भर्खरै :

पुँजीवादी सरकारबाट शिक्षा र स्वास्थ्य निःशुल्क नहुने

पुँजीवादी सरकारबाट शिक्षा र स्वास्थ्य निःशुल्क नहुने

भक्तपुर, १९ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसमा चाँगुनारायणको पश्चिम ढोका टोलमा आयोजित कार्यक्रममा नेमकिपाका सचिव एवं भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले शिक्षा–स्वास्थ्य सेवा निःशुल्क, देशभित्र रोजगारी, सबैलाई आवासको व्यवस्था, सामाजिक न्याय कायम हुने आदर्श समाज निर्माण नेमकिपाको उद्देश्य रहेको बताउनुभयो ।
उम्मेदवार सुवालले ३५ वर्षयता सरकारमा गएका पार्टी र तिनका नेताहरूले नेपाली जनतालाई २८ खर्ब रुपैयाँ ऋण बोकाएको, दाल, चामल, तरकारी, फलफूलसमेत आयात गरी वर्षको १५ खर्ब रुपैयाँ व्यापार घाटा पारेको उल्लेख गर्दै भन्नुभयो, “२० प्रतिशत नेपाली गरिबीमा रहेको भन्नु दिनको एक छाक मात्र खान पाउनु हो ।”
उम्मेदवार सुवालले थप्नुभयो, “संरा अमेरिकी ट्रम्प प्रशासनले भेनेजुयलाको ग्यास, तेल, सुनलगायत खनिज कब्जा गर्न राष्ट्रपति माडुरो दम्पतीलाई अपहरण गरेको हो । नेपालको जलस्रोत, खनिज र वन जङ्गलमा पनि एक एक गरी भारतीय एकाधिकार पुँजीको कब्जा बढ्दो छ । यसको दोषी शासक दल र तिनका नेताहरू नै हुन् ।”
कार्यक्रममा पार्टीको भक्तपुर जिल्ला उपाध्यक्ष न्हुछेभक्त फोजुले समानुपातिक र प्रत्यक्ष दुवै मतपत्रमा मादल चिह्नमा छाप लगाउन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *