भर्खरै :

आजको सन्दर्भमा पुस्तक ‘भेनेजुयला : हिजो र आज’ को अध्ययन

आजको सन्दर्भमा पुस्तक ‘भेनेजुयला : हिजो र आज’ को अध्ययन

सार्वभौम देश भेनेजुयलामाथि संरा अमेरिकाले हालै गरेको आपराधिक आक्रमणले साम्राज्यवादको सक्कली रूप पुनः उदाङ्गिएको छ । संरा अमेरिकाले भेनेजुयलाको राजधानी काराकससँगै थुप्रै प्रान्त र सहरहरूमा सैन्य हमला ग¥यो । सैन्य इलाकासँगै विमानस्थल, बन्दरगाहलगायत थुप्रै आमनागरिक बसोवासका ठाउँमा नियोजित हवाई बमबारी ग¥यो । राष्ट्रपति मादुरो र उनकी श्रीमतीलाई अवैधानिक रूपले अपहरण ग¥यो । संरा अमेरिकाको यो रवैयालाई संयुक्त राष्ट्रसङ्घको बडापत्र तथा अन्तर्राष्ट्रिय कानुनको उलङ्घनसँगै भेनेजुयलाको सम्प्रभुसत्तामाथिको ठाडो हस्तक्षेप भन्दै विश्वभरबाट निन्दा र कडा विरोध भइरहेको छ । भेनेजुयाली जनता भने संरा अमेरिकासामु कुनै पनि मूल्यमा नझुक्ने र आत्मसमर्पण नगर्ने अडानसहित सङ्घर्षमा जुटेका छन् ।
संरा अमेरिकाले आफ्नो तखतमा नबसेको देशलाई आतङ्ककारी देख्छ । समाजवादी आन्दोलन अघि बढेको देशमा प्रजातन्त्र र मानवअधिकार उलङ्घन देख्छ । भेनेजुयलाको कथा पनि यही हो । संरा अमेरिकी नाकाबन्दीबीच पनि भेनेजुयलाको अर्थतन्त्र अगाडि बढ्यो, आर्थिक वृद्धिदर ८.५ प्रतिशत पुग्यो, अमेरिकाबाहिर पनि व्यापारको ठुलो सम्भावना पुष्टि ग¥यो । भेनेजुयलाको आत्मनिर्भरता र प्रगति सहन नसकेर लागु औषध ओसारपसार र लागु औषध गिरोहसँग सम्बन्धको आरोप लगाई पटक पटक भेनेजुयाली जहाजमाथि हमला ग¥यो । ‘नार्को आतङ्ककारी’ देश भनी आक्षेप लगायो । तर, आक्रमणको प्रमुख कारण भेनेजुयलामाथिको कब्जा नै हो भन्ने प्रस्ट छ । यतिबेला भेनेजुयलामा अमेरिकी मुनरो नीतिको पुनरावृत्ति भएको छ । इतिहासमा भेनेजुयला र अधिकांश ल्याटिन अमेरिकी देश स्पेनको उपनिवेशमा थियो । नेता सिमोन बोलिभार, होसे मार्टी र फिडेल क्याष्ट्रोहरूले त्यो उपनिवेशबाट ल्याटिन अमेरिकी जनतालाई मुक्त गरे । त्यसपछि संरा अमेरिकाको गिद्देनजर ल्याटिन अमेरिकामा प¥यो । तत्कालीन अमेरिकी राष्ट्रपति जेम्स मुनरोले सन् १८२३ डिसेम्बरमा ‘अमेरिका अमेरिकीहरूको’ भन्ने सन्देश प्रतिनिधि सभामा पठायो । यसैलाई पछि मुनरो नीति भनियो । यसको मुख्य उद्देश्य एकातिर युरोपेली देशलाई पश्चिमी गोलाद्र्धमा रोक्नु हो भने अर्कोतिर ल्याटिन अमेरिकालाई आफ्नो करेसाबारी बनाउनु अर्थात् आफ्नो प्रभुत्वमा राख्नु हो । भेनेजुयलामा यो उपनिवेशवादी अमेरिकी नीतिको विरोध हिजो बोलिभार, चाभेजहुँदै आज मादुरो गर्दै छन् । क्युवा, भेनेजुयला, निकारागुवा, कोलम्बियालगायतका ल्याटिन अमेरिकी देशहरू विभिन्न स्वरूपमा संरा अमेरिकी युद्ध आतङ्कविरुद्ध निरन्तर सङ्घर्ष गर्दै छन् ।
भेनेजुयलाको प्राकृतिक खनिज र कच्चा तेलमाथि कब्जाको संरा अमेरिकी नियत प्रस्ट छ । हमलाको अर्को मुख्य कारण यही हो । भेनेजुयलासँग ३०३ अर्ब ब्यारेल प्रमाणित कच्चा तेल भण्डार छ । पृथ्वीको कुल पेट्रोलियम भण्डारको २० प्रतिशत तेल भेनेजुयलामा मात्र छ, जुन साउदी अरेबियाभन्दा बढी हो । अमेरिकाको आँखा १७० खर्ब अमेरिकी डलर क्षमताका ती तेल खानीहरूमा हो भन्ने बुझ्न गा¥हो छैन । त्यसकारण राष्ट्रपति मादुरोको अपहरण पछि ट्रम्पले बोल्यो — ‘अब देश हामी चलाउँछाँै ।” संसारकै सबैभन्दा ठुलो हाम्रो देशको तेल कम्पनीलाई भेनेजुयलाका तेल कारखानाको पूर्वाधार निर्माणको निम्ति अरबौँ डलर लगानी गर्न पठाउनेछौँ ।” केही हप्ताअघि मात्र पनि ट्रम्पले बोलेको थियो — “भेनेजुयलाले हाम्रो तेल अधिकार खोस्यो । हाम्रा कम्पनीहरू फर्कायो । अब हाम्रो जमिन र तेल अधिकार लिन्छौँ ।” दोस्रो कार्यकालबाटै ट्रम्प आक्रामक भाषण गर्दै थिए — “भेनेजुयलाको तेल अमेरिकाको हो” । ह्युगो चाभेज नेतृत्वमा आएपश्चात् अमेरिकी कम्पनीको कब्जामा रहेका खनिज तेल खानीहरू राष्ट्रियकरण गरिए र त्यसपछि भेनेजुयलामाथि अमेरिकी हमला या आतङ्क बढेको हो । यो बीचमा असङ्ख्य अमेरिकी नाकाबन्दी, अमेरिकी दबाब र इतिहासकै ठुलो मुद्रास्फिति भेनेजुयलाले सामना ग¥यो ।
यस आक्रमणको अर्को कारण सन् २०१८ देखि भेनेजुयलाले अस्वीकार या निन्दा गरेको पेट्रोडलर प्रणालीलाई पुनःस्थापना गर्नु हो । सन् २०१८ मा भेनेजुयलाले आफूलाई सबै डलर कारोबारबाट मुक्त घोषणा ग¥यो । भेनेजुयलाको यो कदमले सन् १९७० मा संरा अमेरिकाद्वारा स्थापित पेट्रोडलर प्रणालीमाथि ढक्का पुग्यो । विगत ५५ वर्षदेखि पेट्रोडलर अमेरिकी अर्थतन्त्रको मुख्य आधार हो । अमेरिकी सैन्य खर्च र घाटा खर्चलाई यसैले वित्त पोषण गर्छ । भेनेजुयलाले चीनलाई युआन (चिनियाँ मुद्रा) मा कच्चा तेल बेच्यो जसले पेट्रोडलरलाई छायाँमा पा¥यो । चीनसँगको कारोबार अझ सहज बनाउन भेनेजुयलाले युरोपेलीले खडा गरेको विश्वव्यापी भुक्तानी प्रणाली SWIFT लाई पनि बेवास्ता गर्दै चीनसँग प्रत्यक्ष भुक्तानी प्रणाली स्थापना ग¥यो । जब—जब अमेरिको डलर प्रभुत्वमा खतरा महसुस हुन्छ तब—तब उसले प्रजातन्त्र, मानवअधिकार र आतङ्कवादको नाममा विभिन्न देशहरूमाथि आक्रमण गरेको इतिहास छ । सन् २००० मा सद्दाम हुसेन र सन् २००९ मा गद्दाफीमाथिको हमला पनि यही सूत्रसँग जोडिन्छ । भेनेजुयलाले SWIFT को विकल्प निर्माणमा सक्रिय रूपमा भाग लिइरहनु र इरान, चीन, रुसजस्ता डि—डलराइजेसनको वकालत गरिरहेका देशहरू र BRICS जस्तो दक्षिणी विश्वको सामूहिक प्रयासहरूसँग सहकार्य गर्नुले पनि अमेरिकालाई असह्य भयो ।
यसरी जियोपोलिटिकल इकोनोमीको रिपोर्टले पछिल्लो हमलाको कारण चीन, रूस र इरानसंग भेनेजुयलाको सम्बन्ध पनि हो भनी खुलाएको छ । ट्रम्पले आफ्नो भाषणमा भन्यो— “यो आक्रमण दोस्रो विश्व युद्धपछिको सबैभन्दा सफल अभ्यास हो” । दोस्रो विश्व युद्धको यो जिकीर रुस र चीनतिर हेरेर युद्धको धम्की हो भन्ने विश्लेषण पनि छ । त्यतिमात्र होइन ल्याटिन अमेरिकाका प्रगतिशील एवम् वामपन्थी सरकार विशेषतः क्युवा र निकारागुवालाई तर्साउन, धम्काउन खोजिएको बुझ्न त्यति गाह्रो छैन । ल्याटिन अमेरिका र क्यारेबियाली क्षेत्रबीचको एकता भत्काई आफ्नो कठपुतली सरकार निर्माण गर्न चाहन्छ अमेरिका । दक्षिणी विश्वको एकता, प्यालेस्टाइन, इरान र अफ्रिकाप्रतिको भेनेजुयाली ऐक्यबद्धताले ट्रम्पको मथिङ्गलमा आगो लागेको हो भन्दा असत्य नहोला ।
आजको यही सन्दर्भमा भेनेजुयलाको इतिहासदेखि वर्तमानसम्मका उतारचढावपूर्ण अवधि, साम्राज्यवादी आक्रमणहरू र त्यसविरुद्धको लडाइँको समयचक्र समेटिएको पुस्तक ‘भेनेजुयला ः हिजो र आज’ बारे छलफल गर्नु समीचीन हुन्छ । पुस्तकले नेपाली समाजलाई भेनेजुयलाबारे सत्यतथ्य जानकारी दिन्छ । संरा अमेरिकी स्वार्थ र कुकृत्यको लामो अवधि अवगत गराउँछ । भेनेजुयलामा साम्राज्यवादी हस्तक्षेपको लामो इतिहासका केही खण्डहरू पुस्तकले पस्केको छ । पत्रकार समाज नेपालद्वारा प्रकाशित यो पुस्तक आजको सन्दर्भमा अत्यन्त पठनीय महसुस हुन्छ ।
संरा अमेरिकाका ५ औँ राष्ट्रपति मुनरोको सिद्धान्तलाई काखी च्यापेर हिँडिरहेको ट्रम्पलाई पछिल्लो घटनाले पुनः एक अराजक तथा आतङ्ककारीका रूपमा विश्वजगतमा उदाङ्गो पारेको छ । पुस्तकको भूमिकामा नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेँ लेख्नुहुन्छ, “कोरियाली प्रायःद्वीप, भियतनाम, अफगानिस्तान, इराक, लिविया र सिरियाबाट घाइते अमेरिकी साम्राज्यवादले ल्याटिन अमेरिकी महादेशमा युद्ध छेड्छ भने उसको आफ्नै दिनगन्ती सुरु हुने इतिहासको अध्ययनले बताउँछ । नेपाली उखान नै छ – खुकुरीले खसी र फर्सी काट्छ, तर ढुङ्गा काट्न सक्दैन ।” भियतनाम, अफगानिस्तान, इराक, लिविया र सिरियाको इतिहासले संसारमै अत्यन्त बदनाम संरा अमेरिकी साम्राज्यवाद पराजयको मानसिकता बोकेर जताततै उपद्रोह मच्चाइरहेको छ, पानीमा डुब्न लागेको मानिसले बेस्सरी हातखुट्टा चलाएझैँ ।
भेनेजुयला, बोलिभार र चाभेज चिनाउने गणेशजीको लेख सरल एवम् सन्देशमूलक छ । भेनेजुयलाको इतिहास, बोलिभार र चाभेजको क्रान्तिकारी व्यक्तित्वले पाठकलाई उत्साहित बनाउनेछ ।
भेनेजुयलामा संरा अमेरिकी साम्राज्यवादको हस्तक्षेपका नालीबेली केलाउँदै भेनेजुयलालाई किन तारो बनाइयो भन्नेबारे तथ्य पुस्तकले पाठकमाझ राखेको छ । भेनेजुयलाको प्राकृतिक तथा खनिजमाथि एकाधिकार जमाउन त्यसो गरिएको हो । भेनेजुयला, क्युवा र निकारागुवा सैद्धान्तिकरूपमा साम्राज्यवादविरोधी र समाजवादको पक्षमा सङ्घर्षरत छन् । ल्याटिन अमेरिकामा समाजवादी आन्दोलनलाई मत्थर पार्ने उद्देश्यले भेनेजुयलालाई तारो बनाइएको हुन सक्ने वस्तुपरक विश्लेषण पुस्तकमा छ । भेनेजुयलामा मानवीय सङ्कटको झूटो बहानामा मानवीय सहायतारूपी ट्रोजन हर्स पठाई सैनिक आक्रमण र नरसंहारजस्तो गम्भीर अपराध गर्न लागिएको सन्दर्भ पुस्तकमा छ ।
संरा अमेरिकी जनतालाई निकोलस मादुरोको खुलापत्रमा भनिएको छ – “हामी हाम्रो देशलाई सबभन्दा उच्च मानव सूचकाङ्क भएको र अमेरिकी महादेशमा सबभन्दा कम असमानता भएको देशको रूपमा गौरवपूर्वक अगाडि बढाउन चाहन्छौँ ।” पश्चिमा सञ्चारमाध्यम ‘राम्रो कुरा रोक्ने मेशिन’ को रूपमा पुस्तकले चित्रण गरेको छ । संरा अमेरिकाको नुनको सोझो गर्ने, भ्रमको खेती गर्ने र बलेको आगो ताप्ने ‘बीबीसी’ र ‘सीएनएन’ जस्ता प्रतिक्रियावादी सञ्चारमाध्यमको वास्तविकता पुस्तकले पाठकसम्म पु¥याएको छ । झूटलाई सही बनाउन, संसारलाई दिग्भ्रमित गर्न साम्राज्यवादी सञ्चार जगतले खेल्ने घिनलाग्दो भूमिकाबाट भेनेजुयला पनि अछुतो रहेन ।
पुस्तकमा राष्ट्रपति मादुरोसँग पत्रकार ओर्ला ग्युनिनले लिएको अन्तर्वार्ता प्रस्तुत छ । अन्तर्वार्ताले निकोलस मादुरो र उनको व्यक्तित्वमाथि थप प्रकाश पार्छ । उनको जवाफ दिने शैली प्रभावशाली छ । अन्तर्वार्ता निकै मार्मिक छ । मादुरोका प्रत्येक शब्दहरूमा देश छ, देशप्रेम छ, जनताप्रतिको विश्वास र इमानदारी छ । भेनेजुयलाप्रति पूर्वाग्रह राख्ने ग्युरिनका प्रत्येक झूटा आरोपलाई मादुरोले प्रतिकार गरेको शब्द–दृश्य अत्यन्त रोचक छ । संरा अमेरिकाको अतिरञ्जनापूर्ण प्रजारबाजीलाई मादुरोले अन्तर्वार्तामार्फत छ्याँसेका छन् । साम्राज्यवादी अमेरिकाको हेपाहा र अपमानजनक व्यवहार, फासीवादी र आक्रमणकारी नीतिको मादुरोले खुलेर विरोध गरेका छन् ।
भेनेजुयला भोकमरी, मानवीय सङ्कट र आर्थिक सङ्कटले उठ्नै नसक्ने गरी थला परेको प्रचारबाजी गरियो । संरा अमेरिकाले मानवीय सहायताको नाटक मञ्चन ग¥यो । भेनेजुयलाको आर्थिक सङ्कट पछाडि अनेक कारण छन् । भेनेजुयलामा अहिले जति पनि सङ्कट छन् ती सबैको एउटै मात्र कारण संरा अमेरिका नै हो । विगत लामो समयदेखि भेनेजुयलामा संरा अमेरिकाले नाकाबन्दी लगाइरहेको छ । संसारको कुनै पनि कुनामा भेनेजुयलाको नाममा रहेको बैङ्क खाता खोजी–खोजी रोक्का गरिएको छ । यस्ता समस्याहरूबिच भेनेजुयला आर्थिक उन्नयनका निम्ति तीनगुणा बढी मेहनत गरिरहेको तथ्याङ्क पुस्तकले पस्केको छ ।
मादुरो राष्ट्रपतिकालमा मुद्रास्फिति दर १० लाख प्रतिशत पुगेको तथ्याङ्क राख्ने ‘बीबीसी’ ले कुन हदसम्म झूटको खेती गर्छ भन्ने प्रस्ट तस्वीर पुस्तकले प्रस्तुत गरेको छ । भेनेजुयलामा माडुरोको दोस्रो कार्यकालको अर्थ, मादुरोको हत्या दुष्प्रयासका कारण र ल्याटिन अमेरिकी वामपन्थी आन्दोलनका चुनौतीबारे प्रकाशको विश्लेषणात्मक लेखहरू जानकारीमूलक छन् ।
अमेरिकी साम्राज्यवाद किन मादुरो सरकार हटाउन चाहन्छ ? शीर्षकको लेखमा मादुरोमाथिको हमलाका राजनीतिक, आर्थिक र कूटनीतिक कारणहरूबारे चर्चा गरिएको छ । तेल, ग्याँस र सुनमा संसारकै धनी देश भेनेजुयलालाई संरा अमेरिकाले आफ्नो खल्तीमा राख्न चाहन्छ । समाजवादी व्यवस्थालाई आर्थिक सङ्कटको कारक बताउने ट्रम्पको हस्तक्षेपकारी चरित्र उदाङ्गो पार्ने स्टेभ इलनरको लेखले भेनेजुयलाको आर्थिक समस्यालाई संरा अमेरिकाले थोपरेको कृत्रिम सङ्कटको रूपमा व्याख्या गरेको छ । ‘चाभेजपन्थीहरूलाई भोकभोकै मार्न’ आह्वान गरिरहेको संरा अमेरिकाले मादुरोलाई तानाशाही र आतङ्ककारी भनी झूटा आरोप लगाउनु हास्यास्पद छ । संरा अमेरिकाप्रति सचेत पाठकको घृणा जाग्नु स्वाभाविक छ ।
‘भेनेजुयलामा सैनिक विद्रोहको योजना ः अब के हुन्छ ?’ मा मार्को तेरिगीले संरा अमेरिकाले योजनाबद्ध ढङ्गले पाइला–पाइला गरी भेनेजुयलामाथि हस्तक्षेप र आक्रमण गरिरहेको प्रस्ट्याएका छन् । हतियार चोरीदेखि हिंसात्मक गतिविधिको घटनाक्रम लेखमा पाइन्छ । ग्वाइडो सैनिक विद्रोहको योजनाबाट समानान्तर सरकार सञ्चालन गर्न, आर्थिक कारबाही गर्न संरा अमेरिकाको घोडा बनेको पुष्टि लेखले गर्दछ ।
जर्मनीका प्रगतिशील कवि बर्टाेल्ट ब्रेख्त (१८९८–१९५६) ले भनेजस्तै साम्राज्यवादीहरू स्वतन्त्रताको कुरा गर्दै आक्रमणको तयारी गर्छन् । संरा अमेरिकाले मानवीय सहायताको नाममा हातहतियार भित्याउने र सेना खटाउने काम गरिरहेबाट त्यसको पुष्टि हुन्छ । त्यसविरुद्ध भेनेजुयाली सेना सङ्गठित भई सङ्घर्ष गर्दै छ । भेनेजुयाली सेना भन्छ – “हामी कहिल्यै पनि कालो इच्छाहरूको छायाले छोपेको राष्ट्रपति स्वीकार गर्नेछैनौँ । कानुनबाहिरबाट आपैmले दाबी गरेकोलाई पनि स्वीकार्दैनौँ ।”
इराम्सी पेरेजा फर्टिले भेनेजुयला सरकारलाई अस्थिर बनाउने १० वटा दुष्प्रयासबारे लेखेका छन् । भेनेजुयलामाथिको युद्ध झूटमा आधारित भएको पुष्ट्याईँ पेश गरेका छन् विश्वचर्चित अष्ट्रेलियाली खोजपत्रकार तथा वृत्तचित्र निर्माता जोन पिल्गरले । उनले चाभेजकालीन भेनेजुयलाको सजीव चित्र कोरेका छन् ।
नवउदारवादी प्रयोगशालामा भेनेजुयलाको अर्थतन्त्रबारे जष्टिन पोडुरको लेख मननीय छ । भेनेजुयला र भेनेजुयलाको सङ्र्षको पक्षमा लेखिएको नोम चोम्स्कीको ‘हिजोको दुष्ट मण्डली र आजको तानाशाह त्रोइका’ ले बुशदेखि ट्रम्पसम्मको अत्याचारी साम्राज्यवादी रूप उदाङ्गो पार्छ ।
‘वासिङ्गटन कि भेनेजुयला ? जङ्गली पुँजीवाद कि समाजवाद ?’ शीर्षकको लेखमा लुइस ब्रिट्टो गार्सियाद्वारा व्यक्त विचार मननयोग्य छ ।
भेनेजुयलाको राजनीतिक सङ्कटबारे अन्तर्राष्ट्रिय विद्वानहरूको विज्ञप्ति, श्रमिक साप्ताहिक र ‘मजदुर’ दैनिकका सम्पादकीयहरूलगायत २८ वटा सङ्क्षिप्त या विस्तृत खालका लेखहरू समेटिएको यस पुस्तक भेनेजुयलाबारे सही सन्देश दिन सफल छ । विगतदेखि वर्तमानसम्मको भेनेजुयलाको सजीव चित्र प्रस्तुत गर्ने यस पुस्तक एउटा महत्वपूर्ण दस्तावेजको रूपमा समेत सङ्ग्रहणीय छ ।
संरा अमेरिकाले अन्तर्राष्ट्रिय जगतमा उपद्रोह मचाउन र कमजोरलाई निमोठ्न कहिल्यै छोड्ने छैन, इतिहासको अध्ययनले यही बताउँछ । इतिहासमा ६७ औँ पटकभन्दा बढी देशका राष्ट्रपतिहरू अपदस्थ गरिसकेको अमेरिकी साम्राज्यवाद मादुरो र भेनेजुयलाविरुद्धको यो निर्मम रूप नौलो होइन । भेनेजुयाली जनताको साम्राज्यवादविरोधी आन्दोलनको इतिहास र माडुरोको सङ्घर्षशील तथा क्रान्तिकारी अडानको जित हुने उत्साहजनक सन्देश दिएर पुस्तकले विश्वका शान्तिकामी जनतामा ऊर्जा थपेको महसुस हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *