भर्खरै :

प्रश्नको शक्ति

  • फाल्गुन ६, २०८२
  • इकुश्रे
  • विचार
प्रश्नको शक्ति

मानिसलाई सृष्टिको सर्वश्रेष्ठ प्राणी भनिन्छ । तर, त्यो श्रेष्ठता बाह्य रूप, साधन–सुविधा वा प्रविधिका कारण होइन । त्यो श्रेष्ठता उसको सोच्ने, जिज्ञासा राख्ने र प्रश्न गर्ने क्षमताका कारण हो । वास्तवमा प्रश्न गर्ने क्षमता नै चेतनशील मानवताको पहिचान हो । प्रश्नविहीन मन भनेको एउटा मैलो कुवाजस्तै हो जहाँको पानी स्थिर हुन्छ । प्रश्न उठाउने मन भने बगिरहेको खोलाजस्तो हो – जो आफ्नो बाटो आफैँ बनाउँदै अघि बढ्छ । त्यसरी नै बग्दै गएर विशाल समुद्ररूपी ज्ञान भेट्टाएर ‘ज्ञानगम्भीर’ बन्छ ।
जिज्ञासा नै प्रश्नको बीउ हो । जिज्ञासुले मात्र प्रश्न गर्नसक्छ र प्रश्न गर्नेले मात्र उत्तर पाउन सक्छ । जसले गहिरो, मार्मिक र असल प्रश्न गर्नसक्छ वा त्यस्तो प्रश्न गर्नसक्ने क्षमता राख्छ, उसैले प्रभावकारी उत्तर पाउँछ । त्यो उत्तर, प्रश्नकर्ताको जिज्ञासा समाधान मात्र नभएर दुनियाँको प्रतिनिधि जिज्ञासा समाधान पनि हुनसक्छ । त्यसो भए त्यो दुनियाँका लागि उपयोगी हुन पनि सक्छ ।
विद्यालयको कक्षाकोठामा पनि यही सत्य लागू हुन्छ । जो विद्यार्थी आफूलाई स्पष्ट नभएको कुरा हात उठाएर प्रश्न सोध्छ, ऊ अन्य विद्यार्थीभन्दा बढी बुझ्छ । जो चुप लागेर बस्छ, ऊ अन्योलमा रहन सक्छ । प्रश्न गर्ने विद्यार्थीले मात्र आफ्नो क्षमता बढाउन सक्छ, किनकि प्रश्नले सोच्न बाध्य पार्छ । प्रश्न गर्न नचाहनेका मनभित्र जिज्ञासाको बीउ मर्न सक्छ । उत्तर त बाहिरबाट पाइन्छ, तर प्रश्न भित्रबाट जन्मिन्छ । त्यसैले प्रश्न गर्ने विद्यार्थी केवल पाठ्यपुस्तकको ज्ञान होइन, जीवनको पाठ सिक्ने यात्रामा पनि अग्रसर हुन्छ । हाम्रो शिक्षा प्रणालीले अक्सर उत्तर कण्ठ गर्नेलाई पुरस्कृत गर्छ तर वास्तवमा समाजलाई त्यस्ता मस्तिष्कको खाँचो छ जसले स्थापित मान्यतामाथि प्रश्न उठाउन सकोस् ।
हाम्रो प्राचीन परम्परालाई हेर्दा पनि ज्ञानको मूल आधार प्रश्न नै देखिन्छ । उपनिषद्कालीन गुरुकुलमा शिष्यले गुरु समक्ष प्रश्न राख्थे । नचिकेता जस्ता सानो उमेरका पात्रले यमसँग मृत्यु र आत्माको रहस्य सोधे । उनले संसारका सबै भौतिक सुखलाई त्यागेर केवल ‘सत्य’ जान्न चाहे । याज्ञवल्क्यजस्ता ऋषिहरूले संवादमार्फत गहिरा सत्य उद्घाटन गरे । पूर्वीय दर्शनमा ‘पूर्वपक्ष’ र ‘उत्तरपक्ष’ को ठुलो महत्व छ, जहाँ पहिले विरोधीको विचार सुनिन्छ र त्यसपछि तर्कपूर्ण प्रश्नद्वारा सत्यको खोजी गरिन्छ । त्यसैगरी, पश्चिममा पनि सोक्रेटसले प्रश्न–उत्तरको पद्धतिलाई दर्शनको मूल विधि बनाए । उनले प्रत्यक्ष उत्तर दिनुभन्दा उल्टै प्रश्न गरेर मानिसलाई आफ्नै सोचको कमजोरी देख्न र सत्यको नजिक पुग्न सिकाए । यसैलाई ‘सोक्रेटिक मेथड’ भनिन्छ, जसले आज पनि आधुनिक कानुन र शिक्षामा मार्गदर्शन गरिरहेको छ ।
वैज्ञानिक क्षेत्र पनि प्रश्नकै देन हो । “किन स्याउ तल झर्छ ?” यही साधारण प्रश्नले आइज्याक न्युटनलाई गुरुत्वाकर्षणको सिद्धान्ततर्फ डो¥यायो । अल्बर्ट आइन्स्टाइनले सोधे – “यदि म प्रकाशको किरणमा चढेर दौडिएँ भने के होला ?” यो काल्पनिक प्रश्नले भौतिक विज्ञानको स्वरूप नै बदलिदियो । ‘किन ?’ र ‘कसरी ?’ भन्ने दुईवटा प्रश्नले विज्ञानका असङ्ख्य ढोका खोलेका छन् ।
यदि मानिसले चन्द्रमामा पुग्ने सपनामा प्रश्न नगरेको भए, यदि रोगहरूको कारणमा प्रश्न नगरेको भए, संसार आजको जस्तो प्रविधियुक्त र ज्ञानसम्पन्न हुने थिएन । हरेक ठुलो आविष्कार एउटा सानो प्रश्नको कोखबाट जन्मिएको हुन्छ ।
प्रश्न ज्ञानको स्रोत मात्र होइन, परिवर्तनको शस्त्र पनि हो । विज्ञले दिने उत्तरभन्दा पत्रकारले सोध्ने प्रश्न प्रायः रोचक र महत्वपूर्ण हुन्छ । उदाहरणका लागि दक्ष पत्रकारले नेतालाई रिस उठ्ने गरी प्रश्न सोधेपछि नेता पनि मन खोलेर उत्तर दिन बाध्य हुन्छ । त्यस्तो उत्तरमा जनताको जिज्ञासा मेटिएको हुन्छ । स्मरणीय छ, शक्तिशाली सही प्रश्नले ‘शक्तिशाली’ लाई असहज बनाउँछ किनभने त्यस्ता प्रश्न सत्य उजागरतर्फ केन्द्रित हुन्छन् ।
पत्रकारले शक्तिशाली प्रश्न सोध्न सक्नुपर्छ । पत्रकारिता तब प्रभावकारी हुन्छ, जब उसले समाज, सरकार र सत्तालाई तीखा तर तार्किक प्रश्न गर्छ । उत्तर दिने व्यक्ति चतुर हुनसक्छ, तर प्रश्न गर्ने व्यक्ति सदैव सजग र सचेत हुनुपर्छ । जब पत्रकारले प्रश्न गर्न छाड्छ, तब लोकतन्त्रको चौथो स्तम्भ ढल्न सुरु गर्छ ।
वास्तवमा प्रश्न गर्न सक्ने क्षमता जोसुकैमा हुँदैन । प्रश्न गर्न साहस चाहिन्छ । आत्मविश्वास चाहिन्छ । विवेक चाहिन्छ । धेरैजसो मानिस चुप लागेर बस्न सजिलो ठान्छन् । प्रश्न गर्दा, “आलोचित भइएला कि ¤” “कतै अपमान भोग्नुपर्ला कि !” वा “कतै भीडभन्दा फरक देखिइएला कि ¤” भन्ने डरले हामी आफ्ना जिज्ञासा दबाउँछौँ । तर, यस्तै मौनताले समाजलाई जकडेर राख्छ । जहाँ प्रश्न हुँदैन, त्यहाँ अन्याय मौलाउँछ । जहाँ जिज्ञासा हुँदैन, त्यहाँ अन्धविश्वास फस्टाउँछ । जब अन्यायी र अत्याचारी शासकका क्रियाकलाप असह्य हुन्छन्, त्यो बेला असङ्ख्य प्रश्नहरू सल्बलाउँछन् । ती प्रश्नहरू आन्दोलनका रूपमा उठ्न पनि सक्छन् । यदि प्रश्न गर्न सक्ने जनता भए, नेता स्वतः सुध्रिन बाध्य हुन्छन् ।
लोकतन्त्रको सार नै प्रश्न हो । जनताले आफ्नो प्रतिनिधिलाई सोध्नुपर्छ – हामीले तिरेको कर कहाँ खर्च भयो ? हाम्रा लागि गरेका वाचा किन पूरा भएनन् ? विकासका योजना कागजमै किन सीमित छन् ? जब नागरिक सचेत भई यस्ता प्रश्न गर्छन्, तब सत्ता जवाफदेही बन्छ । नत्र भने नेतृत्व निरङ्कुश बन्छ । प्रश्नविहीन समाज अन्ततः भीडमा परिणत हुन्छ । प्रश्न गर्ने समाज मात्र नागरिक समाज बन्छ ।
त्यस्तै, प्रश्न गर्न सक्ने सेवाग्राही भए कर्मचारीको व्यवहार पनि सुध्रन्छ । “किन ढिलाइ भयो ?” “किन अनावश्यक कागज मागियो ?”, “कानुनमा यस्तो व्यवस्था कहाँ छ ?” जस्ता प्रश्नले प्रशासनिक निकायलाई अनुशासित बनाउँछ । प्रश्नले पारदर्शिता ल्याउँछ । प्रश्नले अधिकारको रक्षा गर्छ ।
यस अर्थमा प्रश्न एकदमै शक्तिशाली र उपयोगी हतियार हो । तर यो हतियार हिंसात्मक होइन† यो विवेकको हतियार हो । यसले घाउ बनाउँदैन, बरु घाउ देखाउँछ । यसले विनाश गर्दैन, सुधारतर्फ उन्मुख गराउँछ । प्रश्नले क्रान्ति ल्याउन सक्छ तर त्यो क्रान्ति रक्तपातको होइन – चेतनाको हुन्छ । आजको विश्वमा जहाँ ‘फेक न्यूज’ र भ्रमहरूको खेती भइरहेको छ, त्यहाँ प्रश्न गर्ने क्षमता नै हाम्रो सबैभन्दा ठुलो ढाल हो । कसैले भनेको कुरालाई आँखा चिम्लेर पत्याउनुभन्दा “यसको प्रमाण के छ ?” भनेर सोध्नु नै बौद्धिक स्वतन्त्रता हो ।
आजकल एआई (आर्टिफिसियल इन्टेलीजेन्स) को जमानामा पनि प्रश्न गर्ने क्षमता झन् आवश्यक भएको छ । कृत्रिम बुद्धिमत्ता जति नै विकसित भए पनि, उसले दिने उत्तर प्रश्नको गुणस्तरमा निर्भर हुन्छ । जसलाई हामी ‘प्रम्ट इन्जिनियरिङ’ भन्छौँ, त्यो वास्तवमा सही प्रश्न गर्ने कला नै हो । यदि प्रश्न अस्पष्ट छ भने उत्तर पनि अपूर्ण हुन्छ । एआईसँग संवाद गर्न पनि स्पष्ट सोच र सुस्पष्ट प्रश्न चाहिन्छ । प्रविधिले सूचना सजिलै उपलब्ध गराउँछ तर सही सूचना पाउन सही प्रश्न गर्न जान्नुपर्छ । प्रविधिले हामीलाई उत्तर त दियो तर ती उत्तरहरूको सत्यता जाँच्न फेरि प्रश्नकै सहारा लिनुपर्छ ।
आजका विद्यार्थीहरूका लागि यो झन् महत्वपूर्ण छ । उनीहरूले गुगल वा एआईबाट छिटो उत्तर पाउन सक्छन् तर त्यसले उनीहरूको मौलिक सोच्ने प्रक्रिया कमजोर नबनोस् । प्रश्न गर्ने बानी हरायो भने भविष्यको अनुसन्धान, आविष्कार र साहित्य सबै ओझेलमा पर्न सक्छ । त्यसैले शिक्षक र अभिभावकले बालबालिकालाई “चुप लाग !” भन्नुभन्दा उनीहरूका अनौठा र अप्ठ्यारा प्रश्नहरूको सम्मान गर्नुपर्छ । एउटा बच्चाले सोध्ने “आकाश किन नीलो छ ?” भन्ने प्रश्नमा नै भविष्यको वैज्ञानिक लुकेको हुन्छ ।
प्रश्न बाहिरी संसारतर्फ मात्र होइन, आत्मातर्फ पनि हुनुपर्छ । “म के गर्दैछु ?”, “म किन यसरी सोच्दै छु ?”, “मेरो जीवनको लक्ष्य के हो ?” यस्ता आत्मप्रश्नले व्यक्तित्व परिष्कृत गर्छ । आत्मालोचनबिनाको जीवन दिशाहीन हुन्छ । हामी अरूलाई त धेरै प्रश्न गर्छौँ तर जब हामी ऐना अगाडि उभिएर आफैँलाई प्रश्न गर्छौँ, तबमात्र वास्तविक रूपान्तरण सुरु हुन्छ । “के म न्यायको पक्षमा छु ?” यो प्रश्नले मानिसलाई नैतिक बनाउँछ ।
तर, ध्यान दिनुपर्ने कुरा के छ भने प्रश्न तार्किक र शिष्ट हुनुपर्छ । प्रश्नको उद्देश्यमा अपमान होइन, स्पष्टता हुनुपर्छ । प्रश्नले द्वन्द्व होइन संवाद सिर्जना गर्नुपर्छ । जब प्रश्न आरोपमा बदलिन्छ, तब संवाद टुट्छ र अहङ्कारको जन्म हुन्छ । तर, जब प्रश्न शुद्ध जिज्ञासा र सत्यको खोजीमा आधारित हुन्छ, तब यसले सम्बन्धहरूलाई अझ बलियो र पारदर्शी बनाउँछ । इतिहासले प्रमाणित गरेको छ – प्रश्नले नै युग परिवर्तन गरेका छन् । दासप्रथा, सामन्तवाद, लैङ्गिक विभेद – यी सबै कुरीतिहरूलाई प्रश्नले नै चुनौती दिएर ढलाएको हो ।
अन्ततः प्रश्नको शक्ति केवल शब्दमा होइन, चेतनामा निहित छ । प्रश्न गर्ने मानिस स्वतन्त्र हुन्छ । ऊ भीडको पछि लाग्दैन; ऊ आफ्नै विवेकको बाटो हिँड्छ । प्रश्न गर्ने समाज सचेत हुन्छ । ऊ अन्धविश्वास, अन्याय र दुरूपयोगविरुद्ध उभिन सक्छ । त्यसैले प्रश्न गर्न सिकौँ । आफ्ना बालबालिकालाई प्रश्न गर्न प्रेरित गरौँ । कक्षाकोठामा, समाजमा, शासनमा – जहाँ पनि अन्योल, अन्याय वा अस्पष्टता देखिन्छ, त्यहाँ प्रश्नको दीप बालौँ । किनकि प्रश्न नै ज्ञानको ढोका हो । प्रश्न नै सुधारको सुरुवात हो । प्रश्न नै चेतनाको क्रान्ति हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *