भर्खरै :

भाषा र संस्कृति जोगाउन नयाँ पुस्तालाई पुस्तान्तरण गर्नु जरुरी

भाषा र संस्कृति जोगाउन नयाँ पुस्तालाई पुस्तान्तरण गर्नु जरुरी

काठमाडौँ, ७ फागुन । नेपालभाषा साहित्य तःमुंज्या र बाल विकास क्लवको आयोजनामा टोखास्थित क्वने लाछी टोलमा १९ औँ नेपालभाषा साहित्य तःमुंज्या बिहीबार सम्पन्न भयो ।
उक्त कार्यक्रमको उद्घाटन टोखा नगरपालिका वडा नं. २ का ज्येष्ठ नागरिक मङ्गलमाया श्रेष्ठले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले साहित्य समाजको ऐना भएको धारणा राख्दै साहित्यमा समाज झल्किने बताउनुभयो ।
भाषा र संस्कृति समाजको पहिचान भएकोले भाषा र संस्कृति जगेर्ना गर्नु अत्यावश्यक भएको उल्लेख गर्दै उहाँले भाषा र संस्कृति जोगाउन नयाँ पुस्ताबिच पुस्तान्तरण गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्ता अर्थात् युवाहरू राजनीतिकरूपमा सचेत हुनु जरूरी छ । युवा उमेरले होइन उसले बोक्ने क्रान्तिकारी विचारले हुन्छ ।”
प्रजातन्त्र पुनःस्थापनापछि सरकारमा गएका पार्टीहरूको अकर्मण्यताका कारण देशको उद्योग तथा कलकारखान निजीकरण भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “शासक पार्टीहरूको गलत नीतिकै कारण भ्रष्टाचार चरम चुलीमा पुग्यो, राज्यका हरेक क्षेत्रमा शासक पार्टीहरूको भागबन्डा भयो, कृषिप्रधान देशले खाद्यान्नलगायत तरकारीसमेत आयात गरेर खानुपर्ने स्थिति बन्यो, देशको सार्वजनिक ऋण २८ खर्ब र वार्षिक व्यापार घाटा १५ खर्ब पुग्यो । महिनामा ७० हजारभन्दा बढी नेपालीले देश छोड्नुपर्ने स्थिति आयो । यो स्थिति आउनुमा आजसम्म सरकारमा गएका पार्टीहरू नै दोषी छन् ।”
शासक पार्टीहरूप्रतिको वितृष्णाकै परिणाम भदौ २३–२४ को घटना घटेको र उक्त घटना घट्नुमा शासक पार्टीहरू नै दोषी भएकाले फागुन २१ को निर्वाचनमा ती पार्टीहरूलाई पराजित गर्नु जरूरी भएको उहाँले बताउनुभयो ।
“प्रतिनिधिसभा भनेको देशको लागि आवश्यक नीति निर्माण गर्ने र राष्ट्रहरूबिच हुने सन्धि सम्झौता पारित गर्ने थलो भएकोले उक्त निर्वाचनमा देशभक्त, इमानदार, अनुशासित र निःस्वार्थी उम्मेदवारहरूलाई जिताउनु जरूरी छ”, उहाँले भन्नुभयो ।
शिक्षा, स्वास्थ्य निःशुल्क, व्यक्तित्व विकासमा समान अवसर, सम्पत्तिको सीमाङ्कन, विदेशमा सम्पत्ति राख्न नपाउने, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त, उत्पादनका मुख्य मुख्य साधनहरू सामाजिकीकरण, भ्रष्टाचारी, देशद्रोही र जघन्य अपराधीहरूलाई मृत्युदण्डको बन्दोबस्त गर्न नेपाल मजदुर किसान पार्टीका उम्मेदवारहरूलाई निर्वाचित गर्नु जरूरी भएको केन्द्रीय सदस्य प्रजापतिले बताउनुभयो ।
प्रमुख प्रजापतिले भन्नुभयो, “भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइमा जोड दिनुका साथै युवाहरूलाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम र विकास निर्माणमा स्थानीय सीप तथा श्रमलाई उपयोग गरिरहेको छ । भक्तपुर नगरपालिकाले पारदर्शिता र आर्थिक अनुशासनलाई जोड दिई कार्य गरिरहेको छ ।”
भनपाद्वारा सञ्चालित कलेजहरूमा देशभरिका विद्यार्थीले गुणस्तरीय उच्च शिक्षा अध्ययन गर्ने अवसर पाइरहेको र भनपाले ८५० जना विद्यार्थीलाई करिब १७ करोड रुपैयाँ शैक्षिक ऋण उपलब्ध गराई आर्थिकरूपमा कमजोर विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्ने अवसर दिइरहेको प्रमुख प्रजापतिले बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भाषा, कला संस्कृति, सम्पदा सभ्यताका कोशेढुङ्गा भएको र ती सबैका निर्माता कामदार जनता भएको बताउनुभयो ।
मजदुर–किसानले नै संस्कृति–सम्पदाको संरक्षण गर्न आवश्यक भएको चर्चा गर्दै केन्द्रीय सदस्य गोसाईंले भन्नुभयो, “नेपाली जनताले कला–संस्कृतिका मर्मज्ञ शासक पाएनन् । सरकारहरूले त संस्कृति विनास गरे ।”
“नेमकिपाले सभ्यता र इतिहास जोगाउन नयाँ पुस्तालाई उत्साहित गर्दै समाजलाई बाटो देखाइरहेको छ”, उहाँले भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष काशिलाल डंगोलको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्यहरू नारायण महर्जन, सृजना सैँजू र राजवीर डंगोल, नेमकिपा टोखा नगर समितिका अध्यक्ष एवं काठमाडौँ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शोभालाल श्रेष्ठ, त्रिवि अङ्ग्रेजी केन्द्रीय विभागका उपप्राध्यापक डा. तारालाल श्रेष्ठ, कवि अभय श्रेष्ठ, शिवप्रसाद सापकोटा, सजीव श्रेष्ठ, मिर्मिरे साकोस टोखाका अध्यक्ष रवीन्द्र डंगोलले पनि बोल्नुभएको थियो ।
त्यस्तै टोखा सांस्कृतिक संरक्षित विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ, बाल विकास क्लव टोखाका अध्यक्ष सन्तलाल र गणेश इङ्गलिस स्कूलका विशोक डंगोलले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा वाचित कविताहरूमा महन्त महर्जन पहिलो, शकुन्तला महर्जन दोस्रो, रमेशमान महर्जन तेस्रो र प्रशान्त महर्जन तेस्रो हुन सफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *