भर्खरै :

जनताको साथ र सहयोगले सफा, सुव्यवस्थित, सम्पदा संरक्षित, शैक्षिक गन्तव्यस्थल सहरमा परिणत

जनताको साथ र सहयोगले सफा, सुव्यवस्थित, सम्पदा संरक्षित, शैक्षिक गन्तव्यस्थल सहरमा परिणत

भक्तपुर, ३० फागुन । बासु माध्यमिक विद्यालयको ६३ औँ वार्षिक समारोह शनिबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उहिलेको अनपढ, फोहोर भक्तपुरलाई नेमकिपाका अग्रज, जनप्रतिनिधि र स्थानीय जनताको साथ र सहयोगले सफा, सुव्यवस्थित, सम्पदा संरक्षित, शैक्षिक गन्तव्यस्थल सहरमा परिणत भएको बताउनुभयो ।
भक्तपुर नगरपालिकाले शिशु स्याहार केन्द्रदेखि कलेजहरू सञ्चालन गरेर देशको लागि आवश्यक जनशक्ति तयार गर्न लागिपरेको उल्लेख गर्दै उहाँले देश र जनताको सेवा गर्नु नै राजनीतिको उद्देश्य हो भन्नुभयो ।
ख्वप अस्पतालका चिकित्सक एवं पूर्वविद्यार्थी रत्नसुन्दर लासिवाले हाल जनता सर्नेभन्दा नसर्ने रोगबाट ग्रसित भइरहेको स्पष्ट पार्दै मधुमेह, क्यान्सर र रक्तचापबाट जनता सचेत हुनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं भनपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाको सभापतित्वमा भएको सो समारोहमा उहाँले विद्यालयको विकास र शैक्षिक प्रगतिमा अग्रजहरूको योगदान रहेको बताउनुभयो ।
संयुक्त परीक्षा समितिका अध्यक्ष रोशनराज तुइतुइले भक्तपुरको शैक्षिक क्षेत्रलाई अबल बनाउन लागिपरेको चर्चा गर्दै भक्तपुरले शिक्षामा अग्रणी स्थान हासिल गरिरहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक रविलाल प्रधानले आगामी वर्षदेखि कम्प्युटर कक्षा ९–१२ सम्म सञ्चालन गर्ने योजना रहेको उल्लेख गर्दै शैक्षिक स्तर उठाउन शिक्षक–शिक्षिका तथा कर्मचारीबिच छलफल भइरहेको बताउनुभयो ।
विद्यालयको वार्षिकोत्सव समारोहका संयोजक विष्णुप्रसाद दुमरुले अग्रजहरूको अथक मेहनतले विद्यालय यो अवस्थामा आएको उल्लेख गर्दै अभिभावकको विश्वासलाई चोट नपुग्ने गरी काम भइरहेको बताउनुभयो ।
विद्यालयका सहायक प्रअ राजकुमार ह्यौँमिखा, मावि इन्चार्ज रामकुमार निरौला, निमावि इन्चार्ज रामहरि ताम्राकारले पनि विद्यालयको गतिविधि र देनबारे चर्चा गर्नुभयो ।
अभिभावक, शिक्षक र विद्यार्थीहरूलाई सम्मान गरिएको सो कार्यक्रममा विद्यार्थीहरूको सांस्कृतिक कार्यक्रम पनि देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *