भर्खरै :

साम्राज्यवादको गुन्डागिरी चरण

  • पुष २९, २०८२
  • प्रभात पटनायक
  • विचार
साम्राज्यवादको गुन्डागिरी चरण

सोभियत सङ्घको विघटन भयो । उदार पुँजीवादी लेखकहरूले सदाका लागि प्रजातन्त्र र स्थिरताको विश्वव्यापी विजयको युगारम्भ भएको घोषणा गरे । उनीहरूले समाजवादी चुनौतीलाई अनावश्यक र प्रत्युत्पादक हुने माने । पुँजीवादले पहिले नै उपनिवेशहरूलाई राजनीतिक स्वतन्त्रता दिएको, बालिग मताधिकार दिएको र लोककल्याणकारी नीति हृदयङ्गम गरेको विश्वास गरे । समाजवादी चुनौतीबेगर नै पनि पुँजीवादले मानव जातिलाई शान्ति, आर्थिक सुरक्षा र व्यक्तिगत स्वतन्त्रता प्रत्याभूत गर्न सक्छ भन्ने ती बुद्धिजीवीहरू निर्धक्क बने । अर्कोतर्फ कतिपय वामपन्थी लेखकहरूले उपनिवेशवादबाट मुक्ति, बालिग मताधिकारको आरम्भ र लोककल्याणकारी नीतिलाई समाजवादी चुनौतीले गर्दा आइलागेको अस्तित्वको सङ्कटको बेला पुँजीवादले दिनुपरेको सहुलियतको रूपमा देखे । यो चुनौती हटेपछि पुँजीवादी प्रणाली पुनः आफ्नो सामान्य परजीवी चरित्रमा फर्किने र यी सहुलियत पनि फिर्ता लिने उनीहरूले आकलन गरे । ती वामपन्थी बुद्धिजीवीको अनुमान सही कालान्तरमा सही ठहरियो । साम्राज्यवादले आफ्नो नाङ्गो आक्रामक चरित्र देखायो । यसलाई हामी यसको ‘गुन्डागर्दी चरण’ भन्न सक्छौँ । (साम्राज्यवाद पुँजीवादकै एक चरण हुनाले हामी यहाँ साम्राज्यवादबारे मात्र चर्चा गर्छौँ ।)
अमेरिकी साम्राज्यवादले सैन्य कारबाहीमार्फत एक अर्कै देश भेनेजुयलाका जननिर्वाचित राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई उनीहरूको घरबाटै अपहरण ग¥यो । उनीहरूमाथि फर्जी मुद्दा चलाउन हातमा हत्कडी लगाएर अमेरिका ल्यायो । अमेरिकाले आफूले लगाएको आरोप प्रमाणित गर्न कुनै भरपर्दो प्रमाण पेस गर्न सकेको छैन । यसका साथै अमेरिकाले तिनको देशलाई उपयुक्त कठपुतली सरकार नबन्दासम्म सिधै शासन गर्ने बतायो । अन्तर्राष्ट्रिय व्यवहारका सम्पूर्ण कानुनी र नैतिक मान्यतालाई उल्लङ्घन गर्ने गजबको धृष्टता देखियो अमेरिकाको । यस घटनामा साम्राज्यवादको ‘गुन्डागिरी चरण’ झल्किन्छ ।
साम्राज्यवादको गुन्डागिरी चरणको पछिल्लो घटना यही हो । इराकका सद्दाम हुसेनलाई जबरजस्ती हटाएर पूर्णतः झूटो अभियोगमा मृत्युदृण्ड दिनु† लिबियाका मुअम्मर गद्दाफीको नृशंस हत्या गर्नु; सिरिया कब्जा गर्नु† साम्राज्यवादको आड पाएर बसोबासी उपनिवेशवाद लागू गरिरहेको शक्तिले घर खाली गर्नभन्दा नमानेको ‘झूटो’ आरोप लगाई प्यालेस्टिनी जनताको जातिसंहार गर्नु; डोनाल्ड ट्रम्पले छनोट गरेका ‘भाइसरोय’ ले शासन गर्ने गरी गाजालाई अमेरिकी उपनिवेशको रूपमा अधिग्रहण गर्नु र त्यसलाई घरजग्गा कारोबारीहरूको अखडा बनाउनु – यी सबै साम्राज्यवादको गुन्डागिरी चरणका विविध अध्याय हुन् ।
उदारवादी बुद्धिजीवीहरूले अहिले पुनः (साम्राज्यवादी) गुन्डागिरीको लागि पुनः डोनाल्ड ट्रम्पको अलग आचरणलाई मात्र दोष दिँदै छन् । तर, माथि चर्चा गरिएका धेरै घटना डोनाल्ड ट्रम्प सत्तामा आउनुभन्दा अगाडिका हुन् । ट्रम्प र अघिल्ला अमेरिकी राष्ट्रपतिहरूको भेद एउटै छ । अघिल्ला राष्ट्रपतिहरूले ‘सभ्य’ शब्दावलीले छोपेर गुन्डागर्दी गर्थे भने ट्रम्पले सरकारी बदनियत नलुकाई गुन्डागिरी गर्छन् । प्यालेस्टिनी जनताको जातिसंहारलगायत माथि चर्चा गरिएका प्रत्येक घटनामा अन्य साम्राज्यवादी देशहरूको समेत पूर्ण सहमति थियो । यी तिनै साम्राज्यवादी देशहरू हुन्, जो आफ्नो तथाकथित ‘उदारवादी’ सिद्धान्तहरूको विज्ञापन गरेर कहिल्यै थाक्दैनन् । निकोलस मादुरोको अपहरणकै घटनालाई हेरौँ । विश्वका तमाम देशले यो अपहरणको विरोध गरे । तर, जर्मनी, फ्रान्स र बेलायतले यसमा सक्रिय वा मौन समर्थन जनाए । त्यसैगरी, ट्रम्पको अनुकम्पा लिने लोभमा भारतलगायत दक्षिणी गोलाद्र्धका केही मुलुकले पनि यो अपहरणको पक्ष लिए ।
खासगरी संरा अमेरिकाका युरोपेली साझेदारहरूले निकोलस मादुरो निरङ्कुश शासक हुनाले उनलाई बेदखल गर्दा आँसु झार्नुपर्दैन भन्ने भाषा बोल्दै छन् । यो ताइँ न तुइँको तर्क हो । अन्तर्राष्ट्रिय कानुनले संरा अमेरिकालगायत कुनै पनि देशलाई प्रजातन्त्र स्थापना गर्न अन्य देशको मामिलामा सैन्य हस्तक्षेप गर्ने अधिकार दिएको छैन । कुनै पनि देशको शासक छनोट गर्ने अधिकार त्यहीका जनतालाई हुन्छ । मादुरो निरङ्कुश थिए वा थिएनन् भन्ने कुरासँग अमेरिकी हस्तक्षेपलाई एकदम असान्दर्भिक छ ।
मादुरोलाई पक्राउ गरेपछि शासन चलाउनको लागि भेनेजुयलामा मादुरोकी मुख्य विरोधी मारिया कोरिना मचाडोसँग पर्याप्त जनाधार नभएको तथ्य ट्रम्प आफैले स्वीकारे । कुनै पनि देशमा दुई मुख्य राजनीतिक शक्ति छन् र तीमध्ये एउटासँग पर्याप्त जनाधार छैन भने यसको सोझो अर्थ हुन्छ अर्कोसँग पर्याप्त जनाधार छ । यस्तो स्थितिमा ट्रम्प र युरोपका धेरै नेताको ‘मादुरोसँग राजनीतिक वैधता छैन’ भन्ने दाबी खुला झूट साबित हुन्छ । ट्रम्पले मचाडो र मादुरो दुवैसँग राजनीतिक वैधता छैन भन्छन् भने भेनेजुयलामा कोसँग राजनीतिक वैधता छ त भनी उनले बताउनुपर्छ ।
ट्रम्पले आफ्नो ठाडो शैलीमा मादुरोलाई हटाउनुको सक्कली कारण बताए । जनवरी ३ का दिन आयोजित पत्रकार भेलामा उनले भने, “अब हामीले भुइँबाट विशाल मात्रामा धन निकाल्ने छौँ ।” उनको भनाइअनुसार त्यहाँबाट कमाइ हुने रकम भेनेजुयलाका जनताले मात्र पाउने छैनन्, अमेरिकी इन्धन कम्पनीहरूले पनि पाउनेछन् । साथै, त्यो रकम “त्यो देशले गर्दा पुगेको क्षतिको हर्जानास्वरूप संरा अमेरिका” ले पनि पाउनेछ रे । भेनेजुयलाले इन्धन सम्पदालाई राष्ट्रियकरण गर्दाको परिणामलाई ट्रम्पले ‘क्षति’ भनेका हुन् । भेनेजुयलामा जतिको तेल सम्पदा संसारमा अर्को कुनै देशसँग छैन । विश्वको तेल भण्डारको १७ प्रतिशत तेल भेनेजुयलामा छ । भेनेजुयलाको तेल लुट्न ट्रम्पले राखेको प्रस्ताव आफैमा त्यो देशलाई हातमा लिएर ‘चलाउने’ ट्रम्पको ठाडो स्वीकारोक्तिले उनको कुनियत प्रस्ट हुन्छ । यसलाई खुला गुन्डागिरीबाहेक अरू भन्नै मिल्दैन । तिमीहरूसँग तेल छ; हामी त्यो तेल खोस्नेछौँ; हाम्रो काममा अडचन बने तिमीहरूको राष्ट्रपतिलाई अपहरण गर्नेछौँ; तिम्रो देशलाई सिधै उपनिवेश बनाएर हुन्छ कि तिम्रो देशलाई लुट्न दिने कुनै कठपुतली सरकारलाई सत्तामा राखेर हुन्छ, हामीले त्यो तेल खोस्नेछौँ – यस्तो भाषा गुन्डा र डाँकाहरूको हुन्छ ।
साम्राज्यवादले सदैव अरू देशका प्राकृतिक स्रोतसाधन, तिनको भूमि र भूमिजन्य उत्पादनहरू लुट्दै आएको छ । लुटपाट साम्राज्यवादको मूल चरित्र रहँदै आएको छ । दोस्रो विश्वयुद्धपछि औपनिवेशिक शासनबाट देशहरू मुक्त हुन थाले । त्यसपछि साम्राज्यवादले आफ्नो डकैतीको बीचमा बाधक बन्ने सरकारहरूलाई ढलाउन र तिनका स्थानमा चाकर सरकारहरूलाई राख्न थाल्यो । अमेरिकी गुप्तचर निकाय ‘सीआइए’ ले ग्वाटेमालामा अर्बेन्जविरुद्ध, इरानमा मोस्सादेगविरुद्ध, कङ्गोमा लुमुम्बाविरुद्ध, चिलीमा एयेन्डेविरुद्ध सत्ताविद्रोह गराउन सरसहयोग गरेको कुरा सहज ज्ञान भइसकेको छ । हालै मात्र पूर्वी युरोप तथा पूर्व सोभियत गणतन्त्रहरूमा भएका रङ्गीन क्रान्तिहरू र पश्चिम एसियामा भएको आक्रमण यही कोटीका कुकर्म हुन् । यी सबै घटना र भेनेजुयलाको घटनामा एउटा मूल भिन्नता छ । यसअघि अमेरिकाले (डकैती गर्ने) देशको आन्तरिक द्वन्द्वको कुनै एउटा पक्षलाई सहयोग गरे जस्तो गथ्र्यो र पर्दा पछाडिबाट सत्ताविद्रोह गराउँथ्यो । तर, यसपालि भेनेजुयलामा उसले द्वन्द्वरत पक्षमध्ये एउटालाई आड दिने देखावा नगरी सिधै सैन्य हस्तक्षेप ग¥यो ।
अमेरिकाले साम्राज्यवादविरोधी सरकारहरूलाई पनि निसानामा राख्ने गरेको जगजाहेर छ । यसको लागि ती देश खनिज पदार्थमा सम्पन्न हुनैपर्छ भन्ने छैन । जस्तो, कुख्यात मुनरो नीतिलाई ब्युँताउने सिलसिलामा ट्रम्पले यसअघि नै क्युवा, मेक्सिको र कोलम्बियाविरुद्ध योजना सुनाइसकेका छन् । तर, कुरा ल्याटिन अमेरिका वा क्यारिबियाको मात्र होइन । उनको साम्राज्यमा यी क्षेत्र मात्र पर्दैनन् । वास्तवमा आजका मितिमा विश्वको कुनै पनि देश अमेरिकी हस्तक्षेपबाट सुरक्षित छैन ।
तथाकथित क्युवाली मिसाइल सङ्कटको बेला अमेरिकाले क्युवामाथि आक्रमण गर्ने धम्की दिँदा सोभियत सङ्घले क्युवाको प्रतिरक्षा गर्नुपरेको थियो । संरा अमेरिकासँग हुन सक्ने आणविक युद्धकै जोखिम मोलेर सोभियत सङ्घले क्युवाको रक्षा गरेको थियो । त्यसअघि इजिप्टका नासिरले स्वेज नहरलाई राष्ट्रियकरण गरेपछि बेलायत र फ्रान्सले आक्रमण गर्ने धम्की दिँदा सोभियत सङ्घ नै इजिप्टको प्रतिरक्षामा उभिएको थियो । यी दुवै घटनामा साम्राज्यवाद पछि हट्न बाध्य भएको थियो । आज सोभियत सङ्घ छैन । आज अमेरिकी नेतृत्वमा रहेको साम्राज्यवादको गिद्देदृष्टिमा परेका विश्वका सबै देशले सोभियत सङ्घको अनुपस्थितिलाई गहिरो गरी महसुस गर्दै छन् ।
साम्राज्यवादको यो गुन्डागिरी चरण साम्राज्यवादकै उच्चतम रूप पनि हो । तर, यो रूप लामो समय टिक्ने छैन । साम्राज्यवादको सिकार बन्दै आएका विश्वका जनता र खासगरी तेस्रो विश्वका जनताले फेरि एकपल्ट साम्राज्यवादी दबदबाको दासतामुनि पिल्सिन चाहने छैनन् । वास्तवमा साम्राज्यवादले अरब जगतमा गुन्डागर्दी मच्चाउन खोज्दा उल्टो परिणाम निस्केको उदाहरण छ ।
भेनेजुयालामा पनि त्यही भयो । मादुरोलाई बाटोबाट हटाउँदैमा उनको स्थानमा आएकी भेनेजुयली उपराष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकाले जसो भन्छ, त्यसै गर्नेछिन् भन्ने ट्रम्पको सामान्य अनुमानलाई घटनाक्रमले फिक्का साबित गरिसकेको छ । रोड्रिगेजले अमेरिकी कारबाहीको निन्दा गरेकी छिन् र मादुरोको तत्काल रिहाइको माग गरेकी छिन् । त्यही भएर ट्रम्पले उनलाई पनि ‘मादुरोकै नियति भोग्नुपर्ला’ भन्दै धम्की दिन थालेका छन् । तर, उनको पछाडि सारा देश छ । अमेरिकी गुन्डागर्दीविरुद्ध समग्र भेनेजुयला जुरुक्क उठेको छ । सोभियत सङ्घको अनुपस्थितिमा विश्वभरि एकछत्र प्रभुत्व लाद्ने अभियानमा साम्राज्यवादको साहस बढेकै हो । तर, एकछत्र प्रभुत्व लाद्ने उसको एक खोक्रो सपना साबित हुनेछ ।
(प्रभात पटनायक विश्वविख्यात भारतीय अर्थविद्का साथै खरो राजनीतिक विश्लेषक पनि हुन् । पुँजीवादी अर्थतन्त्रबारे उनका अनेकौँ पुस्तक प्रकाशित छन् ।)
स्रोत : एमआर अनलाइन । सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *