भर्खरै :

बैशाख १२ को भुकम्प-सम्झनाका केही कुरा

नीरज
सुर्खेतबाट हिंडेको गाडी बबईमा खाना खान रोकियो । मसँगै गएकी कोपिलाकी फुपूको छोरीको घर बबईमा भएकाले खाना खान अरु पसल चहार्न परेन । बबईमा खाना खान गाडी रोके कोपिलाकी दिदीको घरमा खाना खाने पूर्व सहमतिअनुसार हामी सिधै दिदीको घरतिर हानियौं । घर राजमार्गभन्दा अलिक भित्र थियो ।
बबई त्यसै नै गर्मी ठाउँ । त्यसमाथि बैशाख महिना । त्यहाँको गर्मी नेपालगञ्जको गर्मीलाई माथ खुवाउने खालको थियो । त्यसमाथि हामी जुम्लाबाट फर्केका, बबई किनाराको त्यो उखर्माउलो गर्मी छल्न घरबाहिरै बसेर खाना खाने निधो भयो । हामीसँग समय निकै कम थियो । गाडीले प्वाँप्वाँ हर्न बजाउने बित्तिकै गाडीमा पुग्न नसके अर्को फसाद पनि आइलाग्न सक्थ्यो । त्यसमाथि नेपालगञ्जमा साथीहरु हाम्रो प्रतीक्षामा हुनुुहुन्थ्यो । नेक्राविसङ्घ बाँकेको आयोजनामा लेनिन दिवसको अवसरमा कार्यक्रम राख्नुभएको थियो । सकेसम्म चाँडो नेपालगञ्ज पुग्ने हतारो पनि थियो ।
हामी गएर पसिना ओभाउन नपाउँदै दिदीले खाना खान हात धुन सङ्केत गर्नुभयो । दिदीकी ससुरासँगको गफ बिट मार्दै हामी हात धुनतिर लाग्यौं । खाना खान ठिक्क परेर म र कोपिला घरको पिडींमा राखिएको ठूलो टेबुलको आमनेसामने बस्यौं । दश दिनभन्दा लामो सहयात्रा पछि कोपिलासँगका औपचारिकताका पर्खालहरु एक पछि अर्को ढलिसकेका थिए । हामी बढी ठट्टा गर्ने भइसकेका थियौं । यात्रामा ठट्टा र रमाइला कुराकानी नभए सिङ्गो यात्रा उद्देकलाग्दो हुनेथियो । प्रकाश बीचैबाट घर फर्कनु भएपश्चात यात्रामा कोपिलासँग कुराकानी गर्ने म र मसँग कुराकानी गर्ने कोपिलाबाहेक अरु को थियौं र ?
खाना पस्केका थाल आइसकेका थिएनन् । हामी कहिले खाना आउला र खाउँला भनेर कुरिरहेका थियौं ।
टेबुल हल्लियो ।
मलाई लाग्यो–कोपिलाले फेरि अर्को ठट्टा गरिन् । उनलाई पनि लागेछ–मैले फेरि ठट्टा गरें । मलाई लाग्यो–कोपिलाले खुट्टा हलाएर टेबुल हल्लाइरहेकी छिन् । उनलाई पनि त्यस्तै लागेछ । तर वास्तवमा हामी दुवैले टेबुल हल्लाएका थिएनौं । दुवैले खुट्टा नहल्लाई पनि टेबुल हल्लिएको देखेपछि मात्र भूकम्प आएको हामीमा चेतना आयो । हो, विनाशकारी बैशाख १२ गतेको भूकम्प हामीले बबईको किनारामा अनुभव गरेका थियौं ।

हतार हतार पिंडीबाट बाहिर निस्क्यौं । सुर्खेततिर जान तम्तयार नजिकैको गाडी पुरै नाचिरहेको थियो । भित्रका यात्रुहरु विलखबण्डमा परेका थिए । वरपरका पहाडहरुमा रुखहरु कुनै ठूलो आँधी आएजस्तै मच्चिरहेका थिए । मन चिसो भयो । लाग्यो–यो भूकम्प काठमाण्डौमा गए सग्लो उभिएको केही रहँदैन होला ।
केही बेरमा भूकम्पको झट्का रोकियो । काँपेको मुटु अझै थामिसकेको थिएन । तर नेपालगञ्जमा सकेसम्म चाँडो पुग्ने हतारोले हामी खाना खानतिर लाग्यौं । केही बेरमा गाडीको हर्न प्वाँ प्वाँ बज्यो । हतारमा हामी गाडी चढ्यौं । बल्ल बल्ल घरमा सुलोचनासँग सम्पर्क भयो । राम्रो कुरा बुझिएको थिएन । ‘हामी सुरक्षित छौं । त्यहाँ सुरक्षित बस्नु ।’ भनेर फोन काटें ।
गाडीमा सुर्खेतका साथीहरुको केही फोन आए । ‘काठमाण्डौमा ठूलो भूकम्प आयो रे नि । केही खबर छ ?’ अहँ, हामीलाई केही थप जानकारी थिएन । काठमाण्डौमा प्रिपेड नम्बरमा कसैको फोन लागिरहेको थिएन । पोस्टपेड नम्बर भएका कसैले पनि फोन उठाएनन् । चितवनका हरिजीले फोन गर्नुभयो – ‘भक्तपुरतिर ठूलै क्षति भए जस्तो छ ।’
त्यसपछि कसैको नम्बर सम्पर्क हुन सकेन । हाम्रो गाडी पनि जङ्गलतिर उक्लिन थाल्यो । नेटवर्कले काम गरेन । गर्मी र थकाईले गाडीका अधिकांश यात्रु मस्त निद्रामा सुतिरहेका थिए । हामी पनि कतिबेला सुतेछौं, चालै पाइएन । आँखा खोल्दा कोहलपुर बसपार्कमा पुगिसकेका थियौं ।
‘काठमाण्डौमा त ठूलै विनाश भएजस्तो छ । धरहरा पनि ढलेछ ।’, सँगै बस्न आएका एक जना यात्रुले भने ।
धरहरा भन्ने बित्तिकै न्यातापोलको चित्र मानसपटलमा खेल्यो । ‘पक्कै ढल्यो ।’, मेरो मनले निष्कर्ष निकाल्यो ।
नेपालगञ्जका लागि हामी निकै ढिला भइसकेका थियौं । अरु कुरा सोच्न छोडेर हामी फटाफट नेपालगञ्जको बहुमुखी क्याम्पसतिर लाग्यौं । साथीहरु दुई घण्टादेखि कुरिरहनुभएको थियो । ढिला पुगेकोमा अलि असजिलो लाग्यो । हामी पुग्ने बित्तिकै मलाई मन्तव्यको लागि आमन्त्रण गरियो । लेनिन दिवसको कार्यक्रम, झण्डै आधा घण्टा त्यही विषयमा बोलें ।
बोलिसकेर बस्दा मोबाइलमा धेरै मिसकल आइसकेको रहेछ । हरिजीकै फोन रहेछ । अरुको नम्बर लागिरहेको थिएन । ‘ठूलै क्षति भएजस्तो छ । धेरै मानिस पुरिए भन्छन् ।’
साथीहरु भूकम्प आउँदा क्याम्पसको पर्खाल हल्लिएको सम्झेर ठट्टा गर्दै थिए । कार्यक्रम सकेर बाहिर निस्कियौं । फेरि फोन हरिजीको । ‘कसैसँग सम्पर्क भयो ?’
‘अहँ’
‘कल्पना दिदीको बारेमा थाहा भयो ?’
‘अहँ’
‘नराम्रो कुरा सुनेको छु ।’
कोपिला आँखाभरि आँसु राख्दै आइन् ।
‘दाई हाम्रो घर भत्कियो रे । बुवाले फोन गर्नुभएको । आजै आउनु भन्नुहुन्छ ।’
हाम्रो कार्यक्रम त्यो रात बुटवल पुग्ने थियो । बुटवलबाट चितवन पुगेर मात्र काठमाण्डौ जाने कार्यक्रम पूर्वनिर्धारित थियो ।
पोस्टपेड नम्बर भएका साथीहरु खोज्न थालें । सुरेन्द्र दाईको नम्बर पनि पोस्टपेड । उहाँलाई कल गरें । उहाँको स्वर भरिलो थियो । ‘कल्पना दिदी रहनुभएन ।’
त्यत्ति राम्रो बुझिनँ ।
‘कल्पना दिदीलाई केही भएको हो ?’
‘हो, अहिले हामी हनुमानाटमा छौं ।’
हामी नेपालगञ्जको पुरानो बजारमा हिंड्दैथियौं । त्यहाँका पुराना घरहरुमा एउटा ईट्टा समेत झरेको देखेनौं । त्यसैले काठमाण्डौमा कस्तो क्षति भयो होला, मैले कल्पना नै गर्न सकेको थिइनँ ।
कोपिलाको अनुहार निकै मलिन भइसकेको थियो । मेरो मन पनि हजार प्रश्न र परिकल्पनाले भरिसकेको थियो । बुटवलका साथीहरुसँग पनि सम्पर्क हुनसकेन । नेपालगञ्जबाट बुटवल जाने नाइट गाडी पनि रहेनछ । नाइट गाडी नपाउने कुरा पनि हाम्रो लागि काठमाण्डौ फर्कने बहाना जस्तै बन्यो ।
हरिजीलाई फोन गरें,‘हामी काठमाण्डौ फर्कने भयौं ।’
‘हामी पनि के गरौं,गरौं भएका छौं । मेरो आमा र भाई पनि सम्पर्कमा आएका छैनन् रे ।’,हरिजीले भने ।
‘त्यसो भए जानुपर्छ । हामी यहाँबाट आउने गाडीमा सीट रिजर्भ गरेर आउँछौं । नारायणगढमा पिक अप गरुँला है ।’, मैले भनें ।
नाइट गाडी भरिएको थिएन । योबीच भएका अनेकन कुराले हामीलाई मानसिक रुपमा निकै थकित बनाइसकेको थियो ।
दाङमा खाना खुवाउन गाडी रोकियो । टीभीमा भूकम्पले भत्केका भग्नावशेषका दृश्यहरु प्रसारण भइरहेका थिए । न कोपिलाले ठट्टा गरी न मैले । न गाडीका अरु कोही यात्रुहरु नै केही बोलिरहेका थिए । हामी मलामी गइरहेका मानिसहरुजस्तै चिसो मौनता बनाइरहेका थियौं ।
नारायणगढबाट हरि र लक्ष्मी गाडीमा चढे । मुग्लिन पुग्दासम्म उज्यालो भइसकेको थियो । बाहिर मानिसहरु सबै अनिंदा देखिन्थे । पूरै बजार भयले आक्रान्त भएको बुझ्न गाह«ो भएन । धादिङका राजमार्ग छेउछाउका बस्तीहरु युद्धग्रस्त मैदान जस्ता देखिन्थे । राति सुतेका पालहरु बाहिर मानिसहरु गफिंदै थिए । नयाँ जस्ता देखिने ढलानका घरहरु अनेक पोजिसनमा ढलिरहेका थिए । ढल्किरहेका थिए ।
कोटेश्वरसम्म गाडीले ल्यायो । भक्तपुर जाने गाडी चलेको थिएन । हिंड्दै गयौं । के हिड्यौं भन्नु, शहर र शहरबासीको दुरावस्था हेर्दै गयौं ।
जगातीसम्म जाने गाडी बल्ल पायौं–ठिमीबाट । जगातीमा ओर्लेर च्यम्हासिंहतिर हिंड्दै गर्दा दुवैतिर कति चिनेका र कति नचिनेका अनुहारहरु हामीलाई हेरिरहेका थिए । यस्तो लाग्यो–उनीहरु सोधिरहेका थिए–यस्तो विनाशको आँधी आउँदा तिमी कहाँ थियौ ?
………………
अघिल्लो दिन बैशाख १२ गते ‘मजदुर’ प्रकाशन हुन सकेको रहेनछ । तर यस्तो सङ्कटको समयमा अखबारको अझ बढी आवश्यकता हुने महसुस गरी बैशाख १३ गते ‘मजदुर’ को तयारी गर्ने निक्र्यौल भयो । फोन त्यत्ति लागिरहेको थिएन । तथापि केही बेरमा केही साथीहरु जम्मा पनि भयौं । चोर्चास्थित ‘मजदुर’को कार्यालयमा जान सकिने अवस्था थिएन । त्यसकारण च्याम्हासिंहस्थित एउटा कार्यालयबाट ‘मजदुर’को तयारी शुरु भयो ।
लेख्न सक्ने वातावरण थिएन । सबै जना मानसिक रुपमा थकित थियौं । पत्रिकाका साथीहरु को कहाँ–को कहाँ, ठेगान थिएन । तयारी भएर पनि छापाखानाबाट छापिने नछापिने ठेगान थिएन । तथापि जे सकिन्छ गर्ने, टुङ्गो भयो । सुनिल दाई टेबुलमा बसेर लेख्दै र साथीहरुलाई सम्पर्क पनि गर्दै हुनुहुन्थ्यो ।
लेख्दा लेख्दै र तयारी गर्दा गर्दै भुकम्प आयो । हामी भवनको दोस्रो तल्लामा थियौं । भूई तल्लामा आउन र बाहिर आउन पनि ज्यादै कष्टकर लाग्यो । भवनबाहिर आउँदा हामी कतिजना मोजामा मात्र थियौं । जुत्ता लगाउन ‘सभ्यता’ कतिबेला भुलेछौं, थाहा भएन । अनि त्यो दिन पनि ‘मजदुर’ निकाल्न नसकिने निष्कर्ष निकाल्दै सबै छरियौं ।
……………………
टर्कीको उदार टोली भक्तपुरमा आइसकेको थियो । उनीहरुलाई तुमचोस्थित बागीश्वरी माविको प्राङ्गणमा राख्ने सल्लाह भयो । उनीहरुसँगको समन्वयको जिम्मेवारी मेरो भागमा प¥यो । भाषाअनुवादलाई पनि सहज हुने अपेक्षा सहित मलाई त्यो जिम्मेवारी दिइएको हुनुपर्दछ । तर टर्की टोलीका अधिकांश स्वंयसेवकहरु अङ्ग्रेजी भाषा बुझ्दैनथे । उनीहरुमध्ये दुई जना भने अङ्ग्रेजीमा संवाद गर्न सक्थे । बागीश्वरी माविको प्राङ्गणमा आफ्ना सामान बिसाएको केही समयमै उनीहरु उद्वार कार्य थालनी गर्न तयार भए । उनीहरुलाई त्वचाको एउटा भत्केको घरमा उद्वारका लागि लैजाने सूचना प्राप्त भयो । टर्की टोलीसँगै हामी त्वचा पुग्यौं । टर्कीको टोलीका सदस्यहरु निकै जुझारु खालका थिए । हेर्दा पाको उमेरका भए पनि उनीहरुको जोश भर्खरको ठिटोको जस्तो अनि काम गर्ने शैली परिपक्व ।
त्वचाको एउटा घरमा बुढाबुढी पुरिएका थिए । उनीहरु जीवित हुने सम्भावना कम मात्र थियो । तर भए सास नभए लासै सही निकाल्न त्यहाँ नेपाल सेनाका जवानहरु लागिरहेका थिए । त्यसैमा टर्कीको टोली पनि मिसियो । सँगै केही बेर काम भयो ।
मेरो फोन बज्यो,‘क्वाठण्डौंको एउटा भत्केको घरबाट मान्छे कराएको सुनियो । टर्कीको टोलीलाई तत्काल लिएर आउनुप¥यो ।’
मैले टर्की टोलीका सदस्यहरुलाई त्यही खबर गरें । खबर सुन्ने बित्तिकै उनीहरु खन्दै गरेको बेल्चा छोडेर दौडिहाले । उनीहरुलाई भेटाउन हामीलाई गाह«ो भयो ।
अम्बिकामान मानन्धर सरको घर रहेछ । बिरामी आमा(अम्बिकामान सरकी जहान) भग्नावशेषमा पुरिएको र कसैले त्यहाँ मान्छे कराएको सुनेको रहेछ । सबैलाई लाग्यो–त्यो बुढी आमाको स्वर हो । अम्बिकामान सरका छोराहरु सबै जम्मा भएका थिए । तीन वटा चोक नाघेर भित्र पस्यौं । पराकम्पन आइरहने भयले सबैको मन खाएको थियो । मान्छेको स्वर सुनिएकै भन्ने सबैको कुरा सुनेर टर्की टोलीले स्वरको आधारमा मान्छे कहाँ छ भनी पत्ता लगाउने उपकरण बागीश्वरी माविबाट झिकाए । उनीहरुले प्रविधिअनुसार उपकरण फिट गरे । त्यो उपकरण उच्च संवदेनशील ध्वनि ठम्याउने रहेछ ।
छोराहरुलाई पटक–पटक आमालाई बोलाउन लगाए । तर त्यो उपकरणमा कुनै पनि ध्वनिको सङ्केत भएन । मलाई पनि सुनाए तर अहँ त्यहाँ कुनै जीवनको सङ्केत थिएन । थकित भएर उपकरण निकाल्दै गर्दा अचानक मानिस कराएको स्वर सुनियो । सबैले सुने । राति ९–१० बजिसकेको थियो । अचानकको स्वरले टर्कीको टोली अझै तम्सिए । दुई–तीन जना मानिसको सामूहिक स्वर सबैले प्रष्ट सुने । हामी एक प्रकारले उत्साहित भयौं । आडैको घरको झ्याल बन्द थियो । स्वर त्यहींबाट आइरहेको थियो । टर्की टोलीका तीन जना लक्का जवानहरु ढोका फोडेर भित्र पसे । हामी भित्र थुनिएका मानिसहरु हेर्न आतुर थियौं ।
हामी एक अर्कोका अनुहार हेर्दै थियौं तर मनमा एउटा भरोसामा पनि बलियो हुँदै गएको आभास भयो । सँगै कुनै पनि बेला पराकम्प आउने भय ।
ढोका फोडेर भित्र पसेका टर्किसहरुले तीन जना मानिसहरु भएको भने । हाम्रो उत्सुकता अझै बढ्यो ।
.‘त्यहाँ को छ हँ?’भित्रबाट स्वर आयो ।
हामी आश्चर्यमा प¥यौं । दुई दिनदेखि थुनिएका मानिसहरु कसरी यस्तो बोल्न सकेका ?
अँध्यारोबाट तीन जना मानिसका आकृति देखापरे । तर उनीहरु भग्नावशेषमा थुनिएका रहेनछन् । बरु उनीहरु आफै पनि त्यहाँ मान्छे कराएको छ भन्ने कुरा सुनेर उद्वार गर्न आएका मान्छेहरु रहेछन् । उनीहरु गल्लीको अर्कोतिरबाट त्यहाँ आएका रहेछन् । हामी सबै जिल्ल प¥यौं । मनभित्र पलाएको रोमाञ्चमा पानी प¥यो ।
केही बेरमा त्यहाँ अर्को उद्वार टोली आइपुग्यो । इटालीको टोली रहेछ । मान्छे कराएको छ भन्ने खबर सुनेर उनीहरु पनि त्यहाँ आएका रहेछन् । महिला र पुरुषहरुको ठूलो टोली थियो । उनीहरुसँग विकिरणको आधारमा मान्छे बाँचेको छ वा छैन भनी पत्ता लगाउने उपकरण थियो । त्रिभुवन विमानस्थलमा विमान अवतरण भए लगत्तै त्यो टोली सिधै भक्तपुर आएको थियो । राति त्यस्तै ११ बजिसकेको थियो ।
टर्कीको टोली फर्कियो । इटालीको टोलीसँगै हामी त्यहीँ बस्यौं ।
अचानक पराकम्प आयो । सबै भागाभाग भए । वरपर सबै कतिबेला भत्किएला जस्ता घरहरुमात्र भएको गल्ली, चुक घोप्ट्याएजस्तो अँध्यारो । हामी पनि भाग्यौं । सलाँ गणेशको ओरालोमा खुट्टा खोचिएर म माथिबाट एकै चोटी ओरालोको तल पुगें । घुँडामा चोट लाग्यो । केही बेर त पसिना–पसिना भएँ ।
इटालीको टोलीले केही बेरमा आफूसँग भएको उपकरणमा बुढी आमाको बगिरहेको रगत भनेर देखाए । (पछि थाहा लाग्यो, त्यो रगतको धारा होइन । बेटाडिन पोखिएको रहेछ । रातो रङ्ग भएकाले उपकरणमा रातै देखिएको रहेछ । हामीले त्यसलाई रगत भन्ठान्यौं । त्यसको केही दिन पछि मात्र त्यो स्थानबाट बुढी आमाको मृत शरीर निकालिएको थियो ।)उनीहरु पनि उद्वार कार्य स्थगित गरेर फर्किए । दत्तात्रय अँध्यारो र सुनसान थियो । आफ्नै टोल पनि कति बिरानो लागेको थियो ।
हामीलाई च्याम्हासिंह पुग्नुथियो । तर दत्तात्रयदेखि च्याम्हासिंहसम्म पुग्न साहस बटुल्न हामीलाई निकै बेर लाग्यो । विकल्प पनि त थिएन । आखिरमा त्यो तीन–चार मिनेटको छोटो दुरी छिचोल्न ठूलै साहस बटुलेर दौडियौं । मध्यरात भइसकेको थियो । सूर्यमढीमा एक हुल युवाहरु धुनी बालेर पहरा बस्दै थिए । हातमा भाटा बोकेका ती युवाहरु चोर लखेट्न बसेका थिए । चोरको बिगबिगी बढ्न थालेपछि युवाहरुले त्यो पहरा थालेका थिए । धन्न हामीलाई चिनेका रहेछन् । नत्र हामी पनि उनीहरुको कार्यबाहीमा पर्न सक्थ्यौं ।
अघि बेतोडले दौड्दा नदुःखेको घुँडा च्याम्हासिंहको उज्यालो र सुरक्षित ठाउँ देखे पछि बेतोड दुख्न थाल्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *