ऐना
- असार २६, २०८३
अन्यायको पहाडले थिचिएका
कामिरहेको जीर्ण शरीर लिएर
भोकको वेदनाको आवाज
यो अँध्यारो सडकमा गुञ्जिरहेका छन् ।
न गाँसको प्रबन्ध न बासको ठेगाना
यो अत्यासलाग्दो पथमा
असङ्ख्य टुहुरा धर्तीका मुस्कानहरू
उदास उजाड फुटपाथमा सुतेका छन् झुत्रो बोरामा ।
बेहोसीबाट बिउँझेका भोलिका सपनाहरूको
घाउ घाउबाट उठेका
पीडाहरूको अभियानले
उत्पीडनका आवाजहरू निस्किरहेका छन्
यो अभावै अभावले घेरिएको बस्तीमा ।
यो पवित्र भूमिका पुत्र पुत्रीहरू
भोकमा डुवेको आँगनमा
आशाको दियो बालेर
यो वर्तमान युगका भिखारीहरू
आफ्नो हक र अधिकारको लागि
अघि बढिरहेका हुन् यो श्रमभूमिमा ।
विद्रोही
विरोधको आवाज उठिरहेको बस्तीमा
दुःख कष्टबाट निस्किरहेका स्वरहरू
गुञ्जिरहेका छन् यो डगमगाएको पथमा ।
शोषणको पीडाले ढाड सेकिएका
मर्का, असन्तुष्टि अभावहरूको
विस्फोटनका मागहरू उठिरहेका छन् ।
माटोमा लडिबुडी श्रम गरिरहेकाहरू
पाखा पर्वत चढेर मरीमरी बाँचिरहेकाहरूको
एक एक झुपडीबाट उठेको बुलन्द आवाजले
युगान्तकारी परिवर्तनको ज्वाला देखापर्छ ।
अनि आफ्नो स्वार्थको शिकार गर्नेहरूको
अन्यायको विरोधमा
मुटुभरि आगो, ओठभरि ज्वाला बोकेर
मुक्तिको आवाजले उन्मुक्त भएर
उठेका विद्रोहीहरूको शक्तिले ।
नयाँ जनयुगको सन्देश लिएर आउने
भोलिको उदाउँदो सूर्यको प्रतिक्षामा छन् ।
यो आकाश, यो धरती !
Leave a Reply