भर्खरै :

पढेलेखेकाहरूले सामन्तवादी कुसंस्कार नत्यागेसम्म समाज परिवर्तन गर्न गा¥हो हुने

पढेलेखेकाहरूले सामन्तवादी कुसंस्कार नत्यागेसम्म समाज परिवर्तन गर्न गा¥हो हुने

भक्तपुर, २० मङ्सिर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा आदर्श आजाद कलेजको ११ औँ कलेज सभा शनिबार सम्पन्न भयो ।
सभामा अध्यक्ष बिजुक्छेँ (रोहित) ले पढेलेखेकाहरूले सामन्तवादी कुसंस्कार नत्यागेसम्म समाज परिवर्तन गर्न गा¥हो हुने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले थप्नुभयो, “परीक्षा नै नलिई उत्तीर्ण गराउँदा विद्यार्थीहरूमा पढ्ने बानी कम भएको हो । विश्व बैङ्कलगायत विदेशीको प्रभावमा विश्वविद्यालयका मुख्य मुख्य पदाधिकारी लागेको हुँदा नेपालको शिक्षा व्यवस्था विदेशीको लागि जनशक्ति उत्पादन गर्ने थलोमात्र बन्यो । नेपाली भूमिमै काम गर्न सक्ने योग्य जनशक्ति तयार गर्न हाम्रा कलेजहरू लाग्नु जरूरी छ ।”
उहाँले भन्नुभयो, “शिक्षक, प्राध्यापकहरूले आफ्ना छोराछोरीलाई हेरचाह गरेजस्तै सबै विद्यार्थीलाई हेरचाह गर्नुपर्छ । आजसम्म प्रधानमन्त्री र शिक्षामन्त्री भएकाहरूले देशको लागि आवश्यक शिक्षा नीति बनाउन नसक्दा देश परनिर्भरतातर्फ गइरहेको हो ।”
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “कम्युनिस्टहरूको पहिलो काम किसानहरूको पक्षमा भूमिसुधार गर्नु हो तर नेपालमा कम्युनिस्ट नाम राखेका पार्टीहरूले जोताहा किसानलाई जमिन नदिने र कमैया एवम् कमलरी मुक्तिको नाममा सामन्तहरूको सेवा गरे । नेपाल क्रान्तिकारी किसान सङ्घको सङ्घर्षको परिणाम २०२१ सालमा भएको भूमिसुधारले भक्तपुरका किसानहरूले मोहियानी हक पाएपछि यहाँका किसानहरू आर्थिकरूपमा केही सक्षम भएको हो ।”
“भक्तपुरका जनताकै रगत पसिनाबाट विद्यालय कलेजहरू स्थापना भएको हुँदा आज भक्तपुरको शिक्षामा सुधार आएको हो । सरकारको भर नपरी स्थानीय जनताकै सहयोगमा विद्यालय कलेज स्थापना र सञ्चालन भएको हुँदा देशभरिका विद्यार्थीहरूले सस्तोमा गुणस्तरीय शिक्षा लिन भक्तपुरमा ठाउँ मिलेको हो । आदर्श आजाद कलेजले पनि आफ्नो नामअनुसार आदर्श समाज निर्माण गर्ने काम गर्नु आवश्यक छ । शोषणरहित समाज आदर्श हुने भएकोले समाजवादी बाटोमा विद्यार्थीहरूलाई शिक्षित गर्नु आजको आवश्यकता हो”, उहाँले भन्नुभयो ।
आदर्श आजाद कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्धव सुजखूको सभापतित्वमा भएको सो सभामा व्यवस्थापन समितिका सदस्य प्रा. सिद्धिरत्न शाक्य, कलेजका प्राचार्य श्रीकृष्ण किसी, सहप्राचार्य चक्रबहादुर चाकतु, शिक्षक आशाकुमार चिकंबन्जार र पे्रमजन थापा श्रेष्ठले कलेजको गतिविधिबारे बोल्नुभएको थियो ।
२०६५ सालमा स्थापना भएको आदर्श आजाद कलेजबाट गतवर्षसम्म २९५ जना विद्यार्थीहरू त्रिविको परीक्षामा उत्तीर्ण भई दीक्षित भइसकेका छन् । शिक्षाशास्त्र र व्यवस्थापन विषयमा पढाई हुने कलेजले गत वर्षसम्म चार लाख ९८ हजार आठ सय रूपियाँ छात्रवृति दिएको कलेज प्रशासनले जनाएको छ ।
कलेज सभाले प्राचार्य श्रीकृष्ण किसीले सभामा पेश गर्नुभएको प्रगति विवरण, भावी योजना तथा रणनीति लगायतका प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *