भर्खरै :

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण र ठुला भ्रष्टाचारीलाई मृत्युदण्डै गर्नुपर्ने

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण र ठुला भ्रष्टाचारीलाई मृत्युदण्डै गर्नुपर्ने

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली काङ्गे्रसबाट प्रतिनिधिसभा सदस्य एवम् अर्थ समितिका सभापति भएका सन्तोष चालिसेलाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीसँग आठ करोड ५६ लाख ८३ हजार ५९५ रुपैयाँबराबरको सम्पत्ति भेटिएकोमा चार करोड ८८ लाख ३५ हजार ८३३ रुपैयाँ बराबर मात्र वैधानिक स्रोत भएको अख्तियारको दावी हो ।
उनी पाँच वर्ष गोकर्णेश्वर नगरपालिकाको प्रमुख हुँदा स्रोत नखुलेको सम्पत्ति बराबरको रकम भ्रष्टाचार गरेको अख्तियारको दावी हो । २०७४ सालदेखि २०७९ सम्म काठमाडौं गोकर्णेश्वर नगरपालिकाको प्रमुख भएका चालिसेसँग तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँबराबरको सम्पत्तिको स्रोत नखुलेको भेटिएपछि अख्तियारले मङ्सिर २८ गते विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।
अख्तियारले चालिसेको स्रोत नखुलेको रकम बराबरको सम्पत्ति जफत हुने, सोही बराबरको रकम जरिवाना गर्ने समेतको सजाय मागदाबी गरेको छ । नगरपालिकाको प्रमुख हुँदा उनले परिवारको नाममा १० स्थानमा जग्गा खरिद गरेको र गोकर्ण आसपासमै उनले दुई करोड ८९ लाख रुपैयाँको जग्गा खरिद गरेको मालपोत कार्यालयको विवरणबाट पुष्टि भयो । अहिले उनको परिवारको नाममा गोकर्णेश्वरका विभिन्न ठाउँमा करिब तीन रोपनी जग्गा छ । उनले २०७७ सालमा गोकर्णेश्वर– ९ मा १३ आना जग्गामा ७० लाख रुपैयाँ बराबरको घर बनाएको र १८ लाख ४६ हजार रुपैयाँ बैङ्क ब्यालेन्स राखेको र परिवारका नाममा ९१ लाख १९ हजार रुपैयाँ बराबरको सेयर रहेको अख्तियारले जनायो ।
शिवपुरी इको टुरिजम एन्ड केबलकार प्रालि, गोकर्ण हिल साइड रिसोर्ट प्रालि, इन्जिनियरिङ एन्ड एजुकेसन जोन, फुच्चु फनपार्क र उग्रतारा स्यान्ड फुटबल एन्ड रिक्रियसन गरी पाँच कम्पनीमा ५० लाख ३१ हजार ६ सय रूपैयाँ लगानी गरेको अख्तियारले जनायो । उनीसँग ५० तोला सुन र एक सय तोला चाँदीसमेत भएको सार्वजनिक भयो ।
सार्वजनिक पदमा रहेका सबै जनप्रतिनिधि र कर्मचारीले नेपाल सरकारलाई प्रत्येक वर्ष सम्पत्ति विवरण बुझाउनुपर्ने भए पनि चालिसेले आव २०७७/७८ मा सम्पत्ति विवरण बुझाएनन् । उनले भ्रष्टाचार गरेको रकम लुकाउनकै लागि सम्पत्ति विवरण नबुझाएको स्पष्ट हुँदा पनि उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएन ? भ्रष्टाचार गरी कमाएको अकूत सम्पत्ति लुकाउन चालिसेले नक्कली कागजातसमेत बनाएको अख्तियारको दावी छ ।
बहुदलको यो ३५ वर्षमा प्रधानमन्त्री, मन्त्री, समितिका सभापति, मुख्यमन्त्री भएका शासक दलका नेता र अधिकांशले चालिसेले जस्तै भ्रष्टाचार गरेको हुँदा देशको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ९९ करोड रुपैयाँ पुगेको हो । २०७९ देखि प्रतिनिधिसभा सदस्य रहेका चालिसेले सांसद भएको समयको पनि छुट्टै छानबिन हुनुपर्ने होइन र ?
अहिले प्रत्येक नेपालीले ९३ हजार ५८६ रुपैयाँ ऋण बोक्नु परेको हो । भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्ने र ठुला भ्रष्टाचारीलाई मृत्युदण्डसमेत हुने कानुन नबनाएसम्म भ्रष्टाचार रोकिने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *