भर्खरै :

आम निर्वाचन सम्पन्न : नयाँ संसद् र सरकारले जनताको आधारभूत आवश्यकतामा ध्यान दिन बिजुक्छेँको सुझाव

आम निर्वाचन सम्पन्न : नयाँ संसद् र सरकारले जनताको आधारभूत आवश्यकतामा ध्यान दिन बिजुक्छेँको सुझाव

भक्तपुर, २१ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिका–५ स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार यहाँ मतदानपछि उहाँले अब आउने संसद् र सरकारले जनताका आधारभूत आवश्यकता सम्बोधनका लागि ध्यान दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले नेपाली जनताले प्रजातन्त्रको निम्ति र देशको उत्तरोत्तर विकासका निम्ति मतदान गरेको बताउनुभयो ।
उहाँले समाजको परिवर्तनको लागि एक ऐतिहासिक युग लाग्ने बताउँदै एउटा मतदानपछि नै समाजमा परिवर्तन आउन नसक्ने स्पष्ट पार्नुभयो ।
२०३७ सालमा निर्दलीय पञ्चायतलाई जिताउन रातारात मतपेटिका साटेझैँ शासकहरूले आफूले चाहेको उम्मेदवार र पार्टीलाई जिताउन जे पनि हठकन्डा चाल्न सक्नेप्रति जनता सचेत हुनुपर्ने बताउनुभयो ।
उहाँले खानेपानी, शिक्षा, स्वास्थ्यलगायत विषयमा आफ्नो पार्टीको ध्यान केन्द्रित गर्ने बताउनुभयो ।

नेमकिपा सचिव प्रेम सुवालद्वारा ख्वप कलेज मतदान केन्द्रमा मतदान
नेपाल मजदुर किसान पार्टीका सचिव एवं भक्तपुर क्षेत्र नं. १ का उम्मेदवार प्रेम सुवालले बिहीबार बिहान ख्वप कलेज मतदान केन्द्रमा मतदान गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिका वडा नं. ६ स्थित ख्वप कलेज मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नुभएको हो । सचिव सुवाल भक्तपुर क्षेत्र नं. १ बाट लगातार तेस्रो पटक चुनावी मैदानमा हुनुहुन्छ ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भनपा वडा नं. ८ को ख्वप इन्जिनियरिङ कलेज मतदान केन्द्रबाट मतदान गर्नुभयो । सोही मतदान केन्द्रबाट नेमकिपाका केन्द्रीय सदस्यद्वय सरोजराज गोसाई र सुरेन्द्रराज गोसाईले पनि मतदान गर्नुभयो ।
देशव्यापी सरदर ६० प्रतिशतमात्र मतदान भएको तुलनामा भक्तपुर जिल्लामा निकै उत्साहजनक रूपमा मतदान भएको छ । भक्तपुर, चाँगुनारायण, मध्यपुरथिमि र सूर्यविनायक गरी चारओटै नगरपालिकामा सरदर ७० प्रतिशतभन्दा बढी मतदान भएको पाइएको छ । मतदान केन्द्रमा खटेका प्रतिनिधिहरूबाट प्राप्त जानकारीअनुसार चारवटै नपाको वडागत मतदान प्रतिशत दिइएको तालिकाअनुसार छ । यसलाई निर्वाचन कार्यालय भक्तपुरबाट पुष्टि हुन बाँकी छ ।
देशका एकाध मतदान केन्द्रमा छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरूपमा मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । विगतमा शासक दलका उम्मेदवारहरूले गरेको वाचा पूरा नगरेको भनी केही स्थानमा मतदान बहिष्कार गरेको पनि बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *