भर्खरै :

अग्रजहरूको अनुभवलाई लिपिबद्ध गर्नु जरुरी

अग्रजहरूको अनुभवलाई लिपिबद्ध गर्नु जरुरी

भक्तपुर, २६ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भिन्तुना बचत तथा ऋण सहकारी संस्था लि. का ७० वर्ष र सोभन्दा माथि उमेरका ज्येष्ठ बचतकर्ताहरूको सम्मान कार्यक्रम शनिबार सम्पन्न भयो ।
ज्येष्ठ नागरिक दिवस (पुस ११) को अवसरमा संस्थाको आयोजनामा भएको उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँले ज्येष्ठ नागरिकहरूको जीवन अनुभवलाई नयाँ पुस्तामा पुस्तान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउँदै अग्रजहरूको अनुभवलाई लिपिबद्ध गर्नु जरुरी छ भन्नुभयो ।
घर परिवारका सदस्यहरूले दैनिकरूपमा ज्येष्ठ नागरिकहरूसँग स्वास्थ्य स्थिति र आहारविहारबारे दैनिकरूपमा छलफल गर्नुपर्ने सुझाव दिँदै अध्यक्ष बिजुक्छेँले नयाँ पुस्ता र ज्येष्ठ पुस्ताबिच नियमित संवाद आवश्यक छ भन्नुभयो ।
भक्तपुर जिल्ला बाहिरका सांस्कृतिक धरोहरहरूको पुनःनिर्माणमा भक्तपुरका सिकर्मी, डकर्मी, ल्वहँकर्मीहरूको महत्वपूर्ण योगदान रहेको अध्यक्ष बिजुक्छेँले बताउनुभयो ।
भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले सहकारी संस्थाहरूले बचत र ऋण कारोबारमात्र नगरी सदस्यहरूलाई विभिन्न सीपमूलक तालिमहरू दिई स्वरोजगार सृजनामा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाको निर्वाचन घोषणापत्रअनुसार भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले काम गर्दै आएका छन् । नगरपालिकाले ख्वप अस्पताल सञ्चालन गरी देशभरिका बिरामीहरूको सेवा गरिरहेको छ भने घर दैलो नर्सिङ सेवामार्फत नगरवासीहरूलाई स्वास्थ्य सेवा दिइरहेको छ ।”
नेमकिपा २ नं. वडाका इन्चार्ज रत्नकाजी नायोभारीले स्वस्थ हुनसक्नु नै सबभन्दा ठुलो कुरा भएकोले ज्येष्ठ नागरिकहरूले आफ्नो स्वास्थ्य स्थितिबारे परिवारहरूलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष कृष्णगोविन्द सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष आशकुमार कोजु र चञ्चल सुवालले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा अतिथि बिजुक्छेँले १३९ जना ज्येष्ठ नागरिकहरूलाई दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका सचिव कृष्णप्रसाद सुवालले कार्यक्रमको औचित्यताबारे प्रकाश पार्नुभएको थियो । सोही कार्यक्रममा ज्येष्ठ नागरिकहरूको सुगर तथा प्रेसरको परीक्षण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *