भर्खरै :

सडक निर्माणको काम ढिलो किन ?

  • चैत्र १६, २०८२
  • शुक्र
  • Uncategorized
सडक निर्माणको काम ढिलो किन ?

चैतको सामान्य वर्षाको सानो भेलले पनि वीपी राजमार्गको रोशी खोलामा बनाइएको अस्थायी बाटो बगायो । बाटो बगाइएपछि गत शुक्रबार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म यात्रुहरू गाडीमै कोच्चिएर बस्नुप¥यो ।
२०८१ असोजमा आएको बाढीले यो राजमार्गको भकुन्डे बेसीदेखि नेपालथोकसम्मको ३०.५ किमि बाटो क्षतिग्रस्त भएको थियो । क्षतिग्रस्त खण्डको २७.३ किमिबाटो पुनःनिर्माणको निम्ति ठेक्का भए पनि काम पूरा भएन । शुक्रबारको भेलले साढे ५ किलोमिटर अस्थायी डात्र्सन पुनः बगायो । चौकीडाँडादेखि बर्खे खोलासम्म नै भेलले क्षति गरेको छ । यसको बढी असर कटुन्जेबेसी, चारसयबेसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, पिप्ले खण्डमा परेको सार्वजनिक भयो ।
वीपी राजमार्गको भकुन्डे बेसीदेखि चारसयबेसीसम्म ११ किमि खण्डको ठेक्का लामा–नवकान्तिपुर जेभीले १ अर्ब १४ करोड रुपैयाँ र चारसयबेसीदेखि डालाबेसीसम्म ९ किमि दूरीको ठेक्का खानी–कमलजित–एवान जेभीले भ्याटबाहेक १ अर्ब २२ करोड रुपियाँमा पाए । दुवै ठेक्काको सम्झौता अवधि आगामी असारसम्म मात्र छ । तर, राजमार्गमा पर्ने पुल निर्माणको काम अझै सुरु भएको छैन । यसले समयमा काम सम्पन्न नहुने निश्चित छ ।
२०८१ असोजमा आएको बाढीले बगाएको हेटौँडा–काठमाडौँ जोड्ने कान्ति राजमार्गको दर्जनौँ स्थानमा सवारी आवागमन सजिलो छैन । ललितपुरको टीकाभैरवदेखि बगुवासम्म २९ किलोमिटर दूरीमा ठेक्का भए पनि कामले गति लिएको छैन । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डको दाउन्नेमा सानो पानी पर्दा पनि सवारी आवागमन ठप्प हुन्छ । पानी परेपछि राजमार्ग हिलो भएर सवारीसाधन चिप्लिने र दुर्घटना हुने भइरहेको छ । सो सडक विस्तारको काम थालेको सात वर्ष भयो । तर, ठेकेदारले समयमै काम सम्पन्न नगर्दा यात्रुहरू सास्ती भोग्न बाध्य छन् ।
मुग्लिन–नागढुङ्गा सडकअन्तर्गत पहिरोको जोखिम रहेका क्षेत्र फुर्के खोला, झ्याप्ले खोला, १३ किमि, चारकिलो, नागढुङ्गा सुरुङको मुख, रातमाटे, शीतलबजार नजिक, मलिंगा, विशाल बजार नजिक, ज्यामिरेघाट, जवाङ खोला, मौवा खोला र घोप्टेभीरमा पनि ठेक्का सम्झौताअनुसार काम सम्पन्न भएको छैन । मलेखु–मुग्लिन खण्डको ११ किमि चार लेन सडकमै पहिलो तहको कालोपत्र भए पनि विशालटार, मझिमटार क्षेत्रमा ६ किमि पुरानो कालोपत्र सडक भत्काएर नयाँ बनाइँदै छ । सो क्षेत्रमा पनि वर्षाअघि नै काम सम्पन्न हुने छाँट छैन । भक्तपुरको सूर्यविनायक–साँगा–धुलिखेल सडक खण्डमा पनि ठेकेदारले समयमै काम सम्पन्न गरेन । साँगा क्षेत्रमा गत वर्षको बैशाखको वर्षामा पहिरो खस्दा दैनिकजसो यातायात अवरुद्ध भएको थियो ।
विश्व बैङ्क, एशियाली विकास बैङ्कलगायतको ऋणमा बनाइएका यस्ता राजमार्गहरूको काम समयमा सम्पन्न नहुँदा जनताले दुःख पाउनुका साथै ऋणको ब्याज बढ्दै छ भने सडक दुर्घटना पनि बढ्दो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *