विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
गुप्त प्रहरीले सबैभन्दा महत्वपूर्ण सूचना एजेन्ट (प्रोभोकेटर) वा घुसपैठियाबाट पाउँथ्यो । सुराकीहरूले घेरिएका छौँ भन्ने हामीलाई थाहा थियो । ती सुराकीलाई ठम्याउन असाध्यै गाह्रो थियो । त्यसकारण, कडा गोप्यता अपनाइन्थ्यो । माथिदेखि तलसम्म षड्यन्त्रपूर्ण परिपाटीजस्तो हुन्थ्यो ।
षड्यन्त्रपूर्ण परिपाटीमा कहीँ तलमाथि भयो कि अनेक आशङ्का उब्जिहाल्थ्यो । कतै प्रहरीले चलखेल गरेन भनी हामी सतर्क भइहाल्थ्यौँ । म एउटा यस्तै घटना सम्झिन्छु । पुतिलोभ कारखानामा काम गर्ने किसेल्योभ नामका पार्टी सदस्यले मलाई हुलाकमार्फत पत्र पठाए । त्यसमा उनको गुप्त नाम उल्लेख थिएन । यसले गर्दा म निकै सशंकित भएँ । पत्र लेख्ने व्यक्ति गुप्त प्रहरीको मान्छे त होइन भन्ने शङ्का जाग्यो । मैले यो कुरा सेन्ट पिटर्सबर्ग समिति र संसदीय समितिलाई जनाइदिएँ । किसेल्योभलाई नजिकबाट नियाल्ने र उनीसँगको सम्बन्धमा सावधानी अपनाउने निधो भयो । पछि हाम्रो आशङ्का सही ठहरियो । किसेल्योभ गुप्त प्रहरीका घुसपैठिया रहेछन् ।
प्रहरीका यस्ता दलाल जहिल्यै हाम्रो नजरमा पर्दैनथे । कहिलेकाहीँ बित्यास परिसकेपछि मात्र हामी तिनलाई चिन्थ्यौँ । किनभने, उनीहरू पनि कडा गोप्यता राख्थे र निकै चनाखो रहन्थे । तैपनि के कुरा ठोकेर भन्न सकिन्छ भने जारशाही प्रहरी जतिसुकै सङ्गठित र जति नै सुसूचित भए पनि पार्टी सङ्गठनसँगको हाम्रो सम्बन्ध गुप्त थियो । खासगरी केन्द्रीय समितिसँगको सम्बन्धलाई षड्यन्त्रको प्रभावकारी उपाय लगाएर हामीले गुपचुप राखेका थियौँ ।
तेस्रो व्यक्तिबाट गरिने पत्राचार र सम्पर्कमा हाम्रो कार्य योजनाको केस्राकेस्रा छलफल गर्न सकिँदैनथ्यो । सदनभित्र र बाहिरका हाम्रा क्रियाकलापबारे पनि यसरी पूरै कुराकानी हुन सक्दैनथ्यो । मजदुर सांसदहरूको अनुभव र धारणा बुझ्नका लागि अझ प्रत्यक्ष सम्पर्क जरुरी थियो । रुसमा यिनै सांसदवरिपरि पार्टी गतिविधि केन्द्रित थियो । यसको लागि अवैध रूपमा नियमित पार्टी सम्मेलन गरे झन् बढी अप्ठ्यारो आइलाग्न सक्थ्यो ।
मैले अघि नै भनिसकेँ, सदन सुरु हुनुभन्दा अगाडि नै पार्टीको केन्द्रीय समिति र बोल्शेभिक सांसदहरूबिच विदेशमा सम्मेलन गर्ने कुरा उठेको थियो । सो सम्मेलनमा हाम्रो समूहले सदनमा गर्ने समग्र गतिविधिको आधारभूत खाका तय गर्नुपर्छ भन्ने थियो । तर, सम्मेलन गरेपछि यसले अलि ठुलो दायरा ओगट्ने भयो । मजदुरहरूबिच नयाँ चरणको क्रान्तिकारी उभार ल्याउन बोल्शेभिकहरूले पूरा गर्नुपर्ने अभिभारा र सामाजिक जनवादी पार्टीभित्र त्यसले ल्याउने परिणामबारे छलफल गर्नु पनि उत्तिकै महत्वपूर्ण थियो । सम्मेलनमा भएको विचार विमर्श र निर्णयले गर्दा हाम्रो पार्टी तथा क्रान्तिकारी सङ्घर्षको इतिहासमै यसले अलग्गै स्थान लियो ।
सम्मेलन क्राको सहरको गालिसियामा हुने भयो । क्रिसमस पर्वका लागि संसद् स्थगित हुने बेला नै सम्मेलन डाकियो । म्याक्सवेलको उद्योगमा भइरहेको हडताल र तालाबन्दीका कारण बोल्शेभिक सांसदहरूले एकैबाजि पिटर्सबर्ग छोड्न सक्दैनथे । हडतालीहरूको निम्ति राहत कोष जुटाएर सबै मजदुर सङ्गठनलाई आपसमा सरसहयोग गर्न परिचालित गरेपछि मात्र हामी क्राको जान सक्थ्यौँ ।
सन् १९१२ डिसेम्बर २८ देखि १९१३ जनवरी १ सम्म क्राको सम्मेलन भयो । अरूको आँखा छल्न यसलाई फेब्रअरी सम्मेलन भनियो । पार्टी साहित्य र छापा माध्यममा पनि त्यसरी नै प्रचार गरियो । सम्मेलनको अध्यक्षता लेनिनले ग्रहण गर्नुभएको थियो । बोल्शेभिक सांसदहरूबाहेक सम्मेलनमा नादेज्दा कोन्स्तान्तिनोभ्ना क्रुप्सकाया, जी जिनोभिएभ, ए त्रोयानोभ्स्की, भ्यालेन्तिना निकालायेभ्ना लोबोभा, ई रोजमिरोभिच र अन्य केही नेताका साथै ठुला मजदुर केन्द्रका प्रतिनिधिहरूको उपस्थिति थियो । सांसदहरूमध्ये पेत्रोभ्स्की, मालिनोभ्स्की, शागोभ र म थियौँ ।
सन् १९१२ मा प्राग सम्मेलन भएको थियो । त्यस यता वर्षदिन बितिसकेको थियो । यो वर्ष क्रान्तिकारी आन्दोलन निकै सशक्त भएर आएको थियो । राजनीतिक र आर्थिक हडतालहरू बढ्दै थिए । मजदुर प्रेसको प्रचार र ऐक्यबद्धतामा ठुल्ठुला जुलुस प्रदर्शन भइरहेका थिए । यो एक वर्षमा पार्टीभित्र पनि ठुला खुड्किला पार गरिएको थियो । सामाजिक जनवादी पार्टीका दुई खेमामा तीखो मतभेद खाएको थियो । हामी बोल्शेभिक र मेन्शेभिक विध्वंसकारीहरूबिच सङ्घर्ष चर्केको थियो । मेन्शेभिकहरूका भाषण र लेख रचनामा क्रान्तिको बाटो छोड्ने प्रवृत्ति स्पष्ट देखिन्थ्यो । खासमा मेन्शेभिकहरूमा यही प्रवृत्तिले जरा गाडिसकेको थियो ।
बोल्शेभिक र मेन्शेभिकबिचको विभाजन मजदुर आन्दोलनभरि व्याप्त भयो । सर्वत्र बोल्शेभिकहरूको क्रान्तिकारी नीतिले जरा गाड्दै थियो । संसद्को निर्वाचनमा हामी मजदुरहरूको निर्वाचन क्षेत्रमा निर्णायक रूपमा विजयी भयौँ । यसले पनि माथिकै कुरा साबित ग¥यो† जनताबिच बोल्शेभिकहरूको प्रभाव बढ्दै छ भन्ने बतायो† क्रान्तिकारी सङ्घर्षमा मजदुरवर्गले बोल्शेभिक मार्ग पछ्याउँदै छ भन्ने देखायो ।
संसदीय समूहले काम थालेको पहिलो महिनाले मजदुर सांसदहरूले सही नीति अँगीकार गरिरहेको पुष्टि भयो । त्यति नै बेला मेन्शेभिकहरूले मजदुर सांसदहरूविरुद्ध जिद्दी सङ्घर्ष गरिरहेको र पछि पनि गर्ने प्रस्ट भयो । उनीहरू समूहमा बहुमत भएको डिङ हाँक्दै क्रान्तिकारी कार्यनीतिको विरोध गर्थे । मजदुरवर्गको हितका दृष्टिले मेन्शेभिकहरूले संसद्को सुरुमै धेरै गल्ती गरे । क्रान्तिकारी आन्दोलनका लागि ती गल्ती घातक थिए । त्यसकारण, तिनको निश्चय नै निन्दा गर्नुपथ्र्यो ।
क्राको सम्मेलनमा यस्ता सवालमा छलफल गरियो । यी विषयको ठुलो क्रान्तिकारी महत्व थियो । सम्मेलनले पार्टीको भावी गतिविधिका लागि निर्देशन दिनुपथ्र्यो । धेरै दिनको मिहिनेतपछि केही निर्णयहरू लिइयो । ती निर्णयले हाम्रा धेरै व्यहारिक कठिनाइ हल गरे, रुसको राजनीतिक परिदृश्यको साङ्गोपाङ्गो चित्र देखाए र मजदुरवर्गको नीति तय गरे ।
क्राको सम्मेलनले एकता अत्यन्त महत्वपूर्ण रहेको ठम्यायो । तर, त्यो एकता गुप्त र गैरकानुनी सङ्गठन बनाउनुपर्ने सर्तमा मात्र सम्भव थियो । पार्टीको पुनः एकताबारे सम्मेलनले यस्तो प्रस्ताव पारित ग¥यो – “(एकता) तलैबाट अर्थात् तल्लो समिति, जिल्ला समूह आदिबाट आउनुपर्छ । गैरकानुनी सङ्गठनलाई स्वीकारिएको छ कि छैन ? क्रान्तिकारी सङ्घर्षलाई तदारुकता साथ समर्थन गरिएको छ कि छैन ? क्रान्तिकारी कार्यनीति अपनाइएको छ कि छैन ? यी तथ्य मजदुरहरू आफैले जाँच्नुपर्छ ।” लेनिनले बारम्बार एकता ‘तलैबाट’ मात्र हुन सक्नेमा जोड दिनुभयो । उहाँले क्रान्तिकारी माक्र्सवादको विरोध गर्ने र त्यसलाई बङ्ग्याउनेहरूबाट नभई क्रान्तिकारी मजदुरहरूबाट मात्र एकता सम्भव हुन्छ भन्नुभयो ।
पार्टीको प्रस्तावले पुनः एकपल्ट हामी र मेन्शेभिकहरूबिचको खाडलमा जोड दियो । मजदुरहरूलाई भाँड्ने विध्वंसकारीहरूको भ्रष्ट प्रभावविरुद्ध निरन्तर सङ्घर्ष गर्नुपर्ने आवश्यकतामाथि जोड दियो । अर्को प्रस्तावले भन्यो, “आजको समयमा गैरकानुनी पार्टी नै सबैभन्दा उपयुक्त सङ्गठन हो । त्यसको एउटा केन्द्र हुनुपर्छ र त्यसलाई कानुनी र अर्धकानुनी सङ्गठनहरूको सञ्जालले घेरेको हुनुपर्छ । गैरकानुनी केन्द्र स्थानीय स्तरमा मान्छेको दैनिक जीवनसँग घुलमिल भएको हुनुपर्छ ।” कलकारखानाहरूमा गैरकानुनी पार्टी सङ्गठनहरू खोल्नुपर्ने र प्रत्येकको केन्द्रमा रहेर पार्टी समितिले नेतृत्व गर्नुपर्ने भनी पार्टीले आगामी कार्यदिशा तय ग¥यो ।
सम्मेलनले सेन्ट पिटर्सबर्गको सङ्गठनलाई उत्तम सङ्गठन भन्यो । सेन्ट पिटर्सबर्ग समितिका प्रतिनिधिलाई जिल्ला र सहयोगी सदस्यहरू निर्वाचित गर्थे । यसले गर्दा सङ्गठन निकै लचिलो थियो । यो पार्टीको केन्द्रसँग निकट रहन्थ्यो र गुप्त प्रहरीको आँखाबाट पनि लुकेको थियो । भेगीय केन्द्रहरूलाई व्यवस्थित पार्नुपर्ने र प्रतिनिधिमण्डलको माध्यमबाट एकातिर स्थानीय समूहहरूसँग र अर्कोतिर केन्द्रीय समितिसँग सम्पर्क कायम गर्नुपर्ने सुझाव पनि आयो । सङ्गठनबारे पारित प्रस्तावले सङ्गठनलाई तलदेखि माथिसम्म बलियो गरी बुन्यो ।
सम्मेलनको एउटा महत्वपूर्ण प्रश्न हाम्रो संसदीय समूहको प्रतिवेदन थियो । हाम्रो समूहको कामबारे सावधान र मिहीन ढङ्गले छलफल गरियो । सदन खुलेको पहिलो महिना हाम्रो समूहले अनेक विषयमा विभिन्न महत्वपूर्ण निर्णय लिएको थियो । जागेल्लोलाई समूहमा लिइएको थियो, पार्टीको नीति उद्घोष गरिएको थियो र पहिलो प्रश्नोत्तरमा भाग लिइएको थियो । यी मुद्दाका आधारमा सम्मेलनले हाम्रो संसदीय समूहका क्रियाकलापलाई जाँच्यो । मेन्शेभिक बहुमतले गरेका गल्तीहरू पनि औँल्यायो ः
१. निम्न विषयमा पार्टीको ध्यानाकृष्ट भएको छ – निर्वाचनमा सरकारले कहिल्यै नगरेको धरपकड र हस्तक्षेप ग¥यो । धेरै जिल्लाहरूमा सङ्गठन रहेको कालासय उदारवादी गुटले सामाजिक जनवादीहरूविरुद्ध अभियान चलायो । तैपनि, रुसी सामाजिक जनवादी मजदुर पार्टीले चौथो संसद्को निर्वाचनमा ठुलो विजय हासिल ग¥यो । दोस्रो नगर निर्वाचन क्षेत्रमा झन्डै सबैतिर सामाजिक जनवादीहरूले पहिलेभन्दा बढी मत प्राप्त गरे । उदारवादीका मतदाताले हामीलाई मत दिए । मजदुरहरूको निर्वाचन क्षेत्र हाम्रो पार्टीका लागि सबैभन्दा महत्वपूर्ण थियो । त्यहीँ हाम्रो पार्टीको अखण्डित पकड थियो । आफ्नो निर्वाचन क्षेत्रमा बोल्शेभिकहरूलाई मात्र सांसद चुनेर मजदुर वर्गले पुरानै रुसी सामाजिक जनवादी मजदुर पार्टी र यसको क्रान्तिकारी परम्पराप्रति आफ्नो अविचल बफादारी उद्घोष गरे ।
२. यो सम्मेलन चौथो संसद्मा प्रश्नोत्तरमा भाग लिने र मूलतः पार्टीका आधारभूत सिद्धान्तलाई प्रस्टसँग उद्घोष गर्ने सामाजिक जनवादी सांसदहरूको ऊर्जाशील कार्यलाई स्वागत गर्छ ।
३. पार्टी परम्पराअनुसार सदनमा सामाजिक जनवादी समूहको एकमात्र सही नीति त्यसलाई पार्टीको मातहतमा राख्नु हो । पार्टीलाई यसको केन्द्रीय समितिले प्रतिनिधित्व गर्छ । मजदुर वर्गलाई राजनीतिक शिक्षा दिन र सही पार्टी नीति बनाउनका निम्ति यो सम्मेलन संसदीय समूहका प्रत्येक पाइलालाई नियाल्नु र त्यसमा पार्टीको नियन्त्रण कायम गर्नु जरुरी देख्छ ।
–क्रमशः
Leave a Reply