भर्खरै :

बनेपामा तेस्रो नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक सम्मेलन सम्पन्न

बनेपामा तेस्रो नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक सम्मेलन सम्पन्न

काभ्रे, २६ पुस । तेस्रो नेपालभाषा साहित्य तःमुंज्या र सांस्कृतिक कार्यक्रम बनेपा ७, गाःबहःननीमा शनिबार सम्पन्न भयो ।
स्थानीय वरिष्ठ समाजसेवी एवं पूर्व जनप्रतिनिधि उद्धव तौजलेले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गरिएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेमकिपाले देश र जनताको निःस्वार्थ सेवा नै राजनीति ठानेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारमा गएका दलहरूले राजनीतिको नाममा पक्षपात, नातावाद, भ्रष्टाचार बढाउँदै छन् । यसको परिणाम बहुदल र गणतन्त्रको पैतीस वर्षयता शासक दलहरूले देशलाई २८ खर्ब रुपैयाँ बढी ऋण बोकाए, वर्षको पन्ध्र खर्ब रुपैयाँ बढी व्यापार घाटामा पु¥याए । युवालाई राहदानी बाँड्दै वैदेशिक रोजगारीमा पठाए ।”
“नेपालमा भदौ २३ र २४ गते भएको घटनाबारे संरा अमेरिकी पत्रकार र लेखकहरूले नेसनल इन्डोमेन्ट फर डेमोक्रेसी र इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युटलगायत संस्थाहरूको हात रहेको उल्लेख गरे । ट्रम्प प्रशासनले इन्डो प्यासिफिक स्ट्राटेजी कोअपरेटिङ मिलिटेरी पर्पोजसहितको एमसीसी उल्लेख गरेको छ । एमसीसीमा संरा अमेरिकी सरकारको नियम र कानुन पालना गर्नुपर्ने प्रावधान छ । यसकारण, नेमकिपाले एमसीसीको विपक्षमा मत दिएको हो”, सचिव सुवालले भन्नुभयो ।
सचिव सुवालले थप्नुभयो, “भेनेजुयलाको तेल, ग्यास, सुनलगायत बहुमूल्य धातु कब्जा गर्न ट्रम्प प्रशासनले राष्ट्रपति मादुरोलाई लागूपदार्थ तस्करको
आरोप लगाई पुस १९ गते राति अपहरण गरी न्युयोर्कको अदालतमा मुद्दा चलाएको हो । नेमकिपाले मादुरो दम्पतीलाई अपहरण गरी झूटा मुद्दा चलाउने ट्रम्प प्रशासनको निन्दा गरी तत्काल रिहा गर्नुपर्नेमा जोड दियो ।”
संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद्मा फ्रान्स, रुस, चीनले पनि ट्रम्प प्रशासनको विरोध एवम् निन्दा गरी मादुरो दम्पतीको तत्काल रिहा हुनुपर्नेमा जोड दिए । तर, ट्रम्प प्रशासनका विदेशमन्त्री मार्को रूवियोले संरा सङ्घमा निर्णय हुन्छ भनी आफूलाई चासो नभएको बताए । हालै ट्रम्प प्रशासनले आफ्नो रक्षा मन्त्रालयको नाम युद्ध मन्त्रालयमा परिणत गरेको हो, उहाँले भन्नुभयो ।
ट्रम्प प्रशासनले कोलोम्बिया, डेनमार्क (ग्रीनलैन्ड), मेक्सिको, इरान र क्युवालाई पनि बल प्रयोग गर्ने धम्की दिँदै गरेको चर्चा गर्दै सचिव सुवालले भन्नुभयो, “संरा अमेरिकी जनताले ‘राजा चाहिँदैन’ भन्दै ट्रम्प प्रशासनको हैकमवादको विरोध गर्दै छन् । भेनेजुयलाका राष्ट्रपति मादुरोको अपहरणको विरोधमा संरा अमेरिकी सहरहरूमा ट्रम्प प्रशासनको विरोध भइरहेको छ ।”
सचिव सुवालले देश र जनताको निःस्वार्थ सेवा गर्ने राजनीति साहित्यकार, कलाकार, खेलाडी, विद्यार्थी र शिक्षक सबैले गर्नु जरूरी भएको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवालले तःमुंज्याले भाषा र साहित्यको माध्यमले जनताको भावना उजागर गर्ने कार्य गरेको बताउनुभयो ।
साहित्यकार तथा शिक्षासेवी सूर्यप्रसाद लाकोजूले नेपालभाषा आ–आफ्नो ठाउँको फरक देखिए तापनि आफ्नोजस्तो बोलीचालीको छ त्यसलाई प्रयोगमा ल्याउनुपर्छ भन्नुभयो ।
नेपालभाषा साहित्य तःमुंज्याका उपाध्यक्ष कृष्णकुमार वैद्यले तःमुंज्याले साहित्य, कलालाई मनोरञ्जनको साधनको रूपमा मात्र नभई देश र जनताको गहकिलो छलफल गर्ने डबलीको रूपमा अगाडि बढाइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “साहित्य र कला मानिसकै सिर्जना भएकोले साहित्यकार र कलाकारहरूले समाजमा आपूmले भोगिरहनुपर्ने अवस्थालाई उजागर गर्छन् । त्यसैले साहित्य र कला राजनीतिबाट अलग्ग हुँदैन ।”
साहित्यकार तथा समाजसेवी शमशेरबहादुर न्हुच्छेप्रधानको सभापतित्वमा भएको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले बनेपाका सांस्कृतिक गुरू नारायणप्रसाद जोशीलाई दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गर्नुभयो ।
सम्मेलनमा कथातर्फ प्रथम टीकाभक्त भोछिभोया, द्वितीय सृष्टि डंगोल, तृतीय श्रीया पहिजू र सान्त्वना एल.के. सुन्दर र कवितातर्फ प्रथम सकुन्तला महर्जन, द्वितीय सिद्धिबहादुर कर्माचार्य, तृतीय उत्सुक विजय र सान्त्वना एन्जिलिना बासुकलालाई हुन सफल भएको थियो ।
त्यसैगरी लेख रचना वाचन गर्नुभएका हर्षनारायण कर्माचार्य र मणिराज श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सांस्कृतिक विधा प्रस्तुत गरिएका सङ्घ–संस्था र कलाकारहरूलाई प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा नेपालभाषा साहित्य तःमुंज्या काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठले धन्यवाद व्यक्त गर्नुभएको थियो । कोषाध्यक्ष पुण्यशोभा श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साहित्य सम्मेलनपछि सांस्कृतिक कार्यक्रम भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *