दललाई सरकारी अनुदान सैद्धान्तिक र व्यवहारिक रूपमा गलत
- जेष्ठ १६, २०८३
पुँजीवादी चुनावबाट समाजवाद आउँछ भन्ने कुरा कुनै पनि दलले विश्वास गर्नु हुँदैन । कम्युनिस्टहरू त यो कुरा झनै विश्वास गर्दैनन् । राजनीतिक सचेतता र सङ्गठित शक्तिको अभावमा, पैसा, प्रशासन, धाक, धम्की, साम, दाम, दण्ड र भेद नीतिको आधारमा सर्वसाधारण जनतालाई पैसाको लोभ लालचमा भुलाएर मत लिने काम कुनै पनि प्रजातान्त्रिक र कम्युनिस्ट दललाई सुहाउँदैन । देश र जनताको निःस्वार्थ सेवा गर्ने, श्रमजीवी जनतालाई सत्तामा पु¥याउने उद्देश्य लिएका कम्युनिस्ट पार्टीहरूले पुँजीवादी चुनावलाई उपयोग गर्नुपर्छ; उपयोग गरेर बढी भन्दा बढी जनताको सेवा गर्नुपर्छ । कम्युनिस्टहरूले पुँजीवादी सत्तामा पुग्ने उद्देश्यले निर्वाचनलाई उपयोग गर्ने होइन । बरु, कम्युनिस्ट पार्टीले पुँजीवादको अवगुण, कमी कमजोरी उदाङ्ग्याउँदै समाजवादी व्यवस्था मात्र कामदार जनताको पक्षमा हुनसक्नेतर्फ प्रचारप्रसार गर्नुपर्छ ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा कति राजनीतिक दलहरू जसरी भए पनि जित्ने र सरकारको नेतृत्व गर्ने भनी लागिरहेका छन् । सरकारमा गइसकेका दलहरूको मात्रै चुनावमा प्रचार प्रसार गरी अर्को दललाई छायामा राख्ने काम सरकारी र ठुला सञ्चारमाध्यमले गरिरहेको आभास हुन्छ । नेपाल मजदुर किसान पार्टीले जसरी भए पनि जित्ने राजनीति लिएको छैन । नेमकिपा क्रान्तिकारी संसद्वादको बाटोको पक्षमा छ । कामदार जनताको ठुलो र दीर्घकालीन हितको निम्ति संसद् र निर्वाचनलाई उपयोग गर्ने नीति नेमकिपाको रहेको छ । नेमकिपा प्रखर प्रतिपक्षको रूपमा रहेर संसद्भित्र र बाहिर रहेर सङ्घर्ष गर्दै आएको सबैलाई अवगतै छ ।
समाजवादी व्यवस्थाले मात्रै कामदार जनताको हित गर्छ । तर, यो व्यवस्था निर्वाचनबाट सम्भव छैन । समाजवादी क्रान्तिले मात्रै समाजवादी व्यवस्था गर्नसक्छ । यसको लागि व्यापक जनता वर्गीय र राजनीतिक रूपले सचेत र सङ्गठित हुनुपर्छ । बहुमत जनतालाई समाजवादी क्रान्तिको निम्ति सचेत र सङ्गठित गर्न माक्र्सवादी र लेनिनवादी शिक्षा र अनुभवको जानकारी दिनुपर्छ । समाजवादी व्यवस्थाको आधारभूमि पुँजीवादी व्यवस्थामै हुने हँुदा त्यसको निम्ति वर्तमान पुँजीवादी प्रजातान्त्रिक आन्दोलनलाई कामदार जनताको हितमा अगाडि बढाउनु जरुरी छ । पुँजीवादी प्रजातन्त्रमा कामदार जनताको हितमा सङ्घर्ष गर्न नै संसदलाई उपयोग गर्नुपर्ने हो । आदर्श समाजको निम्ति समाजवादी चरणबाट अगाडि बढाउनुपर्छ ।
समाजवाद शान्तिपूर्ण आन्दोलनबाट सम्भव छैन । समाजवाद वर्गसङ्घर्ष या राजनीतिक सङ्घर्षबाट मात्र प्राप्त गर्न सकिन्छ । पुँजीवादी व्यवस्थाले कामदार जनताको पक्षमा काम नगरेको कुरा इतिहासले देखाइसकेको छ । बरु, पुँजीवादी पार्टीले कामदार जनताको भोट लिएर, कामदार जनताको काँधमाथि टेकेर सरकारको नेतृत्व गर्दै छ र उनीहरूमाथि नै शोषण गर्दै छ । उनीहरूकै भोट लिएर उनीहरूकै अहितमा काम गर्ने दललाई के जनताले फेरि जिताउनु उचित हुन्छ ? देशभरका मतदाताले कुन दलले कुन वर्गको सेवा गर्छ ? कुन वर्गको पक्षमा ऐन कानुन बनाउँछ र बनाउन जोड दिन्छ भन्ने कुरा थाहा पाउनुपर्छ । निर्वाचनमा श्रमजीवी जनता धेरै पटक भुलेर, चुकेर कसैको लहैलहैमा, लोभमा फसेर पुँजीवादी पार्टीका उम्मेदवारलाई नै जिताउनेतर्फ लागे । पैसाको कारण देशमा बहुमत जनताले दुःख पाएका हुन्; देशमा राजनीतिक अस्थिरता मात्र होइन राजनीतिक सङ्कट र आर्थिक सङ्कट देखिएको हो । अतः यो निर्वाचनको बेला नेपाली जनता पनि चनाखो हुनुपर्छ ।
Leave a Reply