भर्खरै :

जनता कसैको लहैलहै र प्रलोभनमा फस्न नहुने

जनता कसैको लहैलहै र प्रलोभनमा फस्न नहुने

देशका शासकहरू किन विदेशी पैसामा भुल्छन्, लोभिन्छन् ? विदेशबाट प्राप्त सहयोग या पैसाले कुनै पनि देश बनेको छैन; आत्मनिर्भर भएको छैन । नेपाल त झनै बन्दैन† बनेको छैन । विदेश गएर, पैसा कुम्ल्याएर व्यक्ति धनी बन्ला, उसले दुई चार वटा भवन ठड्याउला, चिल्ला गाडी गुडाउला तर समाज बदल्दैन; देश बन्दैन । यो कुरा हालसम्मको कार्यले पुस्टि गरिसकेको विषय हो । तर, पनि देशका शासकहरू अहिले पनि विदेशीको भरमा चल्छन; विदेशीकै भरमा देश चलाउने र विकास गर्ने ध्वाङ फुक्छन् । जुन दलको सरकार आए पनि सत्तासीन दलका नेताहरूले सिद्धान्तनिष्ठ राजनीति गरेनन्; विचारको राजनीति गरेनन्, देश र जनताप्रति समर्पित भएर राजनीति गरेनन् । यो नै नेपाल र नेपालीको निम्ति दुर्भाग्यको विषय बनेको छ । यो देशको निम्ति सुखद लक्षण होइन । यस विषयमा शासकहरू चुकेका छन्† फसेका छन् । शासकहरू यस्ता गम्भीर त्रुटिहरू किन बारम्बार दोहो¥याउँदै छन् ।
नेपाल सरकारले विदेशी दलाल, दलाल पुँजीपति र दलाल व्यवसायीहरूलाई छुट दिनु हुँदैन । देशको विकासमा सकेसम्म देशकै पुँजीपतिहरूलाई उपयोग गर्नुपर्छ, गर्न साथ दिनुपर्छ । स्वदेशी पुँजीपतिलाई छोडेर विदेशी पुँजीपतिवर्गको स्वार्थमा सरकार भुलेपछि देशको आम्दानी कसरी बढ्छ ? देश कसरी आत्मनिर्भर हुन्छ ? न्यायपूर्ण समाज निर्माण गर्न र आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिनुपर्छ; उत्पादन बढाउनेतर्फ सरकारको ध्यान जानुपर्छ । दलाल पुँजीवादलाई निरुत्साहित गर्दै या कमजोर बनाउँदै समाजवादी अवधारण अघि बढाउनुपर्छ† समाजवादी बन्दोबस्तको निम्ति पूर्वाधारहरू तयार गर्नुपर्छ; तद्नुसार ऐन, कानुन र नीति नियम तर्जुमा गर्दै जानुपर्छ । पच्छिमेली देशको पछि लागेर, उनीहरूको इसारामा नाचेर या कठपुतली भएर देश विकास कसरी हुन्छ ? देशलाई उपनिवेश बनाउने काममा शासकहरू किन गृहकार्य गर्छन् ? नेपाल र नेपालीको विकास गर्ने चिन्तन र सोचभन्दा विदेशीसँग गुहार्ने, विदेशीको गुणगान गरेर खुसी बनाउने कामले शासकहरू पनि के विदेशी दलाल साबित
भएनन् र ?
यो बेला आफूलाई कम्युनिस्ट भनिने देशका सबै दलहरू सच्चा कम्युनिस्ट भएर, कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार बोकेर, जनतामाझ पुगेर जनतालाई सिद्धान्त र विचारबाट सुसूचित गर्नुपर्छ । हल्लाको राजनीति गरेर, भ्रम फैलाएर, चुनाव हुनुभन्दा अघि नै प्रधानमन्त्री बन्ने सपना बाँडेर आश्वासनको राजनीति गर्नु सही होइन । कुनै दलले केही सांसद सीट जितेर प्रम हुन पाउने होइन । सरकारको नेतृत्व गर्न या प्रम बन्न त्यो दलले बहुमत ल्याउनुपर्छ । निर्वाचन नहुँदै अहिले नै प्रम हुने आश्वासनको पोको बाँडेर, जनताको मत तान्ने कामलाई सही राजनीति मानिँदैन । क्षेत्रीय, जातीय राजनीति गरेर, पैसाको खोलो बगाएर, आकर्षक नारा फलाकेर सर्वसाधारण जनताको मत लिने हिजोको गल्ती आज फेरि गर्नेतर्फ व्यापक जनता चनाखो हुनु जरुरी छ । देशका बहुमत जनता राजनीतिक, वैचारिक र सैद्धान्तिक रूपमा सुसूचित नभएकै कारण जनताको मत कहिले कुन दल, कहिले कुन दललाई परेको हो । यसकारण, अबको निर्वाचनमा जनता सचेत हुनुपर्छ† कसैको लहै लहै र प्रलोभनमा फस्नु हुँदैन । जनताको नबुझेको कारणले पनि देशले दुर्गति भोग्नु परेको हो ।
नेपाली जनतालाई भ्रष्टाचार गरेर भ्रष्टाचारको विरोध गर्ने दल र दलका नेताहरू चाहिएको होइन । सहकारीको पैसा ठगेर सहकारी पीडितको आवाज उठाउने दल र दलका नेता चाहिएको होइन । एमसीसी सम्झौतामा सही गर्ने, सही गर्न टेवा पु¥याउने सोको विरोधमा नबोल्ने दलका नेताहरूले विदेशी घुसपैठको विरोध गर्ने दल पनि नेपाली जनतालाई चाहिएको छैन । नेपाली भूमि अतिक्रमण गर्ने, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत नेपाल–भारत सीमामा तटबन्ध तथा बाँध बनाएर नेपाली भूमि डुबानमा पार्ने, नेपाली भूमि कालापानी रहेका भारतीय सेना फिर्ता लान दबाब नदिने दल र दलका नेताहरूले के नेपाल र नेपालीको हित गर्लान् ? ऋण तिर्न ऋण लिने, देशलाई ऋणमा डुबाउने र विदेशीको भरमा बस्ने दल र दलका नेताहरूले समृद्ध र नेपालीलाई कसरी सुखी बनाउलान् ? देशका उद्योगधन्दा, कलकारखाना डुबाएर, घाटामा पारेर व्यक्ति र विदेशी उद्योगपतिहरूलाई कौडीको मूल्यमा बेचेर देशलाई पराधीन बनाउने दल र दलका नेताहरूलाई आम जनताले चिन्नै पर्छ । नेपाल र नेपालीको भन्दा विदेश र विदेशीको स्वार्थ हेर्ने, स्वार्थ पूरा गर्न लाग्ने र विदेशीको इसारामा चल्ने कुनै पनि कठपुतली सरकारले देश र जनताको सेवा गर्ला भन्ने विश्वास कसरी गर्ने ? अतः सरकार जहिल्यै देश र जनताप्रति समर्पित र जवाफदेही हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *