साम्राज्यवादविरोधी आवाज : ‘हाम्रो अमेरिका र तिनीहरूको’
- पुष २८, २०८२
नेता लेनिनले आजभन्दा १११ वर्षअघि अर्थात्् सन् १९१५ मा लेख्नुभएको पुस्तक “समाजवाद र युद्ध” को अध्ययन यो शताब्दीका लागि पनि सान्दर्भिक र उपयोगी महसुस हुन्छ । आज झन् संरा अमेरिकी युद्ध आतङ्क सर्वत्र छ । युरोप, ल्याटिन अमेरिका, अफ्रिका र एसियाका स–साना देशहरूमाथि साम्राज्यवादी कब्जाको धम्की यथावत् छ । रुस–युक्रेन युद्ध, प्यालेस्टिनमा युद्ध हुँदै भेनेजुयलामाथिको पछिल्लो आक्रमण अर्थात् राष्ट्रपति मादुरो दम्पतीको आपराधिक अपहरण साम्राज्यवादी आतङ्कका पछिल्ला दृष्टान्त हुन् । आज संरा अमेरिकी प्रशासन डेनमार्कको ग्रिनल्याण्ड कब्जाको धम्की दिइरहेछ । त्यतिमात्र होइन उसले इरान, क्युवा, कोलम्बिया र मेक्सिकोलगायतका देशमाथि हमलाको धम्की दिइरहेछ । ट्रम्प प्रशासनले पछिल्लो समय यूएन अर्थात् संयुक्तराष्ट्र सङ्घको नियम उलङ्घनमात्र गरेको छैन सङ्घको अस्तित्वसमेत मानेको देखिन्न । गाजामा पुनःनिर्माणको लागि संरा अमेरिकी मोडल या ‘बोर्ड अफ पिस’ को आह्वानले ट्रम्पको नियत थाहा मिल्छ । यो घटनाले सन् १९३३ मा हिटलरले जर्मनीलाई ‘लिग अफ नेसनस्’ बाट हटाएको स्मरण हुन्छ । त्यसपछिको ५—६ वर्षमा दोस्रो विश्व युद्ध भएको थियो ।
अहिले ट्रम्प विश्व व्यवस्थामा संरा अमेरिकी वर्चस्वको निम्ति विभिन्न युद्ध या हाइव्रिड युद्ध गरिरहेको बुझ्न गाह्रो छैन । विश्वमा संरा अमेरिकी आर्थिक प्रभुत्व कमजोर हुँदै छ, डलर उपनिवेश कमजोर हुँदै छ । समग्रमा साम्राज्यवादविरोधी सङ्घर्ष बलियो हुँदै छ । यसकारण, पनि संरा अमेरिकाले युद्ध या हमला जारी राख्ने निश्चित छ ।
मध्यपूर्व, ल्याटिन अमेरिका पछि एसियामा युद्ध थोप्ने मनसाय संरा अमेरिकाको हो भन्दा फरक नपर्ला । हिन्द प्रशान्त रणनीति, क्वाड, अउकस, पाँच—आँखालगायतका अमेरिकी सैन्य परियोजनाहरू एसियालाई घेर्ने अभिप्रायबमोजिम अघि सारिएका हुन् । नेपालको सन्दर्भमा एमसीसीमार्फत हिन्दप्रशान्त सैन्य रणनीति र एसपीपी कार्यक्रममा नेपाललाई फसाइएको देखिन्छ । नेपाली समाजको अहिलेको चासो यो हुनुपर्दछ । विश्वमा संरा अमेरिकी नीति र पिछलग्गु देशहरूको गठबन्धनले साम्राज्यवादी युद्धको खतरा बढ्दो छ । तर साम्राज्यवादविरोधी सङ्घर्ष र समाजवादी आन्दोलन पनि उत्तिकै बलियो बन्दै छ । यो सकारात्मक पाटो हो । लेनिनको यो पुस्तकले इतिहासको यही यथार्थ उजिल्याउँछ र आजको युगलाई बाटो देखाउँछ ।
इतिहासदेखि आजसम्मका युद्धहरूको समीक्षा कसरी गर्ने ? युद्धबारे साम्राज्यवादी या पुँजीवादी शक्तिहरूको धराणा र समाजवादीहरूको विचारमा के भिन्नता छ ? यी र यस्ता प्रश्नहरू हिजोको शताब्दीमा जस्तै आजको शताब्दीमा पनि महत्वपूर्ण छन् । “समाजवाद र युद्ध” बारे लेनिनको दृष्टिकोणबाट यो युगमा संरा अमेरिका र चीनको अन्तर्राष्ट्रिय व्यवहार, क्यूवा, प्रजगकोरियाको विचार र नीति तुलनात्मक अध्ययन फलदायी हुन्छ ।
हिजो बेलायतले उपनिवेशको निम्ति के गर्यो र आज संरा अमेरिका के गर्दै छ ? हिजो जर्मनीले अन्य देशहरूमाथि युद्ध थोप्न के षडयन्त्र गर्यो र आज संरा अमेरिका के गर्दै छ ? हिजो जारकालीन रुसले जर्मन र बेलायतलाई कसरी र किन सघायो र आजको जापान, अष्टे«लियालगायत विकसित देशहरू संरा अमेरिकाको पक्षमा किन छन् ? यो तुलनात्मक अध्ययनका लागि यो पुस्तक निकै निकै उपयोगी छ, पठनीय छ ।
सन् १९१४–१९१५ को समाजवाद र युद्धका सिद्धान्तहरूबाट नेता लेनिनले आप्mनो विचार अघि सार्नुभएको छ पुस्तकममा । समाजवादीहरू कुनै पनि देशमाथि बर्बर, हिंसात्मक, ध्वंसात्मक युद्धको सदैव विरुद्ध उभिन्छन् । युद्धबारे समाजवादी या कम्युनिस्टहरूको धारणा बुर्जुवा अर्थात् पुँजीपतिहरूको विचारभन्दा बिल्कुल फरक हुन्छ । समाजवादीहरू बुर्जुवा शान्तिवादीहरू (एउटा गालामा कसैले हान्यो भने अर्को गाला थाप्ने) र अराजकतावादीहरू (तात्तै खाउँ जल्दै मरौं भन्ने) यी दुवै अतिवादीहरूभन्दा फरक धारणा राख्छन् ।
युद्ध र देशभित्रकै वर्गसङ्घर्ष एक अर्कासँग स्वाभाविक रूपमा सम्बन्धित हुन्छ । लेनिन लेख्नुहुन्छ –“वर्गहरू समाप्त नभएसम्म र समाजवाद स्थापना नभएसम्म युद्ध समाप्त हुँदैन ।” उहाँले जिकिर गर्नुभएको युद्ध, देशैभित्रको युद्ध हो, त्यो भन्नाले शोषित पीडित जनताले शोषकविरुद्ध गर्ने युद्ध, दास मालिकविरुद्ध दासहरूले गर्ने विद्रोह, जमिन्दार या सामन्तहरूविरुद्ध भूदास या किसानहरूले गर्ने सङ्घर्ष, पुँजीपतिविरुद्ध मजदुरहरूका युद्ध हुन् । वर्गीय समाजमा वर्गसङ्घर्षले मात्र प्रगतिशील समाजको ढोका खुल्छ त्यसकारण सङ्घर्ष आवश्यक हुन्छ । यी सङ्घर्षहरूलाई पनि अति शान्तिवादीहरू मान्दैनन् । हरेक युगमा वर्गबीचको सङ्घर्षको लागि निश्चित समय आवश्यक हुने तथ्य अराजकतावादीहरू स्विकार्दैनन् । यी दुबै अतिवादीहरू भन्दा फरक समाजवादी या कम्युनिस्टहरू युद्धहरूको ऐतिहासिक विश्लेषण गर्छन् । माक्र्सको द्वन्द्वात्मक भौतिकवादको कसीमा घोटेर अध्ययन गर्छन् । इतिहासमा निरङ्कुशता, शोषण र दासता विरुद्धका हरएक युद्ध या सङ्घर्षहरू न्यायोचित र प्रगतीशिल थिए । तर ती सङ्घर्षहरू कहाँ टुङ्गिए भन्ने प्रश्न पनि उत्तिकै अहम् बन्यो ।
उदाहरणका लागि महान् फ्रान्सेली क्रान्तिले मानव इतिहासमा युगान्तकारी प्रभाव छोड्यो । त्यो समयदेखि पेरिस कम्युनसम्म अर्थात् सन् १९८९ देखि १८७१ सम्म भएका युद्धहरू बुर्जुवा प्रगतिवादी चरित्र या विशेषताबाट प्रभावित बनेको समीक्षा छ । ती युद्धहरू राष्ट्रिय स्वतन्त्रताको मूल्यमा लडिए । निरङ्कुशता र सामन्तवादी युग फाल्ने सवालमा क्रान्तिकारी प्रजातन्त्रवादी, समाजवादी र बुर्जुवाहरू पनि एकै ठाउँमा आएका थिए । युरोपमा सामन्तवादविरुद्ध युद्धको उभार उठेको थियो । ती युद्धहरू पुँजिवादी सङ्घर्ष कहलिए । अर्कोतिर फ्रान्सको प्रसियन युद्धमा जर्मनीले फ्रान्समाथि लुट मचायो तर दशाँै लाख जर्मन जनतालाई दासताबाट मुक्त गर्यो साथै रुसी जनता जार र नेपोलियन तेस्रोबाट मुक्ती युद्धमा जुटे । यसको अर्थ रुसमाथि जर्मनीको युद्ध ठिक थियो भन्ने होइन । देशभित्र हुने युद्ध र शक्तिशाली देशले कमजोर देशमाथि छेड्ने युद्ध बिल्कुल फरक हुन्छ । त्यसैगरी युद्धमा आक्रामकता र प्रतिरोध दुई फरक पाटाहरू हुन् । सन् १७८९–१८७१ सम्म समाजवादका लागि सर्वहारा वर्गीय आन्दोलन विकास भइसकेको थिएन । त्यसकारण, समाजवादीहरू प्रतिरोध युद्धहरूमा मिसिन्थे । क्रान्ति मध्ययुगीन र दासत्वको समयविरुद्ध केन्द्रित हुनुपर्ने विचार राख्थे । मातृभूमिको रक्षाका लागि प्रतीकारात्मक युद्धहरू वैध, प्रगतिशील र न्यायसङ्गत हुन्छ भन्ने विश्वास गर्थे ।
तर, महा शक्ति राष्ट्रहरू कमजोरलाई दबाउन र लुट्न युद्धको तानाबाना बुन्छन् भन्ने सत्य भने ज्ञात थियो । “मातृभूमिको लागि प्रतीकारात्मक लडाइँ” को नारा दिँदै साम्राज्यवादी र बुर्जुवाहरू दासमालिकको पक्षमा दासत्व जोगाउन युद्धहरू गर्न थालेपछि समाजवादीहरू त्यसको विरोधमा उत्रिए ।
आधुनिक युगमा युद्ध भनेकै साम्राज्यवादी युद्ध हो । जस्तै व्याख्या गरे पनि कमजोरमाथि बलिया अर्थात् विकासशील देश या महादेशमाथि साम्राज्यवादी या उपनिवेशवादी देशको हमला अन्यायपूर्ण हुन्छ । बुर्जुवा र साम्राज्यवादीका निम्ति ती युद्धहरू प्रगतिशील लाग्नु स्वाभाविक हो, आप्mनो शासन टिकाइराख्न, पुँजीवादलाई बलियो बनाउन युद्ध गर्छन् । साम्राज्यवाद त अझ पुँजीवादको माथिल्लो अवस्था हो । पुँजीवादी देशहरूभित्र भएका सामन्तवादी लडाइँहरूपछि अब ठुलो देशले सानो देशलाई खाने या तखतमा राख्ने युद्धको सुरुआत २० औँ शताब्दीबाट तिब्र बन्यो । १९ औँ शताब्दीसम्म उपनिवेशवादी शक्ति हावी थियो ।
पुँजीवादको विकास उद्योगहरूको केन्द्रीयकरण र सिन्डिकेट, ट्रष्ट, पुँजीपति अरबपतिहरूमार्फत पुँजीको सञ्चयबाट भएको हो । पुँजीवादी देशहरू दुई किसिमबाट विकास भए – एउटा पुँजीको मालिक “Lord of Capital” बनेर, (त्यसको निम्ति औपनिवेशिक नीति पनि लिइयो) अर्को, वित्तीय या आर्थिक शोषणबाट पुँजी सञ्चय गरेर । २० औँ शताब्दीको सुरुआतितिरैबाट अमेरिका अन्य देशमाथि वित्तीय शोषणबाट आप्mनो साम्राज्य निर्माणमा अगाडि बढेको तथ्य बुभ्mन लेनिनको पुस्तकले सघाउँछ ।
पुँजीवादको साम्राज्यवादी चरणसम्म आइपुग्दा अन्य देशमाथिको दमन उत्कर्षमा पुगिसकेको थियो । प्रगतिवादी पुँजीपति भन्नेहरू प्रतिक्रियावादी शक्तिमा बदलिइसकेको अवस्था थियो । स–साना पुँजीवादी देशहरूमध्ये केही शक्तिराष्ट्रको त्रासमा परे भने कति पिछलग्गु बने । त्यसपछि विश्व दुई भागमा विभक्त बन्यो, संसारमा लुट मच्चाउन सक्रिय शक्ति राष्ट्र अर्थात् साम्राज्यवादी देशहरू र तिनका पिछलग्गु देशहरू एकातिर भने स—साना शोषणमा परेका देशहरू अर्कोतिर । सन् १८७८ देखि १९१४ सम्ममा ‘महाशक्ति’ ‘Great Powers’ ले २ करोड ५० लाख स्क्वायर किलोमिटर हडप्यो । त्यो भनेको तत्कालीन दुई र आधा युरोप हो । ६ वटा शक्तिहरूले ५२ करोड ३० लाख जनतामाथि उपनिवेश खडा ग¥यो । तिनीहरूले उपनिवेश आगो र तरबारबाट जिते । उपनिवेशका जनतामाथि बर्बर र क्रुरतापूर्वक शोषण गरे । तिनले हजारौँ तरिकाबाट दमन गरे ।
त्यो अत्याचारविरुद्ध स्वतन्त्रता युद्धहरू अगाडि बढे । उपनिवेशबाट स्वतन्त्रताको माग या सङ्घर्ष युद्धहरूले देशको भाग्य निर्धारण गर्ने समय थियो त्यो । अचानक जर्मनीबाट बेल्जियम स्वतन्त्र गर्ने भन्दै युद्ध गरियो । तर कालान्तरमा त्यो जर्मनीको षड्यन्त्र साबित भयो, अन्य देशमाथिको लुट र शोषण कायम राख्ने चाल प्रमाणित भयो । वास्तविक स्वतन्त्रता युद्ध दबाउने कुटील प्रयत्न साबित भयो । त्यो समयमा समाजवादीहरूले जनतालाई सचेत बनाउने कार्य थाले ।
तत्कालीन ब्रिटेन र फ्रान्स, जर्मनी र इटाली, अस्ट्रिया र रुसले त उपनिवेशहरूलाई लुट्ने, साना देशहरू दबाउने र सबैभन्दा बढी कामदार वर्गीय आन्दोलनहरू दबाउने नीति लिएका थिए । राष्ट्रिय स्वतन्त्रता “National Liberation” को नारा दिँदै ठुला शक्तिहरू आप्mनो देशका जनतालाई झुक्याउँदै, समाजवादीलाई झुक्याउने काममा जर्मनीको नेतृत्व थियो । बेल्जियमको सवाल समाजवादीहरूका निम्ति ललिपप थियो । तर, जर्मनीलगायत महाशक्तिहरूमा तुरुन्तै ब्रिटेन हाबी देखियो । त्यतिमात्र होइन रुस ग्यालेसिया र टर्की र फ्रान्स अल्सायक लोरेन्सतिर आप्mनो ध्यान केन्द्रित गर्दै थिए । इटाली बुल्गेरिया र रुमानियाको मोलमोलाइ गर्दै थियो । “मातृभूमि अर्थात् पितृभूमिको प्रतिकार” भन्ने पुँजीवादी देशहरूको नारा पाखण्ड प्रमाणित भयो । सत्य के हो भने समाजवादले मात्र कुनै पनि देशलाई पूर्णरूपले स्वतन्त्र बनाउन सक्छ र जनतालाई आप्mनो पितृभूमिको सार्वभौमिकत्ता महसुस गराउन सकिन्छ भन्ने विचार नेता लेनिनको हो ।
तत्कालीन रुसको सन्दर्भमा पनि साम्राज्यवादी चरित्र हुर्कँदै थियो । रुसी जारशाहीको पर्सिया, मञ्चुरिया र मङ्गोलिया माथिको सैन्य एवम् सामन्ती साम्राज्यवादी व्यवहार निकै दमनकारी थियो । जारशाहीले ग्यालेसिया हडप्यो । त्यतिले नपुगेर युक्रेनी जनताको स्वतन्त्रता हनन गर्यो । अर्मेनियालाई आप्mनो तखतमा ल्यायो । रुसको जारशाही त्यतिमा रोकिएन । दमनकारी जारतन्त्रविरुद्ध त्यसकारण पनि विरोध र विद्रोहहरू तीब्र ढङ्गबाट उठ्यो ।
सामाजिक—अहङ्कार के हो ? (Social Chauvinism) यसको विषयमा लेनिनले विभिन्न उदाहरणसहित गहन विवेचना गर्नुभएको छ । सामाजिक अहङ्कारवादले ‘पितृभूमिको प्रतिकार’ अवधारणाको प्रयोग गर्छ । युद्धको समयमा वर्गसङ्घर्षलाई कमजोर बनाउन सामाजिक अहङ्कारवादले भूमिका खेल्छ । वास्तवमा सर्वहारा आन्दोलनविरुद्ध नै सामाजिक अहङ्कारवादको बिजारोपण भयो । अन्य देशहरूलाई जित्न अर्थात् आप्mनो पितृभूमि जिताउन राष्ट्रिय भावना, राष्ट्रिय अहङ्कारको वकालत भयो । अध्ययनले भन्छ –“त्यही सामाजिक अहङ्कार जर्मनी र इटालीको राष्ट्रवाद अर्थात् अन्ध राष्ट्रवादको रूपमा हुर्कियो । अहिले तुलनात्मक अध्ययन गर्ने हो भने एसियामा भारतको वडाराष्ट्र अहङ्कारवाद र देशभित्रको राष्ट्रवाद त्यतिबेला लेनिनले व्याख्या गर्नुभएको सामाजिक अहङ्कारवादसँग मिल्दोजुल्दो छ । यसलाई फासीवादको रूप पनि भनिन्छ ।
राष्ट्रवाद या सामाजिक अहङ्कारवादले भर्खर भर्खर उठ्दै गरेको समाजवादी आन्दोलनहरूमाथि बुट बजार्यो । त्यतिमात्र होइन बसेल अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनकै खिल्ली उडायो । बसेलको घोषणापत्र भन्छ –“अन्यायपूर्ण युद्धका पक्षमा कसैले वकालत गर्छन् भने ती पुँजीपति तानाशाहीहरू नाफा चाहन्छन् भन्ने बुभ्mनुपर्छ ।” संसारमै सर्वहारावर्गको क्रान्ति उठ्ने डरले पुँजीपतिहरू अन्यायपूर्ण युद्धहरूको डिजाइनमात्र होइन एक देशबाट अर्को देशमा युद्ध निर्यातसमेत गर्छन् । यतिबेला विश्वमा संरा अमेरिकी युद्ध सरदार विश्वमा युद्ध भड्काउन र निर्यात गर्न उद्दत देखिन्छ । नेता लेनिनका अनुसार संरा अमेरिकालाई सघाउने जो कोही ध्वंसात्मक र बर्बर युद्धका पक्षपाती ठहर हुन्छ ।
पुँजीवादी व्यवस्थामा समयसमयमा आउने आर्थिक र राजनीतिक सङ्कटहरूको समयमा समाजवादीहरू पुनः जनतामाझ पुगेर पुँजीवादी बन्दोबस्त खत्तम पारी समाजवादी व्यवस्था स्थापनाका लागि तयारी गर्छन् । पुँजीवादका दुर्गुणहरूबारे जनता सचेत बनाउने र पुँजीवादी व्यवस्थाको शोषणबारे अवगत गराउने अनुकूल समयको खोजी समाजवादीहरू गरिरहन्छन् । एक समय जर्मन समाजवादीहरूले माक्र्स र एँगेल्सको विचार भन्दै संशोधनवाद, काउत्स्कीको विचारलाई आत्मसात गर्ने गल्ती गरेका थिए । मातृभूमिको सवालमा अहङ्कार ठीक हो भन्ने गल्ती गरेका थिए । माक्र्स र एँगेल्सले वास्तवमै अन्यायपूर्ण युद्धविरुद्ध आवाज दिनुभयो, सर्वहारा अन्तर्राष्ट्रवादको विचार अघि सार्नुभएको हो । सर्वहाराको कुनै देश हुँदैन भन्ने विचार दिनुभयो । त्यसैलाई प्रतिक्रियावादीहरूले तोडमोड गरी माक्र्सवादविरुद्ध प्रयोग गर्ने कोसिस गरे । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा संशोधनवादी र प्रतिक्रियावादीहरूकै कारण दोस्रो अन्तर्राष्ट्रियको विघटन भयो, संसारमा अवसरवादको महारोग निम्त्यायो ।
अवसरवाद कुनै पनि हालतमा माक्र्सवाद होइन । बरु अवसरवाद र सामाजिक अहङ्कारवाद एउटै सिक्काका दुई पाटाका रूपमा विकास भयो जसले साम्राज्यवादको वृद्धि विकासमा मद्दत पु¥यायो । लेनिनले माक्र्सवाद साम्राज्यवादविरुद्धको बलियो हतियार हो भन्ने पुष्टि गर्नुभयो । नेता लेनिनले पुस्तकमा काउत्स्कीवादको खण्डन गर्नुहुँदै क्रान्तिकारी सामाजिक प्रजातन्त्रको चर्चा गर्नुभयो । साथै रुसमा वर्ग र पार्टीहरूको विषयदेखि भूमिगत सङ्गठनको आवश्यकता र समाजवादी क्रान्तिको आवश्यकतासम्मलाई ऐतिहासिक पृष्ठभूमिमा व्याख्या गर्नुभयो । ‘समाजवाद र युद्ध’ नामको पम्पलेट लेनिनले पहिलो अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनका निम्ति तयार गर्नुभएको थियो भने सन् १९१८ मा त्यो पुस्तक आकारमा प्रकाशित भयो ।
Leave a Reply