भर्खरै :

ख्वप कलेज अफ इन्जिनियरिङमा ६५ लाख ८८ हजार रुपैयाँ छात्रवृत्ति वितरण

ख्वप कलेज अफ इन्जिनियरिङमा ६५ लाख ८८ हजार रुपैयाँ छात्रवृत्ति वितरण

भक्तपुर, ३ फागुन । ख्वप कलेज अफ इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरूलाई आइतबार विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम एक समारोहबिच सम्पन्न भयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले २०८२ सालमा भर्ना भएका प्रवेश परीक्षा उत्कृष्ट विद्यार्थी र अध्ययनरत विद्यार्थीलाई गरिब तथा जेहेनदार विद्यार्थी छात्रवृत्ति गरी ४४ जना विद्यार्थीलाई रु. ६५ लाख ८८ हजार बराबरको छात्रवृत्ति प्रदान गर्नुभयो । नगरपालिकाले शिक्षा क्षेत्रमा लगानी गर्नुको एउटै स्वार्थ भनेको देश र जनताको सेवा गर्नु रहेको प्रजापतिले बताउनुभयो ।
शिक्षा र स्वास्थ्यको क्षेत्रमा भक्तपुरले गरेको परिवर्तन अन्य पालिका तथा जनताको लागि प्रेरणाको स्रोत बन्दै गरेको बताउँदै उहाँले अन्य विश्वविद्यालयमा विद्यार्थी तथा भौतिक पूर्वाधारको अभाव हुँदा ख्वपमा विश्वविद्यालयको लागि आवश्यक सम्पूर्ण पूर्वाधार भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “हामीले विभिन्न आरोह अवरोहबिच २०५६ सालमा ख्वप उच्च मावि स्थापना र सञ्चालन गर्दै हाल भक्तपुर नगरपालिकाअन्तर्गत ७ वटा कलेजहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
उहाँले पुँजीवादमा पैसाको लागि जे पनि गर्ने नाफामुखी हुने तर समाजवादीमा जनताको जीवनस्तर उकास्न राज्यबाटै सम्पूर्ण बन्दोबस्त गर्ने बताउनुभयो । समाजवादी बन्दोबस्त भएको देशमा राज्यको दायित्वमा हुने भएकोेले अनिवार्य र निःशुल्क शिक्षा समान रूपमा पाउन सक्ने उहाँले बताउनुभयो ।
जनताले देशलाई भ्रष्टाचारमा लिप्त बनाउने, एमसीसी पास गर्ने, देशको भौतिक पूर्वाधार खरानी पार्ने तत्वहरूलाई राम्ररी चिन्नुपर्ने उल्लेख गर्दै राजनीति दर्शन, सिद्धान्त, विचारमा आधारित हुनुपर्ने, चुनाव घोषणापत्रको आधारमा हुनुपर्ने र देशप्रति चिन्तनशील उम्मेदवारहरू छान्ने जिम्मेवारी जनताको भएको बताउनुभयो ।
कलेजले प्रदान गर्ने पुरस्कार, छात्रवृत्तिलगायत प्रोत्साहन र ऊर्जाको लागि हो, यसले विद्यार्थीलाई अझ परिश्रमी र मेहनती बनाउनेमा आफू आशावादी रहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले विद्यार्थीले पाएको छात्रवृत्ति भाग्यले नभई मिहिनत र लगनशीलताले पाएको हुँदा छात्रवृत्तिको सही सदुपयोग हुनुपर्ने बताउनुभयो । भक्तपुर नगरपालिकाले
सस्तो, सुलभ र गुणस्तरीय शिक्षा दिई देशकै सेवाको निम्ति प्रोत्साहन गर्न छात्रवृत्ति दिइरहेको, छात्रवृत्ति नपुग भएमा नगरवासी विद्यार्थीहरूलाई शैक्षिक ऋणसमेतको व्यवस्था गरेको उहाँले बताउनुभयो । उहाँले विद्यार्थीहरूमा नागरिक भावनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कलेजका उपप्राचार्य ई. रत्नशोभा प्रजापति र काजीबहादुर पञ्चले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *