भर्खरै :

निर्वाचन पनि विचारको लडाइँ

निर्वाचन पनि विचारको लडाइँ

प्रतिनिधिसभाको निर्वाचन कुनै नयाँ र पुरानो राजनीतिक दलबिचको लडाइँ होइन, यो विचारको लडाइँ हो । दल पुरानो होस् या नयाँ त्यसले देशविरोधी, जनविरोधी काम गर्छ भने जनताले विरोध गर्नुपर्छ । नयाँ र पुरानोको आधारमा कुनै दललाई सही र गलत ठान्नु उपयुक्त हुँदैन । यो निर्वाचनमा पुरानो र नयाँ दलको द्वन्द्व होइन कुन दलले कुन वर्गको स्वार्थको निम्ति काम गरेको छ भन्नेतर्फ जनताले ध्यान दिनुपर्छ । नयाँ दलसँग पुरानोको र पुरानोको नयाँ दलसँग टक्कर भनी देशको राजनीतिलाई दल अर्को दिशातर्फ मोड्ने काम गर्नु हुँदैन । राजनीतिक कुनै न कुनै दर्शन, विचारबाट निर्देशित हुने हुँदा निर्वाचनको बेला होस् या अरु बेला दलहरूबिच वैचारिक या सैद्धान्तिक बहस हुन्छ । सदनमा होस् या सडकमा कुन दल नयाँ र कुन दल पुरानो भनी हेर्नुभन्दा कुन दलले कुन वर्गको पक्ष लिएको छ ? त्यो बुझ्नुपर्छ ।
कुनै पनि राजनीतिक दलको नेतृत्व उमेरले गर्ने होइन विचारले नै गर्ने हो । पुराना नेता सबै गलत र नयाँ युवा नेता जति सबै ठीक हुन्छ भन्ने भ्रम कुनै पनि नेपालीले आत्मसात गर्नुहुँदैन । सञ्चारकर्मी र राजनीतिक दलका नेता तथा कार्यकर्ताहरूले पनि वास्तविकता छोपेर नयाँ र पुरानो दलकै आधारमा सही र गलत भनी प्रचार गर्ने काम ठीक होइन । युवा या वृद्ध जो नेता भए पनि देश र जनता समर्पित भएर काम गर्नुपर्छ । यो निर्वाचनको सन्दर्भमा आफूलाई ठुला र नयाँ दल भनेका नेताहरू हल्लैहल्ला गरेर जनताको मत आफूतिर तान्ने प्रयास गर्दै छन् । यहीबेला कति दलका नेता तथा कार्यकर्ताहरू पार्टी प्रवेश भनी जनमत आफूतिर खिच्ने काममा जुटेका छन् । सिद्धान्त र विचारमा अडान नभएका, नेता तथा कार्यकर्ताहरू कहिले को कुन दलमा कहिले को कुन दलमा भित्रिरहेका छन् ।
निर्वाचनको बेला दलका नेता तथा कार्यकर्ता जनतामाझ पुगेर सिद्धान्त र विचार प्रचार गर्नु अन्यथा होइन । कुनै दलका नेताहरूमा देश बनाउनेबारे स्पष्ट दृष्टिकोण नै हुँदैन । तर, उनीहरू हात हल्लाएर, जिल्ला घुमेर जनताको सद्भाव पाउने प्रयास गर्छन् । जनतालाई हरतहरले शिक्षित गर्ने, खबरदारी गर्ने बेला यही निर्वाचनमा हो । दलका नेता तथा कार्यकर्ताहरू निर्वाचनकै बेला गाउँ–गाउँ र बस्ती–बस्तीमा पुग्छन्, प्रचारप्रसार गर्छन् । यस अर्थमा यो निर्वाचन जनतालाई सचेत र सङ्गठित गर्ने माध्यम पनि हो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) भन्नुहुन्छ, “निर्वाचन राजनीतिक विश्वविद्यालय हो । दलका नेता तथा कार्यकर्ताहरू लाखौँ लाख जनतामाझ पुग्छन् । निर्वाचन जनतालाई प्रशिक्षित गराउने प्रशिक्षणालय हो । तर, विडम्बना ! आफूलाई ठुला र नयाँ भनिएका दलका नेता तथा कार्यकर्ताहरू सिद्धान्त र विचार प्रचार नगरी यो ‘सानो’ दल, सरकारमा नजाने दल आदि भनी वास्तविक राजनीतिलाई ढाकछोप गर्छन् । यस्तै सतही र गलत राजनीति भएकै कारण युवाहरू सिद्धान्तनिष्ठ भएनन् । असह्य भयो भनी उनीहरू उच्छृङ्खल र अराजनीतिक गतिविधिमा सरिक भए । यस्तै असह्य भएरै निस्केको आक्रोश हो, भदौ २३ र २४ गतेको सङ्घर्ष ।
ठुला र नयाँ भनिएका दलका नेताहरूले निर्वाचनको क्रममा देशको लागि कस्तो ऐन कानुन बनाउने, व्यापक जनताको हितमा के के संविधान संशोधन गर्ने भन्ने एजेन्डै छैन । निर्वाचन नहुँदै, निर्वाचनमा नजित्दै प्रधानमन्त्री बन्ने होडबाजी गरेर, घाँटी फुलाएर, बकबास गरेर दलका नेता तथा कार्यकर्ताहरू सतही राजनीति गर्दै छन् । कामभन्दा गफ हाँकेर, आश्वासन र मिठा सपना बाँडेर जनतालाई किन झुक्याइँदै छ ? प्रम बन्ने कुरा फुकेपछि के गर्नको निम्ति प्रम बन्ने भन्नेबारे एजेन्डा सार्वजनिक गर्नुपर्दैन ? प्रम बन्ने होडबाजीबाट दलका नेताहरू कुर्सीको राजनीतिमा लागेको स्पष्ट हुन्छ । बहुमत ल्याउने, नल्याउने कुरा हल्ला गरेर होइन काम गरेर देखाउने हो र जनताको विश्वास जित्ने हो ।
पुँजीवादी व्यवस्थाभित्र रहेर केही सुधार गर्नसक्ला तर आमूल पारिवर्तन सम्भव छैन । जसरी भए पनि जित्ने र जिताउने दाउको कारण कति पैसा खोलो बगाएर जिते, कति आपराधिक प्रवृत्तिका व्यक्ति जिते । कति धनदौलत भएका व्यक्ति जिते । यस्तै गतिविधिले गर्दा संसद् घुस्याहा, कमिसनखोर, धनाढ्य, आपराधिक व्यक्ति, ठेकेदारहरू पस्ने थलो बन्न पुग्यो । यो देशको निम्ति दुर्भाग्य हो । सिद्धान्त र विचारको ख्यालै गरिएन । सरकारको नेतृत्व गर्ने नाउँमा कहिले नेका र कम्युनिस्ट मिले । कम्युनिस्टमा पनि नेकासँग कहिले एमाले त कहिले माओवादी मिले । कहिले सत्तामा पुग्ने कम्युनिस्टहरू एक ठाउँमा बसे त कहिले पानी बाराबारको स्थितिमा पुगे । अलग अलग हुँदा पार्टीका नेतालाई हुनसम्म हिलोछयाप्नेहरू कहिले मिल्न पुगे । चरोको धोती हुँदैन† नकच्चरोलाई लाज हुँदैन भनेको यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *