी समूह रुसी सामाजिक जनवादी पार्टीको अभिन्न अङ्ग थियो । यो समूहले पार्टीको काममा महत्वपूर्ण भूमिका खेल्यो । तर, यो पार्टीको एक अङ्ग मात्र थियो । अघिल्लो संसद्मा सामाजिक जनवादी समूहको जिम्मेवारीका सम्बन्धमा पार्टी महाधिवेशन र सम्मेलनमा निर्णय र प्रस्तावहरू पारित गरिएको थियो । त्यसमा सो समूहलाई पार्टी तथा केन्द्रीय समितिको मातहत राखिएको थियो । संसदीय समूहलाई पार्टी अत्यन्त केन्द्रीकृत प्रणालीअन्तर्गत राख्नु सफल क्रान्तिकारी गतिविधिको आधारभूत सर्त थियो । यो सिद्धान्त नअपनाइकन भूमिगत गतिविधि गर्न सम्भव थिएन । यस्तो साङ्गठनिक संरचनाकै कारण हाम्रो पार्टीले दुई रुसी क्रान्तिबिचको सङ्क्रमणकालमा आइलागेका कठिनाइहरू छिचोल्न सकेको थियो ।
मेन्शेभिक खेमाले संसदीय समूहलाई केन्द्रको कडा निर्देशनमा राख्ने विचारलाई स्वीकार गर्दैनथ्यो । अघिल्ला संसद्हरूमा मेन्शेभिक सदस्यहरूले पार्टी अनुशासनलाई बेवास्ता र उल्लङ्घन गरेका थिए । उनीहरूले पार्टी केन्द्रभन्दा स्वतन्त्र रही काम गरेका थिए । उनीहरू संसदीय समूहलाई नै उच्च पार्टी सङ्गठन मान्थे र प्रायः पार्टी केन्द्रको विरोधमा गएर काम गर्थे । यही नीति चौथो संसद्मा निर्वाचित मेन्शेभिक सांसदहरूले पनि अपनाए ।
यसको विपरीत बोल्शेभिक सांसदहरूले पार्टीको नेतृत्वदायी समितिसँग एकदम नङमासु भएर काम गर्नुपथ्र्यो । चौथो संसद्को निर्वाचन अभियानभरि हामीले पार्टी केन्द्रको निर्देशन र मार्गदर्शनमा रहेर काम गरेका थियौँ । हाम्रो पार्टीको मुख्यालय पोल्यान्डको क्राको सहरमा थियो । त्यहाँबाट पार्टीका हजारौँ सम्पर्क सूत्र थिए रुसमा । यसरी पार्टीको सारा सञ्जाललाई पार्टी केन्द्रले एकै सूत्रमा उन्थ्यो र चुनावी गतिविधि सञ्चालन गथ्र्यो । सामान्य निर्देशन जारी गर्नुका अलावा पार्टी केन्द्रले मजदुर निर्वाचन मण्डलका उम्मेदवार छनोट गर्नमा सक्रिय भूमिका खेल्थ्यो । यसरी संसद्मा जाने बोल्शेभिक सांसदहरू स्थानीय सङ्गठनका प्रतिनिधि मात्र हुँदैनथे बरु पार्टीकै प्रतिनिधि हुन्थे ।
सुरुदेखि नै संसद्को निर्वाचन र हामी ‘६ बोल्शेभिकहरू’ का एक एक क्रियाकलाप नेता लेनिनको प्रत्यक्ष निर्देशनमा हुन्थ्यो । निर्वाचनको क्रममा उहाँले मजदुरहरूको भावना र गैरकानुनी निर्वाचन बैठकहरूलाई सावधानीपूर्वक अवलोकन गरिरहनुभएको थियो । सोही अनुसार उहाँले ‘प्राभ्दा’ मा गरिने प्रचारप्रसारको निर्देशन गर्नुभएको थियो । पत्रिकामा एकपछि अर्को लेख लेखेर उहाँले खुट्टा तान्ने विध्वंसकारी (मेन्शेभिक) हरूविरुद्ध बोल्शेभिकहरूका निम्ति मजदुरहरूसँग मत दिन अपिल गर्नुभएको थियो ।
निर्वाचन सम्पन्न भएसँगै मजदुर सांसदहरू सेन्ट पिटर्सबर्गमा आइपुगे । लेनिनले हाम्रो समूहको सुगठनमा ध्यान दिनुभयो । उहाँले प्रत्येक सांसदमा रुचि लिनुभयो; निर्वाचन परिणामबाट सार खिच्नुभयो । निर्वाचन कस्तो अवस्थामा भएको थियो भनी उहाँले अध्ययन गर्नुभयो । मतदाताले सांसदहरूलाई दिएको निर्देशन जाँच्नुभयो ।
मजदुर क्षेत्रबाट निर्वाचित सबै सांसदहरूलाई क्राको सहरबाट विशेष प्रश्नावली पठाइएको थियो । त्यसमा १९ वटा प्रश्न थिए । ती प्रश्नमा निर्वाचन अभियान र सांसदको समग्र व्यक्तित्व समेटिन्थ्यो । निर्वाचनमा मजदुरहरूको सहभागिता कति रह्यो; बैठकमा सबैजना उपस्थित हुन नसक्नुका कारण; निर्वाचन बहिष्कारको भावना; प्रचार साहित्यको वितरण; उम्मेदवार छनोटका विधिहरू; बैठकमा भएका वादविवाद; निर्वाचन प्रतिनिधि को को भए; अन्य पार्टीका क्रियाकलाप; निर्वाचनमा अपनाइएका दमनकारी उपायहरू आदिसँग सम्बन्धित थियो प्रश्नावली । साथै, प्रतिनिधि छनोटदेखि सांसद निर्वाचनसम्म निर्वाचनका सबै चरणलाई प्रश्नावलीमा समेटिएको थियो । त्यस्तै, अन्य निर्वाचन क्षेत्रका मतदाता र त्यसमा पनि किसानहरूसँगको हाम्रो सम्बन्धबारे सोधखोज गरियो । अन्य प्रश्नहरू पार्टी गतिविधिका विभिन्न चरणसँग सम्बन्धित थिए । त्यसमा गैरकानुनी बैठक, हाम्रो पत्रिका र भूमिगत प्रकाशनहरूको वितरण, एकै मुद्दामा बोल्शेभिक र मेन्शेभिकहरूले जनताबिच पारेको प्रभावसम्बन्धी प्रश्न थिए ।
लेनिनले सबै सांसदलाई औपचारिक जवाफमा नखुम्चिन अनुरोध गर्नुभयो । उहाँले सांसदलाई आफ्नो जिल्लामा भएको निर्वाचन अभियानको मसिनोभन्दा मसिनो विवरण दिन भन्नुभयो । उहाँले लेख्नुभयो, “यी प्रश्नबारे अन्य समूहसँग औपचारिक छलफल गर्नुहुँदैन । त्यसो गरे कुरा कर्मचारी कर्मकाण्ड र आपसी कचकचमा हराउनेछ । सांसदहरूले भरसक चाँडो आफै जवाफ दिनुपर्छ ।”
हाम्रो संसदीय क्रियाकलाप बढ्दै जाँदा पार्टी केन्द्र र कामरेड लेनिनसँग ‘६ बोल्शेभिकहरू’ को सम्बन्ध झन्झन् घनिष्ट बन्दै गयो । हामी विभिन्न सामग्री, सूचना आदि क्राको पठाउँथ्यौँ र क्राकोबाट बोल्शेभिक सांसदहरूले साहित्य सामग्री, मन्तव्यका सिद्धान्त, सदनमा उठिरहेका विषयमा अलग्गै निर्देशन आदि प्राप्त गर्थे । यो सम्पर्क चिठीपत्रमार्फत गुप्त भाषामा गरिन्थ्यो । गैरकानुनी रूपमा सीमावारपार गर्ने पार्टी सदस्यहरू र सम्भव अन्य उपायबाट यो सम्पर्क हुन्थ्यो । कुनै मौका छोडिँदैनथ्यो । तर, सब काम अत्यन्त गोप्य रूपमा गरिन्थ्यो । पत्राचारमा कहिल्यै नाम उल्लेख गरिँदैनथ्यो । बरु, पहिले नै तय भएका सङ्ख्या वा गुप्त नामको प्रयोग हुन्थ्यो । मलाई नम्बर १ भनिन्थ्यो, मालिनोभ्स्कीलाई नम्बर ३, पेत्रोभ्स्कीलाई नम्बर ६, सामोइलोभलाई नम्बर ७, कामरेड स्वेर्दलोभलाई आन्द्रेइ र स्तालिनलाई भासिली भनिन्थ्यो । गुप्त प्रहरीले नाम चिनेको सुइँको पायो कि यी गुप्त नाम र नम्बर फेरिन्थ्यो ।
आज हामी पुराना दस्ताबेहरू हेर्दा थाहा पाउँछौँ, गुप्त प्रहरीले पनि हामीलाई विभिन्न गुप्त नाम दिएको रहेछ र स्थानअनुसार ती नाम फेरिँदो रहेछ ।
हुलाक मुख्यालयमा सामाजिक जनवादी सांसदहरूलाई सम्बोधन गरी लेखिएका सबै पत्र पढिन्थ्यो । त्यहाँ गुप्त प्रहरीको एउटा टोली नै हुन्थ्यो, जसलाई ‘कालो जत्था’ भनिन्थ्यो । यसले त्यहाँ आउने सबै पत्र खोलेर जाँच्थ्यो । यसकारण, हामी बिरलै मात्र हुलाकको प्रयोग गथ्र्यौँ । प्रयोग गरिहाले पनि त्यो पत्र अन्यत्र पठाइदिनू भनी प्रबन्ध मिलाउँथ्यौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *