भर्खरै :

चुनावपछि देखिएका ‘सामान्य’ लाग्ने तर खतरनाक सङ्केतहरू : यी घटनापछाडि को को छन् ?

चुनावपछि देखिएका ‘सामान्य’ लाग्ने तर खतरनाक सङ्केतहरू : यी घटनापछाडि को को छन् ?

हालै मिडिया र सामाजिक सञ्जालमा नितान्त अस्वाभाविक र खेदजनक दुई–तीन वटा घटना देखिएका छन् । जुन सहिष्णु, तटस्थ, पञ्चशीलको नीतिको आधारमा परराष्ट्र नीति सञ्चालन गर्ने नेपालको लागि नसुहाउने घटना हुन् ।
चुनाव सकिएपछि देखिएका केही गतिविधि सतहमा हेर्दा सामान्य प्रशासनिक प्रक्रिया वा अज्ञानताजस्ता लाग्न सक्छन् । तर यी घटनाहरूलाई गहिराइमा हेर्दा भुमण्डलीकृत भूराजनीतिक खेलको छाया स्पष्ट देखिन्छ ।
पहिलो, अमेरिकी सेनाका जर्नेलहरूको नेपालमा आवतजावत बढ्नु केवल कूटनीतिक भेटघाट होइन । यो शक्ति सन्तुलन, सुरक्षा साझेदारी र सम्भावित रणनीतिक पुनर्संरचनाको सङ्केत हो, जसले साना राष्ट्रहरूलाई ठुला शक्तिको खेलमैदान बनाउने जोखिम बोकेको हुन्छ ।
दोस्रो, इरान– इजरायल/अमेरिका युद्धको बहानामा अमेरिकी सरकारको दबाबमा नेपाल सरकारले इरानी नागरिकहरूको आगमन भिसा रोक्नु मानव अधिकार र स्वतन्त्र आवागमन गर्ने अधिकारमाथिको प्रहार हो । इरानविरूद्धको यस्तो नीति मानवीत्न्दा बढी राजनीतिक दबाबको औजार बन्दै गएको देखिन्छ ।
तेस्रो, चिनियाँ राष्ट्रपति सी चिनफिङको किताब जलाइनु विचारमाथिको आक्रमण मात्रै होइन, यो केवल चीनविरूद्ध साङ्केतिक हमला हो । साम्राज्यवादी शक्तिले भरिदिएको वैचारिक ध्रुवीकरण र वैमनस्यलाई उक्साउने यो खतरनाक सङ्केत हो । किताब जलाएको भिजुअल सार्वजनिक भइसक्दा पनि सम्बन्धित मनमोहन प्राविधिक विश्वविद्यालयका पदाधिकारीहरूको मौनता रहस्यमय छ ।
चौथो, करिब दुईतिहाइ नजिक पुगेका सांसदहरूलाई विशेष प्रशिक्षण दिने निर्णय लोकतान्त्रिक अभ्यासभन्दा बाहिर गएर शक्ति केन्द्रीकरणको तयारीजस्तो देखिन्छ । जहाँ जनमतभन्दा ‘व्यवस्थापन’ प्राथमिकतामा पर्नसक्छ ।
यी सङ्केतहरू सामान्य घटना या संयोग मात्रै होइनन् । जहाँ सार्वभौमिकता, विचार स्वतन्त्रता र लोकतान्त्रिक मूल्यहरू विश्वव्यापी शक्ति सङ्घर्षमा दबिँदै छन् । यदि समयमै सचेत भइएन भने, आज ‘सामान्य’ देखिएका यी कदमहरू भोलि गम्भीर राष्ट्रिय र क्षेत्रीय सङ्कटमा रूपान्तरण हुन सक्छन् । यी घटनापछाडि को को छन् ? नेपाली जनताले गम्भीर छानबिन गर्नैपर्छ ।
–सुन्दर थिङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *