भजन गायन प्रदर्शनी
- जेष्ठ १५, २०८३
सहिदको तस्बिरलाई औपचारिकताको भित्तामा टाँग्दैमा
सहिदको सालिकलाई देखावटी दोबाटोमा ठड्याउँदैमा
सहिदको नामका अक्षरलाई कर्मकाण्डी राजपत्रमा छाप्दैमा
उसको सपना साकार हुन्छ र ?
ऊप्रति श्रद्धाञ्जली व्यक्तिन्छ र ?
उसको आत्माले शान्ति पाउँछ र ?
जबसम्म सहिदको त्यागको तागतले मोटाएकाहरूले नै
उसले रोपेको आदर्श चेतनको अङ्कुरलाई कुल्चने गर्छन्
सहिदको बलिदानको बरदानले शासनको आसनमा बसेकाहरूले नै
उसले छोडेको निःस्वार्थ सेवाको नासोलाई पासो ठान्छन्
तबसम्म ‘सहिद दिवस’ अङ्कित भित्ते पात्रोले
सहिदलाई नै उपहासको पात्र बनाइरहन्छ
बिदा, समारोह, भाषण र मालाले
उसको अमूल्य योगदानको अवमूल्यन गरिरहन्छ ।
उत्पीडनको उपनिवेश कसैको हृदयमाथि नचलोस्
शोषणको कुपोषणले कसैको व्यक्तित्व नगलाओस्
अन्यायको अतिक्रमणले कसैको आत्मसम्मान नढलोस्
आउँदो पुस्ताले फेरि बलिदानको बागडोर थाम्न नपरोस्
यही नै शाहादतको सार सन्देश हो ।
यही नै बलिदानी हृदयको ध्येय हो ।
यही नै आहुतीले खोजेको उन्नति हो ।
यही नै महान् आत्माको दिशानिर्देश हो ।
रगत पसिना बगाउनेहरू नै इतिहासका नायक बन्ने गरी
सभ्यता र समृद्धिमा सबले समान भागीदारी पाउने गरी
बन्दुकहरू केवल बेथितिको छातीमा मात्र सोझिने गरी
आँसुले कसैको आँखामा बास बस्न नपाउने गरी
पटक–पटक धोका दिने छल र स्वार्थका मकुन्डोहरू उदाङ्ग्याउनुपर्छ
चेतनाको चमक र आस्थाको आलोकमा नयाँ भविष्य खोज्नुपर्छ
यही नै सहिदको योगदानको स्मरण हो
यही नै सहिदप्रति सच्चा श्रद्धा अर्पण हो ।
Leave a Reply