भर्खरै :

देशले युवा नेतृत्व खोजेको हो कि विचारले सुसज्जित, परिपक्व र देशभक्त नेतृत्व ?

देशले युवा नेतृत्व खोजेको हो कि विचारले सुसज्जित, परिपक्व र देशभक्त नेतृत्व ?

उमेरले युवा होइन देशको लागि अनुभवी, योग्य र देशभक्त नेता अहिलेको आवश्यकता हो । अहिले युवा युवा भनेर चिच्याउने अपरिपक्व युवाहरूले समयमै यसबारे सोच्नु जरुरी छ । देशको अस्तित्व समाप्त भइसकेपछि पछुटाएर केही फाइदा हुने छैन । नेपालमा नयाँ जेलेन्स्की होइन, देश र जनताको निम्ति काम गरिरहेका इमानदार, देशभक्त र मुलुकको मुहार फेर्न सक्ने सक्षम र परिपक्व नेतृत्वको आवश्यकता छ । आगामी फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली जनताले खोजेको जस्तो जनप्रतिनिधिहरू चयन गर्न सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्नु जरुरी छ । पछि पछुटाउनुभन्दा समय छँदै सोचौँ !
पुस १३ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहबिच एउटा सहमति पत्रमा हस्ताक्षर भयो । ७ बुँदे सहमति पत्रको चौथो बुँदामा ‘राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र साह हुने’ उल्लेख छ । यो सम्झौतापछि रास्वपा समर्थकहरू अति उत्साहित देखिएका छन् भने कतिपय स्वतन्त्र बुद्धिजीवी भन्न रुचाउनेहरू पनि खुशी देखिन्छन् ।
बालेन्द्र साह काठमाडौँ महानगरपालिकाका मेयर हुन् । उनले यस अघिसम्म आफ्नो छुट्टै पार्टीको घोषणा गरेका थिएनन् । उनी न समाजवादका पक्षपाती हुन् न त पुँजीवादको । उनको कुनै वैचारिक पक्ष स्पष्ट भइसकेको छैन । २०७९ सालको स्थानीय तहको निर्वाचनमा उनी आफ्नो सङ्गठनको भोटले भन्दा नेका, एमाले र माओवादीहरूप्रति असन्तुष्टहरूको भोटले जितेका थिए । नेका, एमाले र माओवादी पटक पटक सरकारमा गएर पनि देश र जनताको हितमा काम नगरी भ्रष्टाचार, पक्षपात र भागबण्डामा डुबेका कारण जनतामा ती शासक पार्टीहरूप्रति वितृष्णा जाग्यो । उनीहरूबाट विरक्त काठमाडौँबासीहरू विकल्पको खोजीमा थिए । उनीहरूको मत पाएर काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन्द्र साह जितेका थिए । उनीसँग राजनैतिक र वैचारिक सङ्गठनभन्दा युवाहरूलाई छिटै प्रभावित पार्न सक्ने सामाजिक सञ्जाल चलाउनेहरूको ठूलो जमात छ । त्यो नै उनको शक्ति र निर्वाचन जित्ने आधार बनेको छ ।
राजनीति ¥याप गाउनुजस्तो सजिलो विषय होइन न त सनकको भरमा चल्ने विषय नै हो । राजनीति भनेको दुवैतिर धार भएको हतियारमा हिँड्नु जतिकै खतरा विषय हो । अलिकति सन्तुलन नमिल्नासाथ दुर्घटना हुन्छ । कतिको छिटै नै अन्त्य पनि हुन सक्छ । रवि लामिछाने स्वयं यसको उदाहरण बनेका छन् । उनी रेडियो र टेलिभिजनमा काम गर्दासम्म कसैले उनले गरेका गलत कामहरूको सार्वजनिक गर्ने प्रयास गरे र ? जब राजनीतिमा आए उनका कर्तुतहरू धमाधम सार्वजनिक हुन थाले ।
काठमाडौँ महानगरको मेयर भएर सनकको भरमा बालेनले पटक पटक सिंहदरबार जलाउन युवाहरूलाई उत्साहित गरे । भाद्र २३ र २४ गतेको आन्दोलनको क्रममा साँच्चिकै सिंहदरबार जलाए पनि । सिंहदरबार जल्नुमा उनको फेसबुक स्टाटसले राम्रै काम गरेको थियो । देशको सम्पदा सिंहदरबार, सर्वोच्च न्यायालय, संसद् भवन जलिरहँदा उनले आफ्नो मातहतका दमकल नपठाएर आगो निभाउन पनि असहयोग गरे । सहमतिको बुँदा नं. १ मा ‘युवाहरूको आन्दोलनको अपनत्व लिने’ कुरा उल्लेख गरिएको छ । आन्दोलनको जिम्मेवारी लिनेहरूले त्यतिबेला भएको भौतिक र मानवीय क्षतिको पनि जिम्मेवारी लिन अस्विकार गर्न मिल्दैन । रवि लामिछाने र बालेन्द्र साहले त्यसको पनि जिम्मेवारी लिनुपर्छ । गौरीबहादुर कार्की आयोगले उनीहरूसँग पनि बयान लिनुपर्छ । त्यसले धेरै नयाँ नयाँ रहस्यहरू खुल्दै जाने छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बहुविवाह, नक्कली नागरिकता र नक्कली पासपोर्ट काण्डदेखि सहकारी ठगका आरोपित व्यक्ति हुन् । उनी टेलिभिजन कार्यक्रममा रहँदा अरू नेताहरूलाई खुब नैतिकताको पाठ पढाउँथे । उनीविरुद्ध ५।५ वटा सहकारी ठगको मुद्दा अदालतमा विचाराधीन छन् तर उनले नैतिकताको आधारमा सभापति पद छाड्ने आवश्यकता देखेनन् । उनले अहिले कस्तो नैतिकता प्रदर्शन गर्दै छन् ? अझ भदौ २३ र २४ गतेको आन्दोलनसँगै नक्कली कागज बनाई जेलबाट निस्केको आरोप पनि उनीमाथि छ । त्यतिबेला बाहिर भागेका १२।१३ हजार कैदीमध्ये अझै हजारौँ बन्दीहरू सम्पर्कमा नआएका कारागार प्रशासनको भनाइ छ । उनकै कारण कैदीहरू भागेको आरोप पनि उनले खेपिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी कुन सिद्धान्त र विचारधाराको आधारमा देशलाई विकासको बाटोमा अगाडि बढाउन चाहेको हो अहिलेसम्म प्रस्ट छैन । सरकारको नेतृत्व लहडमा होइन विचारले गर्ने हो । स्पष्ट विचार र दृष्टिकोणबिनाको नेतृत्वले देश झन् भद्रगोल स्थितिमा पुग्न सक्छ । नेपालको राजनीतिमा हात हाल्न खुट्टा उचालिरहेका विदेशीहरूको निम्ति अनुकूल वातावरण तयार हुने, देशको सार्वभौमिकता र स्वतन्त्र अस्तित्वमाथि खतरा आउने सङ्केतहरू देखा पर्दै छन्  । निर्वाचनको समयमा जनताले यस्ता विषयहरूबारे व्यापक चिन्तन मनन गर्नु आवश्यक छ । जनताको एक भोटले देशको अवस्था सुध्रिन पनि सक्छ, देशको अस्तित्व समाप्त हुन पनि सक्छ ।
युवाहरूको आन्दोलनपछि बालेन्द्र साह अमेरिकी युथ काउन्सिलका अध्यक्ष रहेको खुलेको छ भने नेपालमा राजनैतिक अस्थिरता ल्याउन वर्षौँदेखि अमेरिकी आईएनजिओहरू करोडौँ डलर खर्च गरेर नेपाली युवाहरूलाई सङ्गठित गरेर बसिरहेको पनि क्रमशः खुल्दै छन् । त्यसैले साहको सम्बन्ध पश्चिमाहरूसँग रहेको र युवाहरूको आन्दोलन उनीहरूको निर्देशनमा भएको अब छर्लङ्ग भइसकेको छ ।
आन्दोलनको क्रममा बालेनले वार्ता सेनासँग मात्र हुन्छ भने, त्यही भयो । मन्त्रिमण्डलको अध्यक्षमा सुशीला कार्कीलाई आफ्नो समर्थन रहेको बताए । संविधानविपरीत नै भए पनि देशको थप ध्वंश हुनबाट जोगाउन दलहरूले त्यसलाई पनि स्विकारे । उनले संसद् विघटनलाई पूर्व सर्त राखे र नयाँ निर्वाचनमा जान पनि दलहरू तयार भए । यसरी देशलाई उनले देखाएको मार्गमा हिँडाउन सफल हुँदै आए । उनीभन्दा उनको पछाडि रहेको अमेरिकी शक्ति यसको सबै डिजाइन गर्ने शक्ति हो भन्ने कुरा सबैतिरबाट पुष्टि हुँदै छ । बाहिर देखिनेमा अमेरिकी युथ काउन्सिल, बारबरा फाउण्डेशन, समता फाउण्डेसनलगायत छन् । नेपालका नेताहरू र नेपाली सेनासमेत पछि हट्नुको कारण पनि यही हो । यसबाट नेपाल अब अमेरिकन र पश्चिमा मुलुकहरूको गतिविधिको केन्द्र बालेन्द्र भइरहेको बुझ्न सकिन्छ । बालेन्द्रलाई प्रधानमन्त्री बनाउने रास्वपासँगको सहमतिले नेपाल र नेपाली जनतालाई के सन्देश दिन्छ ?
सिद्धान्त र विचारबिनाको युवाले देशको नेतृत्व गरे भने के हुन्छ युक्रेनबाट पाठ सिक्नुपर्छ । युक्रेनका राष्ट्रपति जेलेन्स्की एक राम्रा कलाकार थिए । निर्वाचनमा उनी राष्ट्रपतिमा निर्वाचित भए । उनी अमेरिका र पश्चिमाहरूको गोटी थिए । उनले मालिकको निर्देशनअनुसार काम गर्दै गए । रुससँग पश्चिमाहरूको आड भरोसामा निहुँ खोज्न थाले । अन्ततः रुस र युक्रेनबिच युद्ध भयो । अहिले ती दुई देशबिच युद्ध भएको ३ वर्ष भयो । देशले धेरै जनधनको क्षति भोग्नुपर्यो । अझै उनले अमेरिकासँग नजिक भएर युद्ध लडिरहेछन् । उनको भौतिक र मानवीय क्षति त भयो भयो अब धेरै भूभाग समेत गुमाउनुपर्ने अवस्था आउँदै छ ।
जेलेन्स्की उमेरले युवा हुन् । उनको विचारमा परिपक्वता थिएन । पश्चिमाहरूले उचालेको भरमा उनी युद्ध लड्न तयार भए । देश खरानी भएपछि अब पश्चिमाहरू डुब्ने जहाजमा किन चढ्छन् र ¤ अमेरिकामा ट्रम्पले उनलाई राष्ट्रपति त के सामान्य मानिस सरह पनि व्यवहार गरेनन् । युक्रेनको जति जनधनको क्षति भयो, त्यो जेलेन्स्कीकै कारण भएको हो । साम्राज्यवादीहरूले अरूलाई कसरी लडाउँछन् भन्ने एक गतिलो उदाहरण युक्रेन बनेको छ ।
यसर्थ उमेरले युवा होइन देशको लागि अनुभवी, योग्य र देशभक्त नेता अहिलेको आवश्यकता हो । अहिले युवा युवा भनेर चिच्याउने अपरिपक्व युवाहरूले समयमै यसबारे सोच्नु जरुरी छ । देशको अस्तित्व समाप्त भइसकेपछि पछुताएर केही फाइदा हुने छैन । नेपालमा नयाँ जेलेन्स्की होइन, देश र जनताको निम्ति काम गरिरहेका इमानदार, देशभक्त र मुलुकको मुहार फेर्न सक्ने सक्षम र परिपक्व नेतृत्वको आवश्यकता छ । आगामी फागुन २१ गते हुने आम निर्वाचनमा नेपाली जनताले खोजेको जस्तो जनप्रतिनिधिहरू चयन गर्न सबैले आ–आफ्नो ठाउँबाट प्रयास गर्नु जरुरी छ । पछि पछुताउनुभन्दा समय छँदै सोचौँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *