हाम्रो अल्पकालीन गन्तव्य
- फाल्गुन ४, २०८२
(x)
टेलिफोनको घण्टी बज्यो – ‘टन्न टन्न’ ! पछि मोबाइलमा सङ्केत आउँछ – ‘टिं…टिं ! फोन उठ्यो – ‘ … को बोल्नुभयो ?’ ‘म रफत सञ्चार’ भन्ने पत्रकारहरूको एक साझा संस्थाको अध्यक्ष प्रेमकृष्ण बोल्दै छु ।’
“नमस्कार, म शिक्षक र प्राध्यापकहरूको ‘आदर–निकेतन’ बाट बोल्दै छु, केही भन्नु छ कि ? म यस आदर–निकेतनको सचिव बोल्दै छु ।”
“ए, सचिवज्यू, नमस्कार – हिजो छाडी अस्ति आदर निकेतनका अध्यक्षज्यूसँग कुराकानी भइसकेको छ, … आज त्यहाँ १ बजे हामी केही पत्रकारहरू ज्येष्ठ शिक्षक र प्राध्यापकहरूसँग भलाकुसारी र उहाँहरूसँग कुराकानी गर्न आउँदै छौँ र आदर र निकेतनका अध्यक्षज्यूलाई पनि एकचोटि सम्झना गराइदिनु भए राम्रो हुन्थ्यो” – पत्रकार संस्थाको अध्यक्षले उत्तर दिए ।
आदर–निकेतनको सचिवले हाँस्दै उत्तर दिए – “प्रेमकृष्ण अध्यक्षज्यू ! मैले पहिले पनि तपाईंको पत्रकार समूहलाई हाम्रो आदर–निकेतनमा स्वागत गरेको सम्झना छ । हामी आदर–निकेतनका परिवार र पत्रकार मित्रहरूलाई दिउँसो ठीक १ बजे स्वागतको निम्ति पर्खिरहनेछौँ ।”
“धन्यवाद, सचिवज्यू !” मोबाइल बन्द भएको आवाज आयो ।
xx
(आदर–निकेतनको बैठक कोठाको एउटा ठुलो गोलाकार टेबुलको चारैतिर २० जना अवकाश प्राप्त ज्येष्ठ शिक्षकहरू थिए ।)
पत्रकार अध्यक्ष प्रेमकृष्णलाई आदर निकेतनको सचिव श्रेष्ठले ढोकामै स्वागतको हात मिलाए र बैठक कोठामा प्रवेश गराए । सबै ज्येष्ठ शिक्षक र प्राध्यापकहरूलाई पत्रकार मित्रहरूले दुवै हात उठाएर नमस्कार गर्दै ‘नमस्कार’ आदानप्रदान गरे ।
ज्येष्ठ गुरुहरूको सामुन्ने पत्रकारहरूले आसन ग्रहण गरे तथा एकजना पत्रकारले अगाडिको टेबुलमा तीनवटा माइक राखे तथा दुइटा माइक पत्रकारको पङ्क्तिमा राखे ।
पत्रकार अध्यक्ष प्रेमकृष्णले ज्येष्ठ शिक्षकहरूको सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्दै गुरुहरूलाई आआफ्ना परिचय र आदर निकेतनमै आउनपर्नुको कारण र आफ्ना अनुभव अवगत गराउन अनुरोध गरे ।
८२ वर्षका एक दुब्ला, पातला र गोरा अनुहारका अर्थशास्त्र र साहित्यका प्राध्यापक रामहरि जोशीले शिक्षक साथीहरू र पत्रकार मित्रहरूलाई सम्बोधन गर्दै आदर–निकेतनमा आउनुको कारण र आफ्नो अनुभवलाई बताउन सुरु गरे, “सरकारले नेपालका युवा युवतीहरूलाई अध्ययन गर्न र काम गर्न विदेश जान चाहिने राहदानीलाई सिनेमाको टिकटसरह बाँडेर विदेश पठाउँदा मेरा छोराछोरी विदेश गए, मेरी जहान दुई÷चार वर्ष पहिले नै बितिन् र म परिवारमा एक्लै भएँ, दुई/चार वर्ष आफै चुलोको काम, कपडा धुने, घरको सफाइमा लागे । तर, बिस्तारै जिउले काम गर्न नसकिने भएपछि म यहाँ आएको हुँ । यसको निम्ति यस वडाका निर्वाचित सदस्यहरू, सहकारी संस्थाका साथीहरू र नगरपालिकालाई धन्यवाद दिन चाहन्छु ।”
सहभागी सबै उनको थप कुरा सुन्न उनीतिरै हेर्दै थिए । उनले ग्लासको मनतातोपानी खाएपछि आफ्नो भनाइलाई चालू राखे, “जहाँसम्म शिक्षक र प्राध्यापकहरूको दृष्टिकोण, काम–कर्तव्य पूरा गर्ने तथा एक विश्व नागरिक भएर आआफ्ना मानवीय भावनाबारे उहाँहरूको जिम्मेवारीबारेको प्रश्न छन् त्यसबारे अब बुँदागत रूपमा प्रस्ट गर्न चाहन्छु ।”
“विद्यालय, महाविद्यालय र विश्वविद्यालयका अधिकांश शिक्षक र प्राध्यापकहरूका आआफ्ना विषयमा विद्यार्थीहरू देशका भविष्यका कर्णधार हुन् । यसकारण, नयाँ पुस्तालाई देशको राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा आवश्यक ज्ञान, व्यावहारिक चातुर्य र कौशलबाट पोख्त गर्नुपर्छ भन्ने कुनै प्रकारको जिम्मेवारी र भावनाको अनुभव गरेको मलाई थाहा छैन र उहाँहरूसँगको कुराकानीमा त्यस्तो गम्भीरताको अनुभव म गर्दिनँ । शिक्षण पेसामा उहाँहरूको आकर्षण भनेको सजिलो काम, कार्यालयका हाकिमहरूको तखतमा बस्नु नपर्ने र निश्चित समय र कक्षा कोठाको पढाइपछि छिट्टै घर फर्केर आफ्नै परिवार, नातागोतासँग तास खेल्ने, चियानास्ता एवं साँझदेखि पिउने, सजिलो जीवन बिताउने हो ।”
जोशी मार्साबका जानकारी सुनिरहेका सबै सहभागीहरूमा आश्चर्य र विस्मयका रेखाहरू मुखमण्डलहरूमा कोरिएका देखिए । एक लामो सास तान्दै उनले आफ्ना जानकारीलाई अभिव्यक्त गर्दै गए – “हाम्रा शिक्षक र प्राध्यापकहरू १० जनामध्ये मुस्किलले एकजनाले मात्रै आफ्नो विषयको पाठ्यपुस्तकभन्दा नयाँ पुस्तक वा नयाँ–नयाँ सूचना र जानकारी प्रदान गर्ने पुस्तक र पत्रपत्रिका पढ्छन् । केहीले आफ्ना मोबाइल र फेसबुकहरू प्रयोग गरे पनि बाजारू विषय मात्रै हेर्ने गर्छन् । संसारमा अहिले अत्यन्त नकारात्मक रूपले चर्चित व्यक्ति ट्रम्प हुन् । उनको क्यानाडा जस्तो ठुलो क्षेत्रफलको छिमेकी देशलाई आफ्नो संयुक्त राज्य अमेरिकाको ५१ औँ राज्य बनाउने र स्कटल्यान्डको स्वायत्त प्रदेश ग्रीनल्यान्ड जस्तो भारतजत्तिकैको भूभागलाई किन्ने र आफ्नो देशमा मिलाउन खोजेको योजना हाम्रा गुरुहरूलाई थाहा छैन होला । न त इजरायलले गाजामाथिको अत्याचार र युक्रेनको काँधमाथि बन्दुक बिसाएर रुसमाथि दबाब दिएर त्यसका सबै आणविक हातहतियारलाई नियन्त्रण गर्ने उद्देश्यले लडाइँ गर्न दिएको र हिन्द प्रशान्त महासागरको क्षेत्रमा अमेरिकी नियन्त्रण राख्न खोजेको गम्भीर विषयबारे थाहा होलान् ।”
केही सम्झन खोज्दै एकछिन विश्रामपछि जोशी सरले आफू कार्यरत समयमै प्राध्यापकहरूमध्ये केही नेपाली भाषी भारतीय नागरिकहरू पनि शिक्षणमा थिए र नेपाली प्राध्यापकहरूलाई भाड्ने उद्देश्यले भन्थे, ‘भारतमा एक प्राध्यापकको तलब १ लाख भारुसम्म हुन्छ, त्यसलाई नेरुमा रूपान्तरण गरेपछि कति होला ?’ भन्ने जस्ता भड्काउने अभिव्यक्तिहरू दिन्थे । तर, एक दुई जना युवा प्राध्यापकले “त्यसो भए सर, हामीले डलर र स्ट्रलिङ पाउन्ड पाउने जुक्ति पो गर्नुपर्यो” भनी व्यङ्ग्य गर्थे । उपस्थित ती प्राध्यापकहरूले शरम्को अनुभव गरेनन् । “नेपाली ज्येष्ठ प्राध्यापकहरूको मुखमा भारुको पानी रसाएको अनुभव सहभागीहरू गर्थे ।”
लामो सास तान्दै जोशी सरले आफ्नो मन्तव्य टुङ्ग्याउने उद्देश्यले भने, “मैले माथि हाम्रा प्राध्यापकहरूको देशप्रतिको कर्तव्य र मनसाय कति तल्लो स्तरको थियो, अन्तर्राष्ट्रिय र मानवीय भावना कस्तो पातलो र विश्व दृष्टिकोण कस्तो साँघुरो थियो भन्नेबारे मैले स्पष्ट पारेँ । तर, आफ्नै मित्रहरू र समान स्तरका व्यक्तिहरूको यस्तो विषय बोल्नुपर्दा मलाई लज्जाबोध हुँदै छ र यस स्थितिले म साह्रै दुःखी पनि छु । सबै सहभागीहरूलाई र आफ्नो पत्रकार संस्था र साथीहरूलाई धन्यवाद, !”
हात उठाएर अर्को ज्येष्ठ शिक्षकले आफ्नो अनुभव बताउने सङ्केत गर्नासाथ एक पत्रकार साथीले माइक अगाडि सारे । हात उठाउने शिक्षक सरले माइक मिलाएर आफ्नो परिचय दिँदै आफ्नो मन्तव्य सुरु गरे, “मेरो नाम रामकुमार खत्री हो, म राजनीतिशास्त्रको प्राध्यापक थिएँ; यहाँ अन्य शिक्षक र प्राध्यापक साथीहरू जस्तै म पनि ७० वर्ष नाघें । पहिले पहिले औषधि र उपचारको थोरै बन्दोबस्तको बेला ७० वर्ष पनि समाजमा कम हुन्थे । औषधि विज्ञान र उपचार प्रविधिको विकासले हाम्रा आदर निकेतनमै ८० नाघेका धेरै सरहरू वा साथीहरू हुनुहुन्छ । मानिसहरू भन्छन्, “हाम्रा हातका औंलाहरू त समान छैनन् भने हामी मानिसहरू शारीरिक र मानसिक रूपले कसरी समान होलान् ? त्यस्तै समाजमा आज विभिन्न राजनीतिक विचार र व्यवहारबारे देशी र विदेशी अनेक पुस्तकहरू उपलब्ध छन् । कति विदेशी भाषाका पुस्तकहरू पनि अनुवाद भइसकेका छन् । हिजो ‘नेपाल प्रज्ञा प्रतिष्ठान’ ‘साझा’ जस्ता केही प्रकाशन र अनुवादहरू प्रकाशन गर्ने संस्थाहरू थिए भने अहिले अनेक निजी प्रकाशनहरू पनि छन् । तर, देशको जनसङ्ख्याअनुसार पुस्तक पढ्ने पाठकहरूको कमीबारे पुस्तक पसलहरूको मात्रै भनाइ नभई पुस्तकालयहरूको पनि यही भनाइ छ । पोखरा र विराटनगरजस्ता एक/दुई ठाउँमा पाठकहरूको कमी नभए पनि अन्य ठाउँका पुस्तकालयहरूमा पाठकहरूको कमी हुनुका केही कारण छन् । अहिले सबैजसो गाउँ र बस्तीबस्तीमा पनि स्कूल र कलेजहरू खुले । तर, त्यहाँका बहुमत छात्रछात्राहरू गाउँ र सहरका कम आर्थिक स्रोत भएका किसानहरूका छोराछोरी बढी छन् । किसान परिवारका अभिभावकहरू आफै निरक्षर भएको हुँदा ती परिवारका छात्रछात्राहरू पनि जागिर पाउने लालसामा पढेका हुन्छन् । सरकारहरू अर्थात् सङ्घीय सरकार, प्रदेश सरकार र नगर एवं गाउँपालिकाहरूले पनि गरिब विद्यार्थीहरूलाई उच्च शिक्षा दिलाउनेबारे एउटा उचित नीति ल्याउन सकेका छैनन् । त्यसको एउटा भिन्नै कारण छन् – हिजो पढेलेखेका व्यक्तिहरू धनीका छोराछोरी तिनीहरूले गाउँ र नगर नहेरी आफ्नो योग्यता बढाउने माथिल्लो पदमा जाने र आफ्नो आर्थिक अवस्था सपार्ने प्रवृत्तिको कारण गाउँपालिका र नगरपालिकाहरूमा शिक्षित र व्यापक दृष्टिकोण भएका व्यक्तिहरूको अभाव भएको अनुभव गरिरहेका छन् । त्यस्तै प्रदेशको सदन र सरकारमा धनी, उद्योगपति, ठेकेदार एवं व्यापारीहरूको प्रभाव र सङ्ख्या बढ्दै छ । तिनीहरूको उद्देश्य देशको तल्लो वर्गको आर्थिक स्तरलाई विकास गर्ने नभई आआफ्नै आम्दानी र नाफा बढाउने ध्यान गर्छन् । फेरि यता २०–३० वर्षदेखि प्रवेशिका उत्तीर्ण भएको ‘नक्कली’ प्रमाणपत्र दिएर पनि विदेशमा ‘सस्तो’ ज्यामीमा पठाउँदा गाउँ–बस्ती र नगरका स्कूल र कलेजहरूमा विद्यार्थी सङ्ख्या घट्दै जाँदा पनि पुस्तक किन्ने र पुस्तकालयहरूमा पाठक सङ्ख्या पनि घटेका छन् । म अलि थाकेँ यति नै बोलेर मेरो भनाइ यहीँ अन्त्य गर्छु । सुनिदिनुभएकोमा सबैलाई धन्यवाद !”
ज्येष्ठ प्राध्यापक रामकुमार खत्री आफ्नो आसनमा बसिसकेपछि आदर–निकेतनका सचिव श्रेष्ठले ‘रफत सञ्चार’ का अध्यक्ष प्रेमकृष्णको कानमा साउती गरे । त्यसपछि अध्यक्ष प्रेमकृष्णजीले माइकबाट एक सूचना सुनाए – “ज्येष्ठ शिक्षक र प्राध्यापक महानुभावहरू र पत्रकार मित्रहरू, आदर–निकेतनका सचिवको सल्लाहअनुसार यो कार्यक्रमलाई आधा घण्टासम्मको लागि स्थगित गर्ने अनुमति चाहन्छु । यो समय हाम्रा ज्येष्ठ गुरुहरूको खाजाको समय हो; आधा घण्टापछि हामी पुनः आआफ्ना आसनमा बस्नेछौँ धन्यवाद ।”
xxx
खाजापछि सबै ज्येष्ठ शिक्षक र प्राध्यापकहरू एवं पत्रकार पनि आ–आफ्नै स्थानमा बसे । आदर निकेतनका सचिव श्रेष्ठले रफत सञ्चारका अध्यक्षलाई कार्यक्रम पुनः सञ्चालन गर्न सङ्केत दिए ।
पत्रकार अध्यक्ष प्रेमकृष्णजीले माइकलाई नजिक तानेर आफ्नो कार्यक्रम पुनः सञ्चालन गर्ने उद्देश्यले सम्बोधन गरे, “आदरणीय शिक्षक र प्राध्यापकज्यूहरू कार्यक्रम पुनः सञ्चालन गर्ने अनुमति माग्छु र प्राध्यापक मिस्टर पुरुषोत्तम कार्की सरबाट आदर–निकेतनको दिनचर्याबारे बताउन अनुरोध गर्दछु ।”
“मेरो नाम ठिक्कै हो मिस्टर पुरुषोत्तम कार्की । म पनि ७० कै हाराहारीमा छु र मैले अङ्ग्रेजी भाषा र साहित्यको प्राध्यापक भई अवकाश लिएँ । मेरो घर दुर्गम जिल्लामा भएको हुँदा म प्राध्यापक नियुक्ति भएदेखि नै म काठमाडौँ उपत्यकामै बसेँ । हाम्रा बुद्धिजीवीहरूको ‘घर–घरको रोग’ जस्तै मेरा पनि छोराछोरी विदेशबाट फर्केनन् र दुई÷चार वर्षमा एक÷दुई पटक बुबा भनी भेट्न आउँछन् । नयाँ नयाँ सामान, लुगा, पुस्तक र खर्च दिएर फर्कन्छन् म पनि धेरै वर्षदेखि एक्लै छु । हरेक रात पुराना–पुराना राम्रा नराम्रा कुराहरूको सम्झनाले सताउँछ, पुराना राम्रा र नराम्रा कुराहरूको सम्झना हामी फर्काउन सक्दैनौँ न त समयलाई फर्काउन सक्छाँै । एक्लै बसेको भए निराशा, असन्तोष र विरक्त भएर आफूले आफैलाई कष्ट दिएर मारिसक्थेँ होला । यहाँ सबै सरहरूसँग कुराकानी र छलफल, नयाँ नयाँ अनुभव, तपाईँहरू नेताहरूजस्ता भलादमीहरूसँगको भेटघाट र जानकारीबाट ‘हामी अझै सबल छौँ’ वा देश र जनताको निम्ति योगदान गर्न सक्छौँ भन्ने मनमा उत्साह र आशाको सञ्चारको अनुभव हुन्छ ।
एकछिन दायाँबायाँ हेर्दै मिस्टर पुरुषोत्तम कार्कीले पुनः आदर–निकेतनको दिनचर्या बारे जानकारी दिँदै गए, “डाक्टर र नर्सहरूको सल्लाहपछि हामी ८–९ बजेतिर सबै आआफ्ना कोठामा आराम लिन जान्छौँ । रात्रिको खाना सात आठ बजेभित्रै टुङ्गिन्छ । खाना र औषधि खाने काम यही कक्षमा डाक्टर र नर्सहरूकै उपस्थितिमा र निगरानीमा रहन्छौँ । कोठामा पनि समय समयमा नर्स बहिनीहरूको आवश्यक सल्लाह र सेवा पु¥याउने काम चालु रहन्छ । वर्षामा झुल र जाडोमा सिरक र तकिया मिलाउने, खोकी लागेमा तातोपानी वा चिकित्सकको सल्लाहअनुसार औषधि पु¥याउने गर्छन् । अहिले फागुन महिना ६–७ बजे नेपालकै सौन्दर्यको बयान गरेको मधुर गीतसङ्गीतबाट हामी उठ्छौँ । यही कक्षमा शारीरिक कसरत त नभनौँ हातखुट्टा चलाउने र लामो लामो साँस लिने अभ्यास चालू राख्छौँ – चिकित्सकको सल्लाहअनुसार । केहीले उठ्नासाथ औषधि सेवन गर्नुहुन्छ र केहीले बिहानको खाजापछि औषधि खानुहुन्छ ।”
एकछिन तातोपानीको एक घुटको लिँदै आदर–निकेतनका सरहरूतिर आँखा डुलाउँदै पुनः त्यहाँको दिनचर्याबारे कार्की सरले बताउँदै गए, “खाजामा स–साना सुक्खा रोटी, सागपात, कहिले फुल (अण्डा) को प्रकार वा चिकित्सकै सल्लाहअनुसार फरक–फरक खानाको बन्दोबस्त छ, दूध, खाली चिया आदि । दिउँसोको खाना १२ बजे र १ डेढ घण्टा आरामपछि २ बजे र ४–५ बजे पनि फलफूल, खाली चिया, त्यो पनि चिकित्सककै सल्लाहअनुसार दिन्छन् । बेलुकीको ८ बजे खानापछि औषधि खाई वरी एकछिन कुराकानी टीभी र रेडियोको समाचारसँगै एकएक जना आआफ्ना स्वास्थ्यअनुसार कोठामा पुग्नुहुन्छ र मनपर्यो भने सिरानीमा भएको आफ्नो दुवै कानमा लाउने (हेडफोन)मा आइरहेको गीत सुन्दै सुत्छौँ । तर, कानको समस्या नहोस् भनी नर्स बहिनीहरूले सरहरू निदाउनुभयो भने ती हेडफोनहरू बन्द गर्ने गर्छन् । बत्ती निभाउँदै वा कुनै कुनै कोठामा कम उज्यालो हुने बत्ती बालेरै बिस्तारै ढोका बन्द गर्दै नर्स बहिनीहरू बिदा हुन्छन् । बिचबचिमा हेरचाह चालू रहन्छ ।”
केही सम्झने कोसिस गर्दै मिस्टर पुरुषोत्तम कार्कीले पुनः आफ्नो भनाइ चालु राखे, “यहाँ दैनिक र अन्य पत्रपत्रिकाहरू पनि आउँछन् । यही कक्षको एक कुनामा केही दराजमा राम्रा राम्रा किताबहरू पनि छन् । कहिलेकाहीँ एक÷दुई पृष्ठ पढेर बिचबिचमा चिह्न राखी पुनः पढ्ने र लेख्ने सरहरू पनि हुनुहुन्छ ।” दिउँसोको चिया वा खाजा खाने बेला हाम्रो एकछिन राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा छलफल पनि हुन्छ । साँझ ५–६ बजे हामी आआफूलाई सिकाएका शारीरिक अभ्यास पनि गर्छौँ, त्यसले हामीलाई निस्वप्न निद्रामा सहयोग पु¥याउँछ र कहिलेकाहीँ तलको बगैँचा र चोकमा घुमफिर गर्छौँ । केही सरहरू उपनामले कथा, कविता, निबन्ध र पत्रपत्रिकाको टीकाटिप्पणी पनि लेख्नुहुन्छ । जोशी सरको एउटा कवितासङ्ग्रह पनि गएको साल प्रकाशित भएको थियो । (एकछिन लामो सास तानेर) ज्येष्ठ प्राध्यापक पुरुषोत्तम कार्कीले आफ्नो अनुभवलाई अन्त गर्दै भने, “पत्रकार मित्रहरूलाई आदर निकेतनको बारे राख्नुभएको जिज्ञासाको निम्ति धन्यवाद छ र म आफ्नो सानातिना अनुभव यही अन्त गर्छु । सबैलाई धन्यवाद ।”
पत्रकार अध्यक्ष प्रेमकृष्णले पत्रकारहरूको तर्फबाट एक दैनिक पत्रिकाको एक स्तम्भ लेखक राम बराललाई शिक्षक र प्राध्यापकहरूसँग आफ्नो जिज्ञासा राख्न अनुरोध गरे ।
पत्रकार बरालले अगाडिको माइक नजिक तानेर पत्रकार अध्यक्ष, आदर–निकेतनका सचिव श्रेष्ठ र अन्य सहभागीहरूलाई अभिवादनसहित आफ्नो जिज्ञासा राखे, “आदरणीय ज्येष्ठ शिक्षक र प्राध्यापकहरू, हजुरहरूको अनुभव देशको शिक्षाको विकासको निम्ति मूल्यवान् छ । यसकारण, राजधानीको एक क्षेत्र र जिल्लाका पूर्व र पश्चिम अनि उत्तर र दक्षिणका एकएक ठिक्कको मध्यम स्तरका विद्यालय एवं एक महाविद्यालयको स्थिति र सुधार गर्नुपर्ने विषयबारे बताइदिनुहुन ज्येष्ठ प्राध्यापक र शिक्षाविद् जोशी सरसँग अनुरोध गर्न चाहन्छु । सुधारको निम्ति आवश्यक सुझावहरू बताउनुभयो भने हाम्रा विद्यालय र शिक्षण संस्थाहरू सुधारको निम्ति ठुलो योगदान सिद्ध हुनेछ ।”
एकक्षण सभामा स्तब्धता छायो । ज्येष्ठ प्राध्यापक रामहरि जोशीले पुनः परिचयको सानो अंशलाई खोल्दै भन्न सुरु गरे, “पत्रकार मित्रहरू र हाम्रा ज्येष्ठ शिक्षक र प्राध्यापक साथीहरू ¤ तपाईँलाई थाहै भएको विषय हो कि मेरो आफ्नो विषय अर्थशास्त्र र नेपाली साहित्य हो । शिक्षा क्षेत्रमा पनि केही वर्ष काम गरेको थिएँ । त्यसको आधारमा केही विद्यालय र महाविद्यालयको बारेमा सङ्क्षेपमा बताउने अनुमति माग्छु ।”
“उपत्यकाको उत्तरी क्षेत्र शिक्षामा पछि मात्रै जागरण आएको हुँदा विद्यालयका प्र.अ. र शिक्षक एवं अभिभावकहरूले निश्चित रकम राखेर व्यापार गर्न खोजे । उनीहरू आफ्नै सेयर रकमकै आधारमा आफ्ना छोराछोरीलाई उत्तीर्ण गर्नुपर्ने र विद्यालयको शुल्क मिनाहाको लागि कचकच गर्थे । त्यसबेला अभिभावक र शिक्षकहरूको क्षितिज आफै होचो थियो र प्र.अ. आफै पनि शिक्षा र विद्यालयलाई व्यापार सम्झेर कर्मचारीहरूमा आफ्ना नातागोता भर्ना गर्ने, मसलन्द र अरु सामान किन्दा १०० रुपैयाँको सामानलाई ५०० को बिल बनाउनेजस्ता आदि अनियमितता गर्थे । पछि त्यस्ता विद्यालयहरूको विद्यार्थी सङ्ख्या र प्रवेशिका परीक्षामा परीक्षाफल तल झर्दै गयो । समाजका शिक्षित समाजले सरकारको शिक्षा कार्यालयका अधिकारीहरूसमेत प्रअसँग मिलेर रकम बाँडफाँड गरेको थाहा पाए । त्यसबारे सरोकारवाला जनताले विद्यालयमै बैठक गरी सबै कागजपत्र हेरे । प्रअ र आफ्नै नातेदार एकाउन्टेन्टले राखेको हिसाबका गल्ती कमजोरी बैठकमा आँैल्याइए । विभिन्न विषयका राम्रा शिक्षकहरूलाई धन्यवाद र कमजोर शिक्षक र नक्कली शिक्षकहरूलाई बिदा दिनुपर्ने बैठकको सल्लाहअनुसार शिक्षा कार्यालय, विद्यालय व्यवस्थापन वा सञ्चालक समिति र विद्यालयको स्टाफ बैठकले जनताको सल्लाहअनुसार काम गर्दै गए । लाजैले स्वेच्छाले एक महिनापछि प्रअ र नक्कली शिक्षकहरूले राजीनामा दिए । त्यसको ठाउँमा विद्यालय सञ्चालक समितिले परीक्षा लिएर प्र.अ.नियुक्त गर्यो । त्यसपछि त्यो क्षेत्रका विद्यालयहरूले प्रगति गर्दै गए ।
एकछिन सोचेर जोशी सरले दक्षिणको एक विद्यालयबारे बताउन सुरु गरे, “अब म दक्षिणको एक नमुना विद्यालयको सुरुको स्थिति र पछिको स्थितिको तुलनात्मक अध्ययन बताउने अनुमति माग्छु ।”
“दक्षिणको त्यो विद्यालयको भौतिक बन्दोबस्त सन्तोषजनक भए पनि प्रअ जुवाडे भएको र एकाउन्टेन्ट आफ्नै नातेदार भएको हुनाले विद्यालयको हिसाब कहिले दुरुस्त थिएन । त्यसमाथि सञ्चालक समितिको अध्यक्ष प्रअको आफ्नै बुबा थिए । बुबाको मृत्युपछि प्रअले आफूसँग मिल्ने पालिकाको एकजना निर्वाचित सदस्यलाई अध्यक्ष राखे । प्रअले आफू अयोग्य भएको हुँदा बरोबर शिक्षा अधिकारीलाई घुस दिन्थे र प्रवेशिका परीक्षामा आफ्नै साथीहरूको विद्यालय परीक्षा केन्द्र बनाउन दिन्थे र नक्कल गराउन छुट दिएर परीक्षाफललाई कामचलाउ श्रेणीमा ल्याउने गर्थे ।”
“जिल्लाको शिक्षालयमा बढेतरी हुँदै जाँदा धेरै दिन प्र.अ. हुन नपाउने र उमेर पनि बढ्दै जाँदा आफ्नै शिक्षक मित्रहरू एक निजी विद्यालय खोली शिक्षा क्षेत्रमा योगदान गर्ने प्रस्ताव राखे । शिक्षकहरूले प्र.अ.लाई उमेरले बुद्धि पलायो होला भन्ठानेर आआफ्नो आर्थिक स्तर हेरी विद्यालयको निम्ति जग्गा किन्न शेयरको रूपमा दुई लाख, ३ लाख र ५ लाख दिए । जनताले पनि विद्यालयलाई जग्गा पनि सस्तोमा बेचे । जग्गा प्रअकै नाउँमा राखियो । दुई /चार वर्षपछि विद्यालयलाई भनेर किनेको जग्गा प्रअले दोबरतेब्बर मूल्यमा बेचे । यस्तोमा हिस्सेदार शिक्षकहरूमा खैलाबैला हुनु आश्चर्य भएन, एक कान दुई कान मैदान भनेजस्तै प्र.अ. जनताको घेरामा परे । जनताको बैठकमा प्रअले कबुल गरे, ‘मेरो छोरालाई अमेरिकामा पढ्न पठाउन मेरो नाउँको स्कूलको खेत बेचेको हुँ ।’ जनताले सभामा ‘विदेश पठाउने त्यो दलाल को हो’ भनी प्रश्न गर्दा उसले शासक दलको स्थानीय एक कार्यकर्ताको नाउँ लिए र प्र.अ. अवकाशमा गएपछि विद्यालयमा जनताको रेखदेखको कारण दुवै विद्यालय राम्रो चल्दै गए । नयाँ नयाँ युवा र उत्साही शिक्षक शिक्षिकाहरूको विद्यालयहरूको मेहनतबाट प्रगति हुँदै गयो ।”
जोशी सरले एकछिन लामो सास लिएर दुई घुट्को मनतातो पानी खाएर पुनः बोले, “अब म पूर्वको एक महाविद्यालयबारे भन्छु । हुन त यी सबै पुराना विषय भए, समाज अगाडि बढ्दै गएपछि जनता सचेत र सक्रिय भई देश र जनता समाज विकासको बाटोमा अग्रसर हुँदै जान्छ र खराब तत्वहरू उदाङ्गिँदै र पतन भएर जाने गर्छन् ।
त्यस क्षेत्रको पूर्व महाविद्यालय सरकारी भएको हुँदा सरकार र शिक्षामन्त्री जुन पार्टीको हुन्थ्यो त्यही पार्टीको प्रिन्सिपल र बहुमत प्राध्यापक त्यही दलका हुन्थे । परीक्षा नक्कल गर्ने अभ्यासले र कम शुल्कको कारण विद्यार्थी सङ्ख्या बढ्दै गयो, शिक्षाको स्तर घट्दै गयो । युनियन र प्रिन्सिपलको टीम मिलेर सार्वजनिक भवनमा विद्यार्थीको नयाँ कलेज पनि सञ्चालन गरियो । शिक्षकहरू पनि दुई तलब पाएर खुसी, युनियनका छात्रहरू पनि खुसी, विविध सङ्कायका शिक्षकहरू पनि भित्रभित्र आफ्नै निजी कलेजहरू खोलेर कक्षा लिन पनि जान्थे । ती विषयहरू जनताका महाविद्यालयहरूलाई स्वीकृति दिँदैनन् । विदेशी विश्वविद्यालयका सम्पर्कका प्राध्यापकहरू आफै विदेशी विश्वविद्यालयमा नेपाली विद्यार्थीलाई जान कक्षामै उत्साहित गर्थे । तिनीहरूको भित्री मनसाय त्रिविलाई सानो कलेजको रूपमा राखेर नेपालभर विदेशी विश्वविद्यालयहरूबाट व्यक्तिगत फाइदा उठाउन चाहन्थे । यसरी आज नेपालका कलेजहरूमा विद्यार्थी सङ्ख्या घट्दै जाँदा दुःख लाग्छ । एकदिन ती विदेशी विश्वविद्यालयका पक्षपातीहरू देश छोडेर भाग्ने निश्चय छ ।
“पत्रकार मित्रहरू र सरहरू अब म पश्चिमको एक कलेजबारे भन्छु – दलका सरकारहरूको पक्षपातपूर्ण नीतिहरूका कारण आवश्यक कलेज पश्चिममा नदिँदा जनता र जनप्रतिनिधिहरू मिलेर इमानदारीपूर्वक देश र जनताको निःस्वार्थरूपले सेवा गर्ने उद्देश्यले कलेज खोले । पूर्ण रूपले जनताको भरमा जनताकै रेखदेखमा र छात्र छात्राहरूले तिरेकै शुल्कमा भित्र बसेर कर्मचारीहरू र लेक्चररले काम गर्दै गर्दा परीक्षा फल पनि राम्रो, छात्रछात्रहरू उत्साहित र मेहनती देखिए । व्यवस्थाहरू व्यवस्थापकहरूले कलेजका हरेक क्षेत्र बिनापक्षपात लाउने बाचाअनुसार स्थापनाकालदेखि नै पारदर्शिता, मितव्ययी र मित्रवत रूपमा कलेज चालू छ भन्ने सुन्दै छु । खुसी लाग्यो, शिक्षाबारे आफ्नो अनुभव बताउने अवसर प्राप्त भयो । सबैलाई धन्यवाद !” जोशी सरले आफ्नो माइक राखे ।
Leave a Reply