ख्वप अस्पताललाई आधुनिक र सुविधासम्पन्न अस्पतालको रूपमा विकास गर्ने प्रयास गर्दै छौँ
- जेष्ठ ११, २०८३
निमोनिया फोक्सोमा हुने सङ्क्रमण हो । यो सङ्क्रमण भाइरस, ब्याक्टेरिया तथा अन्य जिवाणुको कारणले हुन्छ । बिरामीमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएमा निमोनिया हुने जोखिम उच्च रहन्छ । कुनै–कुनै औषधीले पनि मानिसमा निमोनियाको जोखिम बढाउँछ ।
स्टेरोइड लिइरहेका, मिर्गौला प्रत्यारोपण गरेका, पाँच वर्षभन्दा कम उमेरका बालबालिका वा ६५ वर्षभन्दा बढी उमेर भएका ज्येष्ठ नागरिकमा निमोनियाको सङ्क्रमण बढी हुनसक्छ । यस्ता व्यक्तिहरूमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, जसले गर्दा हावामा भएका किटाणुहरूले फोक्सोमा सङ्क्रमण गरेर निमोनिया उत्पन्न गराउँछन् ।
निमोनिया भएका बिरामीमध्ये ४० प्रतिशतमा न्युमोकोक्स नामक ब्याक्टेरियाको कारणले भएको पाइन्छ । शरीरको प्रतिरोधात्मक क्षमता राम्रो भएका व्यक्तिमा पनि निमोनिया हुनसक्छ । एचआईभी सङ्क्रमितमा पनि निमोनियाको जोखिम रहन्छ ।
निमोनियाका लक्षण
– रुघाखोकी लाग्ने
– उच्च वा काम ज्वरो आउने
– पहेँलो खकार आउने
– कमजोरी हुने
– खान मन नलाग्ने
– सास फेर्न गा¥हो हुने
– अक्सिजनको कमी हुने
– छाती दुख्ने ।
यस्तो लक्षण भएका व्यक्तिमा रगतको जाँच तथा छातीको एक्स–रे गरेर हेर्नुपर्ने हुन्छ ।
के छ उपचार ?
फोक्सोको कति प्रतिशत भागमा निमोनियाले असर पु¥याएको छ, त्यसैको आधारमा बिरामीको उपचार गरिन्छ । सामान्य अवस्थामा ओपीडीबाटै जाँच गरेर बिरामीलाई औषधी दिने गरिन्छ । तर सिकिस्त भएमा आइसीयुमै राखेर पनि उपचार गर्नुपर्ने हुन्छ । ब्याक्टेरियाबाट हुने निमोनियामा एन्टीबायोटिक औषधी दिइन्छ । भाइरसबाट हुने निमोनियामा कुनै उपचार हुँदैन, एक सातामा आफै सन्चो हुनसक्छ ।
जाडोयाममा निमोनियाको जोखिम
चिसो वा जाडो मौसममा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका वयस्क व्यक्तिमा पनि निमोनिया हुनसक्ने जोखिम बढी रहन्छ । ६५ वर्ष माथिका ज्येष्ठ नागरिकमा मुटुको समस्याभन्दा निमोनियाको कारणबाट मृत्यु हुने सम्भावना अधिक हुन्छ । त्यसैले निमोनियालाई सामान्य रूपमा लिनु हुँदैन । निमोनियाबाट जोगिने उपाय अपनाउनुर्छ ।
निमोनियाको जोखिममा रहेका व्यक्तिले के गर्ने ?
न्यानो भएर बस्ने, चिसोबाट जोगिने, न्यानो कपडा लगाउने, तापमान कम भएमा हिटर ताप्ने, चिसो खानेकुरा नखाने ।
निमोनियाको जोखिम घटाउन खोप
निमोनियाको जोखिम घटाउन खोपको प्रयोग प्रभावकारी मानिन्छ । निमोनियाविरुद्ध हामी कहाँ दुई प्रकारका खोप प्रयोगमा छन् –न्युमोकोकल र इन्फ्लुएन्जाको खोप ।
न्युमोकोकल खोप जीवनमा एकपटक लगाउँदा हुन्छ । इन्फ्लुएन्जाको खोप हरेक वर्ष जाडो मौसम सुरु हुनुअघि लगाउन सकिन्छ । यो खोप लगाउँदा जाडोको कारण हुने भाइरल इन्फेक्सन तथा भाइरल निमोनियाबाट बच्न सकिन्छ ।
यो खोप रोग प्रतिरोधात्मक क्षमता विकास गर्नका लागि हो । त्यसैले सबै उमेरका व्यक्तिलाई दिन मिल्छ ।
५ वर्षभन्दा कम उमेरका बालबालिका र ६५ वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिक र मिर्गौला, मुटु, फोक्सो, दीर्घ दमको समस्या भएका बिरामीलाई हरेक वर्ष इन्फ्लुएन्जा खोप दिन उपयुक्त हुन्छ ।
वातावरणमा भएको प्रदूषण तथा धुँवाधूलोले पनि निमोनियाको बढी जोखिम हुने हुँदा, त्यसबाट पनि जोगिनु उपयुक्त हुन्छ । यदि निमोनियाको लक्षण देखिएको छ भने चिकित्सकसँग सम्पर्क गरी सल्लाहबमोजिम उपचार गर्नुपर्छ ।
(प्रा.डा. ब्रजेन्द्र श्रीवास्तव नर्भिक अस्पतालमा सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिष्टको रूपमा कार्यरत छन् ।)
Leave a Reply