भर्खरै :

चाइना टुडेको नोभेम्बर अङ्कबारे सङ्क्षिप्त चर्चा

चाइना टुडेको नोभेम्बर अङ्कबारे सङ्क्षिप्त चर्चा

चीनले सन् २०३५ सम्ममा समाजवादी आधुनिकीकरणको लक्ष्य हासिल गर्न थुप्रै आर्थिक नीति र विकासको दिशा थप व्यवस्थित या परिपक्व बनायो । त्यसमध्ये पछिल्लो पञ्चवर्षीय योजना एक हो । चीनले १५ औँ पञ्चवर्षीय योजना (२०२६–२०३०) अवधिको लागि निर्धारण गरेका प्रमुख उद्देश्यहरू ‘चाइना टुडे’को नोभेम्बर अङ्कमा यसप्रकार लेखिएका — उच्च गुणस्तरीय विकास र वैज्ञानिक तथा प्राविधिक आत्मनिर्भरतामा महत्वपूर्ण प्रगति, समग्र रूपमा सुधारलाई अझ गहिरो या बलियो बनाउने, सिङ्गो समाजमा सांस्कृतिक र नैतिक पक्ष बलियो बनाउने, जीवनस्तरको गुणस्तरमा थप सुधार गर्ने, ‘सुन्दर चीन’ अर्थात् सुन्दरतामा जोड दिने र राष्ट्रिय सुरक्षाको संयन्त्रलाई अझ सुदृढ बनाउने । चीनको आधुनिकीकरण, आर्थिक या आविष्कारको गति, चिनियाँ जनताको अवस्थासँगै विश्व जलवायु सङ्कटमा चीनको भूमिकाबारे यस अङ्कले थुप्रै जानकारी पस्कन्छ । यस अङ्कका केही प्रधान विषय यहाँ चर्चा गर्नु सामयिक नै होला ।
विश्वव्यापी अस्थिर भूराजनीतिक अवस्थाबिच पनि चीनले १४ औँ पञ्चवर्षीय योजना (२०२१–२०२५) कुशलतापूर्वक अघि बढायो† विश्वको ध्यान खिच्ने उल्लेखनीय उपलब्धि हासिल ग¥यो । सन् २०२५ मा आर्थिक कुल आकार करिब १४०० खर्ब युआन पुग्ने अनुमान गरिएको छ भने पाँच वर्षमा आर्थिक वृद्धिको कुल मात्रा ३५० खर्ब युआनभन्दा बढी हुने अपेक्षा छ । यसका साथै चीनको विश्व आर्थिक वृद्धिमा औसत वार्षिक योगदान करिब ३० प्रतिशतको हाराहारीमा रहनेछ । यो आँकडाले चीनलाई विश्व अर्थतन्त्रको सबैभन्दा स्थिर र भरपर्दो इन्जिन पुष्टि गर्छ । चीन नवीकरणीय ऊर्जा र सवारी साधनमा विश्वकै सबैभन्दा ठुलो उत्पादक तथा बिक्रेताको स्थानमा कायम छ । वार्षिक औसत ८ प्रतिशत व्यापार वृद्धिसहित विश्वको सबैभन्दा ठुलो वस्तु व्यापारी बनेको छ चीन ।
यी उपलब्धिहरू आर्थिक वृद्धिका आँकडामा मात्र सीमित छैनन् । चीनले नवप्रवर्तनमा नयाँ उचाइ हासिल गरेको छ, ठुला वैज्ञानिक उपलब्धिहरू देखिएका छन्, हालै ४० लाखभन्दा बढी स्वदेशी वैध वैज्ञानिक आविष्कार पेटेन्ट प्राप्त गर्ने पहिलो देश बनेको छ चीन । कृत्रिम बुद्धिमत्ता, क्वान्टम प्रविधि, मानवसहितको अन्तरिक्ष उडान तथा सूक्ष्म अन्तरिक्ष अन्वेषणका क्षेत्रमा चीनले हासिल गरेका उपलब्धिहरू बेजोड छन् । आज चीन विश्वका थुप्रै विषयमा ‘पहिलो’ उपलब्धि हासिल गर्ने देशको रूपमा परिचित छ । सन् २०२३ मा राष्ट्रपति सी चिनफिङले नवप्रवर्तन र उच्च गुणस्तरीय उत्पादनका लागि ‘नयाँ गुणस्तरीय उत्पादन शक्ति’को अवधारणा सृजनात्मक रूपमा प्रस्तुत गर्नुभएको थियो । यही अवधारणा चीनको उच्च गुणस्तरीय विकासका लागि प्रेरणादायी मार्गदर्शन बन्यो ।
डीपसीक (DeepSeek) जस्तो एआई, मानवजस्तो देखिने रोबोटहरू, तीव्रगतिमा विस्तार भएको नवीकरणीय ऊर्जा सवारीसाधन उद्योग, बायो उत्पादन तथा क्वान्टम प्रविधिमा भएको प्रगतिले वैज्ञानिक नवप्रवर्तन र औद्योगिक नवप्रवर्तनको गहिरो एकीकरणलाई स्पष्ट देखाउँछ । यसले चीनमा नयाँ गुणस्तरीय उत्पादन शक्तिको निर्माण प्रक्रिया तीव्र रहेको देखाउँछ । विश्वव्यापी नवप्रवर्तन सूचकाङ्कमा चीनको स्थान सन् २०१२ मा ३४ औँ स्थानमा थियो भने अहिले सन् २०२५ मा १० औँ स्थानमा उक्लिएको छ । तसर्थ, चीनलाई विश्वकै तीव्रगतिमा अघि बढ्ने नवप्रवर्तनशील अर्थतन्त्रमध्ये एक हो भन्न सकिन्छ । चीन ‘विश्वको कारखाना’ बाट ‘नवप्रवर्तन या आविष्कारको शक्तिकेन्द्र’ मा रूपान्तरण भइसकेको मूल्याङ्कन विश्व जगत्को हो । बहुराष्ट्रिय कम्पनीसमेतले चीनलाई अन्तर्राष्ट्रियस्तरको अनुसन्धान तथा विकास (R&D) केन्द्रको रूपमा व्याख्या ग¥यो ।
चीनको विकास विश्वसँग अविभाज्य छ । संसारमा विश्वव्यापीकरणविरूद्धका चुनौती, एकपक्षीयता र संरक्षणवादका प्रवृत्तिहरू बढ्दै गइरहेको कसैबाट लुकेको छैन । यद्यपि, चीनले १४ औँ पाँचवर्षे योजना अवधिमा उच्चस्तरीय खुलापनलाई दृढतापूर्वक अघि बढायो । यस क्रममा उत्पादन क्षेत्रमा विदेशी लगानीका प्रतिबन्ध हटाउने, सेवा क्षेत्रमा खुलापनका परीक्षण कार्यक्रमहरूलाई क्रमबद्ध विस्तार गर्ने जस्ता महत्वपूर्ण कदमहरू चालिए । चीनले सबै कम विकसित या विकासशील देशहरू र कूटनीतिक सम्बन्ध भएका अफ्रिकी राष्ट्रहरूलाई १०० प्रतिशत शून्य–शुल्क कर सुविधा प्रदान ग¥यो । हाल चीन १५० भन्दा बढी देश तथा क्षेत्रहरूको प्रमुख व्यापार साझेदार देश हो । सन् २०२४ को अन्त्यसम्म चीनमा १२ लाख ३९ हजारभन्दा बढी विदेशी लगानीका उद्योगहरू स्थापना भइसकेका थिए र प्रयोगमा आएको विदेशी लगानीको कुल रकम २०६ खर्ब युआन पुगेको थियो ।
बेल्जियम–चीन वाणिज्य चेम्बरका अध्यक्ष बर्नार्ड डेविटका अनुसार विदेशी उद्योगहरू चीनमा सञ्चालन गर्दा लाभान्वित भइरहेका छन् र चिनियाँ उद्यमहरू ‘विश्वव्यापी रूपमा विस्तार’ हुँदा तिनले सम्बन्धित देशहरूमा सकारात्मक प्रभाव पारिरहेका छन् । यसले चीनको उच्चस्तरीय खुलापनले विश्व अर्थतन्त्रलाई कसरी फाइदा पु¥याइरहेको छ भन्ने स्पष्ट देखाउँछ । विश्वव्यापी रूपान्तरणको यस युगमा, उच्च गुणस्तरीय विकासमा केन्द्रित रणनीतिक दृष्टि र शान्तिपूर्ण विकास तथा सहकार्यप्रति प्रतिबद्धतासहितको चीनको दीर्घकालीन योजना स्थायित्वको एक महत्वपूर्ण आधार बनेको छ । आफ्नै विशिष्ट परिस्थितिअनुसार व्याख्या भएको आधुनिकीकरणको मार्ग पछ्याउँदै चीनले विकासका विभिन्न व्यावहारिक मोडेल सम्भव छन् भन्ने सन्देश दिन्छ । चीनको यो आधुनिकीकरणको अवधारणाले बहुध्रुुवीय, न्यायपूर्ण र समृद्ध विश्व निर्माणमा थप योगदान पु¥याउने निश्चित छ । यो चाइना टुडेको विचार हो ।
महिला सशक्तीकरण आधुनिक चीनको बलियो आधार बन्नेछ । सन् २०२० मा चिनियाँ महिलाको औसत आयु ८०.९ वर्ष पुगेको थियो । सन् २०२४ मा उच्च शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीमध्ये महिलाको हिस्सा ५०.७६ प्रतिशत पुगेको छ, सन् १९९५ को तुलनामा यो १४.१५ प्रतिशतले बढी हो । त्यसैगरी चीनमा महिलाको सामाजिक अवस्थासम्बन्धी चौथो सर्वेक्षणअनुसार ९० प्रतिशत विवाहित महिलाहरू प्रमुख पारिवारिक निर्णय प्रक्रियामा सहभागी हुन्छन्, सन् २०१० को तुलनामा यो करिब १५ प्रतिशतले बढी हो ।
चिनियाँ महिलाहरूले देशको सामाजिक तथा आर्थिक विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै छन् । सी चिनफिङले भन्नुभएको छ, “आज चीनमा महिलाहरूले साँच्चिकै आर्थिक र सामाजिक विकासमा आधा आकाश थामिरहेका छन् ।” आज चीनमा महिलाहरू राष्ट्रिय श्रमशक्तिको ४० प्रतिशतभन्दा बढी छन् । इन्टरनेट स्टार्ट–अपका संस्थापकहरूमध्ये आधाभन्दा बढी महिला छन् । पछिल्ला चारवटा ग्रीष्मकालीन ओलम्पिक खेलहरूमा पदक जित्ने खेलाडीहरूमध्ये ६० प्रतिशतभन्दा बढी महिला छन् । आर्टेमिसिनिनको खोजमार्फत लाखौँ जीवन बचाएर विश्वलाई उज्यालो पार्ने तु योयोउदेखि चीनकी पहिलो महिला अन्तरिक्ष यात्रीका रूपमा अन्तरिक्षमा उडेकी लिउ याङ, परम्परा तथा सिर्जनशीलतालाई काव्यात्मक चिनियाँ जीवनशैलीमा रूपान्तरण गरी विश्वको मन जितेकी भ्लगर ली जिछीसम्मका सबै उदाहरणीय व्यक्तित्वले चिनियाँ महिलाको उपलब्धि र सिर्जनशीलतालाई उजागर गर्दछ ।
महिला सशक्तीकरणप्रति चीनको प्रतिबद्धता आफ्नो सीमाभन्दा धेरै परसम्मको छ । तीस वर्षअघि पेइचिङ विश्व महिला सम्मेलनले महिला सशक्तीकरणका लागि कार्यान्वयनयोग्य मार्गचित्र प्रस्तुत गरेको थियो । सम्मेलनले सरकार, अन्तर्राष्ट्रिय संस्था र नागरिक समाजका प्रतिनिधिहरूलाई एकै ठाउँमा ल्यायो । विकासशील देशका धेरै महिलाहरूका लागि त्यो क्षण सुखद थियो, उनीहरूको आवाज सुनियो, उनीहरूको कथा अभिलेख गरियो, उनीहरूको अधिकार विश्व मञ्चमा सुनिश्चित गरियो । त्यसैगरी चीनले विश्वव्यापी रूपमा महिलाको विकासलाई सहयोग गर्न ठोस कदम चाल्यो । विकासशील देशहरूमा १०० वटा ‘महिला तथा बाल स्वास्थ्य परियोजना’ र १०० वटा ‘ह्यापी क्याम्पस परियोजना’ कार्यान्वयन गर्न सहयोग ग¥यो । १८० भन्दा बढी देश तथा क्षेत्रका २ लाखभन्दा बढी महिलालाई तालिम दियो र विकासशील देशका १ लाख महिलालाई व्यावसायिक तथा प्राविधिक तालिम प्रदान ग¥यो । आगामी पाँच वर्षमा यूएन महिलालाई थप १ करोड अमेरिकी डलर सहयोग गर्ने, महिला र बालिकालाई प्राथमिक लाभग्राही बनाउने १,००० वटा भन्दा बढी ‘सानो तर सुन्दर’ जिविका कार्यक्रमहरू चिनियाँ सहयोगमा सञ्चालन गर्ने, ५०,००० महिलालाई चीनमा आदान–प्रदान तथा तालिम कार्यक्रमको लागि आमन्त्रण गर्ने थप योजना समावेश छन् । चीनका यी पहलहरूलाई अन्तर्राष्ट्रिय समुदायले स्वागत गरेको छ ।
यति हुँदाहुँदै पनि विश्वभरिका महिलाहरू अझै गम्भीर चुनौतीहरूको सामना गरिरहेका छन् । ६० करोडभन्दा बढी महिला र बालिकाहरू अझै युद्ध र द्वन्द्वको अशान्तिमा फसेका छन् । करिब १० प्रतिशत महिला जनसङ्ख्या चरम गरिबीको अवस्थामा बाँचिरहेका छन् । त्यसकारण, महिला सशक्तीकरण कुनै एक देश मात्रको काम या जिम्मेवारी होइन, यो सम्पूर्ण मानव समाजको साझा जिम्मेवारी हो । यस दीर्घकालीन उद्देश्यमा चीन सहभागी र साझेदार दुवैको भूमिकामा दृढतापूर्वक उभिएको छ । संसारका बहुसङ्ख्यक कामदार महिलाहरू खुसी हुन सकेमात्र शान्ति र विकास सम्भव छ, साँचो आधुनिक एवम् सभ्यताको विश्व सम्भव छ भन्ने आवाज चाइना टुडेको हो ।
विश्व जलवायु सङ्कटविरूद्ध लड्नु पनि चिनियाँ आधुनिकीकरणको एउटा आधार मान्न सकिन्छ । पश्चिमा आधुनिकताले निम्त्यिाएको जलवायु चुनौती समाधानमा चीन जुटेको छ । सेप्टेम्बर २४ मा न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसङ्घीय जलवायु शिखर सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको नयाँ Nationally Determined Contributions (NDCs) घोषणा गर्नुभयो । NDC भनेको प्रत्येक देशले हरितगृह ग्यास उत्सर्जन घटाउन र जलवायु परिवर्तनका असरहरूसँग अनुकूलन गर्न गर्ने प्रतिबद्ध प्रयास हुन् । २०३५ सम्मका लागि चीनका NDC हरूमा निम्न लक्ष्य समावेश छन्, “अर्थतन्त्रभरि शुद्ध हरितगृह ग्यास उत्सर्जन ७–१० प्रतिशतले घटाउने, कुल ऊर्जा खपतमा गैर–जीवाश्म इन्धनको हिस्सा ३० प्रतिशतभन्दा बढी पु¥याउने, हावा र सौर्य ऊर्जाको स्थापित क्षमता २०२० को स्तरभन्दा छ गुणाभन्दा बढीले बढाई कुल ३,६०० गिगावाट पु¥याउने, वन क्षेत्रको कुल काठ भण्डार २४ अर्ब घनमिटरभन्दा बढी पु¥याउने, नयाँ सवारीसाधनको बिक्रीमा नवीकरणीय ऊर्जालाई प्रमुख उत्पादन बनाउने, राष्ट्रिय कार्बन उत्सर्जन व्यापार बजारलाई प्रमुख उच्च–उत्सर्जन क्षेत्रसम्म विस्तार गर्ने तथा आधारभूत रूपमा जलवायु–अनुकूलन समाज स्थापना गर्ने ।” चीनको यो नयाँ NDC घोषणाहरूले अन्तर्राष्ट्रिय समुदायको व्यापक ध्यान आकर्षित ग¥यो र विश्वव्यापी जलवायु शासन प्रक्रियाका लागि महत्वपूर्ण अर्थ प्रदान ग¥यो ।
यसै वर्षको सुरूआतमा ट्रम्प प्रशासनले भने पेरिस सम्झौताबाट अमेरिका बाहिरिने घोषणा गर्दै जलवायु सङ्कटविरूद्धका प्रयासलाई कमजोर बनाउने नीति अघि सा¥यो । यस्तो पृष्ठभूमिमा चीनका नयाँ NDC हरू सार्वजनिक हुनु विश्वव्यापी जलवायु शासन प्रक्रियामा स्थिरता र निश्चितता प्रदान गर्ने कदम हो भन्न सकिन्छ । चीन विश्वव्यापी हरित विकास र जलवायु शासनमा जिम्मेवार कार्यकर्ता तथा प्रमुख योगदानकर्ता देश हो । विगतका सामूहिक अन्तर्राष्ट्रिय प्रयासहरूमा चीनले सधैँ सक्रिय र दृढ प्रतिबद्धता देखायो ।
विकाससँगै जलवायु संरक्षण र जलवायु जोगाउनु अत्यन्त आवश्यक छ । चीनको ecological civilization अर्थात् पर्यावरणीय सभ्यता अवधारणाको प्रभावकारिता त्यसैले बढ्दो छ । यसले विश्वकै सबैभन्दा ठुलो र छिटो अघि बढेको नवीकरणीय ऊर्जा प्रणाली स्थापनासँगै नयाँ ऊर्जा उद्योगको सबैभन्दा व्यापक औद्योगिक शृङ्खला विकास ग¥यो । यसै वर्ष चीनले वायु र सौर्य ऊर्जाको जडान क्षमतामा २०३० का NDC लक्ष्यहरू समत्न्दा अगावै पूरा गरिसकेको छ । राष्ट्रपति सीको पर्यावरणीय सभ्यतासम्बन्धी विचार प्राचीन चिनियाँ दर्शन ‘मानव र प्रकृतिबिचको सामञ्जस्य’ मा आधारित छ, पर्यावरणसम्बन्धी माक्र्सवादी दृष्टिकोणमा आधारित छ । यो जलवायु परिवर्तनबारे वैज्ञानिक बुझाइको आधार पनि हो । साथै ‘ज्ञान र कर्मको एकता’ भन्ने चिनियाँ सिद्धान्तले वैज्ञानिक बुझाइमा आधारित सक्रिय कार्यान्वयनलाई अझ सुदृढ बनायो ।
मध्य चीनको हेनान प्रान्तस्थित लानकाओ काउन्टी ग्रामीण ऊर्जा क्रान्तिको पाइलट क्षेत्र या उदाहरण हो । हाल काउन्टीमा ११.५ लाख किलोवाट नवीकरणीय ऊर्जा क्षमता स्थापना भइसकेको छ, जुन प्रतिव्यक्ति १.५ किलोवाट बराबर हो । यसले स्थानीय विद्युत् मागको ९६ प्रतिशत पूर्ति गर्छ । साथै ‘ग्यास, ताप, बिजुली र मल’ को एकीकृत चक्रीय अर्थतन्त्र मोडेलमार्फत पराल र पशुपक्षी मलको उपयोग दर ९० प्रतिशतभन्दा बढी पुगेको छ ।
मानव जातिको साझा भविष्यसहितको विश्व समुदाय निर्माण गर्ने उद्देश्य बोकेको चीनले अन्तर्राष्ट्रिय जलवायु सहकार्यमा सक्रिय सहभागिता जनाउँदै हरित महाशक्ति कूटनीति अघि बढाइरहेको छ । विकसित देशहरूसँग संवाद सुदृढ गर्दै चीनले दक्षिणी गोलाद्र्ध (Global South) का देशहरूसँगको सहकार्यलाई विशेष महत्व दिँदै छ ।
जलवायु परिवर्तनसम्बन्धी वैज्ञानिक बुझाइ विश्वव्यापी जलवायु कार्यको आधार हो । सन् १९८८ मा IPCC स्थापना भएदेखि चीनले यसमा महत्वपूर्ण भूमिका खेल्यो । चिनियाँ वैज्ञानिक छिन दाहेले तेस्रो, चौथो र पाँचौँ मूल्याङ्कन प्रतिवेदनको नेतृत्व गर्दै अन्टार्टिकासम्म यात्रा गरेका थिए र उनी जलवायु सचेतनाका सक्रिय प्रवर्तक बने । आज IPCC मा योगदान दिने चिनियाँ वैज्ञानिकहरूको सङ्ख्या निरन्तर बढिरहेको छ । एक प्रमुख विकासशील देशका रूपमा चीनले हरित ग्यास उत्सर्जन कटौती र विकासबिचको द्वन्द्वलाई राम्ररी बुझ्छ । त्यसैले जलवायु क्षेत्रमा दक्षिण–दक्षिण सहकार्यलाई चीनले निरन्तर प्रवद्र्धन ग¥यो । सन् २०१५ मा राष्ट्रपति सीले विकासशील देशहरूमा १० कम–कार्बन प्रदर्शन क्षेत्र, १०० जलवायु न्यूनीकरण तथा अनुकूलन परियोजना र १,००० तालिम अवसर प्रदान गर्ने पहल घोषणा गर्नुभएको थियो । यसमार्फत चीनले वित्तीय, प्राविधिक र बौद्धिक सहयोग उपलब्ध गराउँदै दक्षिण–दक्षिण सहकार्यलाई विश्वव्यापी जलवायु शासनको महत्वपूर्ण स्तम्भ बनाएको छ । चीन Belt and Road Initiative (BRI) मार्फत पनि हरित विकास प्रवद्र्धनमा प्रतिबद्ध छ । हालसम्म चीनले ४२ विकासशील देशसँग ५४ जलवायु सहकार्य दस्ताबेजमा हस्ताक्षर ग¥यो, ७० भन्दा बढी परियोजना सञ्चालन ग¥यो र २,३०० भन्दा बढी जनशक्ति तालिम आयोजना ग¥यो । सन् २०१६ देखि चीनले अन्य विकासशील देशका लागि १७७ अर्ब युआनभन्दा बढी जलवायुसम्बन्धी वित्तीय सहयोग प्रदान तथा परिचालन गरिसकेको छ ।
चीन विश्वका लागि वायु र सौर्य उपकरणको ठुलो आपूर्तिकर्ता देश पनि हो । हाल विश्वका ७० प्रतिशत फोटोभोल्टाइक मोड्युल र ६० प्रतिशत वायु ऊर्जा उपकरण चीनबाट आपूर्ति हुन्छन् । १४ औँ पाँचवर्षीय योजनाको अवधिमा चिनियाँ हरित उपकरण निर्यातले अन्य देशहरूमा करिब ४.१ अर्ब टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन मद्दत गरेको तथ्य छ ।
चीनले ११३ देश तथा क्षेत्रसँग ९१० साना हरित ऊर्जा परियोजना सञ्चालन गरिसकेको छ । ८६ प्रतिशत परियोजना एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा केन्द्रित छन् । प्रारम्भमा जलविद्युत् सहकार्य अहिले सौर्य, फोटोभोल्टाइक र वायु ऊर्जासम्म विस्तार भयो । यी सम्पूर्ण जानकारीले चीन विश्वव्यापी सङ्कटहरूको समाधानसँगै मानव जातिको सेवामा कति समर्पित छ भन्ने देखाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *