भर्खरै :

अमेरिकाको प्रतिकारका लागि तयार छ भेनेजुयला ?

  • मंसिर ३, २०८२
  • एलिजाबेथ मेलिमोपोलोस
  • विचार
अमेरिकाको प्रतिकारका लागि तयार छ भेनेजुयला ?

भेनेजुयलाले गत मङ्गलबार आफ्नो तटीय क्षेत्रमा बढ्दो अमेरिकी नौसेनाको उपस्थितिको प्रतिक्रियामा ठुलो देशव्यापी सैन्य तैनाथीको घोषणा ग¥यो । बिहीबार नै अमेरिकाले ‘साउर्दन स्पियर’ नामक सैन्य अप्रेसनको घोषणा गरेको छ । अमेरिकाले आफ्नो सैन्य वृद्धिलाई पश्चिमी गोलाद्र्धका ‘लागुऔषध–आतङ्कवादी’ प्रति लक्षित रहेको बताएको छ । तर, यसले भेनेजुयलाको काराकसमा भने चिन्ता बढाएको छ । अमेरिकी अभियानको पछाडि राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाउने मूल उद्देश्य रहेको भेनेजुयलाको बुझाइ देखिन्छ । यदि अमेरिकाले आक्रमण गरिहाले भेनेजुयला प्रतिरोधका लागि कत्तिको तयार छ त ?
ट्रम्प प्रशासनले क्यारिबियन क्षेत्रमा अमेरिकाभित्र लागुऔषध तस्करी गर्ने डुङ्गाहरूमा एकपछि अर्को आक्रमण गरेको छ । गत साता यस आक्रमण शृङ्खलामा २० औँ हमला गरेको अमेरिकी अधिकारीले बताएका छन् । आक्रमणमा हालसम्म ८० जनाको मृत्यु भइसकेको छ । वासिङ्टनले लागुपदार्थ ओसारपसार गर्ने कार्टेलसँग मिलेर भेनेजुयलाका मदुरोले अमेरिकामा लागुपदार्थको तस्करी गरिरहेको भन्ने अप्रमाणित आरोप लगाइरहेको छ । हवाई आक्रमणका अतिरिक्त अमेरिकाले भेनेजुयलानजिकको समुद्रमा ठुलो सैन्य तैनाथी बढाउँदै लगेको छ ।
पछिल्लो समय अमेरिकाले विश्वकै सबैभन्दा उन्नत र ठुलोमध्ये एक युद्धपोत ‘यूएसएस जेराल्ड आर फोर्ड’ लाई क्यारिबियन पठाएको छ । ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सिएसआइएस)’मा रक्षा तथा सुरक्षा कार्यक्रमका वरिष्ठ सल्लाहकार मार्क क्यान्सियनका अनुसार यो युद्धपोत वासिंटनले भनेको लागुऔषध तस्करी नियन्त्रण गर्ने घोषित उद्देश्यका लागि उपयोग हुँदैन । बरु, ‘फोर्ड युद्धपोत लागुपदार्थविरोधी अप्रेसनका लागि भन्दा समुद्रमा वा जमिनमा विरोधीमाथि आक्रमण गर्न उपयोग हुन्छ,’ क्यान्सियनले भने ।
भेनेजुयलाको तयारी
भेनेजुयलाले क्यारेबियनमा अमेरिकी उपस्थिति बढ्न थालेपछि सेप्टेम्बरमै ‘इन्डिपेन्डेन्स प्लान २००’ नामक सैन्य प्रतिक्रिया संयन्त्र सुरु गरेको थियो । मङ्गलबार रक्षामन्त्री भ्लादिमिर पाद्रिनो लोपेजले ‘इन्डिपेन्डेन्स प्लान २००’ अन्तर्गतको ‘अन्तिम चरण’ सक्रिय गरिएको घोषणा गरे । ‘यसअन्तर्गत सैन्य अभ्यासका लागि देशभर लगभग दुई लाख सेना तैनाथ गरिएका छन्,’ पाद्रिनो लोपेजले थपे । अभ्यास मङ्गलबार सुरु भएर बुधबार समाप्त हुने समयतालिका छ । ‘साम्राज्यवादी आक्रामकता’ र वासिङ्टनको ‘विश्वको मालिक’ वा ‘विश्व प्रहरी’ बन्ने प्रयासविरुद्ध पछिल्लो परिचालन गरिएको बताउँदै लोपेजले भेनेजुयला आफ्नो स्वतन्त्रता, स्वधीनता र सार्वभौमिकताप्रति प्रतिबद्ध रहेकोमा जोड दिए । अमेरिकाले गुप्त रूपमा मादुरो शासनविरुद्ध भेनेजुयलाको सैन्य संयन्त्रमा विभाजन निम्त्याउने प्रयास गरिरहेको चर्चा छ ।
भेनेजुयाली सेना कति शक्तिशाली ?
‘ग्लोबल फायरपावर’ ले तयार पारेको २०२५ सैन्य क्षमतासम्बन्धी वरीयतामा भेनेजुयला सैन्य क्षमताका हिसाबले विश्वका १६० देशमध्ये ५० औँ स्थानमा छ । ल्याटिन अमेरिकाभित्र भने यो सातौँ स्थानमा छ । ब्राजिल, मेक्सिको र अर्जेन्टिनाजस्ता क्षेत्रीय शक्ति ऊभन्दा अगाडि छन् भने कोलम्बिया, चिली र पेरु उसकै हाराहारीमा उभिएका छन् । यसै साता सिएसआइएसले जारी गरेको एक रिपोर्टअनुसार भेनेजुयलाको वायुसेना उति बलियो देखिँदैन । ऊसँग ४९ वटा सैन्य विमान भए पनि जम्मा ३० वटा मात्र काम गर्ने अवस्थामा रहेको विश्वास छ । त्यस्तै, प्रतिबन्धका कारण विगतमा अमेरिकासँग किनिएका एफ–१६ युद्धक विमानका पार्टपुर्जा फेर्न नसकिएकोले तीनवटा एफ–१६ मात्र काम गर्ने अवस्थामा रहेको मानिन्छ ।
पछिल्लो समय भेनेजुयलाले ठुलो परिमाणमा रुसी हतियार प्रणाली खरिद गरिरहेको छ । यसअन्तर्गत अर्बौं डलरको रुसी मिसाइल र लडाकु जेट किनिएका छन् । यी खरिदपछि भेनेजुयलासँग कम्तीमा २१ वटा रुसी एसयू–३० एस आइपुगेका छन् । सन् १९८० को दशकमा विकसित यो रुसी लडाकु विमानले ‘सुपरसोनिक’ जहाजमाथि आक्रमण गर्नसक्ने मिसाइल बोक्न सक्छन् । यसले भेनेजुयलानजिकै सञ्चालन हुने नौसेना युद्धपोतका लागि खतरा निम्त्याउन सक्छ । त्यसैले, द्वन्द्वको स्थितिमा भेनेजुयलाका लडाकु विमान सम्भवतः अमेरिकाको पहिलो निसाना हुनेछ । अमेरिकाले यस क्षेत्रमा उन्नत एफ–३५ स्टिल्थ लडाकु विमान तैनाथ गरिसकेको छ । खासमा तिनको तैनाथी सम्भवतः भेनेजुयलाका लडाकु विमान र त्यसको हवाई रक्षा प्रणाली सोचेर नै गरिएको हो । तथापि, जमिनमा भने समुद्रमा तैनाथ गरिएका सीमित अमेरिकी सेनाको तुलनामा भेनेजुयलाको सेनाको उल्लेखनीय रूपमा ठुलो उपस्थिति छ । ‘ग्लोबल फायरपावर’ का अनुसार ३.१ करोड जनसङ्ख्या भएको भेनेजुयलामा तीन लाख ३७ हजार सक्रिय सैन्य कर्मचारी छन्, जसमध्ये एक लाख नौ हजार सक्रिय सैन्य बल र दुई लाख २० हजार अर्धसैनिक बल हुन् । बाँकी आठ हजार भने रिजर्भ बल हो । तथापि, अन्य सबै कुरामा अमेरिका सैन्य रूपमा भेनेजुयलाभन्दा धेरै अगाडि छ ।
अमेरिकी उद्देश्य रणनीतिक
ट्रम्पले भेनेजुयलानजिक समुद्रमा सैन्य वृद्धिलाई अमेरिकामा लागुऔषधको प्रवाहलाई रोक्न आवश्यक रहेको भन्दै जायज ठह¥याउने प्रयास गरेका छन् । तर, धेरै विश्लेषक भने ट्रम्पको उद्देश्य लागुऔषध रोक्नेभन्दा वर्तमान सरकारलाई सत्ताच्युत गर्ने रहेको बताइरहेका छन् । भन्न त ट्रम्पले भेनेजुयलामाथि आक्रमण गर्ने योजना नरहेको बताएका छन् । भेनेजुयली राजनीतिकशास्त्री कार्लोस पिना पनि वासिङ्टनको रणनीति सैन्य आक्रमणभन्दा पनि राजनीतिक दबाब सिर्जना गर्ने रहेकोमा विश्वास गर्छन् ।
‘अमेरिकाको मुख्य विकल्प सशस्त्र आक्रमण गर्नेभन्दा निकोलस मादुरोलाई राजीनामा दिन र शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न पर्याप्त दबाब दिनु हो । अमेरिकाको हकमा यही नै सबैभन्दा उपयुक्त विकल्प पनि हो,’ पिनाले भने । पिनाका अनुसार मादुरो पनि यस रणनीतिबारे पूर्ण जानकार छन् । ‘मादुरोलाई यो थाहा भएकैले कुनै पनि सम्भावित हस्तक्षेपको मूल्य ठुलो बनाउने प्रयास गरिरहेका छन्,’ पिनाले भने । अमेरिकी आक्रमणको ल्याटिन अमेरिका र देशभित्रै पनि विरोध हुनेछ भन्नेमा उनी विश्वस्त देखिन्छन् । अमेरिकी तैनाथी बढ्दै जाँदा वासिङ्टनमै पनि राजनीतिक दबाब बढ्न सक्छ । क्यारेबियन क्षेत्रमा यति धेरै सैन्य उपकरण पठाएपछि ट्रम्पलाई पनि कुनै उपलब्धि नदेखाई पछि हट्न गा¥हो भएको छ । ‘ट्रम्पमाथि सम्भवतः हार देखिनबाट बच्न केही गर्नैपर्ने दबाब छ । त्यसैले, उनी काराकासमा राजनीतिक परिवर्तनलाई दबाब बढाउन सम्भवतः अमेरिकी सैन्य उपस्थिति बढाइरहनेछन्,’ पिनाले भने ।
– अलजजिराबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *