मतको आधारमा दलले राज्यको कोष लिने विचार गलत
- फाल्गुन १४, २०८२
आन्दोलन या सङ्घर्षबिना देशमा परिवर्तन सम्भव छैन । २००७ साल, २०४६ साल र २०६२/०६३ सालको जनआन्दोलन यसको दृष्टान्त हो । जनआन्दोलनले जनताका अधिकार पाएकै हो । बहुदलीय प्रजातन्त्र स्थापनाको लागि २०४६ फागुन ७ गते (१९९० फेब्रुअरी १८) देखि संयुक्त जनआन्दोलन सुरू भएको थियो । वाम मोर्चा र नेकाको आह्वानमा भएको उक्त संयुक्त आन्दोलन २०४६ चैत २७ (१९९० अप्रिल ९) सम्म भएको थियो । संयुक्त जनआन्दोलनमा भक्तपुरका ६ जना सपुतहरूले वीरगति प्राप्त गरेका थिए । यसरी वीरगति प्राप्त गर्ने सहिदहरूमा राजकुमार सुवाल, हरिकृष्ण भुजु, निर्मलकुमार शाक्य, कृष्णराम दुवाल, पुष्परत्न शाक्य, महेश श्रेष्ठ थिए । जनआन्दोलनकै क्रममा देशभरमा दुई दर्जनभन्दा बढीले सहादत प्राप्त गरे, सयौँ घाइते भए, थुप्रैले जेल यातना भोगेका थिए । नेपाल बन्द सफल पार्न शान्तिपूर्वक अघि बढिरहेको जुलुसमा पञ्चायती सरकारले भक्तपुरमा प्रतिबन्धित गोली प्रहार गरेको थियो ।
आन्दोलन सफल पार्न संयुक्त जनआन्दोलन परिचालन समितिले फागुन ८ गते नेपाल बन्दको आह्वान गरेको थियो । उक्त दिन भक्तपुरमा गोली प्रहारबाट चार जनाको मृत्यु र दर्जनौँ घाइते भएका थिए । फागुन ९ गते कानुन व्यवसायी (वकिल) हरूले कालो पट्टि बाँधी अदालत बहिष्कार गरेका थिए । फागुन १० गते विराटनगरमा महिलाहरूको विरोध प्रदर्शन, फागुन १२ गते स्वास्थ्यकर्मी र चिकित्सकहरूबाट शिक्षण अस्पतालमा २ घण्टा हडताल, फागुन १३ गते वीर अस्पतालका चिकित्सकहरूद्वारा कालोपट्टि बाँधी हडताल र १४ गते देशभर कालो दिवसको आह्वान गरिएको थियो । यसरी नै फागुन १६ गते प्राध्यापकहरूको विरोधसभा, फागुन १९ गते दोस्रो पटक नेपाल बन्द, फागुन २२ गते कानुन व्यवसायीहरूको मौन जुलुस, फागुन २६ गते पञ्चायती व्यवस्थाको पुतला दहन, चैत १ गते तेस्रो पटक नेपाल बन्द भएको थियो । चैत ३ गते लेखक तथा कलाकारहरूको त्रिचन्द्र कलेज र प्रज्ञा भवन बाहिर प्रदर्शन, चैत ४ गते अमेरिकामा रहेका नेपालीहरूद्वारा नेपाली दूतावास अगाडि विरोध प्रदर्शन, चैत ७ गते बुद्धिजीवीहरूद्वारा गरिएको विचार गोष्ठीमा सबैको गिरफ्तारी, चैत ८ गते सम्पूर्ण शिक्षकहरूद्वारा कलम बन्द र चैत १० गते प्राध्यापकहरूबाट कलम बन्द गरिएको थियो । त्यस्तै, चैत ११ गते विराटनगरका सबै क्याम्पसमा प्राध्यापकहरूद्वारा कलम बन्द, चैत १५ गते प्राध्यापक, चिकित्साकर्मी, इन्जिनियरहरूद्वारा हडताल तथा विरोध जुलुस, चैत १६ गते स्कूल तथा क्याम्पसमा विद्यार्थीहरूको जुलुस प्रदर्शन तथा बत्ती निभाउने कार्य भएको थियो । चैत १९ गते भक्तपुर र कीर्तिपुरमा विशाल जुलुस तथा आमसभा र पाइलटहरूको विरोध प्रदर्शन तथा हडताल, चैत २० गते पाटनमा विशाल जुलुस तथा सभा, चैत २३ गते कर्मचारीहरूको जुलुस प्रदर्शन भएको थियो । चैत २५ गते भक्तपुरलगायत विभिन्न ठाउँमा जुलुस प्रदर्शन भएको थियो । भक्तपुर, काठमाडौँ, ललितपुर र बुटवलमा कफ्र्यु गरिएको थियो । आन्दोलनमा किसान, मजदुर, विद्यार्थी, शिक्षक, प्राध्यापक, महिला, युवा, लेखक, कलाकार, इन्जिनियर, चिकित्सक, पाइलट, कानुन व्यवसायी, कर्मचारी, साहित्यकार आदिले विभिन्न कार्यक्रम र वक्तव्य दिएर आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै समर्थन गरेका थिए । यसैको परिणाम संयुक्त जनआन्दोलन सफल भएको थियो । फलतः निरङ्कुश पञ्चायती व्यवस्थाको अन्त्य भयो । चैत २७ गते देशभर प्रजातान्त्रिक बहुदलीय व्यवस्था पुनस्र्थापना भएको खुसियालीमा विशाल जुलुस र आमसभा भएको थियो ।
देशमा बहुदलीय प्रजातन्त्र पुनस्र्थापनासँगै गणतन्त्र पनि स्थापना भयो । सहिदहरूको त्यागबाट ठुला विभिन्न राजनीतिक दलले सरकारको नेतृत्व गरे । पञ्चायती व्यवस्था अन्त्य, बहुदलीय व्यवस्था स्थापना हुँदै गणतन्त्र स्थापना भए पनि देशमा बहुमत जनताको पक्षमा कुनै मौलिक नीति निर्णय भएको छैन । अतः यो पुँजीवादी व्यवस्थाको अन्त्य गरी समाजवादी व्यवस्था स्थापना गर्न फेरि सङ्घर्षको आवश्यकता छ । देशको मुहार फेर्न ज्यानको बाजी राख्ने अमर सहिदप्रति सच्चा सम्मान तथा वीर योद्धाहरूप्रति कदर गर्नु जरुरी छ ।
Leave a Reply