भर्खरै :

कार्यकर्ताहरू मेहनती र सङ्घर्षशील हुनु आवश्यक

कार्यकर्ताहरू मेहनती र सङ्घर्षशील हुनु आवश्यक

भक्तपुर, १६ पुस । नेपाल मजदुर किसान पार्टी – वंशगोपाल एकाइ समिति र नेपाल क्रान्तिकारी महिला सङ्घ – भनपा वडा नं ३ वडा एकाइ समितिको आयोजनामा मङ्गलबार विश्व सर्वहारावर्गका महान् गुरु जोसेफ स्तालिनको १४७ औँ र माओ त्सेतुङको १३२ औँ जन्म दिवसको अवसरमा प्रवचन कार्यक्रम भयो । कार्यक्रम नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईको प्रमुख आतिथ्यमा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गोसाईले राजनीतिक कार्यकर्ता इमानदार भएको खण्डमा सरकारले भ्रष्टाचार गर्न नसक्ने बताउनुभयो । माओ र स्तालिनले गर्नुभएको त्याग, अथक सङ्घर्ष र मेहनतबाट प्रेरणा लिई कार्यकर्ताहरू मेहनती र सङ्घर्षशील हुनु आवश्यक छ भन्नुभयो । देश र समाजप्रति कुनै योगदान नभएका व्यक्तिहरू रहरमा पदको लागि राजनीतिमा आउनु दुःखद भएको उल्लेख गर्दै उहाँले त्यसप्रति कार्यकर्ताहरू सजग हुनुपर्नेमा जोड दिनुभयो । पर्दामा नेता बने अभिनेताहरूलाई राजनीतिमा नेता बन्नु रहर हुंँदैमा नहुने र त्यसको लागि समाजप्रति योगदान आवश्यक रहेको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिका पुरुषोतम तमखु, नेपाल क्रान्तिकारी महिला सङ्घ, भक्तपुर नगर समितिका मञ्जुमाया लाखा, नेमकिपा ३ वडाका रामसुन्दर खाताख्व, नेमकिपा वंशगोपाल समितिका कृष्णगोपाल चौगुठी, नेक्रामसङ्घ ३ वडाका सुनिता प्रजापति (अवाल) र श्रद्घा सिन्ताकलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *