अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, १६ माघ । पारागन एकेडेमीको २३ औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले विद्यालय देशको लागि आवश्यक जनशक्ति उत्पादन र आधार निर्माण गर्ने थलो हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “हरेक क्षेत्रका विज्ञ, विशेषज्ञ, डाक्टर, नर्स, वैज्ञानिक, पाइलट, व्यापारी, उद्योगपतिहरू विद्यालयले दिइने शिक्षाकै जगमा तयार हुने भएकोले यसतर्फ विद्यालय सचेत हुनुपर्छ । असल नागरिक तयार गर्न शिक्षकहरूको भूमिका महत्वपूर्ण हुने भएकोले विद्यालयले शिक्षकहरूको व्यक्तित्व विकास एवम् उज्ज्वल भविष्य लक्षित कार्यक्रम सञ्चालन गर्नु जरूरी छ ।”
विकसित देशहरूमा अब्बल विद्यार्थीहरूको पहिलो रोजाइ शिक्षक हुने र शिक्षकहरूको सेवा–सुविधा पनि तुलनात्मकरूपमा राम्रो हुने चर्चा गर्दै प्रमुख प्रजापतिले नेपालका अब्बल विद्यार्थीको पहिलो रोजाइ शिक्षण पेसा बनाउनेतर्फ राज्यले उचित ध्यान दिनु जरुरी भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “जुनसुकै पेसा रोजे पनि स्वदेशमै बसेर सेवा गर्नु आवश्यक छ । वैदेशिक रोजगारीले देश सम्पन्न हुन नसक्नेतर्फ नयाँ पुस्तालाई सचेत गराउनैपर्छ ।”
विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षकको बन्दोबस्त नहुनु, पाठ्यपुस्तक समयमा नपुग्नु, परीक्षा नियमित नहुनुजस्ता कारणले सरकारी विद्यालयको शिक्षाको गुणस्तर खस्केको जनगुनासोबारे सरकार बेलैमा सचेत हुनुपर्ने प्रमुख प्रजापतिले बताउनुभयो ।
राज्यले शिक्षा क्षेत्रमा गरेको खर्चअनुसार सरकारी विद्यालयको गुणस्तरमा प्रश्न उठ्ने गरे पनि भक्तपुरका सार्वजनिक विद्यालयको गुणस्तर राम्रो रहेको उहाँले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “२०८१ सालको एसईई परीक्षामा भक्तपुर नगरका ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भए । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानको नर्सिङको हालै प्रकाशित परीक्षा नतिजाअनुसार परीक्षामा सहभागी ४० जना विद्यार्थीमध्ये ३३ जना विशिष्ट श्रेणीमा र ७ जना पहिलो श्रेणीसहित १०० प्रतिशत उत्तीर्ण भए ।”
भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने सपनालाई साकार बनाउन भक्तपुर नगरपालिका लागिपरेको चर्चा गर्दै प्रमुख प्रजापतिले अहिले देशभरिबाट उच्च शिक्षा लिन भक्तपुर आउनेको सङ्ख्या उल्लेख्य रहेको बताउनुभयो ।
समाजवादी व्यवस्थाअनुसार शिक्षा र स्वास्थ्य उपचारको सम्पूर्ण व्यवस्था राज्यको दायित्वभित्र पर्ने भएकोले भनपाले पनि समाजवादी व्यवस्थाको आधारशिला निर्माण गर्ने कार्य गरिरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले भनपाले शिशु स्याहारदेखि ७ वटा कलेजहरू सञ्चालन गर्नुका साथै ख्वप अस्पताल सञ्चालन गरी जनताको सेवा गरिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यार्थीलाई शिक्षासँगसँगै असल संस्कार सिकाउनु आवश्यक छ । विद्यार्थी हाम्रा भविष्य र सम्पत्ति भएकोले उनीहरूलाई कुलतबाट बचाउन जरूरी छ । पद र पैसाको लोभमा नफस्ने इमानदार विद्यार्थी तयार गर्न सके विद्यालयले समाजकै सेवा गरेको ठहर्छ ।”
भक्तपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखाले नयाँ तरिकाले सोच्न सिकाउने विद्यालयले मात्र भविष्यका चुनौती सामना गर्न सक्ने विद्यार्थी तयार गर्न सकिने धारणा राख्नुभयो ।
नेसनल प्याब्सनकी केन्द्रीय अध्यक्ष गीता राणाले अभिभावकको अपेक्षा बुझ्ने, विद्यार्थीको रूचि पहिचान गर्ने र शिक्षालाई सीप तथा जीवनसँग जोड्ने विद्यालय नै आजको आवश्यकता भएको चर्चा गर्दै भक्तपुर नगरपालिकाले शिक्षामा उल्लेखनीय काम गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो ।
बाल विकास विज्ञ सानु अमात्यले बालबालिका खुसी भएमात्र सिकाइ प्रभावकारी हुने धारणा राख्दै विद्यार्थीकेन्द्रित सिकाइलाई जीवनसँग जोडिनु आवश्यक छ भन्नुभयो ।
विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले अतिरिक्त क्रियाकलाप, खेलकुद, सूचना प्रविधि कक्षा र सांस्कृतिक कार्यक्रमलाई नियमित पाठ्यक्रमकै अङ्ग बनाउँदै आएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद कुसीको सभापतित्वमा भएको उक्त कार्यक्रममा मोटिभेसनल स्पिकर तुल्सीहरि प्रजापति, विद्यालय सञ्चालक समिति उपाध्यक्ष एवं व्यवस्थापक रत्नवीर किसी, विद्यालयका सेकेन्डरी इन्चार्ज सागर पराजुलीलगायत विद्यार्थी प्रतिनिधिहरूले बोल्नुभएको थियो ।
कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण, वर्ष विद्यार्थी, वर्ष शिक्षक, वर्ष अभिभावक, निरन्तर सेवा पदकहरू प्रदान गरिएको थियो ।
कार्यक्रमको दोस्रो चरणमा सांस्कृतिक कार्यक्रम भएको थियो ।
Leave a Reply