भर्खरै :

संसारका शान्तिप्रिय र न्यायप्रेमी जनताद्वारा अमेरिकी साम्राज्यवादको विरोध

संसारका शान्तिप्रिय र न्यायप्रेमी जनताद्वारा अमेरिकी साम्राज्यवादको विरोध

भक्तपुर, १४ फागुन । “हरेक देशका जनता एक एक पाइला गर्दै राजनीतिक रूपमा सचेत र सङ्गठित हुँदै अघि बढिरहेका छन् । हामीले जनताको साथ र सहयोगमा उदाहरणीय काम गरिरहेका छौँ । यहाँ अन्यत्रभन्दा राम्रो, चित्तबुझ्दो काम हुन्छ । जनताको सेवा यहाँ जस्तो अन्त कही भएको छैन । यहाँ भइरहेको काम बुझ्न र सिक्न अन्य नगरपालिका र गाउँपालिकाका जनप्रतिनिधिहरू भक्तपुरका आइरहेका छन् । हाम्रा अग्रजहरूले गरेको काम खेर गएको छैन ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले निर्वाचन परिचालन समिति भक्तपुरद्वारा बिहीबार दत्तात्रयमा आयोजित चुनावी सभामा व्यक्त गर्नुभएको हो ।
देश र जनताप्रति समर्पित अग्रजहरूले गरेको सेवाबाट उत्प्रेरित भएर नयाँ पुस्ता तयार भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “हामी काम गरेर देखाउँछौँ, शासकहरू लोभलालच र झूटा आश्वासन बाँडेर जनतालाई भ्रममा पार्न खोज्छन् । जनतामाझ झूट फलाक्नेहरूलाई जनताले विश्वास गर्दैनन् ।”
बहुमत जनता जबसम्म सचेत र सङ्गठित हुँदैनन् तबसम्म देश नबन्ने उल्लेख गर्दै अध्यक्ष रोहितले साम्राज्यवादी देश संरा अमेरिकाले गरिरहेको थिचोमिचोको विरुद्ध विश्वका शान्तिप्रिय र न्यायप्रेमी जनताले अमेरिकी साम्राज्यवादको विरोध गरिरहेको बताउनुभयो ।
आक्रमणकारी संरा अमेरिका आर्थिक सङ्कटमा फस्दै गइरहेको औँल्याउँदै उहाँले चीनलगायत अरू देशको विकास र प्रगति सहन नसकेरै अमेरिकी प्रशासनले अरू देशको सामानमा आर्थिक कर लगाएर दुःख दिने गरेको बताउनुभयो ।
देश देश लडाएर अमेरिकाले हतियार बिक्री गरी फाइदा लिइरहेको औँल्याउँदै उहाँले संरा अमेरिका अन्तर्राष्ट्रिय क्षेत्रमै बदनाम भइरहेको बताउनुभयो ।
सच्चा कम्युनिस्ट पार्टीले कम्युनिस्ट सिद्धान्त, विचार र आचरणअनुसार काम गर्ने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “आफूलाई कम्युनिस्ट भनिने नेकपा एमालेले कम्युनिस्ट पार्टीको सिद्धान्तअनुसार काम गरिरहेको छैन ।”
नेमकिपाका सचिव एवं भक्तपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रेम सुवालले संसद्को मुख्य काम प्रधानमन्त्री छनोट गर्ने नभई देशको लागि आवश्यक नीति र ऐनहरूको निर्माण गर्ने हो भन्नुभयो ।
नेपालमा संरा अमेरिकी साम्राज्यवादको नीति र कानुन पालना गराइने एमसीसी सम्झौता र नेपालका सैनिक ब्यारेकमा अमेरिकी साम्राज्यवादको सेनालाई परेड खेलाउने एसपीपी साझेदारी खारेज गराउन जरूरी भएको उल्लेख गर्दै उहाँले अमेरिकी साम्राज्यवादले एमसीसीको नाउँमा नेपालको हात हाल्दै भारतीय एकाधिकार पुँजीको सेवा गराउँदै आएको बताउनुभयो ।
नेपालका उत्पादित सबै जलविद्युत्को भण्डारण हुने केन्द्रीय विद्युत् ग्रीड भारतमा बनाइएको खारेज गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले आफ्नै जलस्रोतबाट उत्पादन हुने बिजुली भारतीय विद्युत् कम्पनीसँग किन्न बाध्य पार्ने नीतिको विरोध गर्नुभयो ।
भारतको अधीनमा रहेका देशका सबै नदीनालाहरू फिर्ता लिएर नेपालीहरूकै लगानीमा विद्युत् निकाल्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले नेपालमा पानी नपठाएर सुख्खा बनाउने र भारतमा हराभरा बनाउने काम गर्न दिएर नेपाल सरकारले देशघात गरेको बताउनुभयो ।
देशको दुर्गम र विकट क्षेत्रमा द्रुततर विकास गर्न रज्जुमार्ग, केबुलकार, सुरुङमार्ग, रेलमार्ग अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले निजीकरण गर्ने प्रजातान्त्रिक सरकारहरूको नीतिकै कारण देश परनिर्भरतातर्फ उन्मुख भएको र लाखौँ नेपाली युवालाई विदेश पठाउँदा देशको कृषि अर्थतन्त्रमा समस्या आएको बताउनुभयो ।
भारतको संसद्मा फौजदारी अभियोग लागेका र आर्थिक अपराधी सांसदहरू भएझैँ नेपालको संसद्मा पनि भ्रष्ट आचरणका सांसदहरू बढिरहेकोमा चिन्ता व्यक्त गर्दै सचिव सुवालले भन्नुभयो, “भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ र ठुलठुला भ्रष्टाचारी, महिला बेचबिखन गर्ने एवम् बलात्कारीहरूलाई मृत्युदण्ड दिने कानुन निर्माण गर्नु जरुरी छ ।”
उहाँले भन्नुभयो, “विदेशमा सम्पत्ति राख्न नपाउने बन्दोबस्त गर्नुपर्छ । देशमै कलकारखाना, उद्योग विकास गर्न लगानी गर्नुपर्छ ।”
“अनुशासित र देशभक्तिको भावना भएका युवाले मात्र देशको सार्वभौमिकता रक्षा गर्न सकिने भएकोले युवालाई अनिवार्य सैनिक तालिम दिनु जरुरी छ । गरिबको सेवा गर्न सञ्चालन गरिएको स्वास्थ्य बीमालाई व्यवस्थितरूपमा सञ्चालन गर्नु जरुरी छ” सचिव सुवालले भन्नुभयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले कामदारवर्गका जनताको हकहितका निम्ति नेमकिपाले राजनीति गर्दै आएको छ भन्नुभयो ।
कसले के भन्छ भन्दा पनि तिनीहरूले के के गर्छन् र तिनीहरू कसबाट सञ्चालित छन् भनी बुझ्न जरुरी भएको उहाँले बताउनुभयो ।
नेपालमा पटक–पटक सत्तामा पुगेका नेका, एमाले, माओवादी, रास्वपा, राप्रपा र मधेशवादी भनिने दलहरूले नेपाली जनताको हितमा भन्दा विदेशी एकाधिकार पुँजी र त्यसका दलालहरूको सेवा गरिरहेको केन्द्रीय सदस्य गोसाईले स्पष्ट पार्नुभयो ।
पार्टीका अर्का केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सांसद सृजना सैजूले नेमकिपाले सडक र सदनमा देश र जनताको हितमा निर्भिक रूपमा सङ्घर्ष गर्दै आएको गौरवशाली इतिहास छ भन्नुभयो ।
पुँजीवादी पार्टीहरूले निर्वाचनको मुखमा आश्वासनको पुरिया बाँड्ने, मासु, रक्सी र पैसा बाँडेर मत किन्ने र साम्प्रदायिक नारा दिने गरेको चर्चा गर्दै उहाँले कामदारवर्गका जनता सङ्गठित बनी आफूमध्येकै जनप्रतिनिधि चयन गर्न नसिकेसम्म पुँजीवादी पार्टीहरूले जनतालाई धोका दिइरहनेछन् भन्नुभयो ।
निर्वाचन परिचालन समिति भक्तपुरका संयोजक लक्ष्मीभक्त लासिवाको सभापतित्वमा भएको उक्त जनसभामा कृष्णभक्त लवजु, सुजी ह्योंगोजु र सगुन धन्छाले पनि बोल्नुभएको थियो ।
जनसभामा कमिचागल्ली दिदीबहिनी समूह, राजाराम बासीको टोली र पासा पुचःको टोलीले देशभक्त र प्रगतिशील गीत प्रस्तुत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *