भर्खरै :

विद्यालय र समुदाय एक आपसमा हातेमालो गरी अगाडि बढेमा मात्र शिक्षाको सार्थकता सिद्ध हुने

विद्यालय र समुदाय एक आपसमा हातेमालो गरी अगाडि बढेमा मात्र शिक्षाको सार्थकता सिद्ध हुने

भक्तपुर, १६ पुस । भारती आधारभूत विद्यालयको वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले विद्यालय र समुदाय एक आपसमा हातेमालो गरी अगाडि बढेमा मात्र शिक्षाको सार्थकता सिद्ध हुने विचार व्यक्त गर्नुभयो । अभिभावक, विद्यार्थी र शिक्षक शैक्षिक यज्ञको तीन महत्वपूर्ण खम्बा भएकोले सबैको सहकार्यमा मात्र विद्यालयले आफ्नो लक्ष्य प्राप्त गर्ने सक्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
उहाँले पछिल्लो समयमा देशव्यापीरूपमा बसाइँसराइको प्रवृत्ति रहेकोले विद्यालयले स्थानीय कला संस्कृतिको जगेर्ना गर्दै समग्रमा विविध भाषा, कला र संस्कृतिलाई अगाडि बढाउनुपर्नेतर्फ सचेत गराउनुभयो । असल शिक्षा नै समग्रमा समाजलाई अगाडि बढाउने हतियार हो, उहाँले भन्नुभयो ।
विद्यालय सहयोग समितिका संयोजक हिमालयश्वरलाल मूलले सामुदायिक विद्यालयको स्तरोन्नतिले मात्र कामदार जनताका छोराछोरीले असल शिक्षा प्राप्त गर्ने कुरा राख्नुभयो । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयले पनि आफ्ना विद्यार्थीहरूको शैक्षिक स्तरोन्नति गर्नको लागि निरन्तर र अथक प्रयास गर्नुपर्ने विचार उहाँले राख्नुभयो ।
उहाँले विद्यालयको भौतिक तथा शैक्षिक विकासको लागि निरन्तर सहयोग गर्न तत्पर रहेको कुरा राख्दै विगतको तुलनामा विद्यालयको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य एवम् वडा सदस्य नारायणप्रसाद त्वानाबासु र शारदा माविका प्रधानाध्यापक रोशनराज तुईतुईले शुभकामना मन्तव्य राख्नुभयो ।
विद्यालयका प्रधानाध्यापक सुजाता पौडेलले प्रगति विवरण प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा कक्षागत रूपमा प्रथम, द्वितीय र तृतीय हुने तथा विविध विषयमा पुरस्कृत विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा चन्दादाता जयन्त पौडेलले विद्यालयलाई प्रदान गर्नुभएको आर्थिक सहयोग रकमको ब्याज रकमबाट विद्यार्थीहरूलाई नगद पुरस्कार दिनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव तमखुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरूको तर्फबाट विविध सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *