कल्पना थापा
-सरोजराज गोसाई
मेरो माया
म आँखा
तिमी आँशु
म छु र तिमी छौ
तिमी छौ र म छु
म छउञ्जेल तिमी हुन्छौ
तिमी त मेरो जीवनसाथी
बगिरहनु पर्छ आँशु
सधैं सधैं
बग्नु मै जीवन छ
बग्दा नै तिमी हुनुको महशुस रहन्छ
नत्र म कसरी दृष्टि पाउँ
कीराहरूले सिध्याउँछन्
जति सक्छौ बग
तिमी इन्द्रावती बन या महाकाली ।
तिमी मेरो नयाँबिहानीको शीत
गुलाफको पातमा टल्किएझैं
मेरा आँखा टल्किन्छन्
पग्लिएर हिमाल हाँसेझैं
नदीले धर्ती सिञ्चेझैं
मनको पखेरीको प्यास मेट्छु
झर्दै गर आँशु, म चम्किरहन्छु
जसरी आकाश रुँदा माझिन्छ ।
मेरो आँशु मेरो कमजोरी होइन
मेरो आँशु ताकत हो
मेरो आँशु आगो हो
मेरो आँशु परिवर्तन हो
मेरा आँशु मेरो माया हो ।
————————————
ज्वारभाटा
तिमी चन्द्र
म सागर
ज्वारभाटा त आइरहन्छ
तिमी हुनुको प्रमाण न हो
हाम्रो प्रेमको प्रतीक ।
दैनिक उठ्छ
फेरि बस्छ
उठान र बैठान नै जीवन
बढ्दा न बडप्पन
घट्दा न निराशा
हलचल बिनाको जीवन के जीवन ।
लाग्छ जमीनका फोहर सबै बगाइदिउँ
समाहित गरौं सबै प्रदूषण आफूमा
लाग्छ नीलकण्ठ बनुँ
सबै पन्छाई दिउँ सबै विष ।
हो मेरो लहरले
कहिले
ससाना जीव किनारामै छोड्छ
मेरो गर्भका ती सन्तान
माया त पक्कै लाग्छ
तैपनि
ठीक छ, तृप्त होउन्
भोकले रन्थनिएका मान्छेहरू
म जन्माइरहन्छु
जीवनदाता सन्तानहरू ।
कवि सरोजराज गोसाईकी श्रीमती स्वास्थ्यकर्मी कल्पना थापाको २०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी निधन भएको थियो ।
Leave a Reply